विकासन्युज

सीआईटीबाट बाहिरिए रमण नेपाल, नयाँ कार्यकारी निर्देशक खोजिँदै

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि बाहिरिएका छन् । वि.सं. २०७५ कात्तिक २५ गते कोषको कार्यकारी निर्देशकमा नियुक्त भएका नेपाल ५ वर्षे कार्यकाल सकिएपछि कोषबाट बाहिरिएका हुन् । नेपालको कार्यकाल सकिएपछि कोषले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक बन्न नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ । त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने सूचनामा उल्लेख छ । उक्त मापदण्ड अनुसार योग्यदा पुगेका आवेदकहरुले निवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ । प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ । दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने सूचनामा उल्लेख छ । इच्छुक नेपाली नागरिकहरुले २१ दिन अर्थात् मंसिर ११ गतेसम्म आवेदन पेश गर्न कोषले आग्रह गरेको छ ।

सयपत्री फूलको व्यावसायिक खेती, मनग्य आम्दानी

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिन् फूल व्यवसायी रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई फूल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गरेका थिए । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उनले व्यावसायिक फूल खेती सुरु गरेका थिए । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उनले निरन्तरता दिए । गत वर्ष पाँच जातको सयपत्री फूल खेती गरेका उनले यसपालि ‘मेग्रा’, ‘चिनाचेरी’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा लगाएका छन् । उनले गत वर्ष तिहारको समयमा फूल मात्रै रु १० लाखको बिक्री गरेका थिए । यसपटक पनि तिहारको समयमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको पण्डितले बताए । आफूले फूल खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि गाउँका युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने सल्लाह उनी दिन्छन् । फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि आफूलाई काम खोज्दै विदेश पनि जान नपरेको उनको भनाइ छ । आफूहरु श्रीमान्, श्रीमती र दुई बुहारीसहित फूल खेतीमा लागिरहेको बताउँदै पण्डितकी श्रीमती फुलोदेवी फुलोले भने, ‘जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था रहेको छ ।’ फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको फुलाको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । रामप्रवोधले यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेर एक बिघा पुर्‍याएको हुँदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गरे । फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आसपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूल खेतीको क्षेत्र विस्तारको योजना रहेका पण्डितले बताए । ‘फूल खेतीबाट हुने आम्दानी राम्रो छ, याममा लाखौँको फूल बिक्री भइरहेको छ’, उनले भने । उनले स्थानीय एभरेष्ट पेपर मिल्सको जागिर छोडेर फूल खेतीमा लागेका हुन् । उनले मासिक २५ हजारको जागिर छाडेका थिए । उनको परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ । फुलोदेवी भन्छन्, ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्‍यो समय बितेको पत्तै हुँदैन ।’ व्यावसायिकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । तिहारको बेलामा मात्र नभई अन्य समयमा पनि फूलको माग हुने गर्दछ । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको पण्डित बताउँछन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ ।’ पण्डितले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए । ‘सार्वजनिक कार्यक्रममा अतिथि सत्कारका लागि खादाभन्दा मालाको माग बढ्दो छ,’ पण्डितले भने, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु¥याउनै सकेको छैन ।’ कृत्रिम फूलका प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको क्षीरेश्वरनाथ नगरपालिकाका कृषि अधिकृत गङ्गा यादवले बताए । प्रतिमाला २५ देखि ३० रुपैयाँले बिक्री हुने गरेकामा तिहारको अवधिभर २५ हजार फूलको माला बिक्री हुने उनको विश्वास छ । यसबाट रु सात लाखभन्दा माथि आम्दानी हुने उनको भनाइ छ । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पण्डित एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । एक बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दै’, उनले भने । बजारमा मालाको अभाव देखिनु नेपाली किसानले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको पण्डितको भनाइ छ । ‘कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेताला लगाउने गरेको छ’, उनले भने, ‘एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।’ कम लगानीमा छिटो र उत्पादन राम्रो हुनाका साथै आम्दानी मनग्य भएपछि पण्डित पुष्प व्यवसायमा आकर्षित भएका थिए । ‘विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा गर्दा आम्दानी हुन्छ भन्ने लागेपछि यसतर्फ लागेका हौँ,’ उनले भने, ‘फूल आयातको सट्टामा निर्यात हुन्छ, जिल्लामै फूलको खपत पनि हुने भएपछि यसमा लागेका हौँ, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ ।’ सुरुवात गर्दा आफ्नै चार/पाँच कट्ठा जमिनमा तीन रुपैयाँ गोटाको दरले फूलको बिरुवा किनेर करिब एक हजार पाँच सय जति रोपेर सुरुआत गरेको फूल खेती अहिले एक बिघामा विस्तार गरेको पण्डितको गुनासो राज्यसँग छ । उनले आफूहरु जस्तो किसानलाई राज्यले कुनै किसिमको सहयोग नगरेको गुनासो गरे ।

कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं । चाडपर्वको समयमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएको हो । कात्तिक २१ गतेदेखि लागू हुने गरी कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँ घटाएर प्रतिकेजी ३२० रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्ने राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । यसअघि उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकेजी ३३५ रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दै आएका थिए । ‘काठमाडौंमा जति पनि होलसेल गर्ने कोल्ड स्टोरहरु छन्, त्यहाँबाट प्रतिकेजी ३२० रुपैयाँमा कुखुराको मासु खरिद गर्न पाउँछन्,’ अध्यक्ष बिसीले भने ।

चाडपर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले ल्यायो छुट अफर

काठमाडौं । नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । कम्पनीले यस्ता खाताहरुको सहज पहुँच र सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निष्काशनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने बताएको छ । जसअनुसार डिम्याट खाता निःशुल्क खोलिने छ भने एक वर्षसम्मको डिम्याट तथा मेरो शेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइनेछ । त्यस्तै, निःशुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो शेयरको नविकरणमा ३७.६३ प्रतिशत छुट दिने बताएको छ । परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ जनाको निःशुल्क हुने छ भने ३३.३३ प्रतिशत छुट दिइने छ। त्यस्तै, निःशुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नविकरणमा ३५.५५ प्रतिशत छुट दिइने छ। त्यसैगरी, निःशुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८०.१४ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिए । सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको उक्त सडकखण्ड निर्माण सामग्री अभावले ठप्प बनेको हो । सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशतमात्र काम भएको छ । कालीगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको छ । उनले २०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा–अवरोध सिर्जना भएकाले ढिला भएको बताए । थप गरिएको अवधिसमेत अब दुई महिनामात्र बाँकी छ । गत वर्ष नै सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअुनसार निर्माण सामग्रीको प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो ।ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो । सामग्रीकै अभावले निर्माण कम्पनीले एक वर्षदेखि धमाधम काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भए पनि फेरि दसैँदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको हो । तेह्र किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूला–ठूला खाडल, हिलो र ढुङ्गा तथा पहिराका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौँ समय लाग्ने गरेको छ । निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए । कालीगण्डकी नदीमा शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन गर्दा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुङ्गागिट्टी उत्खननका लागि ठेक्का लगाउन सकेका छैनन । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशानुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न रोक लागेको छ । रासस

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि नौ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ । कांग्रेसले भूकम्पपछिको खोज र उद्धारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । कांग्रेसले राहत र पुनःनिर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्धार र पुनःस्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई सङ्घीय सरकारको अनुगमन र सहजिकरणका लागि सुझाव समेत दिएको छ । सो अवसरमा कांग्रेस सभापति देउवासँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचारविभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनःनिर्माणको दोस्रो चरणको काम द्रुतगति हुने बताए । उनले भने, ‘हिजो मात्र दुवै छिमेकी राष्ट्रका राजदूतलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।’ प्रधानमन्त्रीले आगामी दिनमा भूकम्पलगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा भण्डारणको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कामबारे छलफल भएको बताए । उनले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपतमा झैं यसपटक पनि सबै एकजुट भएको बताए । आजै नेकपा (एकीकृत समाजवादी)ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर गरेको थियो ।

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको ८ महिने शिशु गुमाइन्

बाँके । जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ । तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्णरूपले फर्किएको छैन । श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शैययामा छटपटाइ रहेकी छन् । जमुना एकसुरमा कहिले राम्रैसित बोल्छिन् भने कतिबेला बोल्दै बोल्दिनन् । निकै कम बोल्छिन् । जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन् । जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन् । ‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले उ होसमा आएपछि सुनायौँ । उसलाई थाहा छ । तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैंसँग कुरा गर्छे । कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन ।’ भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई छोरीको चिन्ताले सताइरहेको छ । शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए । घरमा पुग्दा जमुना बेहोस अवस्थामा रहेको बुवा भागिरामले बताए । ‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ । उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ’, भेरी अस्पतालमा जमुनाको हेरचाहमा खटिएका उनले भने । जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकोप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगन्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो । पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरिएको बुवा भागिरामले बताए । जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो । ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।’ दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए । अस्पतालमा छोरीलाई निको बनाएर घर लैजान भनी हेरचाह गर्न श्रीमान्सँगै आएकी आमा पवित्रा भन्छिन् , ‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ । हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला’, उहाँले भनिन्, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो ।’ आमा पवित्राको भनाइअनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ । भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन् । भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनकाअनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो । दुई जना निको भई घर फर्किएका छन् भने एक जनाको उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए । रासस

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि कात्तिक २२ गते बुधबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कात्तिक २३ गते बिहीबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।