योजना आयोगको देश दौडाह : आज ४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिदै
काठमाडौं । १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् । आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो । मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदुपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’ आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ ।
इन्टरनेट कम्पनीहरूको लुट धन्दा अन्त्य गर्न १५० रूपैयाँमै सेवा दिन लागेका छौं : विनोद अग्रहरी
काठमाडौं । सुपर भिजन नेटवर्कले नेपालगञ्जमा मासिक १५० रुपैयाँमा ५० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउन सुरु गरेको छ । इन्टरनेट परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि कम्पनीले अहिले व्यावसायिक रूपमा इन्टरनेट सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । न्यून मूल्यमा नै ‘टप स्पिड’ चल्ने इन्टरनेट सेवा ग्राहलाई उपलब्ध गराउँदा बजारमा यसको चर्चा बढेको छ । इन्टरनेटको गुणस्तर अरू कम्पनीको भन्दा कम नभएको दाबी गर्दै आएका सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरी न्यूतम मूल्यमा अधिकतम ग्राहकलाई सेवा दिने उद्देश्यसहित यो इन्टरनेट ल्याएको बताउँछन् । उनै सञ्चालक अग्रहरीसँग यो इन्टरनेट सेवाको विकास, इन्टरनेट विस्तारको योजना, कम मूल्यमा इन्टरनेट दिनुको उद्देश्यलगायत विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । नेपालमा समयक्रमसँगै इन्टरनेट विस्तार गर्ने कम्पनीहरूको संख्या बढ्दो छ, तपाईंहरूले पनि बजारमा आधुनिक प्रविधिको इन्टरनेट ल्याउनुभएको छ, सस्तो मूल्यमै ग्राहकलाई इन्टरनेट दिने योजना कसरी बन्यो ? मेरो पहिला केवल टिभी नेटवर्क थियो । जुन मैले ३० करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको थिएँ । केवल टिभीलाई इन्टरनेट कम्पनीले निःशुल्क गरिदिँदा मेरो व्यवसाय धराशायी भयो । नेपालगञ्जबाटै उक्त सेवा सुरु गरेको थिएँ । त्यो व्यवसाय धराशायी भएपछि इन्टरनेटमा हात हालेको हुँ । मान्छेले मासिक इन्टरनेट ८/९ सय रुपैयाँ तिरेर चलाइरहेका छन् । घर बाहिर निस्किँदा डाटा खोलेर चलाउनुपर्ने अवस्था छ । सोही कुरालाई मध्यनजर गर्दै जुन प्रविधि एकपटक पेमेन्ट गर्दा यी सबै समस्याको हल होस् भनेर यसको आविष्कार गरिएको हो । इन्टरनेटको अनुसन्धान गर्न मलाई करिब साढे दुई वर्ष लाग्यो । किनभने इन्टरनेटमा धेरै कमी–कमजोरी थियो । अहिले यी विषयमा सुधार भइसकेको छ । मैले यो सेवा करिब ८ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको हुँ । अनुसन्धानमा करिब साढे दुई करोड रुपैयाँ खर्च भयो । नेपालगञ्ज अहिले यसका प्रयोगकर्ता कति छन् ? हामीले अहिले नेपालगञ्जमा ८ हजार जनालाई यो इन्टरनेट चलाउन दिएका छौं । उहाँहरूले निःशुल्क चलाइराख्नु भएको छ । इन्टरनेट परीक्षणका लागि उहाँहरूलाई निःशुल्क चलाउन दिएका हौं । उहाँहरूले करिब ८ महिनादेखि निःशुल्क इन्टरनेट चलाइराख्नु भएको छ । इन्टरनेटको गुणस्तर बढाउन सकियोस् र आएका समस्या समाधान गर्न सकियोस भनेर सेवा निःशुल्क गरिएको हो । देखिएका समस्या सबै समाधान गरी यूजरले पनि राम्रो छ भनिसकेपछि पश्चात् यसलाई लन्च गरेका छौं । यसलाई नेस वाइफाई नेटवर्क भनिन्छ । जुन नेपालमा पहिलोपटक आएको प्रविधि हो । यो हामी आफैंले विकास गरेको प्रविधि हो । तपाईंले डेढ सय रुपैयाँ शुल्क तिर्नुभयो भने पसलदेखि घरसम्म काम गर्छ । साथै, बसपार्क रेष्टुरेन्ट आदि सबै ठाउँमा मज्जाले चल्छ । यो फाइबर र वायरलेस दुवैबाट चलाउन सकिन्छ । तपाईंहरू व्यावसायिकरूपमा कहिलेदेखि अगाडि बढ्नुहुन्छ ? यसको परीक्षण सफल भइसकेको छ । कुनै समस्या छैन । हामीले मंसिर १ गतेदेखि युजरबाट पैसा उठाउने तयारी गरेका छौं । तपाईंहरूको यो सेवा कहाँ–कहाँ उपलब्ध छ ? उपत्यका अथवा सहरी क्षेत्रमा पनि यो इन्टरनेट भित्र्याउने लक्ष्य राख्नुभएको छ ? यो सेवा अहिले नेपालगञ्जमा मात्र उपलब्ध छ । यदी कसैले अन्य ठाउँमा यो सेवा विस्तार गर्न खोज्यो भने प्राविधिक सहयोग निःशुल्क दिन्छौं । ताकी अर्को ठाउँको मान्छेले पनि यो इन्टरनेट सेवा सस्तोमा पाओस् । कसैले कुनै ठाउँमा खोल्न चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुन्छ । इन्टरनेटमा अर्बाैं खर्बौं रुपैयाँ लुट भइरहेको छ । यो इन्टरनेट विस्तारसँगै इन्टरनेटका प्रयोगकर्ताले पनि यसको महगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास हामीले लिएका छौं । यसको प्रयोग कसरी गर्ने, यो नेट जडान गर्दा तार वा राउटरको पैसा पनि तिर्नुपर्छ ? यसलाई आफ्नो व्यक्तिगत फोनमा कनेक्ट गरेर पनि चलाउन सकिन्छ । हामीले जसरी सीममा रिचार्ज गर्छौं त्यसरी नै गर्नु पर्ने हुन्छ । मोबाइलबाट अन्य फोन तथा डिभाइसमा कनेक्ट गरेर पनि चलाउन सकिन्छ । घरमा चलाउने हो भने राउटर जोडेर चलाउनुपर्ने हुन्छ । राउटर र तार चाहिँ आफैंले तिर्नु पर्ने हुन सक्छ । वायरलेसमा पैसा पर्दैन । यदि फाइबारबाट लग्नु पर्यो भने सुविधा अनुसार राउटरको शुल्क तिर्नु पर्ने हुन्छ । आवश्यकताका आधारमा एमबीपीएस बढाउन सकिन्छ । १५० रुपैयाँमै इन्टरनेट उपलब्ध गराउँदा तपाईंहरूलाई कति फाइदा हुन्छ ? यो इन्टरनेट ६/७ वर्ष चल्छ । त्यसपछि नयाँ प्रविधि आउन सक्छ । त्यो अवधिभित्र नै लगानी र नाफा उठाइसक्नुपर्ने हुन्छ । हामीले एक वर्षमा ८० हजारभन्दा बढी प्रयाेगकर्ताले यो नेट चलाउने अपेक्षा राखेका छौं । ८० हजार प्रयाेगकर्ता भएपछि डेढ सयले मासिक रकम भुक्तानी गरे भने करिब १ करोड २० लाख रुपैयाँ रकम संकलन हुन्छ । हाम्रो प्रशासनिक खर्च अथवा अन्य खर्च ४० लाख रुपैयाँसम्म भयो भने ६०/७० लाख रुपैयाँ बचत हुन्छ । सोही अनुपातमा हाम्रो लगानी एक वर्षभित्र उठ्ने लक्ष्य राखेका छौं । अर्को विषय केवल टिभी तारबाट पनि यो नेट चलाउन सकिन्छ । इन्टरनेटले गर्दा त्यो फाइबरको सदुपयोग भयो । अहिले हामीसँग करिब ४० जना कर्मचारी छन् । यो इन्टरनेटलाई देशव्यापी बनाउने योजना पनि छ ? इन्टरनेटमा धेरै लुट भइरहेको छ । यसबाट उपभोक्ता ठगिएका छन् । इन्टरनेटमा भएको लुटतन्त्र हटाउन सस्तो इन्टरनेट उपलब्ध गराउने हाम्रो योजना छ । यसलाई क्रमिकरूपमा विस्तार गर्न सकिन्छ । एउटै सहरभित्र फरक–फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रुपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । १५० रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट दिँदा पनि आफूलाई फाइदा छ ।
८० लाख निर्माण भयो गोरखाको स्तुल खोलामा बेलीब्रिज
गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सवारीसाधान आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणको काम एक वर्षभित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ । पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् । रासस
क्यासीको ३७औं सम्मेलन : दिगो उद्यमशीलता र व्यापारमा कोसेढुंगा
काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम र समुदघाटनपछि सम्बोधन गदै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यकारूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र सञ्जाल निर्माणमा सम्मेलन कोशेढुंगा साबित हुने बताए । एसिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उनले स्पष्ट पारे । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको विचार राष्ट्रपति पौडेलको थियो । विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने बताए । राष्टपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गरे । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघ सदस्य रहेको संस्था हो । काठमाडौंमा जारी सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरूको सहभागिता छ । कार्यक्रमका मुख्य वक्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको भन्दै्र खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए । युवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासीजस्ता मन्चहरूमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनुपर्ने धारणा उनले व्यक्त गरे । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुपयोग गर्न सम्मेलनका सहभागीलाई आग्रह गरे । नेपालमा नविकरणीय उर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरुको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताए । सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य दिदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एसिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताए । भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढदै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरे । क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रोपटक सम्मेलन आयोजना गर्न पाएकोमा खुसी प्रकट गरे । दीगो एव वातावरण मैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुभव आदान प्रदान गर्न र हाम्रा आर्थिक सम्बन्ध विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने दाबी उनको थियो । क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाए । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उनले बताए । सम्मेलनले दिने निश्कर्ष नेपाललगायत एसिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने दाबी गरे । परिसंघ, एसिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ÷संघको छाता संस्था हो । सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनको मुख्य थिम ‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेस गेट सेट फर द फयूचर‘ रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो । विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो । यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेताहरू र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरू, सरकारी प्रतिनिधिसमेत गरी करिब २ सयभन्दा बढीको सहभागिता रहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले घोषणा गर्याे लाभांश, नगद मात्रै दिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता, विजेतालाई १ लाख पुरस्कार
काठमाडौं । एनसेल आजियाटाले चलचित्र मार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन् । यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडिओ अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । यस प्रतियोगितामा सहभागी हुन ईच्छुक सबैले दिदी–भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको भिडिओ अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ । भिडिओको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ । उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरुले दिदी–भाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन्। यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, दोस्रो हुनेले रु ७५ हजार नगद र तेस्रो हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। ‘हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतीमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ। अझै राम्रो पाटो भनेको हामी सधै अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने । प्राप्त सबै भिडिओहरु मध्ये छानिएका भिडिओहरु भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ। निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरुको समीक्षा र मूल्यांङकन गर्नेछ। यस प्रतियोगिताका विजेताहरु कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ । सहभागी हुन इच्छुकहरुको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडिओ बुझाउने मिति कात्तिक २३ गतेसम्म थप गरिएको छ। थप जानकारी तथा सर्तहरुका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सले महाएक्स्चेन्ज महोत्सव आयोजना गर्ने
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्स्चेन्ज महोत्सव ‘उमंगै उमंग’को आयोजना गर्ने तयारी गरेको छ । महा एक्स्चेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोभेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ । महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ । सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । महा एक्स्चेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् । उपभोक्ताले मेला मार्फत आफ्ना पुराना बाईक वा स्कुटरको एक्स्चेन्ज गर्दा ५० हजार सम्मको एक्स्चेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख सम्मको क्याश डिस्काउन्ट र साथै बम्पर उपहारमा १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् । साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्याग लगायत फ्रि एक्सेसरिजको स्विधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसारयी लगायत सम्पुर्ण सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
उद्धार, राहत र पुनर्स्थापनाको विषयमा छलफलन गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्पमा उद्धार, राहत र पुनस्र्थापनाको काम सरकारले एकद्वार प्रणालीबाट गरिरहेको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र साढे ३ सय जना घाइते भएका छन् । यसैगरी भूकम्पका कारण दुवै जिल्लामा १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षति भएका छन् ।