अब जोकोही बीमा अभिकर्ता बन्ने बाटो बन्द
काठमाडौं । अभिकर्ता (एजेन्ट)लाई बीमा क्षेत्रको खम्बाका रूपमा लिइन्छ । बीमा कम्पनीहरूको व्यवसाय धान्ने मेरुदण्ड नै अभिकर्ता हुन् । गाउँ-समाजमा गएर आम सर्वसाधारणलाई राजी गराएर बीमा गराउने काम अभिकर्ताहरूले गर्दै आएका छन् । त्यसैले बीमाको दायरा बढाउनुमा अभिकर्ताको मुख्य भूमिका छ । कुनै समय नेपालमा बीमा अभिकर्ताहरूको संख्या ५ लाखभन्दा बढी थियो । उक्त संख्या धेरै भएको भन्दै नेपाल बीमा प्राधिकरणले गुणस्तरीयतामा जोड दिन विभिन्न क्रियाकलाप गर्दै आएको छ । गत कात्तिकदेखि प्राधिकरणले बीमा अभिकर्ता बन्न परीक्षा प्रणाली कार्यान्वयनमा ल्याएसँगै जोकोही व्यक्ति अभिकर्ता बन्ने बाटो बन्द भएको हो । बीमा ऐन, २०७९मा बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधानअनुसार गत कात्तिक १७ गतेदेखि अनलाइन परीक्षा सुरु गरेको हो । त्यसैले अब अभिकर्ताको इजाजत (लाइसेन्स)का प्राप्त गर्न परीक्षा दिनुपर्ने भएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल गुणस्तरीयता कायम गर्न अभिकर्ताको परीक्षा प्रणाली सुरु गरेको बताउँछन् । कम्पनीहरूको पहिलो अण्डरराइटर अभिकर्ता भएकाले परीक्षा प्रणालीबाट सक्षम व्यक्ति चयन भएर आउने अपेक्षा रहेको उनको भनाइ छ । ‘बीमा कम्पनीहरूमा पहिलो अण्डरराइटर भनेका अभिकर्ता हुन्, अभिकर्ताले नै सबै कुरा बुझेको छैन भने कस्तो अण्डरराइटिङ गर्ला ?, त्यसैले अभिकर्ताको संख्यात्मक वृद्धि भयो, अब गुणस्तरीयता कायम गर्नुपर्छ,’ उनले भने, ‘अभिकर्ता भएपछि एउटा परिवारमा मात्रै बीमा गर्याे, त्यसपछि काम नै नगर्ने अभ्यास देखिन्छ, अब व्यावसायिक अभिकर्ता बन्नुपर्छ भनेर परीक्षा प्रणाली सुरु गरेको हो ।’ गुणस्तरीय अभिकर्ता भएपछि बीमाका बारेमा पनि थप सचेतना बढ्ने उनको भनाइ छ । जीवन बीमा कम्पनीको मार्केटिङको पहिलो हस्ती भएकाले सक्षम अभिकर्ताले बीमाका बारेमा बीमितलाई बुझाउन सक्ने उनले बताए । साथै, बीमा दाबी भुक्तानी गर्दा अभिकर्ताले भरेका फर्महरू नै आधार मानिने भएकाले परीक्षा प्रणालीबाट कुशल व्यक्ति छनोट हुन सक्ने उनको बुझाइ छ । ‘जीवनमा बीमामा मेडिकल र फाइनान्सको अण्डरराइटिङको समस्या देखिन्छ, सबैभन्दा नजिक भएर चिन्ने भनेको अभिकर्ताले हो, क्वालिटी मेन्टन गर्न अभिकर्ताको जाँच लिने गरेका हौं, पहिलो चरणमा १ सय जनाले जाँच दिएका थिए, ६९ जनाले मात्रै परीक्षा पास गरे, अब विस्तारै सुधार हुँदै जान्छ, तालिम दिएरमात्रै अभिकर्ता बनाउने चलन छ, परीक्षा प्रणालीले पनि केही सुधार हुने अपेक्षा छ,’ कार्यकारी निर्देशक पौडेलले भने । पछिल्लो समय आर्थिक मन्दीका कारण धेरै अभिकर्ता भयो भने बीमा पनि धेरै हुने अनुमान छ । यसरी परीक्षा प्रणालीले नयाँ अभिकर्ताको आकर्षण कम भएर बीमा व्यवसाय घट्ने हो कि भन्ने चिन्ता पनि भइरहेको छ । तर, दीर्घकालमा बीमा क्षेत्रको सुधारका लागि उक्त कदम चालेको उनको भनाइ छ । ‘आर्थिक गतिविधि नहुँदा बीमाको बजार खस्किएको छ, धेरै अभिकर्ता भएपछि केही विस्तार हुन्थ्यो की भन्ने लाग्न सक्छ तर, आगामी दिनमा सुधार गर्न प्रक्रिया अघि बढाएको हो,’ उनले भने । कुनै समय ५ लाख अभिकर्ता रहेको प्राधिकरणको आँकडा थियो । तर, सक्रिय अभिकर्ताको संख्या भने डेढ लाख मात्रै थियो । छिमेकी मुलुक भारतमा अभिकर्ता बन्न धेरै गाह्रो छ । नेपालमा सजिलो प्रक्रिया भएपछि विकृति बढेको प्राधिकरणको अनुमान छ । ‘अभिकर्ता अध्ययनशील भयो भने त्यही अनुसारको बीमामा स्वस्थ प्रतिस्पर्धा हुनेछ, जीवन बीमा देखिएका विकृति कम हुन्छन्,’ उनले भने । पेसागात बीमा अभिकर्ता संघ (एलआईसी) नेपालको अध्यक्ष नरबहादुर घर्ती पनि अभिकर्ता बन्न परीक्षा प्रणाली आवश्यक रहेको बताउँछन् । अस्वस्थ प्रतिस्पर्धा हटाउन परीक्षा प्रणाली आवश्यक रहेको उनको भनाइ छ । ‘अभिकर्ताहरूले आफ्नो दायित्व पुरा गर्न सकेनन्, कुनै रेस्पोन्सिबिलिटी पनि छैन, जस्तो पायो त्यस्तो व्यक्ति एजेन्ट बनेका छन्, कुनै एजेन्ट त एसएलसी पनि पास नगरेका छन्, परीक्षा प्रणाली हुँदा पेसेवररूपमा मान्छेहरू आउँछन्, महत्व बढ्छ,’ उनले भने । अभिकर्ता भनेको पहिलो आधार भएकाले जोकोही अभिकर्तासँग बीमा गराउँदा बीमितको रकम जोखिममा रहेको उनको भनाइ छ । परीक्षा प्रणालीबाट सक्षम व्यक्ति आउने भएकाले विश्वास पनि बढ्दै जाने उनले बताए । ‘जस्तो पायो त्यस्ता व्यक्तिलाई एजेन्ट बनाउनु हुँदैन, अब व्यवस्थित भएपछि एजेन्टको महत्व बढ्छ, फुटपातको मान्छे एजेन्ट बनेका छन्, जसको कुनै सामाजिक दायित्व छैन, राम्रोसँग अक्षर पढ्न नजान्ने मान्छे पनि एजेन्ट छन्, शुद्ध नेपाली लेख्न पनि जान्दैनन्, त्यस्ता व्यक्तिहरूले पैसा लगेर खायो भने कसले जिम्मेवारी लिन्छ,’ उनले भने, ‘जागिर खान गयो भने सर्टिफिकेट देखाउनुपर्छ भने यो त करोडौं रुपैयाँको कारोबार हुने क्षेत्र हो ।’ उनका अनुसार केही एजेन्सी म्यानेजरले आफ्नो श्रीमतिलाई समेत पनि एजेन्ट बनाएका छन् । त्यसैले अब परीक्षा प्रणालीले बीमा क्षेत्रमा भएका गलत अभ्यास रोक्न विश्वास उनले लिएका छन् । साथै, राम्रो व्यक्तित्व भएका, केही गरौं भन्ने भावना भएका, दायित्व भएको व्यक्ति अभिकर्ता बन्नुपर्ने उनको भनाइ छ । पेसागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी संख्यात्मक वृद्धि भएकाले अभिकर्ताको संख्या कम गराउन परीक्षा प्रणाली ठिकै भएको बताउँछन् । साथै, अभिकर्ताको संख्या धेरै भएकाले प्राधिकरणले समेत नियमन गर्न नसकेको उनको भनाइ छ । ‘अभिकर्ताको संख्यात्मक पहुँच धेरै छ, त्यसकारण तत्काल अभिकर्ताको संख्या कम गराउन परीक्षा प्रणाली ठिकै हो, बीमा प्राधिकरण स्वयमले लाइसेन्स र तालिम दिन नसकिरहेको बेलामा अभिकर्ता नियुक्ति र नियमन फितलो भइरहेको छ, परीक्षा प्रणालीले दीर्घकालमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने । भविष्यमा गुणस्तरीय अभिकर्ताहरू बजारमा आउने उनको भनाइ छ । उनका अनुसार डेढ अर्ब जनसंख्या भएको भारतमा १२ लाखमात्रै अभिकर्ता छन् । तर, ३ करोड जनसंख्या भएको नेपालमा २ लाख अभिकर्ता हुनु नै इनफ हुने उनको धारणा छ ।
बिहीबार अत्यावश्यक बाहेकका सवारी नचल्ने
काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यका बिहीबार अत्यावश्यकबाहेकका सवारीसाधन सडकमा ननिकाल्न आग्रह गरेको छ । बिहीबार नेकपा एमाले निकट युवासंघ र दुर्गा प्रसाईँ नेतृत्वको जुलुस र विरोध र्याली हुने भएपछि ट्राफिक कार्यालयले यस्तो सूचना जारी गरेको हो । भोली काठमाडौं उपत्यकामा बिभिन्न समूहद्वारा र्याली जुलुसका कारण सवारी आवागमनमा असहजता आउने भएकाले यस्तो निर्णय गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ । कार्यालयले सवारीसाधन निकाल्न परे १०० वा १०३ सम्पर्क गरेर मात्रै सडकमा निकाल्न आग्रह गरेको छ । भोलि व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियान र एमाले निकटको युवा संघले काठमाडौंका दुई स्थान बल्खु र तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यसका लागि विभिन्न स्थानबाट जुलुस निस्किने जनाइएको छ ।
दूधले मूल्य नपाउँदा किसान निराश
नारायणगढ (चितवन) । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म जागिर खान्थे । घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर गाइभैसी किनेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्छन्, ‘गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।’ विदेशबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको उनको भनाइ छ । थापा भन्छन्, ‘भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो ।’ केही समय अघि मात्रै ७९ रुपैयाँ प्रतिलिटरमा बिक्री भएको दूध हाल ७० रुपैयाँमा नै दिनुपरेको थापाको भनाइ छ । ‘व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैरास्य भएर छाड्नुपर्ने स्थिति भयो । विगतका वर्षमा यस्तो समस्या थिएन ।’ उत्पादनले मूल्य पाएमा नेपालमा जति पनि अवसर रहेको कृषक थापा बताउँछन् । दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि हाल दूध बिक्री नहुँदा अलि अलमलमा परेका उनी भन्छन्, ‘मुख्य बजारमा लैजादा दूध खरिदको मात्र घटेको छ । मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ ।’ रासस
ग्लोबल इक्विटी फण्डले पायो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल अवार्ड २०२३
काठमाडौं । ग्लोबल इक्विटी फण्डले बेस्ट एसएमई इन्भेस्टमेन्ट फर्म २०२३ अन्तर्गत ‘प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल अवार्ड २०२३’प्राप्त गरेको छ । यो अवार्ड बेलायतको प्रतिष्ठित म्यागजिन वेल्थ एण्ड फाइनान्स इन्टरनेशनलले प्रदान गरेको हो । ग्लोबल इक्विटी फण्ड जुलाई २०२३ मा यस श्रेणीको लागि मनोनीत भएको थियो । र, निर्णायक मण्डलबाट चयन प्रक्रियापश्चात् १७ नोभेम्बरमा पुरस्कार घोषणा गरिएको थियो । ग्लोबल इक्विटी फण्डले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट नेपालमा प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति पाएको छ । साथै, फण्डले विशिष्टिकृत लगानी कोषअन्तर्गत नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्डको तयारी गरिरहेको छ । जुन फण्डको आकार २ अर्ब रहने छ । फण्डका अनुसार उक्त फण्ड स्टार्टअप तथा ग्रोथ स्टेजका एसएमई कम्पनीमा लगानी गरिनेछ । हाल ग्लोबल इक्विटी फण्डले २ इन्भेष्टमेण्ट फण्डहरूको व्यवस्थापन गरिरहेको छ । ग्लोबलको पहिलो फण्ड ‘नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ हो । यस फण्डको आकार १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फण्डले ६ वटा कम्पनीमा लगानी गरेको छ । फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई, तत्व फाम्र्स र उर्जा इम्याक्ट फण्डमा लगानी गरेको छ । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड पनि पब्लिक कम्पनीको रुपमा रहेको छ । र, निकट भविष्यमा प्रिमियममा आईपीओ निष्काशन गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । साथै, ग्लोबल इक्विटी फण्डले नेपाल वोमेन ग्रोथ इक्विटी फण्डको घोषणा गरेको छ । महिला उद्यमीहरुलाई लक्षित् गरी उक्त फण्ड नेपालको पहिलो इक्विटी फण्ड रहेको कम्पनीको भनाइ छ । यस फण्डको आकार ५० करोडको रहेको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि केही स्टलमात्र बाँकी
काठमाडौं । प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौं मा हुने भएको छ । भृकुटीमण्डपमा हुने मेलाका लागि अब केही स्टलमात्र बुकिङका लागि बाँकी रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघका अनुसार यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश सहभागी हुने भएका छन् । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल पेभेलियन’ तथा वस्तुगत संघका कमोडिटी प्याभिलियन रहनेछन् । नेपाल सरकारको सहयोग, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा मेला हुन लागेको हो । जुन नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौँ संस्करण हो । कुल तीन सयभन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इण्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिएको महासंघले जनाएको छ । मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादन, लघु घरेलु तथा साना उद्योग रहनेछन् भने मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको आयोजकले जनाएको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टल रहने बताइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्र माथि उठाउन सघाउ पु¥याउने आशा एवंं विश्वास महासंघले लिएको छ ।
ईसेवा मनि ट्रान्स्फर मार्फत मनीग्रामको नगद रेमिट्यान्स सुचारु
काठमाडौं। ईसेवा मनि ट्रान्स्फर र मनीग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरु भएको छ । यो सम्झौता सँगै विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले, मनीग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन् । साथै, नेपालमा ग्राहकहरूले मनीग्राम ब्रान्डेड ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट सजिलैसँग आफ्नो भुक्तानीहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरूले पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्नेछन् । अफर अन्तरगत आगामी दश दिनसम्म मनिग्राम मार्फत नगद पटाउँदा अतिरिक्त रु १०० बोनस पाउनुका साथै टी सर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्रीहरू प्राप्त गर्नेछन् । साथै पौष १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्नेछन् । यस सम्झौताबारे ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाले भने, ‘मनीग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनी संग निरन्तर साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ । यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ । साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरी नेपालमा नगद रेमिटेन्सको पहुँच बढाउन हामी प्रतिबद्ध छौँ ।’ मनीग्राम अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । हाल यस कम्पनीको सेवा विश्व भरी सञ्चालनमा रहेका छन् ,जसले आफ्ना मूल्यवान् ग्राहकहरूलाई भरपर्दो, र गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएका छन् ।
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल सञ्चालनमा आउँदै, केबुलकारभित्रै सुत्न र खान पाइने
तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उनले बताए । उनका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ । ५० देखि २५ हजारसम्म टिकट शुल्क जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ । बन्दीपुर केबुलकारमा रु ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ । एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबुलकारको यात्रामा मज्जा लिन सकिनेछ । केबुलकारको २१ डिब्बा यात्रु बोक्ने, छवटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ । एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताए । केबुलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ । केबुलकार र पाँचतारे होटल गरी कूल तीन अरब ५८ करोडको लागतमा निर्माणसम्पन्न हुन लागेको हो । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिकस्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन् । करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक केबुलकारको परीक्षण कार्य सम्पन्न गरिसकेको छ । असोज महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो । बन्दीपुरमा घुम्न आउने पर्यटकहरुले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन् । पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरु सजिलै देख्न सकिनेछ । उक्त होटलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । रङ्गरोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेकोे छ । केबुलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, ‘कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराइने छ ।’ प्रत्येक साँझ ५ बजेपछि केबुलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबुलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । त्यसैगरी केबुलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधासम्पन्न आधुनिक होटल पनि निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रो कार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटलभित्रै केबुलकार पुगेर टुङ्गिनेछ । सत्र तल्लाको पाँचतारे होटल बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘हिलटप नाम दिइएको उक्त होटलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ । एक हजारभन्दा बढी क्षमताको ठूलो सभा हललगायत निर्माण भइरहेको छ । होटलको सुरु तल्लाबाट १७ तल्लासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’ सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर पौडेलले जानकारी दिए । बन्दीपुर केबुलकार र पाँचतारे होटल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा यहाँका व्यवसायीहरुको रहेको छ । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ । ‘बन्दीपुरमा घुम्न आउने पर्यटकहरुलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य नै हो’, अध्यक्ष शर्माले भने । केबुलकार र पाँचतारे होटलको प्रचारपसारसँगै आन्तरिक एवं बाह्य पर्यटकको चलहपहलमा वृद्वि हुने बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । आर्थिक मन्दीका कारण निराश बनेका यहाँका होटल व्यवसायीहरु केबुलकार र होटल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् । ‘बन्दीपुरमा अहिले पनि दैनिक पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ’, उनले भने, ‘पर्यटनको सङ्ख्या जृद्वि हुँदा यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सहज हुनेछ ।’ बन्दीपुरमा गत भदौको दोस्रो सातादेखि पर्यटकको चहलपहलमा वृद्वि हुँदै गएपछि यहाँका होटल व्यवसायीहरुले राहतको महसुस गर्न थालेका छन् । तल्लो स्टेसनको भवन अन्य केबुलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्नेलगायत कार्य एउटै भवनबाट हुनेछ । समग्र बन्दीपुरको विकासमा टेवा बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । समग्र बन्दीपुरको विकाससँगै यहाँ सञ्चालित होटल र होमस्टे प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्नेछ’, उनले भने, ‘बन्दीपुरको पर्यटनमाथि उकासिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल पनि बन्दीपुरमा निर्माण भएकाले पर्यटनको सङ्ख्यामा वृद्वि हुन्छ ।’ केबुलकारसँगै सिसाको भ्यू टावर, सिसाको पुललगायत मनोरञ्जनात्मक र साहसिक खेलका लागि निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुरका खड्गमाई, बिन्दावासिनी, चामुण्डा र थानीमाईलाई जोडेर चारधामका रुपमा पर्यटन प्रवद्र्धन गर्न लागिएको छ । अध्यक्ष थापाले भने, ‘यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको विकासमा परिवर्तन आउनेछ, काँचुली फेरिनेछ ।’ शेयर निष्कासनको तयारी त्यसैगरी १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट्याइनेछ । केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिए । ‘रु दुई करोड ५५ लाखको १२ प्रतिशत शेयर निकालिनेछ’, उनले भने, ‘केबुलकार तयारी अवस्थामा छ तर केबुलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको हो ।’ रासस
डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले १० लाख पाउने
काठमाडौं । ‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने तय भएको छ । लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने कम्पनीले जानकारी दिएको हो । गत असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ । यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बनि नगद रु दश लाख पाउनेछन् । यस्तै मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने कम्पनीको भनाइ छ । यसअघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा भइसकेको छ । डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने कम्पनीले जनाएकाे छ ।