नेपाल इन्स्योरेन्सले भूकम्पपीडितलाई गर्यो २५ लाख रुपैयाँ सहयोग
काठमाडौं । जाजरकोटमा गएको भुकम्प प्रभावितक्षेत्रको पुननिर्माणार्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटडले २५ लाख सहयोग प्रदान गरेको छ । भुकम्प क्षेत्रको पुननिर्माण र पुर्नरस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कम्पनीले सहयोग गरेको हो । कम्पनीका संचालक समितिका अध्यक्ष लक्ष्मण पौडेल तथा प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले उक्त रकमको चेक माननिय अर्थमन्त्री डा. प्रकाश शरण महतलाई हस्तान्तरण गरेका हुन् ।
कुमारी बैंकको ‘गज्जबको बचत’ खाता : उच्च ब्याजसहित स्वास्थ्य बीमा सुविधा
काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमासहितको परिमार्जित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १ हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१ प्रतिशत प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा र निःशुल्क क्रेडिट/डेबिट कार्डसमेत उपलब्ध गराउने जनाएको छ । बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावाला सहभागी हुन सक्नेछन् । यो योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हो । बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहकमैत्री र समय सान्दर्भिक बनाउँदै लैजाने विश्वास लिएको छ । बैंकले देशभरका ३०९ शाखा कार्यालय, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।
भीपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ : प्रहरी
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याइ चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ । यस्तै विद्युतीयस्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ । रासस
ऋणीलाई साँवाब्याज तिर्न सरकारले सहजीकरण गर्ने, अर्थतन्त्र सुधारका लागि यस्ता छन् निर्णय
काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ । मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्न कामबारे सरोकारवालासँग मंगलबार छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवा ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैंकदरका सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा भएको छलफलपछि निर्णयअनुसार सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत संस्थाको स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने छ भने सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षणका लागि सहकारी कोषको स्थापना गरिनेछ । साथै सहकारीलाई आगामी ६ महिनाभित्र नियमनको दायरामा ल्याउन नियामक संस्था स्थापना गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार लघुवित्त संस्थाबाट लिएको ऋण भुक्तानीलाई सहजीकरण गर्ने, कर प्रणाली सुधारका लागि गठित आयोगको सुझावका आधारमा राजस्व संरचनामा सुधार गर्नेलगायत निर्णय भएको छ । यसैगरी बूढीगण्डकी जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थाल, कर्णाली¬ चिसापानी, माथिल्लो अरुण तथा विभिन्न तीन वटा क्रिकेट रङ्गशालालगायत ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा विशेष जोड दिने निर्णय भएको छ । खरीद सम्झौता भई चालू अवस्थामा रहेका, ठेक्काको म्याद थपका सम्बन्धमा जारी आदेश कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गरिने तथा निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी दायित्व तत्काल भुक्तानी गर्ने निर्णय भएको छ । उक्त कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार व्यवसाय र व्यवसायीको पलायन रोक्ने कार्यक्रम ल्याउने, राजनीतिक दलबीच अर्थतन्त्रका सैद्धान्तिक विषयमा साझा बुझाई तयार गर्ने र अनौपचारिक अर्थतन्त्रलाई औपचारिकीकरण गर्न प्रयास गर्ने विषयमा पनि सरकार र सम्बन्धित निकायबाट तत्काल कदम चालिनुपर्ने सुझाव सरोकारवालाबाट आएका छन् । उद्यमशीलता र औद्योगीकरणलाई गति दिन सङ्घ, प्रदेश र स्थानीय सरकारबीच अन्तरसरकारी समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनेछ । मंगलबारको छलफलपछि प्रधानमन्त्रीले पुँजीगत खर्च वृद्धि गर्न ठूला पुँजीगत बजेट भएका मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूलाई गम्भीर भएर कार्यसम्पादन गर्न निर्देशन दिए । सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद गर्न प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्को नियमित बैठक बस्ने, शासकीय सुधार एवम् सुशासन प्रवद्र्धनका लागि एक उच्चस्तरीय आयोग गठन गरी जनताको मनोबल उकास्न आर्थिक तथा वित्तीय सुशासन कायम गरिने प्रधानमन्त्री दाहालले बताए । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्नेहरूलाई राज्यले कुनै सुनवाइ नगर्ने बताए । अप्ठ्यारोमा परेका व्यवसायलाई सहजीकरण गर्न राष्ट्र बैंकमार्फत केही नीति लिन सकिने भए पनि कर्जा नै तिर्दिन भन्नु जायज माग नभएको उनले स्पष्ट पारे । मुलुकको अर्थतन्त्रको अवस्था खस्किँदै गएका कारण उद्योगी व्यवसायी समयमा कर्जाको साँवा ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका कारण कर्जाको पुनः संरचना र पुनरतालिकीकरण गरिनुपर्ने माग निजी क्षेत्रको छ । त्यस्तै, जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि, साना उद्योग व्यवसायको प्रवद्र्धनलगायत क्षेत्रलाई ध्यानमा राखेर सरकारले काम गर्ने अर्थमन्त्री महतले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आज राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विषयगत मन्त्रालय, निजी क्षेत्र, अर्थतन्त्रका जानकारसहित सरोकारवालासँग छलफलपछि तत्काल चाल्नुपर्ने नीतिगत सुधार र व्यावहारिक समस्या समाधानका लागि निर्णय भएको हो । बैठकमा अर्थमन्त्री डा.महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।
रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै
काठमाडौं । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा मंगलबार ३ जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । उनीहरूको साथबाट १३ लाख ८८ हजार ४ सय रुपैयाँ बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा मंगलबारनै बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । गत आइतबार १४ लाख ९१ हजार ६८२ रुपैयाँ बराबरको सुनका औँठीसहित ३ जना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले बताएको छ । अवैधरूपको सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
अर्थतन्त्रको अवस्था खराब छैन, बैंकको ऋण तिर्दिन भन्नेप्रति सरकार कडारूपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था प्रचार भएजस्तो खराब नभएको बताएका छन् । ‘नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी कार्यदिशा’ शीर्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रका चारवटै क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताए । उनले वास्तविक क्षेत्र, सार्वजनिक क्षेत्र, मौद्रिक क्षेत्र तथा बाह्य क्षेत्रमा सुधारका सङ्केत देखिन थालेको बताए । “मैले पनि अर्थतन्त्रको पुनरुत्थानको लागि नियमितरुपमा निर्देश गरिरहेको छु । हामीले प्रतिकूल समय पार गरिसकेका छौँ । विस्तारै अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचकमा सुधारका सङ्केत देखिन थालेका छन्”, प्रधानमन्त्रीले भने, “अर्थतन्त्रको अहिलेको अवस्थाबारे हामी जानकार नै छौ । म स्वयं पनि उद्योगी, व्यवसायी, आयात निर्यातकर्ता, निर्माण व्यवसायी, यस क्षेत्रका विज्ञलगायत विभिन्न सरोकारवाला पेसाकर्मीसँग निरन्तर अन्तरक्रियामा छु ।” बाह्य क्षेत्रको अहिलेको अवस्था हालसम्मकै सबैभन्दा मजबुत देखिएको बताउँदै प्रधानमन्त्रीले पर्यटन आवागमनमा ३० प्रतिशतले वृद्धि भएको, विदेशी लगानी आप्रवाह वृद्धि भएको, शोधनान्तर बचतमा सुधार भएको, वैदेशिक मुद्रा सञ्चिति उच्च विन्दुमा पुगेको, बैंक वित्तीय क्षेत्र पनि सबल रहेको जानकारी दिए । ब्याजदर घट्दो अवस्थामा रहेको, लगानीयोग्य पुँजी वृद्धि भएको, निजी क्षेत्रमा कर्जा प्रवाह विस्तार हुँदै गएको उनले बताए । सरकारी क्षेत्रमा पहिलेको तुलनामा पुँजीगत खर्च वृद्धि हुँदै गइरहेको छ भने चालु खर्च घटाउन सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लक्षित आर्थिक वृद्धि हासिल गर्नमा सघाउ पुग्ने अपेक्षा गरिएको बताए । अर्थतन्त्रले केही गति लिएको भए पनि हाम्रा विकासका आकाङ्क्षाको तुलनामा हामीले गरेका प्रयासका बाबजुद पनि अझै माग र आपूर्तिबीच खाडल रहेको उनको भनाइ छ । देशको अर्थतन्त्रका समस्या समाधानका लागि परिणाम देखिने तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । “हामीले सरकार सम्हाल्दा समष्टिगत आर्थिक परिसूचक सहज थिएनन् । अहिले प्रस्तुत तथ्याङ्कले गत वर्ष खुम्चिएको अर्थतन्त्र लयमा फर्किने क्रममा छ भन्ने देखाउँछ । यसलाई अझै योजनाबद्व तवरबाट गति दिनुपर्ने देखिन्छ”, प्रधानमन्त्रीले भने । देश चुनौतीरहित अवस्थामा नरहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले लघुवित्त तथा बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या देखिएकाले त्यसको समयमै उचित सम्बोधन हुन जरुरी भएको बताए । निजी क्षेत्रले बजारमा वस्तु तथा सेवाको माग सिर्जना कम भयो, व्यावसायिक गतिविधि चलायमान भएन, ऋणको साँवा ब्याज तिर्ने समय लचिलो नहुँदा धेरै साथीहरु विचलित भए, बैंकको ब्याजदर पनि बढी भयो र अर्थतन्त्र शिथिल भयो भनेर पटकपटक टिप्पणी गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले भने, “यसका कारण के हुन् यसको समयमै खोजी गर्नुपर्ने अवस्था छ । कारणको खोजी मात्र होइन उचित सम्बोधन पनि गर्नुपर्छ ।” पछिल्ला समयमा केही अराजक प्रवृत्ति विकास भइरहेकाप्रति सरकार कडारुपमा प्रस्तुत हुने सङ्केत गर्दै प्रधानमन्त्रीले ऋण लिएर तिर्नु नै पर्दैन भन्ने भाष्य सही नभएको बताए । व्यवसायी वास्तविकरुपमा मर्कामा छन् भने उहाँहरुका गुनासा सुन्नु जरुरी रहेको, उत्पादनशील क्षेत्रमा लगानी बढाउन र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्दै यसलाई स्वस्थ राख्नुपर्ने अवस्था रहेको प्रधानमन्त्रीको कथन छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विजारोपणपश्चात् यस व्यवस्थाकालमा नेपालमा केही पनि भएन भन्ने कुरा सही नभएको उनले उल्लेख गरे । नेपालको अहिलेको अवस्था पञ्चायतकालको ३० वर्षमा अर्थतन्त्रको आकार र बहुदल पछिका तीस वर्षमा अर्थतन्त्रको आकार तुलना गर्दा उल्लेख्य वृद्वि भएको प्रधानमन्त्रीले तथ्याङ्क पेस गरे । २०४५/४६ पछि कूल गार्हस्थ्य उत्पादनको आकार ६० गुणाले बढेर ५ हजार ३८१ अर्ब पुगेको छ । प्रतिव्यक्ति आय १९६ अमेरिकी डलरबाट सात दशमलब एक गुणाले बढेर १ हजार ३९९ पुगेको छ । नेपालीको औसत आयु ५२ वर्षबाट ७३ वर्षको हाराहारीमा पुगेको छ । त्यसैगरी मानव विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको छ भने नेपाल अतिकम विकसित देशबाट विकाशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले “हाम्रो मूल समस्या भनेको न्यून आर्थिक वृद्धि र युवा जनशक्तिलाई मुलुकमै गुणस्तरीय रोजगारी दिन नसक्दा प्रतिभा र श्रम पलायन हुनु हो । यसलाई तत्कालै सम्बोधन गर्न जरुरी छ । यसका साथै बढ्दो सामाजिक आर्थिक असमानता पनि घटाउन जरुरी छ । सरकार, निजी क्षेत्रलगायत सहकारी क्षेत्रको संयुक्त साझेदारीमा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्वि गरी आन्तरिक उत्पादन र रोजगारी बढाउनै पर्छ” भने । सरकारको तयारी आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रको परिपूरकतालाई राष्ट्रिय पुँजीको रुपमा विकास गर्न जरुरी रहेको बैठकले निष्कर्ष निकालेको छ । विश्वव्यापीकरण तथा विश्वमा विकास भइरहेका नवीन प्रविधिलगायत विकासका मोडेलमा भएका परिवर्तनलाई आत्मसात गर्दै नेपालको परम्परागत अर्थतन्त्रको संरचना रुपान्तरण गर्नैपर्ने बेला भइसकेको ठहर गरिएको छ । “चुनौती हरेक अर्थतन्त्रमा रहन्छन्, सकारात्मक सोच, साझा प्रयास र दृढ इच्छा शक्तिले नै समृद्धिको दिशा तय गर्ने हो ”, प्रधानमन्त्रीले भने । रोजगारी सृजना र गरिबी निवारणमा सहयोग पुग्नेगरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै राष्ट्रिय पुँजी निर्र्माण गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । छलफलका निष्कर्षका आधारमा अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, निजी क्षेत्रलगायत विभिन्न विज्ञको सहभागितामा नेपालमा आर्थिक विकासको मार्गचित्र कोर्न सक्ने अर्थतन्त्र सुधार तत्कालीन र दीर्घकालीन रणनीतिक खाका तयार मङ्सिर मसान्तभित्रै मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरिने प्रधानमन्त्रीले जानकारी दिए । वित्त, मौद्रिक र विषयगत क्षेत्रगत नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रको पुनःरुत्थान गर्दै उच्च आर्थिक वृद्धि हासिल हुनसक्ने प्रधानमन्त्रीले बताए । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे जानकारी दिएको थियो भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा भएका सुधारको खाका प्रस्तुत गरेका थिए । छलफलमा नेकपा एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, अर्थविद् रामेश्वर खनाल, जनक शाहले मुलुकको देशको वर्तमान आर्थिक स्थितिबारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । रासस
सिद्धार्थ बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे ५ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदीप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ९५ हजार १० कित्ता गरी ५ लाख ४९ हजार ५७२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक जोकोही लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् । सेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड
काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स)कोड सार्वजनिक गरिएको बताए । “विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो”, प्रहरी नायब महानिरीक्षक ढकालले भने, “यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।” ‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत २ लाख २७ हजार ४२४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तक्र्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । उनले भने, “अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन ।” उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ थियो । त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताए । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए ३ दिनभित्र र साधारण खालको भए ५ दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ । क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तक्र्रियात्मक गस्तीबाट ७ हजार २६२, यात्रुमैत्री अभियानबाट २ लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट १ हजार ५६५ जना लाभान्वित भएका छन् ।