नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं । नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । नेपाल पेमेन्ट सोल्युशन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।
झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित
झापा । जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए। केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उहाँले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए । उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए । ‘धान, मकैखेतीभन्दा केराखेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ’, प्रमुख विष्टले भने, ‘त्यही भएर किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित भइरहेका छन् ।’ दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् । उनले केराखेती प्रवद्र्धनका लागि ज्ञानकेन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन् । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उहाँले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् । पालिकामा उनले गरेको केराखेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केराखेतीमा लागेका छन् । उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग गर्दै आएका छन् । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् । स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएको बस्नेतले वार्षिक रु एक करोडको केरा बिक्री गर्ने गरेको बताए । उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केराखेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए । ‘यही चालु आर्थिक वर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु’, उनले भने, ‘चाँडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले सबै किसानलाई लाभ दिन्छ ।’ उनले झापा गाउँपालिकाले केराखेतीलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे । उनी भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने ‘जैन डिप स्प्रिङ्कल सिँचाइ’ प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएका हुन् । यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए। उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए । रासस
महिला लघुवित्तको लक इन पिरियड फागुन १३ गते सकिँदै, ६ लाख ५ हजार कित्ता कारोबारमा आउने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको लक इन पिरियड फागुन १३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको लघुवित्तले जनाएको छ । संस्थापक समूहको ६ लाख कित्ता र कर्मचारी समूहको ५ हजार कित्ता गरी कूल ६ लाख ५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको लघुवित्तको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ । लघुवित्तका अनुसार बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्था बमोजिम संस्थापक सेयरधनीको लकइन अवधि वि.सं २०८० असोज ३० गते समाप्त भएको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम आईपीओ बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर तथा कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ । लकइन समाप्त हुने सम्बन्धमा धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि सूचीकृत कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् । लघुवित्तले वि.सं २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत)लाई आईपीओ निष्काशन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो ।
१०५ रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक सेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।
न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ । नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो । उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
नारायणगढ बुटवल सडकको कालोपत्रको काम रोकियो, दोस्रोपटक म्याद थप्दा पनि पुरा नहुने
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक लकच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ । “यस खण्डमा ८ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो ।” बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले ८ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप ८ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने बताए । “अहिले सडकमा बेस र सब बेस (खनिएको सडकमा माटोले पुर्दै कालोपत्र गर्ने चरणमा पुर्याउने अवस्था)को काम तथा नाली निर्माण भइरहेका छन्”, उनले भने, “निर्माण कम्पनीको मासिक प्रगति विवरण हेर्दा अहिले दैनिक १ हजार ३ सय जना कामदार लगाएर सडक विस्तार भइरहेको पाएका छौँ ।” सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको जनाए । “हाम्रो डण्डामा रहेको अक्सपाल्ट प्लान्टमा बिटुमिन सकिएर कालोपत्र गर्नका लागि अक्सपाल्ट निर्माण गर्न सकेका छैनौँ” उनले भने, “बिटुमिन भन्सारमा आइसकेको जानकारी पाएका छौँ, केही औपचारिकता पछि नेपाल भित्रिन्छ ।” बिटुमिन आएलगत्तै कालोपत्र सुरु हुने झाको भनाइ छ । अक्सपाल्ट प्लाण्टमा बिटुमिन आएपछि एक/दुई दिन अक्सपाल्ट तताउन समय लाग्ने भन्दै झाले त्यसलगत्तै कामले तीव्रता पाउने बताए । अहिले कावासोती, प्रगतिनगरलगायतका ठाउँको सडकमा बेस र सब बेस राख्ने काम भइरहेको उनको भनाइ छ । दोस्रोपटक थप भएको म्याद सकिने बेला असार मसान्तसम्म ७० प्रतिशतभन्दा बढी सडक विस्तारको भौतिक प्रगति हुनेगरी काम भइरहेको झाको भनाइ छ । योजनाको पूर्वीखण्डमा पर्ने गैँडकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको खनालको भनाइ छ । “एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन निर्देशन भएको छ”, उनले भने, “यस वर्ष एकतर्फी कालोपत्रको काम सकाउने गरी निर्माण पक्ष लागेका छन् ।” पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको उनको भनाइ छ । सडक विस्तारका क्रममा नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डमा निर्माण हुने १२ वटा मेजर ब्रिज (ठूला पुल) मध्ये २ वटा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी खनालका अनुसार झराही खोलाको पुल र कावासोती खोलाको पुल निर्माण सम्पन्न भएको हो । “निर्माण सम्पन्न भएका दुई वटा पुलमा सवारीसाधन सञ्चालनमा ल्याइएको छैन” उनले भने, “बाँकी १० वटा पुलमा फाउण्डेसन (जगको पिल्लर) निर्माण गर्ने काम सकिएको छ, अब बिम राख्न मात्रै बाँकी छ ।” ठूला पुलको लागि पुलभन्दा बाहिरै सडकमा बिम निर्माण गरिएको उल्लेख गर्दै खनालले बिम उठाएर पुलको फाउण्डेसनमा लगेर जोड्ने क्रेन उपलब्ध नहुँदा बिम जोड्ने काम प्रभावित भएको बताए । “पुलभन्दा बाहिर बिम निर्माण गर्दा काम चाँडो हुने भएकाले निर्माण पक्षले सडकमा बिम निर्माण गरेको छ” उनले भने, “सबै पुलको बिम निर्माण भइसकेका छन्, क्रेन ल्याएर एकैपटकमा बिम राख्ने काम हुन्छ ।” यस खण्डमा निर्माण हुने २२ वटा माइनर ब्रिज (साना पुल)मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको भन्दै अरुणखोलामा पर्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । यस खण्डमा पर्ने दाउन्नेमा ५ किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अन्य ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने अतिरिक्त २ लेन सडक विस्तार गर्ने गरी काम अघि बढिरहेको छ । गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विसं २०७५ माघ २४ मा चीनको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सडक विस्तारको काम सुरु गरिएको हो ।
मुग्लिन पोखरा सडकमा कालोपत्र सुरु, फागुनसम्म एकतर्फी ५ कि.मि.सक्ने लक्ष्य
काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन बिहीबार ४२० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा ५ किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ । उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए । उनले भने, “अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।” पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो । धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शङ्कर पन्तले बताए । उनले भने, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।” उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे । मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि ‘आर्क डिजाइन’मा पुल बन्दैछ । पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । रासस
३ दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन : मौसम विज्ञान विभाग
काठमाडौं । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले राससलाई जानकारी दिए । काठमाडौँमा बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौँमा बिहीबार न्यूनतम तापक्रम ३ डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो । यसअघि गत सोमबार ३.२ डिग्री मापन गरिएकामा ०.२ डिग्री झरेपछि बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । बिहीबार अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको । बिहीबार सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।