बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी
काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच वर्षे निर्माण अवधि तय गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण भइरहेको छ । यस ‘मोडल’अन्तर्गत ‘डिजाइन’, स्वीकृति तथा निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ । आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङमार्गमार्फत आगामी असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ । त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) का रूपमा रहने व्यवस्था गरिएको छ । आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो । नेपालमा इपिसी मोडलको नयाँ अभ्यास भएकाले आवश्यक कागजात व्यवस्थापन, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनमा देखिएका समस्याले केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ । हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको पौडेलले बताए । सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ । सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ । पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिनेछ । आयोजनाको प्रारम्भिक लागत अनुमान करिब रु १० अर्ब रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब रु सात अर्बमा सम्झौता गरिएको हो । सिद्धार्थ राजमार्गको उक्त खण्ड पहिरो तथा भूक्षयका दृष्टिले जोखिमयुक्त मानिएकाले सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।
नेपाल तरुण दलको अध्यक्षमा कोइराला नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ )संशोधनसहित) को धारा ४२ (१) )च) बमोजिम काठमाडौंका कोइरालालाई आइतबार (आज ) अध्यक्ष पदमा नियुक्त गरेका हुन् । गत वैशाख २१ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयअनुसार सभापति थापाले कोइरालालाई अध्यक्षमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । म्याद समाप्त भई कार्यसमिति स्वतः विघटन भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो । नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ । यसका लागि पार्टीले ९ बुँदे स्पष्ट कार्यादेश र कार्यविवरण समेत उपलब्ध गराएको छ । लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएको तरुण दलले नयाँ नेतृत्व पाएसँगै अब महाधिवेशनको प्रक्रिया अघि बढ्ने अपेक्षा पार्टीले गरेको छ ।
रुख ढलेर प्रसारण लाइनमा क्षति: विद्युत् सुचारु गर्न प्राविधिक टोली रातभर खटिने
काठमाडौं । प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न ठाउँमा विद्युत प्रसारण लाइनमा क्षति पुगी केही स्थानमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ । प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि विद्युत् आपूर्ति सुचारु गराउन मन्त्रीको सचिवालय सक्रिय रूपमा समन्वयमा जुटेको छ । नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सोमबार बिहानसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्ने लक्ष्यसहित प्राधिकरणका कर्मचारी, प्राविधिक तथा मजदुरहरू रातभर परिचालित भएका छन् । प्राधिकरणले मौसमजन्य जोखिमका कारण केही क्षेत्रमा समस्या देखिए पनि मर्मत तथा पुनः सञ्चालनको काम तीव्र गतिमा अघि बढिरहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पिलुवा-पथलैया-चन्द्रनिगाहपुर खण्डअन्तर्गत टावर नं. १२२-१२३ बीच रुख ढलेपछि प्रसारण लाइन प्रभावित भएको थियो । उक्त क्षेत्रमा ढलेको रुख हटाउने कार्य सम्पन्न भइसकेको छ भने हाल सर्किट चार्ज गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ । त्यस्तै, सोही खण्डको टावर नं. १३६-१३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको प्राधिकरणले जनाएको छ । अहिले लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य भइरहेको छ । यता अमलेखगञ्ज-कामाने खण्डअन्तर्गत टावर नं. ४६-४७ बीच एक रुख ढल्दा आरटीएस कन्डक्टरमा क्षति पुगेको छ । उक्त क्षेत्रमा मर्मत कार्यका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र स्ट्रिङिङ कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
एमाले सचिवालय बैठक १० घण्टापछि सकियो, 'निर्वाचन समीक्षा' कार्यदल गठन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक करिब १० घण्टापछि सम्पन्न भएको छ । आइतबार बिहान ११ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा सुरु भएको बैठक भर्खरै सम्पन्न भएको हो । बैठकले उपाध्यक्ष रामबहादुर थापा को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । एमाले स्रोतका अनुसार कार्यदलले पछिल्ला निर्वाचनको समीक्षा गर्दै पार्टी संगठन सुदृढीकरण, जनआधार विस्तार तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ । बैठकमा पार्टीको सांगठनिक अवस्था, सरकारको कामकारबाही, समसामयिक राजनीतिक परिस्थिति तथा नेताहरूको कार्यविभाजन लगायत विषयमा समेत छलफल भएको बताइएको छ । नेकपा एमालेले आगामी असारको तेस्रो साताभित्र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले असार १५ देखि २० गतेभित्र बैठक गर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्ट ले बैठकको मिति अध्यक्ष ओली र महासचिव शंकर पोखरेल बीचको परामर्शपछि टुंगो लगाइने बताए । उनले केन्द्रीय कमिटी बैठकमा सचिवालयमा उठेका समसामयिक राजनीतिक विषय, पार्टी संगठनका एजेन्डा तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि विस्तृत छलफल हुने जानकारी दिए ।
खानी उत्खननमा बेथिति, महालेखाले देखायो २३ करोडभन्दा बढी बक्यौता
काठमाडौं । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी अवधिसम्म उत्खननबापतको रोयल्टी नबुझाएको र अनुमति पाएकोभन्दा बढी परिमाण उत्खनन गरेको पाइएको छ । साधारण ढुङ्गाको रोयल्टी दर प्रतिघनमिटर २५ रुपैयाँ तथा नियमबमोजिम ३० प्रतिशत जरिवाना र १० प्रतिशत स्थानीय विकास शुल्कसमेतको रकम असुल गर्न भनिएको छ । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार, खानीबाट निकालिएको खनिज पदार्थको परिमाणका आधारमा रोयल्टी रकम प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट एक अर्ब ५९ करोड ४५ लाख आठ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । तोकएको समयमा रोयल्टी नबुझाएको खण्डमा ३० प्रतिशतसम्म जरिवाना रकम तिर्नुपर्ने व्यवस्था छ । विभागका अनुसार तीन वटा कम्पनीले १० प्रतिशत स्थानीय शुल्कसमेत गरी चार करोड ९९ लाख ५४ हजार रुपैयाँ दाखिला गर्नुपर्ने देखिएको छ । सो रकम असुल गर्न प्रतिवेदनमा भनिएको छ । खनिज पदार्थ उत्खनन गर्न अनुमति प्राप्त व्यक्ति, फर्म तथा उद्योगले सम्झौतामा तोकिएको परिमाण मात्र उत्खनन गर्नुपर्ने व्यवस्था भए पनि सो अनुरुप नभएको प्रतिवेदनमा उल्लेख छ । विभागले उत्खननकर्ताले बुझाएको परिमाणका आधारमा रोयल्टी लिने गरेकाले खनिज पदार्थको हिसाबकिताब तोकिएको ढाँचामा राख्न महालेखापरीक्षकको कार्यालयले सुझाएको छ । उत्खनन अनुमति र माइनिङ स्किमभन्दा बढी उत्खनन गर्ने कार्य नियन्त्रण गर्नुपर्ने निर्देशन दिइएको छ । खनिज कोष स्थापना गर्ने, भौगर्भिक सूचनाको नक्साङ्कन गर्ने, सबै खनिज स्रोतको डेटाबेस तयार गर्नेलगायतका नीति कार्यान्वयन नभएको भन्दै तत्काल प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, “जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका निज सिंहलाई हाम्रो टोलीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।” पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।
‘निजी चल्ने, सरकारी बन्द हुने दुःखद् हो, हेटौंडा सिमेन्ट छिट्टै चलाउँछौं’ : मन्त्री यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेका छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आइतबार (आज) उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल समेत गरेका हुन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद् भएको बताउँदै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘हेटौंडा सिमेन्ट उद्योग नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ, त्यस विषयमा हामीले अध्ययन गरिरहेका छौं’ , मन्त्री यादवले भने, ‘थुप्रै निजी सिमेन्ट उद्योगहरू नियमित सञ्चालन हुने तर सरकारी स्वामित्वको सिमेन्ट उद्योग बन्द हुने यो असाध्यै दुःखद् कुरा हो ।’ सरकारले हेटौंडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको छ, छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउँछ मन्त्री यादवले भने । ‘उद्योग बन्द हुँदा रोजगारीमात्र गुम्दैन, देशको आर्थिक अवस्थामा पनि असर पर्छ’, मन्त्री यादवले भने, ‘त्यसैले जसरी भए पनि सिमेन्ट उद्योगलाई सञ्चालन गर्न सरकार चाहिरहेको छ, यसमा सबैको सहयोग आवश्यक छ ।’ सरकार एक्लैले मात्र चाहेर उद्योग नियमित चल्न नसक्ने भएकाले यसमा व्यवस्थापन र कर्मचारीको पनि त्यत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले बन्द अवस्थामा रहेको हेटौंडा सिमन्ट उद्योग नियमित सञ्चालनका लागि सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताए । कार्यक्रममा हेटौंडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले मेसिन पुरानो र जीर्ण भएकाले समय-समयमा बिग्रिने र आर्थिक सङ्कटका कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द भएको जानकारी दिए । मेसिनको मर्मतसम्भार गरेर समय-समयमा थोरै भए पनि सिमेन्ट उत्पादन गर्दै आएकामा पछिल्लो समय कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द गर्नुपरेको जानकारी दिँदै निमित्त महाप्रबन्धक साहले आर्थिक समस्याका कारण कर्मचारीहरूलाई ११ महिनादेखि तलबभत्ता उपलब्ध गराउन नसकिएको, कच्चा पदार्थ आपूर्तिकर्ताको पुरानो बक्यौता तिर्न नसकेको, बिजुली महसुल भुक्तानी गर्नेलगायत समस्या अवगत गराए ।तत्काल देखिएको आर्थिक समस्यालाई समाधान गर्न सकिए उद्योग नियमित सञ्चालन गर्न सकिने उनको भनाइ थियो । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।
बागमती नदीमा डुबेका दुवै युवकको शव भेटियो
काठमाडौं । नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट शनिबार अपराहन्न दुई युवक बेपत्ता भएका थिए । खोलामा डुबेर बेपत्ता भएका लालबन्दी नगरपालिका-९ बस्तीपुरका अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी नगरपालिका-६ का अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासका क्रममा आज बागमती नगरपालिका-११ स्थित खोलाकिनारमा फेलापरेको प्रहरीले जनाएको हो । शनिबार खोला तर्ने क्रममा झप्सी झुलुङ्गे पुलमुनिबाट उनीहरू दुई जनासहित बरहथवा नगरपालिका-५ का अन्दाजी २८ वर्षका सहमद मोमिन, २४ वर्षका मोहम्द अखतर र ब्रहमपुरी गाउँपालिका-३ का अन्दाजी २० वर्षका श्याम भण्डारीलाई समेत खेलाले बगाएको थियो । बगेका तीन जना भने त्यसको केही मिटरको दूरीमा रहेको नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। उनीहरू शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ । बेपत्ता रोहित र गणेशको भने खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव घटनास्थलको मुचुल्कापछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । घटनापछि मृतक युवकहरूको गाउँ शोकमा डुबेको छ ।