विकासन्युज

मनसुनको प्रभाव कायमै, यी ३ प्रदेशमामा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई डेढ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नयाँ मूल्य सोमबारदेखि लागू हुने गरी बढाएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरिएको हो । मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ ।  यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७.५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा १ अर्ब ४९ करोड रुपैयाँ घाटा रहेको जनाएको छ । 

‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, स्वास्थ्य र आत्मविश्वास बढाउँछ’

काठमाडौं । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ ।  ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानस् प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔं’ भन्ने सन्देशसहित कार्यक्रम सुरु भएको हो ।  कार्यक्रममा चिकित्सकहरूले स्तनपानसम्बन्धी विभिन्न भ्रम चिर्दै यसको स्वास्थ्यगत महत्त्वबारे स्पष्ट पारेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसूति रोग विभागकी विभागीय प्रमुख तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. रिता मरहठ्ठाले स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन् ।  नियमित स्तनपान गराउने महिलामा स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुने, प्रसूति पश्चात् पाठेघर चाँडै सामान्य अवस्थामा फर्किन सहयोग पुग्ने र शारीरिक पुनःस्थापनामा समेत स्तनपान प्रभावकारी हुने उनको भनाइ थियो । पछिल्लो समय स्तनपान गराउँदा महिलाको शारीरिक सौन्दर्यमा असर पर्छ भन्ने भ्रम समाजमा फैलिएको उल्लेख गर्दै उनले यस्तो धारणा वैज्ञानिक आधारविहीन रहेको स्पष्ट पारिन् ।  ‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, बरु उनीहरूको स्वास्थ्य, आत्मविश्वास र प्राकृतिक सौन्दर्यलाई अझ सुदृढ बनाउँछ । नियमित स्तनपानले आमा र बच्चा दुवैलाई दीर्घकालीन फाइदा पुग्छ,’ उनले भनिन् । बालरोग विशेषज्ञ प्रा. डा. गणेश साहले जन्मेदेखि पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्नेमा जोड दिए ।  आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने र संक्रमणबाट जोगाउने उनले बताए । उनले जन्मिएलगत्तै दूध नआएको भन्दै हतारमा फर्मुला दूध प्रयोग गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे ।  अस्पताल निर्देशक प्रा. डा. नीलमणि उपाध्यायले सामाजिक सञ्जाल र केही सार्वजनिक व्यक्तित्वबाट फैलाइएका गलत धारणाका कारण कतिपय महिलाले स्तनपानबाट टाढिन थालेको उल्लेख गर्दै वैज्ञानिक तथ्यमा आधारित सचेतना आवश्यक रहेको बताए ।  स्तनपानले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो । कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन् ।  नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रमका क्रममा नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूले सेवाग्राहीलाई स्तनपान गराउने सही तरिका, आमाको दूधका फाइदा तथा स्तनपानसम्बन्धी सामान्य जिज्ञासाको समाधानबारे परामर्श दिएका थिए ।  विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह अन्तर्गत नेपाल मेडिकल कलेजले साताभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । थप तस्बिरहरू :

एफसी बार्सिलोनाको मुख्य साझेदार बन्यो माइडिया, अब बार्साको जर्सीमा देखिने लोगो

काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया स्पेनी फुटबलको प्रतिष्ठित क्लब एफसी बार्सिलोनाको मुख्य साझेदार तथा आधिकारिक होम एप्लायन्स पार्टनर बनेको छ। दुवै पक्षबीच भएको पाँच वर्षे रणनीतिक साझेदारी सन् २०२६/२७ सिजनदेखि लागू भएको हो । यो सहकार्य सन् २०३०/३१ सिजनसम्म कायम रहनेछ भने १ जुलाई २०२६ देखि औपचारिक रूपमा कार्यान्वयनमा आइसकेको छ। यस साझेदारीसँगै एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो राखिएको छ ।  क्लबले सार्वजनिक गरेको २०२६र२७ सिजनको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक समावेश गरिएको हो । माइडियाका अनुसार यो सहकार्य जर्सीमा लोगो राख्ने प्रायोजनमा मात्र सीमित रहने छैन ।  आगामी पाँच सिजनसम्म दुवै संस्थाले संयुक्त सामग्री निर्माण, खेलदिवसका गतिविधि, समर्थक सहभागिता तथा विभिन्न बजार लक्षित अभियान सञ्चालन गर्दै विश्वभरका फुटबल समर्थक र उपभोक्तासँग सम्बन्ध अझ सुदृढ बनाउनेछन् । खेलकुदको उत्कृष्टता, प्रविधिमा नवप्रवर्तन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा जोड्नु साझेदारीको मुख्य उद्देश्य रहेको माइडियाले जनाएको छ ।  दुवै संस्थाले आफ्ना क्षेत्रमा उत्कृष्टता, सिर्जनशीलता र दीर्घकालीन प्रभावलाई प्राथमिकता दिँदै आएको कम्पनीको भनाइ छ । एफसी बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्तेले स्मार्ट होम समाधान, अनुसन्धान र नवप्रवर्तनप्रति माइडियाको प्रतिबद्धता क्लबको भविष्यप्रति केन्द्रित सोचसँग मेल खाने बताए । यस्तै, माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले विश्वकै सफल र लोकप्रिय फुटबल क्लबमध्ये एक एफसी बार्सिलोनासँग दीर्घकालीन सहकार्य गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । नेपालमा पनि ठूलो संख्यामा रहेका बार्सिलोना समर्थकका लागि यो साझेदारी विशेष महत्त्वको मानिएको छ । अब उनीहरूले आफ्नो मनपर्ने क्लबको खेल तथा प्रशिक्षण जर्सीमा माइडियाको लोगो प्रत्यक्ष रूपमा देख्न सक्नेछन् ।  कम्पनीका अनुसार यसले माइडियाको विश्वव्यापी ब्रान्ड पहिचानलाई थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तामाझ स्मार्ट र आधुनिक जीवनशैलीसँग जोडिएको ब्रान्डका रूपमा यसको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । सन् १९६८ मा स्थापना भएको माइडिया विश्वव्यापी प्रविधि तथा होम एप्लायन्स कम्पनी हो। नेपालमा यसको आधिकारिक बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ ।  कम्पनीका वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, एयर प्युरिफायरलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सन्तोष प्रसाईंले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा राम्रो वृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरे ।   कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरू, सेल्स एक्जुकेटिभ गरी देशैभरिबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट काम गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतलाई विशेष सम्मानसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोर प्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडि जानु पर्ने बताए ।

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६ सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ‘आइएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’  सम्पन्न भएको छ।  अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, कम्पनीको उच्च व्यवस्थापन र अन्य सदस्यहरूको उपस्थिति थियो ।  कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्नु पारेका थिए । साथै उनले कम्पनीको बारेमा बोल्दै कम्पनीले गरेको उल्लेख्य प्रगतिमा अभिकर्ताको मेहेनत र प्रविधिको प्रयोग मुख्य रहेको र अभिकर्ताको मेहेनतलाई साथ दिन कम्पनीलाई आगामी दिनहरुमा उच्चतम प्रविधिको प्रयोग गर्ने दायित्व रहेको बताए ।  आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला ८ वर्षको अवधिमा कम्पनीले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आइएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरूको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरी सहयोग गरिरहने बताए । यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरुलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८२।८३ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेको बताए ।  उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनाहरु प्रस्तुत गरेको, कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष  परिमार्जन गर्दै आएको र आगामी दिनमा कम्पनीका डिजिटल सेवा प्रवाहलाई  थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गरेका, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ ।  उत्कृष्ट अभिकर्ताहरुलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा निर्देशकहरु, विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल, सन्दीप अग्रवाललगायतले अवार्ड वितरण गरेका थिए । अभिकर्ताहरूको सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय  उपस्थिति थियो । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रूपमा गर्ने गर्दछ । 

निर्माण व्यवसायी महासंघले नै ‘मिस नेपाल’ प्रतियोगीका लागि भोट मागेपछि...

काठमाडौं । देशको पूर्वाधार विकास र निर्माण व्यवसायीहरूको हकहितका लागि काम गर्ने छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ ले आफ्ना पदाधिकारीका पारिवारिक सदस्यलाई सुन्दरी प्रतियोगितामा जिताउन भोट मागेको पाइएको छ । महासंघका महासचिव शिवहरि घिमिरेको हस्ताक्षर र संस्थाको आधिकारिक छापसहित जारी गरिएको एक पत्रमा ‘मिस नेपाल प्रतियोगिता २०२६’ की प्रतिस्पर्धी प्रतिमा खड्काका लागि भोट माग्दै सहयोगको अपील गरिएको हो। प्रतियोगी खड्का काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष बासु खड्काकी छोरी हुन् । चलानी नम्बर समेत उल्लेख गरिएको उक्त पत्रमा सिंगो महासंघका सदस्यहरूलाई सम्बोधन गर्दै क्युआर कोडमार्फत प्रतिभोट १० रुपैयाँका दरले नेपाल पे, इसेवा, खल्ती वा आईएमई पेमार्फत भुक्तानी गरी भोटिङ गरिदिन अनुरोध गरिएको छ । महासंघजस्तो गरिमामय संस्थाले यसरी भोट मागेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

लुटपाट गर्ने ‘कर्मा समूह’ का नाइकेसहित ५ जना पक्राउ

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेका अनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नाइके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् ।  प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी प्रमुख घिमिरेले बताए ।  प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  कर्मा समूहले उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनको सिक्री लुट्ने गरेको एसएसपी घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त गिरोहले विशेषगरी बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो ।  उनीहरूले शुरुमा बाटो सोध्ने बहानामा संवाद गर्ने र त्यसलगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा नगद लुट्ने शैली अपनाएको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, केही दिन काठमाडौंमा लगातार अपराध गरेर १०–१५ दिन अन्यत्र लुक्ने रणनीति अपनाउने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  उनका अनुसार हालसम्म काठमाडौं र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा कर्मा गिरोहको संलग्नता रहेको पाइएको छ । उनीहरुले काठमाडौको शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका लुटपाट गरेका थिए ।  पछिल्लोपटक यो समूहले साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सिक्री लुटेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।  प्रमुख घिमिरेका अनुसार पक्राउ परेका प्रतिमान गोले लुटपाट गर्दा मोटरसाइकल चालकको भुमिकामा थिए भने पासाङ घिसिङले चोरीपछि मोटरसाइकलको व्यवस्थापन गर्ने गरेका थिए ।  आले गुरुङले लुटपाटका क्रममा प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उक्त समूहले प्रयोग गर्ने मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्न प्रयोग हुने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी तथा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।