काठमाडौं । देशको पूर्वाधार विकास र निर्माण व्यवसायीहरूको हकहितका लागि काम गर्ने छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ ले आफ्ना पदाधिकारीका पारिवारिक सदस्यलाई सुन्दरी प्रतियोगितामा जिताउन भोट मागेको पाइएको छ ।
महासंघका महासचिव शिवहरि घिमिरेको हस्ताक्षर र संस्थाको आधिकारिक छापसहित जारी गरिएको एक पत्रमा ‘मिस नेपाल प्रतियोगिता २०२६’ की प्रतिस्पर्धी प्रतिमा खड्काका लागि भोट माग्दै सहयोगको अपील गरिएको हो।
प्रतियोगी खड्का काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष बासु खड्काकी छोरी हुन् ।
चलानी नम्बर समेत उल्लेख गरिएको उक्त पत्रमा सिंगो महासंघका सदस्यहरूलाई सम्बोधन गर्दै क्युआर कोडमार्फत प्रतिभोट १० रुपैयाँका दरले नेपाल पे, इसेवा, खल्ती वा आईएमई पेमार्फत भुक्तानी गरी भोटिङ गरिदिन अनुरोध गरिएको छ ।
महासंघजस्तो गरिमामय संस्थाले यसरी भोट मागेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।
