विकासन्युज

सेयर बजारमा साढे ४ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९३ अंकले घटेर २६८१ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिडि पावरको २० करोड, ग्लोबल आइएमईको १९ करोड, सप्तकोशी डेभलपमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

जुलाईमा ७१ हजारभन्दा बढी विदेशी पर्यटक आए, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो । चीनबाट आउने पर्यटकको संख्या भने उल्लेखनीय रूपमा बढेको छ । जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६१.०९ प्रतिशत बढी हो । पर्यटन बोर्डका अनुसार सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए । यस वर्षको आगमन कोभिडअघिको अवस्थाभन्दा ८.६५ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन् । त्यसपछि बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक आएका छन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा धेरै २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको तुलनामा ११.९३ प्रतिशतले घटेको छ । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३.०५ प्रतिशतले बढी हो । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन् । युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन् । अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।  

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।  सोमबार (आज) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मनोहराबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता अनुपशमशेर जबराले राहदानी ऐन अन्तर्गत भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए ।  उनका अनुसार भट्टराईविरुद्ध गत सोमबार नै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।  नेपालमा रहेका तिब्बती शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि भट्टराईविरुद्ध मुद्दा चलेको हो । विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहेको छ ।

महँगो स्किन केयर होइन, आँपले पनि ल्याउन सक्छ प्राकृतिक ग्लो

काठमाडौं । आँप स्वादिलो फल मात्र होइन, छालाको स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । विज्ञहरूका अनुसार सन्तुलित मात्रामा आँप खानुका साथै छालामा प्रयोग गर्दा प्राकृतिक चमक र निखार बढाउन मद्दत मिल्न सक्छ । आयुर्वेद विशेषज्ञ डा. राजेश बयारीका अनुसार आँपमा भिटामिन सी, ए, ई, बी–६, कपर र फोलेटलगायत महत्त्वपूर्ण पोषक तत्व पाइन्छ । यी तत्वले छालाको रगत सुधार्न, कोलाजेन उत्पादन बढाउन र छालालाई स्वस्थ राख्न सहयोग गर्छन् । उनका अनुसार आँपको गुदी मात्र होइन, बोक्रा, खोया र त्यसबाट बन्ने म्याङ्गो बटर तथा म्याङ्गो आयल पनि छाला हेरचाहका लागि उपयोगी हुन सक्छ ।  आँपबाट दैनिक आवश्यक भिटामिन सीको करिब ६७ प्रतिशत प्राप्त गर्न सकिन्छ । साथै कपर, फोलेट, भिटामिन बी–६, भिटामिन ए र भिटामिन ई पनि पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सीले कोलाजेन उत्पादन बढाएर छालालाई कसिलो बनाउन मद्दत गर्छ । कपरले पनि यसमा सहयोग पुर्‍याउँछ । यसका साथै आँपमा रहेका एन्टिअक्सिडेन्टले कालो दाग कम गर्न र छालामा प्राकृतिक चमक ल्याउन सहयोग गर्न सक्छन् । भिटामिन ए (बिटा–क्यारोटिन) ले नयाँ छाला कोष बन्ने प्रक्रिया तीव्र बनाउँछ । यसले चाउरीपन, रेखा र पिम्पल कम गर्न सहयोग गर्न सक्छ । भिटामिन ईले छालामा आवश्यक चिस्यान कायम राख्छ । यसले छालालाई सुख्खा हुनबाट जोगाउन मद्दत गर्छ । आँपमा पाइने पोलिफेनोल र अन्य एन्टिअक्सिडेन्टले सूजन र जलन कम गर्न पनि सहयोग पुर्‍याउन सक्छन् ।  यसरी प्रयोग गर्न सकिन्छ आँप आँपको गुदीमा मह वा दही मिसाएर फेस मास्क बनाउन सकिन्छ । यसलाई अनुहारमा करिब १५ मिनेट राख्दा छालालाई पोषण मिल्ने विज्ञहरू बताउँछन् । आँपको गुदी, ओट्स वा सुजी र काँचो दूध मिसाएर स्क्रब बनाउन सकिन्छ । यसले मृत छाला हटाउन सहयोग गर्न सक्छ । आँपको गुदीमा मुल्तानी माटो मिसाएर एन्टी–एजिङ फेस प्याक बनाउन सकिन्छ । बेसन र कागतीको रससँग मिसाएर ट्यान हटाउने फेस प्याकका रूपमा पनि प्रयोग गर्न सकिन्छ । आँपको गुठलीबाट तयार गरिने म्याङ्गो बटर छालामा सिधै लगाउन सकिन्छ । यसले छालालाई नरम र चिस्यानयुक्त बनाउन सहयोग गर्न सक्छ । त्यसैगरी, म्याङ्गो आयलका केही थोपा राति अनुहार सफा गरेपछि लगाउन वा मोइस्चराइजरसँग मिसाएर प्रयोग गर्न सकिन्छ ।  सावधानी पनि आवश्यक विशेषज्ञका अनुसार अत्यधिक आँप सेवन गर्दा केही व्यक्तिमा पिम्पलको समस्या बढ्न सक्छ । आँपमा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले धेरै सेवन गर्दा इन्सुलिनको स्तर बढ्न सक्छ । यसले छालामा बढी तेल उत्पादन भई रोमछिद्र बन्द हुँदा पिम्पल देखिन सक्ने सम्भावना रहन्छ । तेलीय छाला भएका, पिम्पलको समस्या भएका, पीसीओएस, इन्सुलिन रेजिस्टेन्स वा हार्मोन परिवर्तनको अवस्थामा रहेका व्यक्तिले आँप सीमित मात्रामा सेवन गर्नुपर्ने सुझाव विज्ञहरू दिन्छन् । यदि आँप खाएपछि अनुहारमा रातो दाग, चिलाउने, जलन, र्‍यास, पिम्पल वा अपचजस्ता समस्या देखिएमा चिकित्सकको परामर्श लिन पनि विशेषज्ञहरूले सुझाव दिएका छन् । (नवभारत टाइम्सबाट अनुदित तथा सम्पादित)

नेपाल–मंगोलिया सहकार्य विस्तारमा जोड, विद्यालय तहमा चेस प्रवर्द्धन गर्ने सहमति

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–मंगोलिया सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र विद्यालय तहमा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको हो । भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले दुवै देशबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए । उनले विद्यालय शिक्षासँग खेलकुदलाई प्रभावकारी रूपमा जोड्ने नीति अघि बढाइएको उल्लेख गर्दै चेस खेलको विकासका लागि मंगोलियन सरकार र मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । मन्त्री पोखरेलले नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए । पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीच धेरै समानता रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदमा सहकार्यको सम्भावना प्रशस्त रहेको बताए । उनले चेस केवल खेल नभई विद्यार्थीको बौद्धिक विकास, विश्लेषण क्षमता, निर्णय गर्ने सीप र समस्या समाधान गर्ने दक्षता बढाउने प्रभावकारी माध्यम भएको बताए । मंगोलियाले विद्यालय शिक्षामै चेसलाई सफलतापूर्वक समावेश गरेको अनुभव साझा गर्दै उनले नेपालसँग पनि त्यस अनुभव आदानप्रदान गर्न र आवश्यक सहयोग गर्न मंगोलिया तयार रहेको बताए । भेटमा विद्यालय शिक्षामा चेस खेललाई प्रवर्द्धन गर्दै दुवै देशबीच शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत सहमति भएको मन्त्रालयले जनाएको छ ।

‘बिल्ड नेपाल ह्याकाथन’मा ‘इनोभिजन’ विजेता, बाँदर आतंक रोक्ने प्रविधिले जित्यो उपाधि

काठमाडौं  । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ मा ‘इनोभिजन’ टोली विजेता बनेको छ । टोलीले ग्रामीण क्षेत्रमा बाँदर आतंकबाट बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार  जितेको हो । दुईदिने ह्याकाथनमा सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ टोलीले उत्कृष्ट प्रदर्शन गरेको आयोजकले जनाएको छ । यस्तै, यातायात क्षेत्रलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित बनाउने अवधारणा प्रस्तुत गरेको ‘सेन्टिनाज’ टोली रनरअप बनेको छ । मिड–भ्याली इन्टरनेसनल कलेजका विद्यार्थी शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजित ह्याकाथनमा २१ टोलीका ६० भन्दा बढी युवाको सहभागिता थियो। सहभागीले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड प्रविधिमा आधारित समाधान विकास गरेका थिए । प्रतियोगितामा स्मार्ट सिटी, स्मार्ट कृषि, शिक्षा, पर्यटन, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रलगायत विषयमा नवीन परियोजनाहरू प्रस्तुत गरिएको थियो । कलेजकी प्रबन्ध निर्देशक रीतल राणाले विद्यार्थीका नयाँ सोच र सिर्जनशीलतालाई व्यवहारमा उतार्ने अवसरका रूपमा ह्याकाथन सफल भएको बताइन् । उनले यस्ता कार्यक्रमले युवाका आइडियालाई समाजसम्म पुर्‍याउन सहयोग पुग्ने उल्लेख गरिन् । बीआईटी कार्यक्रमका प्रबन्धक सुदीपलाल बजिमयाले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक सीपमा रूपान्तरण गर्नु ह्याकाथनको मुख्य उद्देश्य रहेको बताए । उनले एआईमा आधारित परियोजनाको संख्या उल्लेखनीय रहेको भन्दै नेपालको शिक्षा प्रणालीमा पनि एआईलाई प्राथमिकताका साथ समावेश गर्नुपर्ने धारणा राखे । निर्णायक तथा टेक उद्यमी साजन शर्माले विद्यार्थीका परियोजना गुणस्तरीय रहेको बताए । उनले नयाँ प्रविधिसँग आफूलाई अद्यावधिक राख्न युवालाई आग्रह गरे । आईएमई खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले कुनै पनि समस्याको वास्तविक कारण पहिचान गरेर मात्र दिगो समाधान सम्भव हुने बताए । उनले विद्यार्थीलाई फरक ढंगले सोच्न र नवप्रवर्तनमा निरन्तर लाग्न सुझाव दिए । ह्याकाथनमा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए । अन्तिम चरणमा प्रस्तुत परियोजनाको मूल्याङ्कन साजन शर्मा, मनिष खेम्का र अमित अग्रवालले गरेका थिए । मिड–भ्याली इन्टरनेसनल कलेजका अनुसार ह्याकाथनको उद्देश्य युवा नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नेपालका वास्तविक समस्याको प्रविधिमार्फत समाधान खोज्नु हो ।

जीवन बीमकको कुल बीमाशुल्क २ खर्ब नाघ्यो, १३ कम्पनीको व्यापारमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले २ खर्ब रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले एक वर्षमा १ करोड १८ लाख ५० हजार ३९१ बीमालेख जारी गरेर २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आव २०८१/८२ को तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १२.४३ प्रतिशले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले  १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । बीमा कम्पनीहरूले असार महिनामा मात्रै ५ लाख ८२ हजार ४०७ रुपैयाँ बीमालेख जारी गरेर २८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा १३ कम्पनीको व्यापार बढेको छ भने एउटा कम्पनीको घटेको छ ।  समीक्षा वर्षमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ भने व्यापार ग्रोथको हिसाबले आइएमई लाइफ अगाडि रहेको छ । एक वर्षको अवधिमा नेपाल लाइफले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  अघिल्लो आवमा कम्पनीले ४७ अर्ब ७९ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १२.३४ प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । एक वर्षको अवधिमा कम्पनीले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ अर्ब २२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा वर्षका कम्पनीको व्यापार ११.०६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ । एक वर्षमा कम्पनीले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको व्यापार ६.५७ प्रतिशतले बढेको छ । त्यसैगरी, एक वर्षको अवधिमा हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ र आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ५.१६ प्रतिशत, सूर्यज्योति लाइफको १६.५९ प्रतिशत, एसियन लाइफको १३.५३ प्रतिशत, सिटिजन्स लाइफको २४.९३, सानिमा रिलायन्सको १६.५९ र आईएमई लाइफको ३७.९६ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको २.१९ प्रतिशतले व्यापार घटेको छ ।  त्यसैगरी, मेट लाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। । अघिल्लो आवको तुलनामा मेट लाइफको ९.६२ प्रतिशत, रिलायबल नेपालको २४.१८ प्रतिशत, प्रभु महालक्ष्मीको २१.३२ र सन नेपालको १६.८० प्रतिशतले व्यापार बढेको छ ।

काठमाडौंमा प्रतिआना जग्गाको ७ लाखदेखि ५० लाखसम्म मूल्य, कुन ठाउँमा कति मूल्य ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि स्वीकृत गरेको ‘आर्थिक विधेयक’ मार्फत महानगर क्षेत्रभित्रका जग्गाहरूको नयाँ सरकारी मूल्यांकन तोकेको छ । नयाँ दररेट अनुसार महानगरपालिकाभित्रका जग्गाहरूको मूल्यांकन न्यूनतम प्रतिआना ७ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म कायम गरिएको छ ।  महानगरपालिकाले भौगोलिक सुगमता, मुख्य व्यापारिक केन्द्र, सडकको चौडाइ र पूर्वाधारको पहुँचका आधारमा जग्गाको वर्ग विभाजन गरी एकीकृत सम्पत्ति कर असुलीका लागि यो मूल्य निर्धारण गरेको हो । महानगरले सार्वजनिक गरेको विवरण अनुसार देशकै प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र मानिने क्षेत्रहरूमा जग्गाको मूल्यांकन सबैभन्दा उच्च तोकिएको छ । न्यूरोड, दरबारमार्ग, कमलादी, कान्तिपथ, जमल, सुन्धारा, असन, इन्द्रचोक र केशरमहल जस्ता मुख्य व्यापारिक मार्गहरूसँग जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।  माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, हात्तीसार, घण्टाघर, त्रिपुरेश्वर, वीर अस्पताल, रत्नपार्क तथा सहिदगेट आसपासका मुख्य सडक किनारमा रहेका जग्गाहरूको मूल्य पनि ५० लाख रुपैयाँ नै कायम गरिएको छ । मुख्य सडकबाट थोरै भित्री क्षेत्र तथा अन्य प्राथमिकता प्राप्त व्यापारिक मार्गहरूमा जग्गाको मूल्य प्रतिआना ३० लाखदेखि ४० लाख रुपैयाँको हाराहारीमा छ । पुतलीसडक, बागबजार, पद्मोदय मोड र सभागृह चोक जोड्ने मूल सडकलगायत क्षेत्रका जग्गाको मूल्य ४० लाख तोकिएको छ भने खिचापोखरीबाट दक्षिणतर्फका भित्री मार्ग, गणबहाः, भोटेबहाः, महाबौद्ध र रञ्जना गल्ली वरपरका जग्गाको मूल्यांकन ३६ लाख रुपैयाँ कायम गरिएको छ ।  नयाँ बानेश्वर चोक, बालकुमारी–कोटेश्वर–तिनकुने–थापाथली–टेकू सडकखण्ड र लैनचौरदेखि महाराजगञ्जसम्मका मुख्य सडकछेउका जग्गाको मूल्याङ्कन प्रतिआना ३२ लाख रुपैयाँ तोकिएको छ । मध्यस्तरीय आवासीय तथा व्यापारिक पहुँच भएका क्षेत्रहरूमा प्रतिआना १५ लाखदेखि २८ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । चक्रपथसँग जोडिएका कोटेश्वर–गोंगबु–महाराजगञ्ज क्षेत्र, अनामनगर, ज्ञानेश्वर, नक्साल, बालुवाटार, चाबहिल, गौशाला र कलङ्कीका मुख्य सडकछेउका जग्गाको मूल्य २५ लाखदेखि २८ लाख रुपैयाँसम्म तोकिएको छ ।  त्यस्तै, शङुखमूल, बुद्धनगर, शान्तिनगर, धोबीखोला करिडोर, बागमती किनार, पेप्सीकोला र गुहेश्वरी क्षेत्रका जग्गाहरूको सरकारी मूल्याङ्कन प्रतिआना १५ लाखदेखि २२ लाख रुपैयाँसम्म कायम गरिएको छ ।  महानगरपालिकाले भौतिक पूर्वाधार र बाटोको पहुँच नभएका जग्गाहरूको हकमा भने तुलनात्मक रूपमा न्यून मूल्यांन तोकेको छ । विभिन्न आवास तथा जग्गा एकीकरण आयोजनाभित्रका साना बाटो (४ देखि ८ मिटर) भएका जग्गाको मूल्य १० लाखदेखि १४ लाख रुपैयाँसम्म छ ।  काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि सडक वा बाटोले नछोएका, गोरेटो बाटो मात्र भएका वा वर्गीकृत नभएका अति भित्री क्षेत्रका जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन भने प्रतिआना साढे ७ लाख रुपैयाँ तोकिएको छ । काठमाडौं महानगरपालिकाले यही मूल्यांकनलाई मुख्य आधार बनाएर आर्थिक वर्षभरि घरजग्गाको एकीकृत सम्पत्ति कर निर्धारण तथा असुली गर्ने जनाएको छ । करदाताहरूलाई समयमै कर बुझाउन प्रोत्साहन गर्न असोज मसान्तभित्र कर चुक्ता गरेमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ ।  साथै, महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा ३५ वर्षमुनिका युवाको नाममा दर्ता भई सञ्चालित साना व्यवसाय तथा उद्योगहरूका लागि करमा विशेष सहुलियतको प्रबन्ध समेत गरिएको छ ।