ग्रामीण विकास लघुवित्तका अध्यक्ष दङ्गालले दिए राजीनामा
काठमाडौं । ग्रामीण विकास लघुवित्तका अध्यक्षले राजीनामा दिएका छन् । लघुवित्तका कम्पनी सचिव श्याम कुमार कटुवालका अनुसार अध्यक्ष शिवहरी दङ्गालले राजीनामा दिएका हुन् । लघुवित्त सञ्चालक समितिको बैशाख ५ गते बसेको बैठकले अध्यक्ष दङ्गालले दिएको राजीनामा स्वीकृत गरेको छ । वि.सं २०७९ असोज २४ गते बसेको संचालक समितिको बैठकबाट दङ्गाल अध्यक्ष पदमा चयन भएका थिए ।
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्क्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रभु बैंकका तीन जना सञ्चालकले दिए राजीनामा, सिंह र मानन्धर नियुक्त
काठमाडौं । प्रभु बैंकका तीन जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रमेश खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा. गीता प्रधानले राजीनामा दिएको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । कम्पनी सचिव भण्डारीका अनुसार रिक्त रहेको उक्त सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अंगिर मान सिंह र तारा मानन्धरलाई नियुक्त गरिएको हो । नवनियुक्त सञ्चालक सिंह ललितपुर महानगरपालिका–२ स्थित सानेपा र मानन्धर टोखा नगरपालिका–३ मा बस्छन् । स्वतन्त्र सञ्चालकमा भने नियुक्त गरेको छैन ।
मौद्रिक नीतिमार्फत् आउँदैछ डिजिटल बैंकसहितको डिजिटल करेन्सी नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउनका लागि प्राथमिकताका साथ काम गरिरहेको छ । अबको दुई वर्षभित्र सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) सार्वजनिक गर्ने रणनीतिका साथ राष्ट्र बैंकले काम गरिरहेको हो । डिजिटल करेन्सीको विषयमा अध्ययन गर्नका लागि राष्ट्र बैंकले छुट्टै महाशाखा निर्माण गरेर काम गरिरहेको छ । विभिन्न देशहरूले डिजिटल करेन्सीलाई प्रयोगमा ल्याइसकेको बेला राष्ट्र बैंक पनि छिट्टै आफ्नै डिजिटल करेन्सी ल्याउनका लागि अध्ययनमा जुटेको बताएको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा.डिल्लीराम पोखरेलले अहिले राष्ट्र बैंकले छुट्टै टीम बनाएर भुक्तानी प्रणाली विभागको मातहतमा रहेर काम भइरहेको बताए । उनका अनुसार सन् २०२६ को अन्तिमसम्म डिजिटल करेन्सीको नमुना परीक्षण हुनेछ । ‘हामी २०२६ भित्रै डिजिटल करेन्सी ल्याउन सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं, त्यसका लागि छुट्टै टिम अध्ययन गरिरहेको छ, यो बिचमा राष्ट्र बैंकले चाहेअनुसारको ऐन कानुनहरू संशोधन हुन सक्यो भने दुई वर्षभित्रै हामीले नमुना परीक्षण गर्न सक्छौं,’ उनले भने । सरकारले गत चैत ५ गते संसदमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३’ संशोधनका लागि पेस गरेको थियो । सो विधेयकमा डिजिटल मुद्राको विषय पनि उल्लेख छ । उक्त विधेयकले डिजिटल मुद्रालाई स्वीकार गर्न तथा झुक्तानी दिइने विषय प्रस्ताव गरिएको छ । नेपालमा हुने डिजिटल कारोबारमा डिजिटल मुद्रालाई पनि स्थान दिने र वित्तीय संस्थाले डिजिटल मुद्राको कारोबार गर्न सक्ने व्यवस्था आवश्यक भएकोले उक्त प्रस्ताव गरिएको विधेयकमा उल्लेख छ । डिजिटल करेन्सी ल्याउने नीतिगत व्यवस्था भएको भने लामो समय भएको छैन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् आफ्नै डिजिटल करेन्सी सार्वजनिक गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि राष्ट्र बैंकले अध्ययन थालेको थियो । राष्ट्र बैंकका निर्देशक अनुज दाहालको नेतृत्वमा राष्ट्र बैंकले ६ सदस्यीय डिजिटल करेन्सी अध्ययन समिति पनि बनाएको थियो । सो समितिले अध्ययन गरेर राष्ट्र बैंक समक्ष प्रतिवेदन पनि बुझाइसकेको छ । सो सो बेला सीबीडीसी परियोजनामा लागू गर्न सम्भाव्यता अध्ययन गरेको थियो । सो समितिको प्रतिवेदनले नेपालमा डिजिटल करेन्सी सञ्चालनमा ल्याउन नयाँ कानून बनाउनु पर्ने वा हालको ऐन संशोधन गर्नु पर्ने देखाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई संशोधनको कार्य अगाडि बढाएको हो । डिजिटल करेनसीको विषयमा राष्ट्र बैंकले अहिले विदेशी अभ्यास पनि अध्ययन गरिरहेको छ । ‘हामीले विदेशी अभ्यास र उनीहरूले डिजिटल करेन्सीमा गरेको प्रगतिको विषयमा पनि अध्ययन गर्दैछौं, उनीहरूको अनुभव पनि हामीलाई चाहिन्छ, सबै अध्ययन भइसकेपछि हामीले डिजिटल करेन्सी सार्वजनिक गर्छौं,’ पोखरेलले भने । छिमेकी चीनमा औपचारिकरूपमै ‘डिजिटल युवान’ सञ्चालनमा आइसकेको छ । भारतले समेत आफ्नै डिजिटल करेन्सी ई–रूपे सञ्चालनमा ल्याइसकेको छ । यी दुवै देशले डिजिटल करेन्सीमा प्रभावकारी काम गर्दै आएका छन् । स्रोतकाअनुसार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले डिजिटल बैंक स्थापना गर्न सक्ने डिजिटल करेन्सीको विषयमा व्यापक नीति सार्वजनिक गर्न सक्नेछ । अहिले डिजिटल बैंक पनि बहसका रूपमा देखा परेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नै डिजिटल बैंक खोल्न सक्ने गरी नीति बनाउन लागेको पनि बुझिएको छ । ‘डिजिटल करेन्सी राष्ट्र बैंकले जारी गरेर वाणिज्य बैंकलाई वितरण गर्ने र त्यसबाट साधारणमा पुर्याउने विषयमा अहिले छलफल भइरहेको छ, यो व्यवस्था आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गर्ने कि भनेर पनि तयारी भइरहेको छ, तयारी सकियो भने नीतिगत व्यवस्था मौद्रिक नीतिबाट आउन सक्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । स्रोतकाअनुसार कहिलेसम्म नगदलाई पूर्णरुपमा विस्थापित गरेर पूर्णरूपमा डिजिटलाइज गर्न सकिन्छ भनेर छलफल हुन्छ, सोही आधारमा डिजिटल बैंक र डिजिटल करेन्सी सम्बन्धि थप नीतिगत व्यवस्था हुन्छ । प्रविधिको बढ्दो प्रयोगले डिजिटल करेन्सी प्रयोगमा ल्याउन पनि सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ । डिजिटलरूपमा हुने चोरी–पैठारीको चुनौती थपेसँगै त्यसको समस्या समाधान गर्न राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउने भएको हो । अहिले विश्वका अधिकांश देशले डिजिटल करेन्सीमा खोज तथा अनुसन्धान गरिरहेका छन् । कस्तो बन्छ डिजिटल बैंक ? नेपाल राष्ट्र बैंकले डिजिटल बैंकको अवधारणा अगाडि सार्ने बहस सुरु भएसँगै यो कस्तो बैंक बन्छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । बैंकहरू बढी भनेर बिग मर्जरको नीति अगाडि सारेको राष्ट्र बैंकले डिजिटल बैंकको अवधारणा कसरी बनाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । राष्ट्र बैंककाअनुसार डिजिटल बैंकमा बैंकिङ सम्बन्धि सबै कार्य अनलाइनबाट नै हुन्छ । अहिले कायम रहेका बैंकले भौतिकरूपमा र विभिन्न शाखाहरू स्थापना गरेर सेवा दिइरहेको भए पनि डिजिटल बैंकले भने अनलाइनबाट सेवा दिनेछ । डिजिटल बैंकको कुनै शाखा पनि हुने छैन । डिजिटल बैंकको सेवा लिन शाखा कार्यालय धाउन नपर्ने सह-प्रवक्ता पोखरेल बताउँछन् । उनले डिजिटल बैंक र डिजिटल बैंकिङ फरक भएको बताए । ‘अहिलेका बैंकहरूले डिजिटल बैंकिङ सेवा दिइरहेका छन्, डिजिटल बैंक फरक हो,’ डिजिटल बैंकमा निक्षेप संकलन र ऋण प्रवाहको काम अनलाइनबाट नै हुन्छ,’ उनले भने ।
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो
काठमाडौं । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतंकवादी लाई हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ ।
माइक्रोसफ्टको ‘भीएएसए-१’ सार्वजनिक, एआईमा अर्को तरंग
काठमाडौं । एआई अर्थात् आर्टिफिसियल इन्टिलिजेन्सको संसारमा हरेक दिन केही न केही नयाँ भइरहेका छन् । विकासकर्ताहरूले पनि सामान्य मानिस र सामग्री सिर्जनाकर्ताका लागि केही विशेष उपकरण सार्वजनिक गरिरहन्छन् । भर्खरै ओपन एआईले सोरा र गुगलले भिडियोहरू सिर्जना गर्यो, जसले टेक्स्ट-टु-भिडियो उत्पन्न गर्न सक्छ । अहिले माइक्रोसफ्टले भीएएसए-१ एआई भिडियो जेनेरेटर लन्च गरेको छ । कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा यस उपकरणका धेरै नमूना प्रस्तुत गरेको छ । यो उपकरणले कुनै पनि फोटोबाट व्यक्तिको भिडियो बनाउन सक्छ । कम्पनीद्वारा प्रस्तुत यो नमुनाको नतिजा उत्कृष्ट छ । माइक्रोसफ्ट भीएएसए-१ एआई भिडियो जेनरेटर के हो ? माइक्रोसफ्टको यो उपकरणको नाम ‘भिजुअल इफेक्टिव स्किल अडियो’ वा भीएएसए–१ हो । यो कम्पनीको टप इन्ड मोडेल हो जसले मानिसको अनुहारको हाउभाउ उत्कृष्ट तरिकाले बनाउन सक्छ । यो उपकरणले मानिसहरूको अनुहारमा फोटोहरूबाट सबै प्रकारका भावना र भावनाहरू उत्पन्न गर्न सक्छ । सरल भाषामा सामान्य तस्वीरबाट व्यक्तिको विभिन्न अभिव्यक्ति भएको भिडियो बनाउन सकिन्छ । यो उपकरणले अनुहारको मांसपेशी, ओठ, नाक, टाउको झुकाव र अन्य कारकहरूको मद्दतले भिडियोहरू सिर्जना गर्दछ । यसका केही भिडियोहरू पनि सार्वजनिक भएका छन् । हाल, माइक्रोसफ्ट भीएएसए-१ ले ४० एफपीएसमा अधिकतम ५१२×५१२ पिक्सेलको भिडियो बनाउन सक्छ । यो उपकरणले वास्तविक जीवन जस्तै भिडियो बनाउन सक्ने कम्पनीको दाबी छ । यसको मतलब यसको मद्दतले तपाईंले वास्तविक जीवनमा जस्तै अभिव्यक्ति दिन सक्नुहुन्छ । माइक्रोसफ्टले भीएएसए-१ लाई अनुसन्धान प्रदर्शनका रूपमा देखाएको छ । कम्पनीले यो उत्पादन जारी गर्ने वा यसको एपीआई जारी गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ । यसको मतलब माइक्रोसफ्टले यो उत्पादनलाई सार्वजनिक गर्दैन । किनभने, यसको दुरुपयोग हुने सम्भावना धेरै हुन्छ । यो उपकरण ओपन एआईको सोरा जस्तै छ । दुवै उपकरणले यथार्थपरक भिडियोहरू उत्पन्न गर्छन् । जहाँ सोराले पृष्ठभूमि र कलाकृतिहरूसँग जटिल भिडियोहरू सिर्जना गर्छ । जबकि, भीएएसए-१ को फोकस मानव अभिव्यक्तिमा छ। यद्यपि, यी दुवै उपकरण अझै सार्वजनिक डोमेनमा उपलब्ध छैनन् । एजेन्सी
जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु
डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आईतबार बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो । रासस
नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति
काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताए । समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जिकीर गरे । ‘यसअघि १० वेडको एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ वेड थपिएको छ । खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’ एनआइसियूले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने भन्दै प्रा.डा. अन्सारीले भने । उनले कलेजको एनआइसियू सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै आम नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको जिकीर गरे । ‘नयाँ प्रविधि भन्ने वित्तिकै महंगो हुन्छ भन्ने हैन, हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं ।’ प्रा.डा. अन्सारी भन्छन् । एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ । नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउँन लागेको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जानकारी दिए । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उनले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताए ।