विकासन्युज

नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्वस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ । नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए। स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् । मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव)का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताए । हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौं उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा/राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित०लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१८ प्रतिशत बढ्यो

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा २ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको चैतमा १ करोड ७३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ६६.१८ प्रतिशत बढी हो । चैत मसान्तसम्ममा बैंकले ८ करोड ३१ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १० करोड १९ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ८ करोड ९२ लाख रुपैयाँ, सञ्चालन नाफा २ करोड ८८ लाख रुपैयाँ, नेट पि एण्ड कमिसन आम्दानी६१ लख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा भने२ करोड ५१ लाख ३४ हजार रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ र जगेडा कोष ५ करोड ३५ लाख रुपैयाँ रहेको छ । साथै, बैंकले ४ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ७१.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०५.७५ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.२६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ । यस्तै, बैंकको आधार दर ११.४७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७२.६३ प्रतिशतमा झरेको छ ।

मल्टीपर्पस फाइनान्सबाट बाहिरिँदै यूनाइटेड अजोड

काठमाडौं । मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर फाइनान्सबाट बाहिरिने भएको हो । फाइनान्स कम्पनीका अनुसार इन्स्योरेन्स कम्पनीले २ लाख ५० हजार ९७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । फाइनान्सको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने फाइनान्सले जनाएको छ ।

प्रभु हेलिकप्टरका क्याप्टेन निलम्बनमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । उनले भने, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”

फोनपेले सुरु गर्यो नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल

ललितपुर । फोनपे पेमेन्ट सर्भिसले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत यस संस्थाले सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात गरेको हो । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई फोनपे कार्ड स्कीम अन्तर्गत रहि पुर्णरुपको डिजिटल क्रेडिट कार्ड (फोनपे भर्च्युअल क्रेडिट कार्ड आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत उपलब्ध गराउन सक्नेछन् । सिटिजन्स बैंक यस्तो कार्ड जारी गर्ने नेपालको पहिलो बैंक भएको छ । सिटिजन्स बैंकका ग्राहकहरुले यस क्रेडिट कार्डको सुविधा सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत लिन सक्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम परियोजना अन्र्तगत नेपाल राष्ट्र बैंकबाट यस संस्थालाई प्राप्त अनुमति बमोजिम फोनपे क्रेडिट कार्ड स्कीम सञ्चालनमा ल्याउन लागिएको हो । यस फोनपे क्रेडिट कार्डले नेपालको कार्ड भुक्तानी उद्योगलाई पुनः परिभाषित गर्ने विश्वास फोनपेले लिएको छ । उक्त क्रेडिट कार्ड पुर्णरुपमा डिजिटल अनबोर्डिङ्ग र जारी हुने तथा हाल फोनपे क्यूआरमा आबद्ध करिब १४ लाख व्यावसायीहरुको स्थानहरुमा निर्बाद रुपमा प्रयोग गर्न सकिने फोनपेले जनाएको छ ।

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए । मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौं आउन लागेको बताए । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताए । जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौं फर्किन लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौं आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे । नाइन-एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । इयूको उडान प्रतिबन्ध हटाउन पहल पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।’ कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताए । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव डा काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताएका छन् । उनले सीइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गरे । रासस

डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुन्छ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् । मन्त्रालयले आयोजना गरेको ‘बृहत् रोजगार मेला’ सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले अहिलेदेखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ ।’ श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरुबीच समन्वय गर्ने उद्देश्यका साथ बृहत् रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ । रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आज छलफल आयोजना गरेको हो । मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरिरहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए । उनले भने, ‘मेलामा रोजगारदाताले आफूलाई चाहिने श्रमिकमा हुनुपर्ने सीपको विषयमा जानकारी दिनेछन् भने अवसरको खोजीमा रहेका युवा रोजगारीका लागि आवश्यक पर्ने सीपका बारेमा जानकारी पाउनेछन् ।’ उनका अनुसार मेलामा उपस्थित भएका तालिम केन्द्रले ती युवालाई लक्षित गरी रोजगारदाताले चाहेअनुसारको तालिम सञ्चालनका लागि रणनीति बनाउन सक्नेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव घनश्याम उपाध्यायले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् रोजगार मेलाको आयोजना गर्न लागिएको बताए । मेलालाई सफल बनाउन सम्बन्धित सबै निकायसँग सुझाव लिइने उनको भनाइ छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले आन्तरिक रोजगारीको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको परनिर्भरतालाई कम गर्नका लागि बृहत् रोजगार मेलाको परिकल्पना गरिएको बताए । छलफलमा नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, होटल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, रोजगारविज्ञ रामेश्वर नेपाललगायतले सुझाव दिएका थिए । रासस

हिरो मोटोकर्पले उद्घाटन गर्यो एसेम्बली प्लान्ट, तीन महिनाभित्र १०० बढी आउटलेट खोल्दै

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको हो । हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सप्लस २०० ४भी, सुभर स्प्लेन्डर, स्प्लेन्डर प्सल मोटरसाइकल र जुम ११० स्कुटर बजारमा ल्याएको छ । अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ । हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व-स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्वपूर्ण बजार हो ।’ त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’ यस नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ जसले गर्दा उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने कम्पनीको दावी छ । साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू सम्बोधन गरिएको सुनिश्चित गर्नेछ । सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने कम्पनीको योजना छ ।