विकासन्युज

तोलामा ११ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एकै वर्ष ३ लाख बढी पर्यटक निकुञ्ज र आरक्षमा

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकमध्ये जंगल तथा जंगली जनावर हेर्नेको संख्या उच्च दरले बढेको छ । सरकारले तयार पारेको सन् २०२३ को पर्यटन प्रतिवेदनअनुसार एक वर्षमा ३ लाखभन्दा बढी पर्यटकले विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भ्रमण गरेका छन् । २०२३ मा ३ लाख ८ सय ७५ पर्यटकले विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष २०२२ को दाँजोमा २ लाख २५ हजार २ सय ६७ ले बढी हो । २०२२ मा ७५ हजार ६ सय ८ पर्यटक ती स्थान पुगेका थिए । नेपालको पर्यटन उद्योगमा निकुञ्ज तथा वन्यजन्तु आरक्षको विशेष महत्त्व छ । पर्यटकहरू नेपालमा बाघ, गैंडा, हात्ती, गोहीलगायत जंगली जनावर, चराचुरुङ्गी हेर्न आउने गर्छन् । यसैगरी धार्मिक पर्यटकको रोजाइमा पशुपति मन्दिर क्षेत्र पर्ने गरेको छ । २०२३ मा १ लाख १८ हजार ५ सय ३१ जनाले पशुपति मन्दिर क्षेत्र भ्रमण गरेका छन् । पशुपति घुम्न आउनेमा धेरै भारतीय पर्यटक पर्छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ६३ हजार ३ सय २७ ले बढी हो । २०२२ मा ५५ हजार २ सय ४ जनाले उक्त क्षेत्र भ्रमण गरेका थिए । यस्तै, गौतम बुद्धको जन्मथलो लुम्बिनी घुम्ने जाने पर्यटकको संख्या पनि बढ्दै गएको छ । सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०२३ मा भारतीयसहित अन्य देशका ८५ हजार २ सय २३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । २०२२ मा २३ हजार ९ सय ४२ जनाले उक्त स्थान भ्रमण गरेका थिए । २०२२ को तुलनामा २०२३ मा लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्या ६१ हजार २ सय ८१ ले बढी हो । यसैगरी मनास्लु ट्रेकिङ जाने पर्यटक संख्या भने २०२२ को तुलनामा २०२३ मा घटेको तथ्यांकले देखाएको छ । २०२२ मा ५ हजार ८ सय ९० जना मनास्लु ट्रेकिङ पुगेका छन् भने २०२३ मा ३ हजार ९४ मात्रै पुगेका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या २ हजार ७ सय ७६ ले कम हो । त्यस्तै २०२२ मा मुस्ताङ ट्रेकिङ जाने पर्यटक संख्या ३ हजार ३ सय ८७ थियो भने २०२३ मा १ हजार १ सय ९८ पर्यटक उक्त स्थान पुगेका छन् । यो तथ्यांकले २०२२ मा भन्दा २०२३ मा मुस्ताङ ट्रेकिङ जाने पर्यटक संख्या २ हजार १ सय ८९ ले घटेको देखाउँछ । यस्तैगरी हुम्ला ट्रेकिङमा २०२३ मा १ सय जना पर्यटक मात्रै गएका छन् । २०२२ मा उक्त स्थान ट्रेकिङमा १ हजार ४ सय ४२ जना पुगेका थिए । यो तथ्यांकले पनि अघिल्लो वर्षको तुलनामा हुम्ला ट्रेकिङ जाने पर्यटक संख्या घटेको देखाएको छ । २०२२ मा तल्लो डोल्पा ट्रेकिङ जाने पर्यटक संख्या ७ सय ८६ थियो भने २०२३ मा ३ सय ६५ जना मात्रै पुगेका छन् । यस्तै कञ्चनजंघा ट्रेकिङमा सन् २०२३ मा ४ सय ५ जना पुगेका छन् । यो संख्या २०२२ को तुलनामा ४ सय ५३ ले कम हो । २०२२ मा ८ सय ५८ जना पर्यटक कञ्चनजंघा ट्रेकिङ गएका थिए । यसैगरी सरकारको प्रतिवेदनले २०२२ मा माथिल्लो डोल्पा ट्रेकिङ जाने पर्यटक संख्या ४ सय ९२ देखाएको छ । २०२३ मा जम्मा १ सय ४५ पर्यटक माथिल्लो डोल्पा ट्रेकिङ गएका छन् । २०२२ को तुलनामा २०२३ मा माथिल्लो डोल्पा ट्रेकिङ पुग्ने पर्यटक संख्या ३ सय ४७ ले कम हो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०२२ मा १२ हजार १ सय ५८ तथा २०२३ मा १५ हजार ७ सय ३० आगमन भएको थियो । त्यस्तै २०२२ मा १२ हजार १ सय ५४ र २०२३ मा १५ हजार ७ सय ३० प्रस्थान भएको थियो ।

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

फुङ्लिङ । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार नष्ट छ । ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए । रासस

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले ३० लाख १६ हजार रुपैयाँ बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर साङ्तान, २२ वर्षीय सुनिल साङ्तान, २५ वर्षीय बुुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २१ वर्षीय सुजन स्याङ्तान रहेका छन् । उनीहरुको साथबाट मोटरसाइकल दुई थान, मोबाइल सेट सात थान, हतौडा, प्लासलगायतका समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । रासस

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा आशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।

मनाइयो तेमाल जात्रा (फोटो फिचर)

काठमाडौं । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा बिशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् । प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायलेमनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ । यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।  

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’को विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन् । हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिले वार्षिकोत्सवको अवसर पारी एक समारोहका बीच अध्यक्ष रुद्रनारायण चौधरीले पछिल्लो एक वर्ष अवधिको पर्यटक आगमनको अभिलेख सार्वजनिक गरेका हुन् । सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको अध्यक्ष चौधरीले बताए। ‘सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन रहन गयो । यसले हामीलाई थप उत्साहित बनाएको छ’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकको रोजाइमा यस क्षेत्र पर्नुमा विभिन्न सहयोगीहातको भूमिका महत्वपूर्ण रहेको छ । आगामी दिनमा यस पर्यटकीय क्षेत्रलाई अझै व्यवस्थित बनाइँदै लगिने छ ।’ डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनको लागि सहयोग, लहान नगरपालिकाले सडक बाटोे निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, १५ नं वडाले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्यापर्यटन प्रवद्र्धनको लागि सहयोग प्राप्त भएपछि इको टुरिजम क्षेत्रको विकास गर्न सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिए । चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन् । त्यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन र प्राणी उद्यान केन्द्र सञ्चालन । करिब ५६ हेक्टरमा फैलिएको लहान १५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो । आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवद्र्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्नेजस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट प्रत्यक्षरुपमा आठ जना र अप्रत्यक्षरुपमा ३० जना संरक्षणकर्मीले रोजगार पाएका पनि अध्यक्ष चौधरीले बताए । नजिकै प्रसिद्ध राजदेवी मन्दिर भएकाले धार्मिक एवं वातावरणीय पर्यटनको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। यस सिमसार पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै नगरप्रमुख चौधरीले आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट भौतिक विकास र स्थानीय युवाको रोजगारी सिर्जनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस

अरुण भ्याली हाइड्रोको २० लाख कित्ता सेयर बिक्री खुला

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको करिब २० लाख कित्ता हकप्रद सेयर आज (बैशाख १० गते) देखि बिक्री खुला गरिएको छ । कम्पनीको अवितरित १९ लाख ९२ हजार १३४ कित्ता कित्ता हकप्रद सेयर बिक्रीमा राखिएको हो । हाइड्रोपावरले गत फागुन १७ गतेदेखि चैत ७ गते १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले बैशाख २४ गतेगतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।