गोगोरो स्कुटर नेपालमा, ब्याट्री चार्ज होइन चेन्जको सुविधा
काठमाडौं । दुईपांग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी भित्र्याएको छ । गोगोरोले स्मार्ट स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि पनि भित्र्याएको हो । नेपालमा गोगोरोको आधिकारिक साझेदार नेबुला इनर्जीले गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै बीटूबी मोडलको एक स्कुटर नेपाल भित्र्याएको हो । ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने टेक्नोलोजी विकास गरिसकेको छ । गोगोरोले काठमाडौं लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित एक कार्यक्रमका बीच ब्याट्री स्वापिङ र नयाँ स्कुटर गोगोरो क्रसओभर जीएक्स२५० स्मार्ट स्कुटर लन्च गरेको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी दिर्देशक यांग चेनले संयुक्त रूपमा गोगोरोको क्रसओभर जीएक्स२५० स्कुटर सार्वजनिक गरेका हुन् । यो स्कुटरमा ७ किलोवाट क्षमताको हाई लोड पावर भएको मोटर उपलब्ध छ । यसमा डेलिभरीका लागि प्रयोग हुने एसाेसरिज जडान गर्न मिल्ने तथा १७० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । यसको लोडिङ क्षमता २०० केजी रहेको कम्पनीले बताएको छ । यो स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन । स्कुटर लन्च गर्दै प्रबन्ध निर्देशक घिसिङले चार्जिङमा स्वाप टेक्नोलोजीले विद्युतीय दुई पांग्रेको व्यापार ह्वात्तै बढाउने बताए । ब्याट्री स्वाप टेक्नोलोजीले ५ प्रतिशतको बजार छिट्टै ५० प्रतिशत पुर्याउने प्रबन्ध निर्देशक घिसिङकाे विश्वास छ। घिसिङले दुई पांग्रेमा मात्रै नभइ चार पांग्रेमा पनि स्वाप टेक्नोलोजी आवश्यक रहेको बताए । नेपालमा चारपांग्रे बजार हिस्सा ५० प्रतिशत बढी भए पनि दुई पांग्रेको ५ प्रतिशत मात्रै रहेको छ। नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले नेपाल ऊर्जा खपत गर्ने मुलुकमा तल रहेको बताउँदै ऊर्जा खपत बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । यस्तै नेबुला इनर्जीका प्रबन्ध निर्देशक साहायु गोयलले नेपालमा दुई पांग्रे विद्युतीय सवारीको ५ प्रतिशतमात्रै बजार हिस्सा हुनुको मुख्य कारण चार्जिङको समस्याको रहेको बताए । ‘ब्याट्री स्वापिङ इनर्जी प्रविधिले उपभोक्ताले सामना गर्ने समस्या समाधान गर्छ’, उनले भने, ‘अब घरमा ५–६ घण्टा स्कुटर चार्ज गर्नुपर्दैन। चार्जिङ स्टेसनमा गई ६ सेकेन्डमै ब्याट्री स्वाप गर्न सकिन्छ। ब्याट्री स्वापिङ इनोभेटिभ तरिका हो ।’ नेबुलाका प्रबन्ध निर्देशक गोयलले काठमाडौं उपत्यकामा पहिलो चरणमा २/३ किलोमिटरको दुरीमा स्वाप चार्जिङ स्टेसन राख्ने योजना रहेको सुनाए । कम्पनीले लाजिम्पाटस्थित आनन्द भवन र त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोलपम्पमा चार्जिङ स्टेशन राखेको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ । नोबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकका लागि गोगोरो स्मार्ट स्मुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउने बताएको छ । स्कुटरहरू दसैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ । नेबुला इनर्जिले फुडमाण्डु, जुमजुम, अलोइ नेपाल र गलि म्याम जस्ता कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । उक्त स्कुटर तथा ब्याट्री स्वाप स्टेशन अनावरण कार्यक्रममा ४० यूनिट स्कुटरसमेत हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । गोगोरोले १० वर्षअघि ताइवानमा स्वाप प्रविधि बजारमा ल्याएको थियो । हालसम्म ६ लाख गोगोरो दुईपांग्रे विश्वभर बिक्री भएका छन् ।
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् । निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ । हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । रासस
एकल र साझा अधिकार सूचीमा रहेका कानुन तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौं । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संविधानले व्यवस्था गरेको एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीका लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयन गर्नका लागि एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले यथाशीघ्र बनाउनुपर्ने जरुरी रहेको बताए । उनले पुराना ऐन, कानुनहरूलाई परिमार्जन गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले कानुन निर्माण गर्दा ‘मान्छेको लागि कानुन हो, कानुनको लागि मान्छे होइन’ भन्ने सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले संविधानमा स्थानीय सरकारले न्यायिक अधिकार अभ्यास गर्न पाउने व्यवस्था गरे अनुरुप नागरिकहरुले स– साना विवादहरुको इन्साफ न्यायिक समितिबाट प्राप्त गरिरहेका बताए । उनले स्थानीय न्यायिक समितिले वैकल्पिक उपायहरु बार्ता, मेलमिलाप र मध्यस्थताबाट विवाद समाधान गरेर नागरिकको न्याय निरुपण गरेको भन्दै नियमित अदालतको कार्य बोझ कम भएको पनि बताए । नागरिकहरुले स्थानीय न्यायिक समितिबाट सरल र सहज रूपमा न्याय पाइरहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले न्यायिक समितिको प्रकृति राजनीतिक भएकाले न्याय निरुपण गर्दा न्यायिक पदाधिकारीहरू आफ्ना मतदाता र राजनीतिक दलप्रति जवाफदेही र उत्तरदायी हुनसक्ने खतरा रहेको औँल्याए । उनले कतिपय पदाधिकारीहरूको दक्षता, योग्यता, अनुभवको कमी हुने तथा संयोजकको बहुल जिम्मेवारी हुनेहुँदा समयका कारण न्याय निरुपणमा निष्पक्षता र तटस्थता नहुने जोखिम रहेको पनि बताए । उनले प्रशासनिक व्यवस्था र श्रोत साधनको अपर्याप्तताको कारणले न्याय निरुपण प्रभावित भएको भन्दै सोही कारण प्रदेश सरकारले स्थानीय न्यायिक समिति पदाधिकारीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम गरिरहेको बताए । उनले न्यायिक समितिले न्याय निरुपण गर्दा पहिलो प्राथमिकता ज्येष्ठ नागरिक, बालबालिका, महिला, फरक क्षमता भएका व्यक्ति, दलित, विपन्न, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायलाई दिन आग्रह गरे । मन्त्री श्रेष्ठले न्यायिक समितिका पदाधिकारीहरूलाई राजनीतिक आग्रह, पूर्वाग्रहबाट मुक्त भई आफ्नो दक्षता अभिवृद्धि गर्न सुझाव दिए । उनले न्यायिक समितिलाई सक्षम, सवल र सुदृढ बनाउँदै लैजान बागमती प्रदेश सरकारले न्यायिक सहजकर्ता पठाएर न्यायिक समितिलाई सहयोग गरेको पनि जानकारी दिए ।
बढी रेमिट्यान्स भित्र्याउने तीन वाणिज्य बैंक सम्मानित, यी हुन् अन्य कम्पनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो ६९औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले बढी रेमिट्यान्स भित्र्याएका ग्लोबल आईएमई, हिमालयन र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो । जसमध्ये ग्लोबल आईएमई बैंकले कूल रेमिट्यान्सको २१.१ प्रतिशत, हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत रेमिट्यान्स उक्त आर्थिक वर्षमा भित्र्याएका थिए । त्यस्तै, राष्ट्र बैंकले वाणिज्य बैंक बाहेकका अन्य कम्पनीहरुलाई पनि सम्मान गरेको छ । बढी रेमिट्यान्स भित्र्याएको भन्दै राष्ट्र बैंकले इसेवा मनि ट्रान्सफर, सिटी एक्स्प्रेस र आईएमई लिमिटेडलाई सम्मान गरेको छ । इसेवा मनि ट्रान्सफरले कूलको १२.१ प्रतिशत, सिटी एक्स्प्रेसले १४.९ प्रतिशत र आईएमईले कुलको २७.५ प्रतिशत रेमिट्यान्स गत आर्थिक वर्षमा भित्र्याएका थिए । त्यसैगरी, राष्ट्र बैंकले सबैभन्दा बढी डिजिटल कारोबार गरेका भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती र ईसेवालाई पनि सम्मान गरेको छ ।
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक श्रीमती मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटाैँडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
राष्ट्र बैंकका पूर्व गभर्नर ढकाल सम्मानित, अन्य को-को ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल सम्मानित भएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा उनीसहित अन्य विभिन्न कर्मचारी विभिन्न पदकबाट सम्मानित भएका हुन् । सम्मानित भएकामध्ये तीन जना कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित भएका छन् । २० वर्ष काम गरेका बैंकिङ विभागमा कार्यरत कार्यकारी निर्देशक विष्णु थापा, गभर्नर कार्यालयमा कार्यरत निर्देशक डिल्लीराम पोखरेल र भुक्तानी प्रणाली विभागमा कार्यरत लक्ष्मीप्रसाद प्रसाईं रहेका छन् । त्यसैगरी, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा पुरस्कारबाट चार जना उत्कृष्ट र एक जना सर्वोत्कृष्ट कर्मचारीको पदकबाट सम्मानित भएका छन् । सिद्धार्थ नगरमा कार्यरत सुवराती पठान, टक्सार महाशाखामा कार्यरत कामु निर्देशक श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयमा कार्यरत प्रियंका ठाकुर र कानुन महाशाखामा कार्यरत सुमन आचार्य उत्कृष्ट कर्मचारीबाट सम्मानित भएक हुन् भने निर्देशक किरण पण्डित सर्वोत्कृष्ट कर्मचारीको पदबाट सम्मानित भएका हुन् ।
राजधानीको सुन्दरता बढाउने फुल ज्याकारान्डा (तस्बिरहरु)
काठमाडौं । राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकारान्डा फूलेर निलाम्य बनेका छन् । मध्य चैतदेखि बैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भरेको छ । दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले राजधानी थप सुन्दर देखिएको छ।
एक किलो ७६८ ग्राम सुन र एक करोड रकमसहित सात जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । बिहीबार साँझ काठमाडौंको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।