यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशीमा हावाहुरीको चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा
लुक्ला । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला विमानस्थल) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्। बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन् । धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौं गएका फर्किएका छन् । पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौं फर्किने पर्यटकहरू समस्यामा परेका बताए । प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताए । विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ५४ सम्म उडान भर्ने सो विमानस्थलबाट शुक्रबार जहाजतर्फ कुनै उडान नभएको र शनिबार भने आठ उडान भएका बताए । हेलिकप्टर उडान भने नियमित भइरहेको पन्थीले जानकारी दिए । लुक्ला विमानस्थलमा जहाज उडानका लागि पाँच किलोमिटर भिजिबिलिटी चाहिने गरेको छ । पर्यटकहरू यही विमानस्थल भएर सगरमाथा जाने गरेका छन् भने यहाँबाट दैनिक हेलिकप्टरसहित तीन सय बढी उडान हुने गरेका लुक्लास्थित विमानस्थल कार्यालयले जनाएको छ ।
तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति ९ खर्ब रुपैयाँ बराबरका १ सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन् । रासस
धनुषाका १७३ साना उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार
फाइल फोटो जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन । कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन् । यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले २४ लाख ११ हजार पाँच सय ३० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ । कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ । व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९/८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरुको स्थिर तथा चालु पूँजी रु तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रहेको जनाइएको छ । बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन । रासस
नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ चार विकेटले पराजित
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको हो । जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो । नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्सनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे । बलिङतर्फ वेष्ट इन्डिजका ओबेद म्याककोय र म्याथ्यु फर्डले दुई दुई तथा किमो पलले एक विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रन बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए । बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले वेष्ट इन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ । रासस
लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन् । यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने उनको भनाइ छ । ‘अहिले लगानीको सम्भावना र अवसर देखाउने हो । लगानीकर्तालाई नेपालबारे बुझाउने र लगानीका लागि आकर्षित गर्ने हो, यसको नतिजा दीर्घकालमा देखिन्छ’, उनले भने, ‘हामीले सोकेसमा राखेका परियोजनाको अवस्था हेरेर लगानीकर्ताले विकासको सम्भावना कति छ भनेर मूल्याङ्कन गर्नुहुन्छ । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय र प्राविधिक पक्षहरु पनि यसमा हेरिन्छ ।’ विभिन्न देशका लगानीकर्ता जम्मा भएर यो सम्मेलन हुनु आफैँमा एउटा ठूलो उपलब्धि भएको उनको बुझाइ छ । उनले कोभिडपछि लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको बताए । यस्तो बेलामा लगानीको ठूलो महत्व र आवश्यकता रहेकाले विकासको आवश्यकता पूर्ति गर्न ठूलो मात्रामा लगानी चाहिने उनले बताए । ‘लगानी नभईकन रोजगारी सृजना हुन सक्दैन, नयाँ-नयाँ उद्योग-व्यवसाय सञ्चालन हुने अवस्थामा छैन,’ उनले भने, ‘त्यसकारण लगानी सम्मेलनको आवश्यकता देखेर निजी क्षेत्र सहभागी भएको हो ।’ निजी क्षेत्र पनि सहआयोजक हुनु अघिल्ला दुई सम्मेलनभन्दा तेस्रो सम्मेलनको फरकपन भएको अग्रवालले स्पष्ट पारे । सम्मेलनमा ५५ भन्दा बढी देशका लगानीकर्ताहरु आउँदैछन् । सम्मेलनका लागि एक सय ५० हाराहारीमा परियोजना सोकेसमा राखिएका छन् तर लगानी सम्मेलन यतिमा मात्र सीमित नहुने र लगानी प्राथमिकताका क्षेत्र पहिचान गरिसकेको उनले जानकारी दिए । उनले लगानीको वातावरणमा सुधार गरिएकोले त्यसको सन्देश लगानीकर्तालाई दिनु आवश्यक रहेको औँल्याए । सरकारी पक्षबाट मात्र नभई निजी क्षेत्र-निजी क्षेत्र (बिटुबी) मा पनि सहकार्यका लागि सम्मेलन फलदायी हुने उनको आशा छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, अन्य पूर्वाधार क्षेत्र लगानीका उत्कृष्ट क्षेत्रका रुपमा पहिचान भएका छन् । लगानीमैत्री वातावरण बनाउनका लागि सरकारले कानुनी सुधारको प्रक्रिया थालिसकेकाले केही ऐनलाई संशोधन गर्न ल्याउन लागिएको अध्यादेशमार्फत कानुनी सुधारका प्रयासहरुले मूर्त रुप लिँदै गएको अध्यक्ष अग्रवालको भनाइ छ । सरकारले लगानी सम्मेलनकै समयमा यस्ता कानुन सुधार गरेर लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिन चाहेको उनले बताए । ‘यो सम्मेलनले निजी क्षेत्रको आकाङ्क्षा पूर्ण रुपमा पूरा गर्छ भन्ने ठोकुवा गर्न नसके पनि यो सुरुआत हो, लगानीमैत्री वातावारण बनाउन तत्पर छौं भनेर सरकारले प्रतिबद्धता पनि सम्मेलनमार्फत लगानीकर्तालाई गर्नेछ,’ उनले भने, ‘सुधारको वातावरण बन्दै गएपछि स्वदेशी र विदेशी दुवै खालका लगानीकर्तालाई अवसर सृजना गर्नेछ ।’ पानी र लगानीको प्रकृति समान हुने उनले जिकिर गरे । पानी र लगानी जता ओरालो छ, त्यतै बगे जस्तै हुने उनले उदाहरण दिए । कानुनी, प्रक्रियागत र प्रशासनिक सुधारका माध्यमबाट लगानीका लागि सहज वातावरण बनाएर लगानी सम्मेलनमा निजी क्षेत्रले लगानीका लागि ओरालो धराताल बनाउनुपर्ने उनको तर्क छ । यो दुईदिने लगानी सम्मेलनलाई सफलता र असफलतासँग दाँज्न नमिल्ने उनको बुझाइ छ किनभने नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भनेर एउटा आधार तयार पार्ने लक्ष्य मात्र भएकाले यसमा अरू धेरै सकारात्मक पक्षहरु लगानी सम्मेलनपछि बिस्तारै देखिँदै जानसक्ने उनले बताए । अहिले सरकारले गरेको प्रतिबद्धताहरुले पनि त्यो आशा उनमा पलाएको हो । ‘नेपालमा लगानीका लागि उत्कृष्ट वातावरण बनेको छ भनेर सन्देश दिन सरकारले मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) को प्रक्रिया सुरु गरिसकेको छ’, उनले भने, ‘कन्ट्री रेटिङ भएपछि नेपालको वास्तविक अवस्था बुझेर विदेशी लगानीकर्ताहरु त्यहाँका बैङ्क तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर आउँछन् । कर्जा लिएर लगानी गर्न उनीहरुलाई सहज हुन्छ ।’ विभिन्न परियोजनामा लगानीका लागि हेजिङ, सम्भाव्यता न्यून परिपूर्ति कोष (भिजिएफ) लगायतका व्यवस्था सरकारले गरेको उनले जानकारी दिए । सबैभन्दा महत्वपूर्ण पक्ष समग्र वातावरण सहजीकरणका लागि सरकारले गरेको प्रतिबद्धता हो । अहिलेको कानुन संशोधन प्रक्रिया निजी क्षेत्रसँगको सल्लाह र सुझावका आधारमा अघि बढेकाले पनि सकारात्मक रुपमा उनले लिएका छन् । विदेशी लगानी भित्र्याउन मुख्य तीनवटा कुरा महत्वपूर्ण हुने उनको सुझाव छ । पहिलो सहज प्रवेश (इजी इन्ट्री), दोस्रो सहज निकास (स्मुथ एक्जिट) र तेस्रो लगानीको प्रतिफल फिर्ता लैजान सक्ने वातावरण (प्रोफिट रिपाट्रिएसन) हो । लगानीकर्ता नाफा कमाउनका लागि आउने भएकाले उनीहरुले यहाँ कमाएको नाफा सहज रुपमा आफ्नो देश लैजान वातावरण बनाउनुपर्ने अग्रवालको भनाइ छ । सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता आइरहेका छन् । सरकार र विदेशी लगानीकर्ताबीच मात्र नभई नेपालको निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच पनि विभिन्न सम्झौता र समझदारी यो सम्मेलनबाट हुने भनिएको छ । यस्तो अवस्थामा विभिन्न देशका लगानीकर्तासँगको सम्बन्ध स्थापना तथा विस्तारका लागि पनि सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष अग्रवालले बताए । ‘विभिन्न क्षेत्रसँग जोडिएका उद्यमी व्यवसायीहरुले बैठक र छलफल गर्ने भएका कारण पनि यो सम्मेलनले एउटा महत्वपूर्ण प्लेटफर्म हो’, उनले भने । सरकारले लगानी सम्मेलनलाई नै लक्षित गरेर बहुपक्षीय लगानी सम्झौता (बाइलेटरेल इन्भेष्टमेन्ट एग्रिमेन्ट-बिइआइए) सँग सम्बन्धित कार्यविधि तयार पारेको छ । यो निजी क्षेत्रको पहिलादेखि नै माग रहेको उनले बताए । अब बिआइए गर्न स्वाभाविक रुपमा सहज हुने र त्यो पनि निजी क्षेत्रका लागि एउटा महत्वपूर्ण कदम हुने भएकामा खुसी व्यक्त गरे । नेपालको निजी क्षेत्र सम्मेलनको सह-आयोजक भएकाले यसलाई सफल बनाउन चेम्बर अफ कमर्स लागिपरेको उनले स्पष्ट पारे । उनका अनुसार सम्भावनाका क्षेत्र पहिचान भइसकेका छन् । उनले भने, ‘ऊर्जा, ग्रिन हाइड्रोजन, पर्यटनलगायत मुख्य क्षेत्र रहेका छन् । ग्रिन हाइड्रोजनमा विगतमा पोल्यान्ड चेम्बरसँग पनि अन्तरक्रिया भएको छ । त्यसैगरी, कृषि र सूचना प्रविधि, जडिबुटी र खनिज पदार्थ पनि महत्वपूर्ण क्षेत्र हुन् । हाम्रो लगानीकर्तासँग विभिन्न चरणमा सूचनाको आदान-प्रदान भइरहेको छ ।’ यो लगानी सम्मेलनमार्फत तपाईंहरु नेपालमा लगानी गर्न आउनूस् भन्ने सन्देश दिने चाहना चेम्बर अफ कमर्सको छ । सम्मेलनमा विभिन्न पक्षबीच फरक फरक क्षेत्रका परियोजनामा समझदारी र सम्झौता हुने भनिएको छ । अहिले प्रारम्भिक चरणको काम मात्रै हुने उनले जानकारी दिए । कहाँ लगानी गर्ने भनेर उद्योग स्थापना गर्ने ठाउँको छनौटपछि गर्नुपर्ने उनको सुझाव छ । सम्मेलनमा सोकेसमा राखिएका आयोजनामध्ये जलविद्युत् क्षेत्रका धेरै आयोजना छन् । सरकारी आयोजना मात्र नभई निजी क्षेत्रबाट लगानी सहकार्यका लागि प्रस्ताव भएका आयोजनाको प्रदर्शनी कक्ष (स्टल) पनि त्यहाँ रहने जनाइएको छ । निजी क्षेत्र-निजी क्षेत्र (बिटुबी) सहकार्यका लागि केकस्ता योजनाहरुमा कस्तो सम्भावना छन् भनेर छलफल भइरहेको उनले बताए । ‘अब दुई दिनभित्र कति टुङ्गो लाग्छ वा लाग्दैन भन्न सकिँदैन तर एउटा सुरुआत धेरै राम्रो हो’, अध्यक्ष अग्रवालले भने, ‘यसले अहिलेको अवस्थामा स्वदेशी लगानीकर्तालाई उत्साहित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’ रासस
‘लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ’
काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् । आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा उनले भने, ‘सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ । एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ ।’ सम्मेलनका लागि सरकारको झन्डै एक दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरेको काम सकारात्मक भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले अरू धेरै कानुन खासगरी ऐन र केही नियम संशोधन गर्दै जानुपर्ने सुझाव दिए । ‘कतिपय ऐन नै नयाँ ड्राफ्ट गर्नुपर्ने भएको छ । संसद्मा गएका ऐनहरु पास गर्नुपर्नेछ । सार्वजनिक निजी साझेदारीमा वैदेशिक लगानी ल्याउने हो भने सार्वजनिक खरिद ऐन लागू हुन्छ त्यहाँ त्यसैगरी निजी सार्वजनिक साझेदारीका ऐनका कतिपय प्रावधान मिलाउनुपर्ने होला,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा खतिवडाले भने । विदेशी लगानीको बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्नुपर्ने कानुन ल्याउनुपर्ने सुझाव दिँदै उनले भने, ‘विदेशी विनिमय ऐन अलि कठोर छ अहिले त्यसलाई अलि खुकुलो पार्नुपर्ने होला । कम्पनी ऐनमा कतिपय कुरा थप्नुपर्नेछ । विद्युत् ऐनमा परिमार्जनको खाँचो छ ।’ सम्मलेनको तयारीलाई सामान्य रुपमा लिनुपर्ने उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले सम्मेलनको तयारी उत्कृष्ट पनि हैन र तयारी नै नपुगेको पनि हैन भने । वर्तमान सरकार आएको दुई महिना पूरा नभएको भन्दै उनले बीचमा सरकार परिवर्तनको हल्लाले पनि तयारी प्रभावित भएको उल्लेख गरे । लगानीयोग्य आयोजनाहरुलाई तयारी अवस्थामा राखेर लगानी बोर्डलाई सहयोग गर्ने कुरामा सरकार र निजी क्षेत्रको सहयोग तथा सहकार्य आवश्यक रहेकामा पूर्वअर्थमन्त्री डा खतिवडाले जोड दिए । प्रदर्शनमा राखिएका डेढ सय जति आयोजनामध्ये कम्तीमा पनि दर्जन जति आयोजना सम्झौताको चरणमा तथा सम्झदारीको चरणमा जाँदा पनि राम्रै हुने उनको भनाइ थियो । ‘खासगरी नेपाली र विदेशीको संयुक्त लगानीमा आयोजनाहरु सञ्चालन गर्ने भनेर समझदारी हुन्छन् । त्यसपछि सम्मेलन सम्पन्न भयो भनेर ठूलो समारोहको अन्त्यपछिको बेहाल जस्तो नहोस् । जो जोसँग सम्झदारी र सम्झौता भएको उनीहरुसँग निरन्तर ‘फलोअप’ होस् । निरन्तर संवादमा रहनुपर्यो,’ उनले सुझाव दिए । लगानीका लागि भौतिक सुरक्षा पहिलो र महत्वपूर्ण विषय भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा खतिवडाले मुनाफा हुने किसिमको आर्थिक वातावरण, कर र वित्तीय प्रणाली पश्चगामी हुँदैनन् भन्ने सुनिश्चितता गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘यी कुरा सम्मेलनमा पक्कै प्रतिबद्धता व्यक्त गर्छौं, यी कुरालाई कार्यान्वयन गरेर देखाउनुपर्छ । हामी गर्ने छौँ भनेर उधारो कुरा गरेर फेरि अर्को लगानी सम्मेलन अगाडिसम्म केही नगर्ने स्थिति हुनु हुँदैन ।’ रासस
लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित
काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ । त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन/तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ । आइतबारदेखि काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । रासस