दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गएराति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।
तनहुँमा प्लास्टिक झोलामुक्त अभियान : पसल-पसलमा सचेतना कार्यक्रम
तनहुँ । आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल-पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ । व्यास नगरपालिका प्लास्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा ६ जनाको टोली पसल–पसलमा पुगेर प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ । सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लास्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह गरेको छ । गत चैत २ गतेदेखि मासु, दूध, कपडा, किराना पसल, तनहुँ उद्योग वाणिज्य संघलगायत व्यवसायी तथा संघसंस्थासँग छलफल गरी अभियान थालिएको हो । अभियानलाई जेठ १ गतेदेखि कडाइका साथ लागू गर्न व्यास नगरपालिकाले प्लास्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि, २०८१ समेत पारित गरिसकेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । प्लास्टिक झोलामुक्त अभियानलाई सफल बनाउन कपडाको झोला उत्पादनमा नगरपालिकाले प्राथामिकता दिएको छ ।
चालु आर्थिक वर्षमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता
फाइल फोटो दमौली । चालु आर्थिक वर्षमा तनहुँमा ६ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ ३ सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा ६ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् । २ सय ७८ उद्योग खारेज चालु आवमा जिल्लामा २ सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आवमा २ सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ । चालु आवमा कार्यालयले ४० लाख ४९ हजार १ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ १९ लाख ८५ हजार १ सय ७५ र उद्योगतर्फ २० लाख ६३ हजार ९ सय ५० राजस्व संकलन भएको छ । उद्योगतर्फका ८ सय ४० र वाणिज्यतर्फ ७ सय ४१ गरी १ हजार ५ सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् । चट्याङपीडितलाई सहयोग यसैबीच, देवघाट गाउँपालिका-४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठजना सदस्यमध्ये तीनजना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब २ लाख बराबरको क्षति भएको बताइएको छ ।
रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप
मन्थली । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका १ सय ५५ स्थानमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १ सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् । यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ । वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ ।
सोल्टी होटलको नाफा ४१ करोड २३ लाख
काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । होटलले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको हो । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलको १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा कायम छ ।
वीरगञ्जमा एनसेल सेन्टर सञ्चालनमा
वीरगञ्ज । टेलिकम सेवा कम्पनी एनसेलले औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जमा ‘एनसेल सेन्टर‘ सञ्चालनमा ल्याएको छ । एनसेललेद्वारा बिशीबार यहाँ आयोजित कार्यक्रममा एनसेलका चिफ अफ स्टाफ अपरेशनका स्टेफेन रोड्रिगेजले वीरगञ्जको घण्टाघर नजिकै रहेको ‘शीवा हस्पिटल’ मा एनसेल सेन्टरको शुभारम्भ गरे । सो अवसरमा उनले एनसेलले गुणस्तरीय र सुलभ खालको टेलिकम सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । ‘एनसेलले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आइरहेको छ,’ उनले भने, ‘एनसेलले ग्राहकलाई उत्कृष्ट खालको सुविधा दिने प्रयत्न जारी राखेको छ ।’ यसअघि एनसेल सेन्टर वीरगञ्जको माइस्थानमा रहेको थियो । तर, अहिले नयाँ साजसज्जासहित घण्टाघर नजिकै रहेको शिवा हस्पिटलमा सञ्चालनमा ल्याइएको हो । एनसेलका ‘कष्टमर एक्सपेरियन्स मेनेजर’ ज्योति दाहालले वीरगञ्जमा स्थापना गरेको सेन्टरले पर्सा,बारा र रौतहत जिल्लामा पनि सहजीकरण गर्ने जानकारी दिइन् । एनसेल सेन्टरले सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ सिम वितरण, फोरजी सिम वितरण लगायतका सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
मेडिकलबाटै लागुऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ
लुम्बिनी । बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधीको कारोबार गर्ने एकजना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित कालिकापथमा बैदवार फार्मेसी नक्कली नाम राखेर लागुऔषधको रूपमा औषधीको कारोबार गर्न मेडिकल सञ्चालन गर्दै आएका अछामको तुर्माखाँद गाउँपालिका- ८ घर भएका कमलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नहुने औषधि बिक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका-८ मा दर्ता रहेको डिस्कामुनी मेडिकल हलको प्रमाणपत्र राखेर बैदवार फार्मेसी सञ्चालन गर्दै आएका थिए । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवालाई बिक्री गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले विकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । डाइसाक्लोमिन– ९ हजार चार सय ट्याबलेट, प्रिगेस्टर पाँच सय ४२ ट्याबलेट, प्रिग्रा तीन सय ७० ट्याबलेट लगायतका औषधी चिकित्सकको सिफारिसबिना बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टराईले जानकारी दिए । प्रहरीले मेडिकल सञ्चालक विकसहित स्याङ्जा वालिङ् नगरपालिका–१३ बस्ने वर्ष २१ को ओमप्रकाश गैरे, रुपन्देही देवदह नगरपालिका–७ बस्ने वर्ष २९ को किरण दर्जी र बुटवल उपमहानगरपालिका–२ बस्ने वर्ष ३० को मनिस विकलाईसमेत नियत्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।
कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो
बेदकोट । कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छ । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक घरटहरा बनाएर व्यापार व्यवसाय सञ्चालन गर्दैआएका व्यापारीले जमिन खाली गरेका हुन् । एक बिघा सात कट्ठा १२ धुर जमिनमा बनाएका झण्डै एक सय ५० संरचना हटाएर जमिन आफूले उपयोग गर्नसक्ने गरी फिर्ता ल्याइएको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख राजु मोक्तानले जानकारी दिए । उनले स्थानीय प्रशासन र कार्यालयको निर्देशनपछि व्यापारीहरूले निर्धारित समयभित्र आफैं संरचना हटाएका बताए । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलीय, सर्बपक्षीय बैठकले खाद्यको जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गर्दै व्यवसायीलाई एक महिनाको समय दिएको थियो । अतिक्रमित जमिन खाली गराएपछि संरक्षणका लागि तत्काल तारबार लगाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रधान कार्यालय मानव संशाधन विभागका विभायीय प्रबन्धक घनश्याम अर्यालले बताए । ‘तत्काल यो जमिनलाई तारबार गरेर संरक्षक गर्छौँ । जमिन उपयोगका योजना बनाउँदैछौँ,’ उनले भने, ‘आगामी बजेट तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर संरचना बनाउने योजना छ । खाद्यसँग सम्बन्धित पसल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।’ स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत पहिलो चरणमा नापी, यातायात तथा मालपोत कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् । महेन्द्रनगर बजार क्षेत्रमै रहेको बाल सङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको छ ।