आफैं विश्वविद्यालय जाने योजनामा शंकरदेव क्याम्पस
काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको सरकारले दाबी गरिरहँदा अधिकांश कलेज विद्यार्थी नपाएर भौंतारिरहेको तितो यथार्थ कलेज सञ्चालकहरूलाई मात्र थाहा छ । विगतमा जस्तो छ्यासछ्यास्ती विद्यार्थी पाउन छाडेपछि कलेज कसरी सञ्चालन गर्ने भन्ने पीरको भारी बोकेर उनीहरू विद्यार्थी खोज्न दौडिरहेका छन् । कक्षा १२ सकिएपछि अधिकांश विद्यार्थी विदेश जान थालेपछि कलेजहरू धमाधम विकल्प खोजिरहेका छन् । कतिपय कलेज सञ्चालक त सेयरसमेत बेच्ने तयारीमा छन् । तर, काठमाडौं पुतलीसडकस्थित पुरानो क्याम्पस शंकरदेव भने क्याम्पसलाई विश्वविद्यालय बनाउने योजनामा छ । यसका लागि जोडतोडसाथ तयारी भइरहेको क्याम्पस प्रमुख प्राध्यापक कृष्णप्रसाद आचार्य बताउँछन् । आगामी दुई वर्षमा विश्वविद्यालय बनाउने तयारीमा रहेको शंकरदेव क्याम्पसमा अहिले विद्यार्थीको अवस्था के छ ? कसरी क्याम्पस आफैं विश्वविद्यालयमा रूपान्तरण हुन्छ ? विकासन्युजले क्याम्पस प्रमुख प्राध्यापक आचार्यसँग यसबारे विस्तृतमा जिज्ञासा राखेको छ । विस.२००८ सालमा शंकरदेव क्याम्पस स्थापना भएको हो । नेपाल नेशनल कलेजको नाममा स्थापना भएको यो क्याम्पस २०३० सालमा नाम परिवर्तन गरेर शंकरदेव राखिएको हो । यो क्याम्पस बनाउनुमा शिक्षाविद् शंकर पन्तको ठूलो योगदान छ । क्याम्पसलाई चाहिने ९ रोपनी जग्गा र भवन उपलब्ध उनै पन्तले उपलब्ध गराएका थिए । सोही क्यामपसलाई अब विश्वविद्यालयमा परिणत गर्ने तयारीमा अहिलेका क्याम्पस प्रमुख आचार्य लागेका छन् । शंकरदेव कलेज व्यवस्थापन (म्यानेजमेन्ट) संकायका लागि सबैभन्दा उत्कृष्ट कलेजका रूपमा चिनिन्छ । शंकरदेव क्याम्पसमा अहिले व्याचलर्स र मास्टरर्समा गरी म्यानेजमेन्टका विभिन्न ८ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । जसमा त्रिभुनव विश्वविद्यालयको फण्डिङ बाट एमबीएस र बीबीएस कार्यक्रम सञ्चालनमा छन् भने अन्य पाँच वटा कार्यक्रम सेल्फ फण्डिङमा सञ्चालन भइरहेका छन् । जसमा बीबीए, बीबीए फाइनान्स, बीआइएम, बीबीएम, बीबीएम फाइनान्स छन् । अन्य कलेजहरूमा विद्यार्थीको संख्या घटे पनि शंकरदेवमा भने विद्यार्थीको संख्या नघटेको क्याम्पसको दाबी छ । गत भदौ र असोजमा भर्नाका लागि सूचना जारी गरेको एक सातामै कोटा पूरा भएर विद्यार्थीलाइ फर्काउनुपरेको बताउँदै क्याम्पस प्रमुख आचार्यले विद्यार्थीको अभाव नरहेको बताए । व्याचलर्सको स्पेसल कार्यक्रममा आवश्यक सीट संख्या ३ सय १९ हो । जसमा बीबीएमा ९९ बीबीए फाइनान्समा ६६, बीआइएममा ६६, बीबीएममा ८८ जनाको सीट छ । अन्य कलेजलाई विद्यार्थी पाउन धौ–धौ परेको बेला यो क्याम्पसमा विद्यार्थीको आकर्षण किन ? भन्ने प्रश्नमा क्याम्पस प्रमुख आचार्यले भने, ‘सबैभन्दा पहिलो त यहाँ फ्याकेल्टी राम्रो छ, अर्को पढाइ पनि राम्रो छ र यो क्याम्पस सरकारी र सस्तो अनि पनि पर्याप्त पूर्वाधार भएकाले विद्यार्थी आकर्षित छन् ।’ विद्यार्थी संख्या अहिले शंकरदेव कलेजमा जम्मा विद्यार्थी संख्या १० हजार ७ सय २३ छ । जसमा व्याचलर्समा ७ हजार ८ सय ८० छन् । जसमा महिला ४ हजार ९ जना छन् । यस्तै मास्टर्समा २ हजार ८ सय ४३ जना विद्यार्थी छन् जसमा महिलाको संख्या १५ सय ८१ छ । भर्नामा विद्यार्थीको संख्या राम्रै भए पनि बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या भने त्यहाँ पनि डर लाग्दो छ । पहिलो वर्ष २४ देखि २५ सय विद्यार्थी भर्ना हुन्छन् । तर, उनीहरू चौथो समेस्टरसम्म पुग्दा जम्मा ८ सयमा झर्छन् । उनी यसमा त्रिभुवन विश्वविद्यालयले समयमा परिक्षा नलिनु र लिएको परिक्षाको नतिजा पनि समयमै निकाल्नु मुख्य कारण रहेको बताउँछन् । जसका कारण विद्यार्थीहरू विकल्प रोज्छन् । स्पेसल कार्यक्रमको रिजल्ट ४ वर्षभित्र हुन्छ । तर, टीयू अन्तर्गतका कार्यक्रममा ४ वर्षमा सकिने कोर्सलाई ६ वर्ष लाग्छ । जसका कारण विद्यार्थी भर्ना हुने तर बाहिरको तयारी गरिरहने र नाम निस्कने बित्तिकै बाहिर गइहाल्छन् । भर्ना भएका विद्यार्थी अन्तिम वर्षसम्म एक चौथाई मात्र रहने उनको भनाइ छ । त्रिविको लथालिंग अवस्थाले क्याम्पसहरूलाई विद्यार्थी कसरी टिकाउने भन्ने चुनौती थपिएको छ । समयमा परिक्षा नहुँदा, नतिजा नआउँदा विद्यार्थी टिकाउन गाह्रो छ । त्रिविको झन्झटिलो प्रक्रियाले अन्य आंगिक क्याम्पस पनि दिक्क भएका छन् । यही कारण पनि क्याम्पस प्रमुख आचार्य अब शंकरदेव क्याम्पसलाई विश्वविद्यालय बनाउने योजनामा छन् । ‘हामीसँग नभएको भनेको स्पेस हो, अरू सबै पूर्वाधार हामीसँग छ,’ उनी भन्छन्, ‘९ रोपनी जग्गा छ, अब अरू जग्गाको बन्दोवस्त गरेर आफै विश्वविद्यालयमा जान्छौँ ।’ देशको राजनीतिक अस्थिरता र व्यवस्थाका कारण त्रिवि सुधार्न नसकिएको उनको अनुभव छ । राजनीतिले शिक्षा क्षेत्रमा ठूलो प्रभाव परेको आचार्य बताउँछन् । त्रिविका शिक्षकलाई तलब खुवाउने, आर्थिक पाटोको काम गर्ने अर्थमन्त्रालय हो । अर्थमन्त्रालयमा छिटोछिटो मन्त्री फेरिँदा पनि समस्या भएको उनी बताउँछन् । नयाँ प्रविधिबाट पढाइ क्याम्पस प्रमुख आचार्यले शंकरदेवमा पढाउन सुरु गरेको १६ वर्ष भयो । उनी कलेज आउँदा मार्करले बोर्डमा लेखेर पढाइन्थ्यो । तर, अहिले मल्टिमिडिमार्फत पढाइ हुन्छ । आचार्य २०७३ साल असार २० गते क्याम्पस प्रमुख भए । त्यसपछि बोर्ड मार्कर हटाएर उनले मल्टिमिडिया सुरु गरे । अहिले उनी फेरि दोस्रो पटक क्याम्पस प्रमुख भएका छन् । उनी २०८० असार २० गते दोस्रो पटक क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् । उनी अब सबै कक्षामा स्मार्टबोर्ड राख्ने तयारीमा छन् । स्मार्टबोर्ड भनेको नयाँ प्रविधि हो । जहाँ इलेक्ट्रीक पेन हुन्छ । जुन सामग्री आवश्यक पर्यो त्यो त्यहीबाट खोज्न पाइन्छ । स्मार्टबोर्ड कोठामा हुँदा विभिन्न देशका प्रोफेसरहरूले पढाएको कुरा विद्यार्थीले पढ्न पाउने उनी बताउँछन् । शंकरदेव कलेजबाट उत्पादन भएका विद्यार्थीले नेपालको ६० प्रतिशत बढी विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेको कलेजको दाबी छ । ‘नेपालमा मात्र हैन, यहाँ पढेका विद्यार्थी विश्वका विभन्न देशमा पनि उच्च ओहदामा छन्,’ उनी भन्छन्, ‘यस्तै कारणले पनि शंकरदेवमा विद्यार्थीहरूको मोह बढिरहेको छ ।’ नेपाली शिक्षा पाठ्यक्रममा आधारित मात्र भयो, व्यवहारिक भएन भन्ने आरोप पनि बेलाबेला लागिरहन्छ । क्याम्पस प्रमुख आचार्य यसलाई स्वीकार्दै कलेजले व्यवहारिक शिक्षामा पनि जोड दिएको बताउँछन् । यो कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई सम्बन्धित उद्योग, कम्पनीमा गएर इन्टर्न गर्ने अवसर हुन्छ । व्याचलर्समा ४ वर्षभित्र र मास्टर्समा २ वर्षभित्रमा विभिन्न फर्म, फ्याक्टीको भ्रमण गराउने गरिन्छ । यसरी भ्रमण गरेका विद्यार्थीले स्थलगत अध्ययन गरेर रिपोर्ट बुझाउनुपर्छ । कलेजमा पढेको कुरा र बाहिर फिल्डमा कस्तो छ भन्ने बारे सम्बिन्धत व्यक्तिलाई ल्याएर अतिरिक्त कक्षा दिने गरेको उनको भनाइ छ । ‘यहाँ पाठ्यक्रममा मात्र केन्द्रित रहेर पढाइ हुँदैन,’ उनी भन्छन्, ‘कक्षाकोठाभित्र पढेका कुरालाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्नेबारे पनि विद्यार्थीलाई सिकाइन्छ, यसरी पढाउँदा विद्यार्थीको पढाइमा थप उर्जा थपिन्छ ।’ शंकरदेव खस्किएको हो ? धेरैजसो कलेजले विद्यार्थी नपाइरहेका बेला शंकरदेव भने अब्बल रहेको आचार्यको दाबी छ । ‘यो क्याम्पसमा पहिले पनि राम्रो पढाइ हुन्थ्यो, अहिले झन राम्रो भइरहेको छ,’ उनी भन्छन्, ‘पहिला विद्यार्थी र प्रहरीबीच झडप हुन्थ्यो, पढिरहेका विद्यार्थी र पढाइरहेका शिक्षकलाई प्रहरीले लाठी प्रयोग गर्थे, त्यस्तो बेला त पढाइ राम्रो थियो भने अहिले त नहुने कुरै भएन ।’ क्याम्पस प्रमुख भइसकेपछि…. आचार्य क्याम्पस प्रमुख भएपछि क्याम्पसको अवस्थामा धेरै परिवर्तन भएको छ । क्याम्पसका सबै भवनका छत बन्द गरिएको छ । दुई तला पनि थपिएको छ । भूकम्पले भत्किएका भवन पुर्ननिर्माण प्राधिकरणको २६ करोडको सहायतामा नयाँ भवन निर्माण भएको छ । आचार्यले नै बीबीए फाइनान्सकोे पाठ्यक्रमका लागि डीन कार्यालयसँग अनुमति लिएर पाठ्यक्रम तयार पारिएको छ । अहिले प्रत्येक कक्षामा नेट जोडिएको छ । तर, विद्यार्थीले फेसबुक, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल भने चलाउन पाउँदैनन् । क्याम्पसमा शिक्षकले कसरी पढाइरहेका छन् भन्ने पनि सर्च गरेर हेर्न मिल्ने आचार्य बताउँछन् । विद्यार्थीले इन्टरनेटमार्फत शिक्षकलाई सुझाव र खबरदारी गर्न सक्छन् । क्याम्पसमा खानेपानीको समस्या समाधानका लागि एनएमबी बैङकसँग सहकार्य ६ लाख रुपैयाँ लागमा खानेपानीको व्यवस्था पनि गरिएको छ । शिक्षक र व्यवस्थापनमा फरक बाग्लुङमा जन्मेका आचार्य शिक्षण पेसामा लागेको २७ वर्ष भयो । उनलाई पढाउँदा जति आनन्द आउँछ, प्रशासनमा बस्दा त्यति आनन्द आउँदैन । ‘आफूले पढाएको विद्यार्थी कुनै संस्थामा गएर लिड गर्छ वा राम्रो नतिजा ल्याएर पास गर्दा खुसी लाग्ने रहेछ,’ उनी भन्छन्, ‘बीबीए फाइनान्समा १८ जनाले ४.० जीपीए ल्याउँदा १७ जना शंकरदेव कलेजका थिए, यस्तो बेला निकै खुसी लागेको थियो,’ उनी सुनाउँछन्, ‘अर्को पूर्वाधार बनाएर शिक्षकले राम्रोसँग पढाएको देख्दा आनन्द लाग्छ ।’ तथ्यांकशास्त्र विषय पढाउँदै आएका आचार्यले १ वर्षदेखि पढाउन छाडेका छन् । त्रिविको सैबभन्दा धेरै विद्यार्थी भएको क्याम्पस शंकरदेव क्याम्पस हो । म्यानेजमेन्टको सबैभन्दा पायोनियर यो क्याम्पस हो । तर, सबभन्दा कम शिक्षक र कर्मचारी यही क्याम्पसमा छन् । यहाँ जम्मा ३४ स्थायी र २६ जना आन्तरिक करारका शिक्षकहरू छन् । शिक्षक र विद्यार्थीको रेसियो नमिल्नुमा विश्वविद्यालयको कमजोरी रहेको उनको भनाइ छ । विद्यार्थी अनुसारको शिक्षक र कर्मचारी उपलब्ध गराउन नसक्नु विश्वविद्यालयकै कमजोरी रहेको उनी बताउँछन् । शंकरदेवमा पढ्ने विद्यार्थीले विषयअनुसार फरक–फरक शुल्क तिर्नुपर्छ । बीबीएसमा अध्ययन गर्ने विद्यार्थीले पढाइ पूरा गर्न ५० हजार रुपयाँ शुल्क तिर्नुपर्छ । यस्तै बीबीए, बीबीए फाइनान्स पढ्ने विद्यार्थीले ४ लाख रुपैयाँ बढी शुल्क तिर्नुपर्छ भने बीबीएमको विद्यार्थीले साढे तीन लाख रुपैयाँ शुल्क तिरेर व्याचलर्स पढ्न सक्छन् । यही पैसाबाट शिक्षकलाई तलब खुवाउनेदेखि अन्य शैक्षिक सामाग्रीहरू ल्याउने गरेको उनको भनाइ छ । क्याम्पसले स्पेसल सेल्फ फण्डिङ सञ्चालित पाँच वटा कार्यक्रमअन्तर्गत एमबीए, एमबीएम, एमबीएम फाइनान्स, बीबीए, बीबीएम फाइनान्स पढ्ने विद्यार्थीलाई हरेक वर्ष १० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । क्याम्पसले पढाइमा राम्रो भएका तर आर्थिक अवस्था कमजोर भएका डेढ सय विद्यार्थीका लागि डोनर खोजेर छात्रावृत्तिमा पढाइरहेको उनले बताए । मास्टर्समा एउटा सेमेस्टरको १८ हजार छ भने ७२ हजारमा कोर्स सकिने उनले बताए । अबको योजना उनी दोस्रो पटक क्याम्पस प्रमुख बनेको असार २० गते १ वर्ष पूरा हुन्छ । बाँकी ३ वर्षको अवधिमा उनी सबै पूर्वाधार तयार पारेर क्याम्पसलाई विश्वविद्यालयमा लैजाने तयारी गरिरहेका छन् । कानुनअनुसार विश्वविद्यालय हुन सय रोपनी जग्गा हुनुपर्छ । फ्याक्लटीमा एमफिल, पीएचडी हुनुपर्छ । त्यही किसिमको रिजल्ट हुनुपर्छ । ‘यसमा कोही पएचडी गर्दै हुनुहुन्छ, कोही गरिराख्नुभएको छ, हामीलाई फ्याकल्टीको समस्या छैन’, उनी भन्छ, ‘यसका लागि मैले विदेशमा लिएर प्रशिक्षण दिने योजना बनाएको छु ।’ उनले विश्विद्यालय बनाउनका लागि अरु कुनै समस्या नभएको तर जग्गाको आश्यकता भएकाले जग्गाको खोजीमा रहेको बताए ।
नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकका पूर्वसीईओ राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने लविङमा, यी हुन् २० आवेदक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाको आवेदन परेको छ । बैंकको सीईओका लागि आवेदन दिने आज (बिहीबार) अन्तिम दिनसम्म २० जनाको आवेदन परेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए । उनका अनुसार बैंकको सीईओ बन्न रामदेव यादव, अगम मुखिया, दुर्गा कुमारी कँडेल छत्कुली, नरेशराज अर्याल, पवन रेग्मी, विष्णु देव यादव, विष्णुबाबु मिश्र, प्रकाशचन्द्र अधिकारी, डा. रामराज उपाध्याय, देवेन्द्ररमण खनाल, दीर्घबहादुर अर्यालले आवेदन दिएका हुन् । यस्तै, झविन्द्र खत्री, गणेशप्रसाद गौतम, कृष्णबहादुर अधिकारी, सुरेश देवकोटा, शंकर केसी, प्रमोदबाबु तिवारी, कृष्णप्रसाद आचार्य, शंकरकुमार रायमाझी, माधवप्रसाद रेग्मीले बैंकको सीईओ बन्न आवेदन दिएको उनको भनाइ छ । २० जना आवेदकमध्ये दुर्गाकुमारी कँडेल, पवन रेग्मी र देवेन्द्ररमण खनाल राष्ट्रिय वाणिज्य बैंकको उच्च तहमा कार्यरत छन् । खनाल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) हुन् भने कँडेल र रेग्मी डीईओ हुन् । यस्तै, रामदेव यादव सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी निर्देशक हुन् भने अगम मुखिया साविक सानिमा लाइफ इन्स्योरन्सका पूर्वसीईओ हुन् । विष्णुदेव यादव नेपाल एसबिआई बैंकका डीसीईओ हुन् भने दीर्घबहादुर अर्याल कृषि विकास बैंकका नायब महाप्रबन्धक हुन् । कृष्णप्रसाद आचार्य पनि पूर्वसीईओ हुन् । नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी र नेपाल पुनर्बीमा कम्पनीका पूर्वसीईओ शंकरकुमार रायमाझीले पनि बैंकको सीईओ बन्न आवेदन दिएका हुन् । सुरेश देवकोटा नबिल सेक्युरिटिजका पूर्वसीईओ हुन् । उनले हालै सो कम्पनीबाट राजीनामा दिएर बाहिरिएका थिए । सीईओ छनोट तथा सिफारिस समितिले योग्यता र अनुभवी व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तर्वार्ताका लागि बोलाउने छ । पाँचै जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना सीईओ बन्नेछन् ।
आर्थिक सुधारका लागि महासंघले पहल गरेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका छन् । भेटमा महासंघका अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए । यद्यपि, यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक बृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए । ढकालले नवप्रवर्तन, उद्यमशीलता बिकास र दिगो आर्थिक बृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसंगको सहकार्य आवश्यक रहेको बताए । यसैबीच, होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताए । होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए । गत वर्ष आइएफसी र महासंघले संयुक्त रुपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो विभिन्न सामाजिक कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागुऔषध अपराध सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखि त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरु हस्तान्तरण गरेका थिए । बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका –३२, कोटेश्वर समाज सुधार युवा क्लवलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लव भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लवका अध्यक्ष सुवास कुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए । त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु अध्यनरत भएकाले शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बैंकको कोशी प्रदेश प्रमुख दिपक कुमार गुप्ताले विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । त्यसैगरि बैंकको शिशुवा शाखाद्वारा पोखरा म.न.पा. ३० स्थित शिशुवा वजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । शिशुवा वजार क्षेत्र भित्र सम्भावित विभिन्न अपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सहयोग गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा म.न.पा. वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरेक थिए । उल्लेखित कार्यक्रम सँगसगै बैकको हेटौंडा शाखाद्वारा रोटरी क्लब अफ हेटौंडालाई डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । हेटौंडा महानगरपालिकामा अवस्थित टोल, सार्वजनिक बाटोहरु तथा पार्कहरुमा निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगरपालिका बनाउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
रोजगारका लागि विदेश पठाइदिने भन्दै ४५ लाख ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउमध्ये वकिलबहादुर आलेले क्यानडा पठाईदिने भन्दै ६ जना पीडितहरू ३६ लाख तथा धर्मेन्द्रले युके पठाइदिने भन्दै दुई जना पीडितहरुबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले वकिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिका-६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोङगबुबाट पक्राउ गरेको प्रवक्ता रेग्मीले बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिफल नआएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम रोकेका हौँ : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक पहुँचको आधारमा वितरण गरिएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई स्थगित गरिएको बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका विद्यालय भवन र आइसिटी ल्यावहरु राजनीतिक पहुँचको आधारमा वितरण गर्ने गरिएकोले सो कार्यक्रम रोक्नुपरेको बताएकी हुन् । उनले आवश्यकताका आधारमा नभई राजनीतिक पहुँचको आधारमा वितरण गरिएको अवस्था रहेको बताइन् । उनले संरचना बनाउनका लागि पैसा पठाएर मात्रै नहुने भन्दै प्रतिफल आए/नआएको सम्बन्धमा अध्ययन गर्न आवश्यक रहेको बताइन् । मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको पैसा भूकम्प प्रभावित ठाउँहरुमा पठाउन लागेपनि प्रक्रिया लामो लाग्ने हुँदा पठाउन नसकिएको पनि बताइन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको मोडालिटी नै परिवर्तन गर्नुपर्ने बताइन् । विद्यालय भवनहरु ठेक्का प्रणालीमार्फत् बनाउनु नै गलत भएको बताइन् । एक दातृ निकायको सहयोगमा दुई हजार वटा कक्षाकोठा बनाइने जानकारी दिइन् । ‘यसपालि पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको हामीले प्रयास गरेको भूकम्प गएको क्षेत्रमा पठाइदिउँ भनेर गरेको हो । विद्यालयको कक्षाकोठा बनाउने नै हो । सिंहदरबारमा कसको पहुँच छ, त्यसको आधारमा होइन कि इन्डिकेटर छानेर गर्नुपर्छ । पहुँचको आधारमा मात्रै गएको कारण अख्तियारले पनि पत्र पठाएको थियो शिक्षा मन्त्रालयलाई । त्यो नदोहोरिनका लागि एउटा मापदण्ड बनाइरहेका छौँ’, उनले भनिन् । मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त कलेजहरुको सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शंकर कोईरालाको अध्यक्षतामा समिति बनाइएको जानकारी दिँदै समितिको प्रतिवेदन आएपछि प्रतिवेदन अनुरुप समाधानको लागि पहल गर्ने बताइन् ।
‘प्यान्डामिक फन्ड’ बाट नेपालले पायो साढे २ अर्ब सहयोग
काठमाडौं । ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ (१ करोड ८८ लाख अमेरिकी डलर ) प्राप्त गरेको छ । बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त परियोजनाको शुभारम्भ गरिएको छ । तीन वर्ष चल्ने यो परियोजनाको नेतृत्व नेपाल सरकारले गर्नेछ भने विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नता रहनेछ । यो परियोजना अनुदानमा आधारित हो । यसका लागि १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने छ ।
पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी, उडानमा ढिलाइ
पाकिस्तान । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता फैलिँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएको आज न्यूजले जनाएको छ । आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई कुनै हानि नभएको जनाइएको छ । यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न आवश्यक थियो । आज न्यूजद्वारा प्रसारित तस्बिरहरूले धुवाँ निस्कँदै गरपछि कोलाहलपूर्ण दृश्यको तस्विर चित्रण गरेको थियो । आगलागीको कारण निर्धारण गर्न एउटा विशेष टोली परिचालन गरिएको छ । विमानस्थलका अधिकारीहरूले अध्यागमन काउन्टरमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । पहिलो हज प्रस्थान र अन्य पाँचवटा अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ भएको कारण घटनाको प्रभाव उडान तालिकामा परेको थियो । आप्रवासन प्रक्रियाको चिन्ताका बाबजुद अन्तर्राष्ट्रिय उडानहरू कुनै मार्ग परिवर्तनबिना लाहोर विमानस्थलतर्फ रुट गरिएको छ । नागरिक उड्डयन प्राधिकरण (सिएए) ले सर्ट सर्किटबाट उत्पन्न स्थिति नियन्त्रणमा लिएर घरेलु प्रस्थान लाउन्जबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको जनतालाई आश्वासन दिएको छ । हाल, हज र अन्तर्राष्ट्रिय उडानहरू घरेलु सुविधाहरूमार्फत समायोजित भइरहेका छन् । चाँडै नियमित घरेलु उडान सञ्चालनहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ । प्रवक्ताले घटनापछि न्यूनतम अवरोध सुनिश्चित गर्दै उडानहरू आइपुग्नका लागि निर्बाध आप्रवासन प्रक्रियाहरूलाई प्राथमिकता दिन जोड दिए । रासस