पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी, उडानमा ढिलाइ
पाकिस्तान । पाकिस्तानको लाहोर विमानस्थलमा लाउन्ज क्षेत्रमा आगलागी भई अराजकता फैलिँदा हज यात्रासहित धेरै अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध भएको आज न्यूजले जनाएको छ । आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई कुनै हानि नभएको जनाइएको छ । यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न आवश्यक थियो । आज न्यूजद्वारा प्रसारित तस्बिरहरूले धुवाँ निस्कँदै गरपछि कोलाहलपूर्ण दृश्यको तस्विर चित्रण गरेको थियो । आगलागीको कारण निर्धारण गर्न एउटा विशेष टोली परिचालन गरिएको छ । विमानस्थलका अधिकारीहरूले अध्यागमन काउन्टरमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । पहिलो हज प्रस्थान र अन्य पाँचवटा अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ भएको कारण घटनाको प्रभाव उडान तालिकामा परेको थियो । आप्रवासन प्रक्रियाको चिन्ताका बाबजुद अन्तर्राष्ट्रिय उडानहरू कुनै मार्ग परिवर्तनबिना लाहोर विमानस्थलतर्फ रुट गरिएको छ । नागरिक उड्डयन प्राधिकरण (सिएए) ले सर्ट सर्किटबाट उत्पन्न स्थिति नियन्त्रणमा लिएर घरेलु प्रस्थान लाउन्जबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको जनतालाई आश्वासन दिएको छ । हाल, हज र अन्तर्राष्ट्रिय उडानहरू घरेलु सुविधाहरूमार्फत समायोजित भइरहेका छन् । चाँडै नियमित घरेलु उडान सञ्चालनहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ । प्रवक्ताले घटनापछि न्यूनतम अवरोध सुनिश्चित गर्दै उडानहरू आइपुग्नका लागि निर्बाध आप्रवासन प्रक्रियाहरूलाई प्राथमिकता दिन जोड दिए । रासस
सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी
काठमाडौं । वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी सुरु भएको छ । सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन् । पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडले भइरहेको छ । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार यतिबेला चौथो शिविरसम्मको डोरी टाङ्ग्ने काम सकिएको छ । यतिबेला चौथो शिविरसम्मका विभिन्न क्याम्पहरु आरोहीले भरिएका छन् । आराहणको समय नजिकिएसँगै आरोहणलाई सुरक्षित बनाउनका लागि विभागलगायतका विभिन्न कम्पनीहरुले तयारी गरिरहेका छन् । निर्देशक गुरुङले आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि जनशक्ति परिचालन गरिसकेको बताए । ‘फिल्ड कार्यालय स्थापना भइसकेको छ, अनुगमनलाई तीव्र पारिएको छ’, उनले भने, ‘आरोहीलाई परामर्श दिनुका साथै आवश्यक सामग्री हस्तान्तरण समेत भइसकेको छ ।’ सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन विभिन्न काम भइरहेको बताए । ‘जलवायु परिवर्तनका कारण सगरमाथा आरोहणका दौरानमा क्षणभरमै फेरबदल भइरहने मौसमको साथ पनि अनिवार्य हुन्छ’, उनले भने, ‘मौसमको अवस्था अनुसार योजना बनाएर अघि बढेका छौँ ।’ शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुगेको बताए । उनका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन् । उनीहरू आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रूपमा सगरमाथा आरोहण गर्दै आउनुभएको छ । सगरमाथाको आधार शिविरमा सजिएका (करित १३ हजार) त्रिपाल, आरोहीको भिडभाडले सगरमाथा क्षेत्रको रौनक बढाएको छ । यो यामको सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन पर्यटन विभागले विभिन्न तयारी गरिएको जनाएको छ । विभागका महानिर्देशक चक्र बहादुर बुढाले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन ‘रेक्यू चिप’ अनिवार्य गरिएको बताए । उक्त चिप सम्बन्धित एजेन्सीले प्रत्येक आरोहीलाई उपलब्ध गराउनुपर्नेछ । यसले कुन आरोही कहाँ र कस्तो अवस्थामा छन् भनेर जानकारी लिन सकिने विभागको विश्वास छ । ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य पर्यटन विभागले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन आरोहीहरूका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य गरेको छ । यही यामबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । चिपका कारण आरोहीको उद्धारमा सहज हुने भएकाले सरोकारवाला निकायसँगको छलफल र सहमतिपछि लागू गरिएको उनको भनाइ छ । उनका अनुसार आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो । यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ । चिप ‘पेन ड्राइभ’ आकारको हुनेछ । यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ । सगरमाथा आरोहण सकेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार ‘सर्च एन्ड रेस्क्यू’ प्रयोजनका लागि यो याममा हरेक आरोहीलाई चिप अनिवार्य गरिएको बताए । ‘कतिपयले जीपीएस ट्रेकिङ भनिरहेका छन् तर यो सर्च एन्ड रेक्क्युका लागि चिप अनिवार्य गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा सबैजसो मुलुकका आरोहीले प्रयोग गर्छन् त्यसैले यो निकै प्रभावकारी हुने अनुमान गरिएको छ’, निर्देशक गुरुङले भने । अनुगमन तथा सहजीकरण समिति सन् २०२४ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा रहेका हिमालहरुमा हुने पर्वतारोहण तथा सम्पर्क अधिकृतहरुको खटनपटनलगायत अन्य सबै गतिविधिहरुको नियमन तथा सहजीकरण गर्न पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्र) गठन गरिएको छ । विभागका महानिर्देशक चक्र बहादुर बुढा संयोजक रहेको १० सदस्यीय समितिमा विभिन्न मन्त्रालय र नियकायका प्रतिनिधि हुन् । आधार शिविरमा ‘फिल्ड’ कार्यालय यस वर्षको वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन सगरमाथा आधार शिविरमा पर्यटन विभागको फिल्ड कार्यालय स्थापना गरिएको छ । विभागका अनुसार वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वमा कार्यालय स्थापना गरी अनुगमन, रिपोर्टिङ र समन्वय गर्ने काम भइरहेको विभागले जनाएको छ । आरोहण अवधिभर अर्थात मे २९ तारिखसम्म यो समितिले काम गर्नेछ । शीघ्र उद्धारका लागि हेलिकप्टर विगतमा उद्धारको कार्य ढिला भएको अनुभवलाई मध्यनजर गरी यसपटक चाडो उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने विभागले जनाएको छ । समयमा रिपोर्टिङ नभएर विगतमा आरोहीको ज्यान जाने गरेको भन्दै यो पटकलाई सहजिकरण गर्दै उद्धार प्रयोजनका लागि छिटो प्रक्रियाबाट गर्नेगरी सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचार गरिएको महानिर्देशक बुढाले जानकारी दिए । ड्रोन उडान व्यवस्थापनका लागि पनि सरोकारवाला मन्त्रालयमार्फत व्यवस्थापन, नियमन र अनुगमनको काम प्रभावकारी बनाइने विभागले जनाएको छ । चारसयभन्दा बढीले लिए आरोहणको अनुमति पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी कूल चार सय १४ ले अनुमति लिएका छन् । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत् हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ हजार ६ सय रोयल्टी जम्मा भएको छ । सगरमाथा हिमालबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चौथो शिविर ९साउथ कोल, ७९५० मि।० सम्म बाटो खुलेको विभागले जनाएको छ । यही मे १२ सम्म रोप फिक्सिङको काम सकिएर आरोहण सुरु हुने विभागका निर्देशक गुरुङले बताए । आठ हजार हाराहारीले चढे सगरमाथा पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युनिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यो सन् २०२२ सम्मको तथ्याङ्क हो । सन् २०२३ को आरोहण जोड्दा यो संख्या करिब आठ हजार पुग्छ । उक्त वर्ष सगरमाथा चढ्न चारसय ७८ जनाले अनुमति लिएका थिए । तीमध्ये कतिले सफल आरोहण गरे यकिन विवरण विभागसँग छैन । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । रासस
बीवाईडी एसिया प्यासिफिक सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङले गरे नेपाल भ्रमण
काठमाडौं । बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले मे ४ देखि ६ मेसम्म नेपाली भ्रमण गरेका छन् । लिउले नेपालमा बिवाइडी गाडीको बजार अवस्था र बिक्रीबारे जानकारी लिएका छन् । प्रतिनिधिमण्डलमा सुश्री गिलियन लीसहित यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वांग, उत्पादन प्रबन्धक सुश्री कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ सहभागी थिए । भ्रमणलाई नेपालमा बिवाइडीको उपस्थितिलाई सुदृढ पार्ने र अटोमोटिभ परिदृश्यलाई प्रोत्साहन गर्ने उद्देश्यले रणनीतिक संलग्नताको शृंखलाको रुपमा लिइएको छ । मे ५ मा लिउ र बिवाइडी टोलीको काठमाडौंको नक्साल र पुल्चोक, ललितपुरमा रहेको बिवाइडी सोरुम भ्रमणबाट यात्रा कार्यक्रम सुरु भएको थियो । यी स्थानमा लिउले व्यक्तिगत रूपमा १४ वटा सवारी साधन पठाएका थिए । नेपाली ग्राहकको आवश्यकताअनुरूप बिवाइडीको प्रतिबद्धतालाई जोड दिँदै कटिङ एज बिवाइडी अट्टो३ र बिवाइडी डल्फिन मोडल पनि थिए । प्रतिनिधिमण्डलले काठमाडौको गुहेश्वरीमा रहेको बिवाइडी सर्भिस सेन्टरको भ्रमण गरेको थियो । कम्पनीका अनुसार भ्रमणको मुख्य आकर्षणमा नेपालमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक्स प्रालिले आयोजना गरेको ‘बिवाइडी एपयाक नेपाल स्ट्रेटजी समिटः एसेलेरिटिङ ग्रोथ टुगेदर’ थियो । मे ५ मा काठमाडौंमा आयोजित यो शिखर सम्मेलनले नेपालमा बिवाइडीको यात्रालाई प्रतिविम्बित गर्न र भविष्यका प्रयासका लागि पाठ्यक्रम तयार गर्न सरोकारवालाका लागि सहयोगी मञ्चको रूपमा काम गरेको छ । कार्यक्रममा एमडी लिउले बिवाइडीको वाहन लाइनअपमा दिनुका साथै प्राविधिक र ग्राहक केन्द्रित कम्पनीको दृढ प्रतिबद्धता दोहोर्याए । उनले सन् २०२२/२०२३ मा ६० प्रतिशत बढी ईभी प्रवेशमा नेपालले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे । बिवाइडीको उपलब्धि, यसका साझेदार र कर्मचारीको योगदानको सम्मानमा साइमेक्सले मे ५ मै ‘बिवाइडी गाला नाइट’ कार्यक्रम आयोजना गरेको थियो । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिवाइडीका प्रमुख कार्यकारीहरू, लिउ जुलियाङ र साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठलगायतले भेट गरेका थिए ।
३९ महिनाभित्र न्यु-बुटवल सबस्टेसन निर्माण हुने गरी एमसीसीकाे पहिलाे ठेक्का सम्झौता
काठमाडौं । एमसिए-नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेसन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेसनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । यो एमसीसी परियोजनाअन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत थम्पसनले भने, ‘नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार, नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ, घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत प्रसारण क्षमतामा यस चार सय केभी नयाँ बुटवल सबस्टेसनले सुधार ल्याउनेछ ।’ ‘यो चार सय केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान दुई सय २० केभी सबस्टेशनलाई सघाउनेछ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने । कार्यक्रममा एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पारे । उनले भने, ‘एमसिए-नेपालले विद्युत प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेसनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ, बाँकी दुईवटा सबस्टेशनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ ।’ एमसिए-नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबाट आर्थिक अनुदान प्राप्त विद्युत प्रसारण आयोजनाअन्तर्गत यस सबस्टेशनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक-एकवटा सबस्टेसन निर्माण गर्दैछ । ती सबस्टेसनका लागि निर्माण कम्पनीको छनोट हुँदैछ । अर्थ मन्त्रालयका सचिव अध्यक्ष रहेका एमसिए-नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिएअनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल-गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो ।
इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा
काठमाडौं । इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल सुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । मे २ देखि सेप्टेम्बर २५ (वैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनका लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो । कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ । कम्पनीका अनुसार योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखिएकाे छ । यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्नुका साथै व्यक्तिगत कल्याणका लागि होस् वा खेलकुदमा करियर बनाउनका लागि सशक्त बनाउने प्रयास गर्नेछ । ‘योरपेस किप फिट सर्किट नेपाल’ तालिम सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध रहेकाे इन्ड्राइभले जनाएकाे छ । कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।
झिनो अंकले नेप्से बढ्दा होटल तथा पर्यटन समूह चम्किए
काठमाडौं । बिहीबार सेयर बजार ५.६३ अंकले बढे पनि ११५ कम्पनीको सेयर घटेको छ । आज नेप्से ५.६३ अंक अर्थात ०.२८ प्रतिशतले बढेर १६६६.२३ विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको सेयर बढ्दा ११५ कम्पनीकै सेयर घटेको छ । त्यस्तै १४ कम्पनीको सेयर स्थिर रहेको छ । आज ३१३ कम्पनीको ७० लाख ५८ हजार कित्ता सेयर ४९ हजार ३३२ पटक खरिद/बिक्री हुँदा ३ अर्ब १२ करोडको कारोबार भएको छ । आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको हो । बुधबार २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज जीबन बिमा ४३.५७ अंकले, उत्पादन र प्रशोधन समूहको ७.८३ अंकले र लघुवित्त समूहको सूचक ३८.९५ अंकले घटेको छ । अन्य सबै सूचक बढेको छ । नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा होटल तथा पर्यटन समूह भने ३४२ अंक अर्थात ६.९६ प्रतिशत बढेको छ । धेरै मूल्य बढेका कम्पनीमा पनि होटल तथा पर्यटन समूहकै कम्पनीहरू अगाडि रहेका छन् । आज ओरियन्टल होटलको ८.४६, सिटी होटलको ७.९९, सोल्टी होटलको ७.४१, तारागाउँ रिजेन्सीको ६.५६ प्रतिशत मूल्य बढेको छ। कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । फाइनान्सको आज १६ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भएको छ ।
परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै मन्त्री चौधरीले भनिन्, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’ उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिइन् । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुने गरी काम गर्नुपर्ने भन्दै उनले सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताइन् । त्यसका बाबजुद पनि बढीभन्दा बढी सेवाग्राही लाभ हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो । मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्मा उठेका प्रश्नहरूको सम्बोधन गर्न सम्बन्धित शाखाबीच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिइन् । त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्णरूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए । मन्त्रालयले काम गर्ने क्षेत्र ठूलो भएको भन्दै उनले जिम्मेवारीअनुसार सबै क्षेत्रमा राम्रा काम गर्ने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
लघुवित्तबाट बैंक ‘एक्जिट’ हुनुपर्छ, घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कहीँ पुगिँदैन
अहिले बैंकरहरू बैंकमा ५/६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको भनेर विभिन्न सार्वजनिक छलफलका कार्यक्रमहरूमा बोलेको सुन्छु । बैंकमा पैसा त छ तर कुनै बैंकलाई (कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिर्काइरहेको छ, कुनैलाई पुँजीले त कुनैलाई रिकभरी र कुनैलाई खराब कर्जाले हिर्काइरहेको छ । तपाईंहरूसँग भएको कन्फर्टटेबल पैसा कति हो ? यसको जवाफ बैंकरले दिनुपर्छ । राष्ट्र बैंकले सीडी रेसियो ८० प्रतिशत बनाएको दिन तपाईंहरूको लगानीयोग्य पुँजी कति रहन्छ ? अहिले ७९/८० प्रतिशत सीडी कायम भएको बेला तपाईंहरू गुनासो गरिरहनु भएको छ । सीडी रेसिया बैंकहरूका लागि मेजर विषय पनि होइन । राष्ट्र बैंकले ९० प्रतिशतत सीडी रेसियो कायम गरेर दुनियाँमा कतै नभएको अभ्यास गरेको हो । भोलि राष्ट्र बैंकले सीडी रेसियोलाई ८० प्रतिशतमा झार्यो भने त्यतिबेला अवस्था के बन्छ ? यो अवस्थाको पूर्वमूल्यांकन बैंकरले गर्न सक्नुपर्छ । अर्को, अहिले बैंकरहरू भुक्तानीको कुरा गरिहरेको सुन्छु । सरकारले भुक्तानी गर्नुपर्ने पैसा तिरेन भनेर ३०/४० अर्बको कुरा गरिरहनु भएको छ । यहाँ खर्बको लगानीयोग्यको कुरा पनि आइरहेको छ । निर्माण व्यवसायीले पनि ५०/६० अर्ब रुपैयाँ भुक्तानी नपाएको कुरा उठाइरहनु भएको छ । तर, भुक्तानी माग गरिरहनु भएको छ तर आयोजना सम्पन्न भएको छैन । भोली आयेजना सम्पन्न नहुँदै बिलबिजक बिना भुक्तानी गर्यो भने पनि अर्को समस्या आउँछ । भोलि भुक्तानी दिने व्यक्ति नै जेल जान सक्ने अवस्था बन्न सक्छ । काम सम्पन्न भइसकेका र भुक्तानी पाउनु पर्ने रकम कति हो भनेर एकिन रकम भन्न सक्नुपर्छ । कोरोना बीमाको कुरा पनि त्यस्तै हो । कतिपय भुक्तानी गर्नु पर्ने पैसा पनि छ र नगर्दा हुने पैसा पनि छ । यस विषयमा पनि स्पष्ट हुन जरुरी छ । स्वास्थ्य बीमा र कृषिको अनुदानको पैसा पनि दिनै पर्नेछ । त्यसले अर्थतन्त्रमा केही ‘बुष्टअप’ गरे पनि समस्या समाधान भने गर्न सक्दैन । महत्वपूर्ण विषय अहिले कर्जाको माग भएन भन्ने पनि छ । ऋणमाथि ऋण थपेर समस्याको समाधान हुँदैन । हामीले २५/३० लाख मानिसलाई ऋण दिइसक्यौं, अनि समस्या कहाँ भयो ? म भन्छु बैंकहरू लघुवित्तबाट बाहिर जानुपर्छ । एसएमईमै केन्द्रित हुनुपर्छ । बैंकहरूका लागि लघुवित्तको बिजनेस धेरै चल्दैन । अब धितोमा आधारित कर्जामै बैंकहरू जानुपर्छ । सरकारले सबै ठीक्क पारिदियोस् अनि हामी जाऔंला, काम गरौंला भन्ने आशामा बैंकरहरू हुन्छन् । आशामा बस्नु हुँदैन । बैंकहरूले नाफाको थप एक प्रतिशत खर्च गरेर थप परियोजनामा लगानी गर्नुपर्छ । फाइनान्सिङको इनोभेसन गर्नुहोस् । बैंकहरूले सरकारले बनाइदेला र लगानी गरौंला भन्ने आशमा बस्नु हुँदैन । सरकारले पकाइदेखा र म खाउँला भन्ने मानसिकतामा बस्नु हुँदैन । यति काम बैंकले पनि गर्नुपर्छ । बैंकहरु परियोजना फाइनान्सिङमा जानै पर्छ । अन्तर्राष्ट्रिय नेटवर्कलाई प्रयोग गरेर लगानी ल्याउन सहयोग गर्न सक्नुपर्छ । त्यसले बैंकलाई मात्रै होइन समग्र देशलाई टेवा पुग्छ । यस कारण बैंकबाट पनि पहलकदमी पुगेको छैन । सम्पत्तिको मूल्यांकन बढ्दा लोन क्रियसन पनि बढ्छ भन्ने तर्क बैंकरको हुन्छ । कर्जा प्रवाह पनि बढ्छ भन्ने तर्क ठीक छैन । यो बाटो हिँडेर कतै पुगिँदैन । घरजग्गा, सेयर र गाडीमा लगानी थुपारेर कतै पुगिँदैन । हामीले आम्दानी बढाउने विषय र क्षेत्रमा लगानी गर्नुपर्छ । यसले पुँजी निर्माण हुन सक्दैन । बरु पुँजीको जोखिम सिर्जना हुन्छ । हामी आर्थिक मन्दीमा छौं । त्यसबाट माथि जान सकिन्छ । बाहिरी क्षेत्र राम्रो भएको छ भन्ने बहस हुन्छ । तर, सुधार भएको छैन । व्यापार घटेर राम्रो भएको कुरालाई राम्रो मान्न सकिँदैन । दुई वर्षयता देशको व्यापार २२ प्रतिशतले घटेको छ । निर्यात अझै बढी घटेको छ । आयात घट्दा ढुवानीको सेवा घटेको छ । ट्रकको व्यापार घटेको छ । डिजेलको बिक्री भइरहेको छैन । मन्दी आउनुको कारण आयातसँग जोडिएको छ । त्यही आयात घटेको कारण सञ्चिति बढेको हो । यसमा हामीले खुसी मनायौं भने यो उल्टो हुन्छ । त्यस कारण बाह्य क्षेत्रमा सञ्चिति बढेको छ, हामीलाई भुक्तानीको समस्या छैन, त्यति मात्रै हो । धेरै खुसी हुनु पर्ने अवस्था छैन । पर्यटनमा सुधार भएकै हो । तर, जति पर्यटक हामीले भित्र्याइरहेका छौं, त्यसको दोब्बर हाम्रा मान्छे बाहिर गइरहेका छन् । उनीहरूले पुँजी बाहिर लिइरहेका छन् । यसमा पनि खासै खुसी हुनु पर्ने अवस्था म देख्दिनँ । रेमिट्यान्सबाट पैसा बढिरहेको छ । यो पनि आयात कम भएकोले बढी देखिएको हो । आयात बढ्दै गयो भने रेमिट्यान्स कति हराउँछ हेर्दै जाउँला । केही नीगित सुधार गर्न आवश्यक नै छ । उदाहरणका लागि केही लगाउन नहुने ठाउँमै करको नीति लगाइयो । जसले पुँजी बाहिरिएको अवस्था पनि छ । मौद्रिक नीतिमार्फत् चालु पुँजी कर्जामा अझैं खुकुलो गर्नतर्फ ध्यान दिनुपर्छ । कहिले सतप्रतिशत कडाइ गर्ने र कहिले सतप्रतिशत खुकुलो नीति बनाउनुहुँदैन । लोन भ्यालू रेसियो चलायमान बनाउनुपर्छ । व्यवसायीलाई अहिले सास फेर्न दिनुपर्छ । व्यवसाय र बैंकिङ नै जोखिममा पर्ने काम गर्नु हुँदैन । नियमनकारी निकायबाट धरपकड गर्ने नीति बनाउनु हुँदैन । पारदर्शी ढंगबाट जानुपर्छ । एउटा व्यवसायीलाई समात्दा समग्र व्यावसायिक क्षेत्रको मनोबल गिर्छ भने त्यसतर्फ पनि राज्यले ध्यान पुर्याउनु पर्छ । हतोत्साहित गर्ने काम बन्द गर्नुपर्छ । हामीले आशा गर्नु पर्ने ठाउँ छ । हामी बटमबाट माथि लाग्न थालेका छौं । आर्थिक वृद्धिदर साढे तीन प्रतिशत हुने अनुमान छ । बैंकको कर्जा वृद्धिर ५ प्रतिशत पुग्नै लागेको छ । ब्याजदर घटेको छ । अब बैंकरले तीन वर्षसम्म १० प्रतिशतमा ऋण दिन्छौं भनेर घोषणा गर्न सक्नुपर्छ । त्यसपछि मात्रै व्यवसायीमा पनि आत्मबल बढ्छ । (सार्वजनिक कार्यक्रममा राखेको धारणा)