७ करोडमा बनेको केरुङ खोला पुलको उद्घाटन
चितवन । माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ खोलामा बनेको पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरे । प्रदेश सरकारको ७ करोड ९८ लाख १८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ । कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताए । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उनको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेको उल्लेख गरे । पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।
चितवनको सबस्टेसन सञ्चालनमा, भरतपुरको विद्युत् आपूर्तिमा सुधार हुने
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर रहेका छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी,सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ । उक्त क्षेत्रमा गाहस्र्थ ग्राहकका अतिरिक्त ठूलो सङ्ख्यामा सिंचाइ र होटलका ग्राहकहरु रहेका छन् । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख संगिता कार्कीले जानकारी दिए । आयोजना प्रमुख कार्कीले सबस्टेसन तयार भएतापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उल्लेख गरे । कार्कीले भने, ‘कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भयो ।’ संक्षित वातावरणिय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गत फागुनाट निर्माण सुरु गरिएको थियो । तर, लाइन निर्माणमा केही स्थानीयबाट अवरोध सुरु भएपछि निर्माण रोकिएको थियो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सम्वन्धित वडाध्यक्षहरुलगायत न्यून भोल्टेज विद्युत आपूर्तिको समस्या भोगिरहेका होटल व्यवसायी, सिंचाइका उपभोक्ताहरु, आयोजना व्यवस्थापन, सुरक्षाकर्मीको पहलमा अवरोध हटाइएको थियो ।
सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द
गलकोट । कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ । सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ ४ गतेसम्मका लागि बागलुङ-बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासनले जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मतकार्य भइरहेकाले सडक बन्द हुने उल्लेख छ । बन्द अवधिभर मालढुङ्गा-बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । बागलुङ-बेनी सडक १४ किलोमिटर लामो छ । रत्नेचौरबाट बेनीसम्मको सडक विस्तार भइसके पनि बागलुङबाट रत्नेचौरसम्मको सडक विस्तार हुन सकेको थिएन । बागलुङ बेनी सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरअन्तर्गत हाल विस्तार भइसकेको मालढुङ्गा-बेनी सडक प्रयोग गर्न सकिने छ । रासस
माछापुच्छ्रे बैंकले विद्यालयलाई दियो कम्प्युटर र प्रिन्टर
धादिङ । माछापुच्छ्रे बैंक लिमिटेडको धादिङ्ग जिल्लास्थित सिम्ले शाखाले धादिङवेशी नगरपालिका वडा नं ६ स्थित श्री कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो । श्री कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्नसमेत र पाठ्यसामग्री अध्ययन गर्न ती सामग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।
एकैदिन तोलामा २३ सयले बढ्यो सुन
काठमाडौं । स्थानीय बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा
काठमाडौं । ‘पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा। यो समाचारको हेडलाइन पढ्दा र सुन्दा धेरैलाई विदेशी सञ्चार माध्यममा पढेको जस्तो महसुस हुन सक्छ । किनकि परिश्रम र सफलताका कथाहरू विदेशमा मात्रै हुन्छन् भन्ने बुझाइ र मानसिकता हाम्रो मानसपटलमा बसिसकेको छ । तर, यो स्वदेशकै सफलताको कथा हो । देशको एउटा क्षेत्रबाट उदाएर राजधानी काठमाडौंसँगै देशभरि धुम मच्चाइरहेको व्यावसायिक घरानाको कथा हो यो । कुनै पनि क्षेत्रको उच्च तहमा पुग्दाको सकस र संघर्ष आफैंमा गज्जबको हुन्छ । त्यो सकस र संघर्षसँगै उसको चर्चा र परिचर्चा पनि उत्तिकै हुन्छ । तर, पोखराबाट व्यावसायिक उडान भरेको लक्ष्मी ग्रुप शालिन, शान्त र आक्रामक रूपमा देशभरि आफ्नो व्यावसायिक साम्राज्य बिस्तारको रणनीतिमा छ । अहिले देशको एउटा महत्वपूर्ण र सफल व्यावसायिक घरानाको रूपमा परिचित लक्ष्मी ग्रुपको सफलताभित्रको संघर्ष भने जोकोहीका लागि पनि मननयोग्य र अनुसरणयोग्य छ । जुन व्यवसायको नेतृत्व गरिरहेका छन् गणेश बहादुर श्रेष्ठ । श्रेष्ठकै लगनशीलता, संघर्ष र व्यवसायप्रतिको इमान्दारिताले अहिले उनको सम्पूर्ण परिवार व्यवसायमा छ । २००३ सालमा जन्मिएका श्रेष्ठ ७८ वर्षको पुगिसक्दा पनि व्यवसायमै सक्रिय छन् । उनका छोराहरू अन्जन, निरञ्जन र निराकर पनि बुबाकै पथमा छन् । सुरुमा श्रेष्ठको परिवारको किराना पसल थियो । उनले जिविकोपार्जनका लागि फोटोग्राफीको पनि काम गरे । तर, त्यसबाट सन्तुष्टि मिल्ने किसिमको आम्दानी नभएपछि उनले बाटो मोडे । वि.स. २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रूपमा काम गरे । त्यसबाट पनि काम छोडेर वि.सं २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रूपमा तीन वर्ष काम गरे । उनको चाहना थियो व्यवसाय । सरकारी जागिरबाट बाहिरिए । अब उनले गाई पाल्ने सोच बनाएर नेपालगञ्ज पुगे । आफ्नो व्यावसायिक उडानको पहिलो चरण सुरु गर्दै उनले भने, ‘केही गर्नुपर्छ भनेर नेपालगञ्ज गएँ, त्यहाँ गाई पाल्छु, एक/दुई गाई दिनु पर्यो भनेर आफन्तलाई सहयोग मागेँ तर आफन्तले गाई पाल्नेभन्दा पनि पुष्टकारी बनाउन सल्लाह दिनुभयो, केही उपकरण पनि दिनुभयो, त्यहीँबाट सुरु भएको हाे मेरो व्यावसायिक जीवन ।’ उनले २०३० सालदेखि सुरु गरे पुष्टकारी उत्पादन । उसो त उनका पुर्खाले पनि त्यही व्यवसाय गर्थे । तर, उनले त्यसलाई आधुनिक ढंगबाट सुरु गरे । २०३० सालमा बुटवलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरु गरे । आफन्तहरूले दिएको चकलेट बनाउने उपकरणबाट उनी सफल बने । त्यसलाई उनले उद्योगका रूपमा विकास गरे । अहिले अधिकांशको रोजाइमा पुष्टकारी पर्छ । नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मीले ओगट्दै आएको छ । सुरुवातमा लक्ष्मी मिठाइ भण्डार पनि आफूसँग भएको केही रकम र आफन्तसँग लिएको ऋणसहित कुल २ हजारले स्थापना गरेको उनीले बताउँदै आएका छन् । विस्तारै राम्रो हुँदै गएपछि उनी पोखरा औद्योगिक क्षेत्रमा सरे । पछि लक्ष्मी मिठाइ भण्डारबाट नाम परिवर्तन गरेर जय माँ लक्ष्मी कन्फेक्शनरी उद्योग राखे । त्योसँगै तीन नयाँ कम्पनी शुभलक्ष्मी, महालक्ष्मी र महाशक्ति स्थापना भए । यी कम्पनीले विभिन्न चकलेट तथा मिठाइहरू उत्पादन गर्न थाले । यो समूहले विस्तारै थप कम्पनी खोल्दै गयो । जय माँ र जया कन्फेक्शनरिज स्थापना गरेर थप उत्पादन बढाउनतर्फ यो समूह लाग्यो । यिनै कम्पनीहरूबाट ओरेञ्ज बल, लक्ष्मी स्वीट्स, रिमझिम बलजस्ता लोकप्रिय चकलेट उत्पादन भए । २०५२ मा यो समूहले सबै कम्पनीलाई मर्ज गरेर सुजल फुड्सको स्थापना गर्यो । सुजल फुड्सका लोकप्रिय उत्पादनमा ‘चोको फन’ र ‘सुजल गम’ चुइगम रहेका छन् । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरीले सुजल ब्राण्डका दुग्धपदार्थ उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त दूधबाट स्ट्याण्डर्ड दूध, होल दूध, गोल्ड दूध, दही, घिउ, नौनी, पनिर, क्रीम, चेदार, चिज, बटर, आइसक्रिम र स्मार्ट फ्लेबर मिल्क उत्पादन तथा बिक्री गर्दै आएको छ । यो कारखाना आईएसओ प्राप्त देशको पहिलो कम्पनी हो । डेरी क्षेत्रमा एउटा पायोनियर व्यावसायिक समूह लक्ष्मी हो । हाल यस कम्पनीको फ्याक्ट्री पोखरामा छ । कम्पनीका काठमाडौंमा पनि डिलर छन् । योसँगै यस व्यावसायिक समूहले व्यवसाय विस्तार गरिरहेको छ । अहिले दर्जनौं क्षेत्रमा लगानी गरेर आफ्नो व्यावसायिक साम्राज्य विस्तार यो समूहले गरिरहेको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इण्टरकण्टिनेण्टलले वि.सं २०६६ सालबाट हुण्डाई कम्पनीका गाडी लोकल डिलरको रूपमा बिक्री गर्न थालेको हो । यो समूह हुण्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुण्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो । अहिले नेपालमै हुण्डाईका गाडी एसेम्बल गर्ने अवस्थामा यो व्यावसायिक घराना आइपुगेको छ । आज (बिहीबार) लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्लान्टको उद्घाटन गरेका छन् । अब हुण्डाईका नेपालमै बन्नेछन् । यो सो व्यावसायिक समूहको मात्रै गर्वको विषय होइन समग्र देशका लागि सुखद समाचार हो । यो समूहले कमर्सियल भइकलको पनि बिक्री वितरण गर्दै आएको छ । योसँगै सो समूहले स्टील, इलेक्ट्रोनिक्स, ट्रेडिङ, स्वास्थ्य र प्लाष्टिक र कृषि क्षेत्रमा पनि व्यवासय गर्दै आएको छ । आगामी दिनमा थप व्यवसाय बिस्तार गर्ने रणनीति बनाएको यो समूहले करिब दुई हजारलाई रोजगारी दिएको छ । नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिएका सफल व्यवसायी गणेश श्रेष्ठले अहिले आफ्नो व्यवसायको जिम्मेवारी छोराहरूमाथि सुम्पेका छन् । उनका छोरा अञ्जन श्रेष्ठ उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिरहेका छन् । जिल्लाबाट उदाएर केन्द्रसम्म यति ठूलो प्रभाव पार्न सकेको व्यावसायिक समूह नेपालमा लक्ष्मी ग्रुप मात्रै छभन्दा अतिशयोक्ति नहोला ।
नेपालमै खुल्यो हुण्डाई गाडीको पहिलो एसेम्बल प्लान्ट
काठमाडौं । लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्लान्टको उद्घाटन गरेका छन् । प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, ‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’ यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले भने । ‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,’ प्रधानमन्त्री दाहालले भने, ‘ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’ उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे । ‘भर्खरैमात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने संकेत गरेको बताए ।
नेपालमा युरोपेली लगानी भित्र्याउन संघले सघाउने
काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने बताएको छ । नेपालका लागि संघका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन् । नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौंमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन् । बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताए । राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यस निम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन् । राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतंकवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन् । उनले विश्वव्यापी रूपमा संघ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन् । राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार संघले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताइन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो ।