नेशनल लघुवित्तको सञ्चालकको निर्वाचन सम्पन्न
काठमाडौं । केन्द्रीय कार्यालय काभ्रेको, वनेपामा रहेको राष्ट्रिय स्तरको यस नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन बिहीबार बनेपा अवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त निर्वाचन कार्यक्रममा ४ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का रहेका छन् । रविन सिजापती तथा क्षितिज खड्का क्रमश नेपाल ईन्भेष्टमेण्ट मेगा बैक तथा कुमारी बैकबाट प्रतिनिधित्व गरी आएका छन् । साथै सर्वसाधारण समूहका तर्फवाट नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध निर्वाचित भई आएका छन् । उक्त कार्यक्रममा निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित हुुने संस्थापक तथा सर्वसाधारण तर्फका सञ्चालकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । यस संस्थाले २०८१ बैशाख सम्ममा देशका सात वटै प्रदेशका हिमाल, पहाड र तराईमा गरि ७४ वटा जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २५ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले १ लाख ८ हजार भन्दा बढि सदस्य हरुलाई विभिन्न परियोजना संचालन गर्नका लागि रु २० अर्ब २७ करोड कर्जा लगानी गरेको छ भने कुल बचत ५ अर्ब ३३ करोड रहेको छ ।
मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । जेठ ३ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने निर्णय भएको हो । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उनी यसअघि पनि सो पदमा थिइन् । मन्त्री शर्माले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रश्ताव पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि गरेको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत, आइतबारदेखि कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरणसँगै पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको सेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ । आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो । नेरुडे र मिर्मिरे लघुवित्त १:१ अनुपातमा मर्ज भएका हुन् ।
गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति चाहिएको छ : सांसद महत
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्नका लागि संसदीय छानबिन समिति आवश्यक भएको बताएका हुन् । सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए । गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानबिन समितिको माग गरिएको बताए । सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाई छ । ‘संसदीय छानबिन समितिको मर्म दुरुपयोगमा संलग्न कोहीपनि कुनै सत्ता, शक्तिको कारणले छानबिनको परिधिभित्र नआउने र जसको सत्ता, शक्ति बाहिर छैन उनीहरु मात्रै छानविनको परिधिमा आउने त्यस्तो भेदभावपूर्ण तरिकाबाट हुनु भएन । त्यसलाई समान किसिमबाट हेरिनुपर्छ । त्यस किसिमबाट छानविन समिति बन्ने कुरा न्युनतम कुरा हो । गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ’, उनले भने । सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै कांग्रेसको कुनै संलग्नता नरहेको जिकिर गरे । सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताए ।
मेरो माइक्रोफाइनान्समा सर्वसाधारणको हिस्सा १० प्रतिशत बढ्यो
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गरिएको छ । लघुवित्तमा सर्वसाधारण सेयरधनीहरूको १० प्रतिशत स्वामित्व बढ्ने गरी सेयर स्वामित्व परिवर्तन गरिएको हो । परिवर्तित संरचना अनुसार ५९.४ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ४०.६ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहको कायम हुने लघुवित्तले जनाएको छ । अब संस्थापक समूहको ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण समूहको ४०.६ प्रतिशत अर्थात ५३ लाख ५९ हजार २ सय कित्ता सेयर कायम हुनेछ । कम्पनीको हाल १ करोड ३२ लाख कित्ता रहेका छन् । यसअघि कम्पनीको संस्थापक सेयर स्वामित्व ६९.४ प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ३०.६ प्रतिशत रहेको थियो ।
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो । शुक्रबार काठमाडौमा भएको इप्पानको २२ औं साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रुपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए । ‘दूरगामी रुपमा प्रभाव पार्ने खालका २ वटा कोषहरुको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरुलाई संगठित गर्ने, नीतिगत र कार्यक्रमगत लविङ गर्ने तथा विभिन्न खोज अनुसन्धान गर्ने कामहरु अघि बढ्नेछन्,’ उनले भने । उनका अनुसार, इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकोले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्याङ्क, जानकरी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरु संस्थागत रुपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो । तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवद्र्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरुबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ । इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल ग्राहस्थ उत्पादन (जीडीपी), बैंक तथा वित्तिय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सृजनामा र्पुयाएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणधीन आयोजनाहरुमा देखिएका समस्याहरुको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरु प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ । शुक्रबार मात्र घोषणा गरिएको कोषमा इप्पानको २२ औं बार्षिक साधारणसभामा सम्मानित भएका पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योती सम्मान वापत पाएको १ लाख रुपैयाँमा थप एक लाखसहित २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी यस कोषमा इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । उनले भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी पाँच बर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने कोषाध्यक्ष पन्तले जानकारी दिए । ‘संस्स्थाको सदस्य संख्या ऊर्जा क्षेत्रमा भएको महत्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी सँस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यकता रहेकोले कोष स्थापना गरेका हौ,’ उनले भने । भवन निर्माणका लागि यस अघि इप्पान पूर्व अध्यक्ष डा.सुवर्णदास श्रेष्ठले दुई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा नभएको ३४ लाख रुपैयाँसमेत यसै कोषमा राखिने इप्पानले जनाएको छ । भवन निर्माणका लागि शुक्रवारको वार्षिक साधारणसभामा इप्पान सदस्य कूबेरमणि नेपालले आफ्नो जलविद्युत कम्पनीबाट २ लाख, नविन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत कम्पनीबाट दुई लाख र इप्पान सदस्य टीएन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रुपैयाँ भवन निर्माणको लागि सहयोगको घोषणा गरिसकेका छन् । इप्पान अध्यक्ष गणेश कार्कीले कार्यविधि बनाएपछि इप्पान पदाधिकारी र कार्य समितिबाट दुवै कोषमा सहायता संकलन गर्नुका साथै सबै ऊर्जा प्रवद्र्धक कम्पनीहरुबाट सहायता लिएर अध्ययन अनुसन्धान तथा भवन निर्माणको कार्य अघि बढाउने बताए ।
दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि
कोरिया । गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिको सङ्ख्या एक वर्षअघिको आँकडामा दुई लाख ६१ हजारले बढेर दुई करोड ८६ लाख ९३ हजार पुगेको छ । वृद्धवृद्धाको कामबाट उच्च प्रभावित यो सङ्ख्या अघिल्लो महिना एक लाख ७३ हजारमा पुगेपछि अप्रिलमा तीव्र गतिमा बढेको हो । समग्र रोजगारी विस्तार वृद्धवृद्धाद्वारा भएको थियो । अप्रिलमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका लागि रोजगारीको सङ्रख्या वार्षिक आधारमा अप्रिलमा दुई लाख ९२ हजार भएको छ तर २० देखि ४० वर्ष उमेर समूहका मानिसका लागि ७७ हजार र ९० हजारले सङ्कुचित भएको छ । लगातार पाँचौँ महिना बढ्दो प्रवृत्ति कायम राख्दै उत्पादकहरू बीच रोजगारीको सङख्या गत महिना एक लाखले बढेको छ । स्वास्थ्य तथा समाज कल्याण सेवा, सूचना तथा सञ्चार उद्योगमा रोजगारी क्रमशः ९३ हजार तथा ६८ हजारले बढेको छ । शिक्षा सेवामा रोजगारी गुमेको छ । थोक र खुद्रा क्षेत्रका ४९ हजार र ३९ हजारले रोजगारी गुमाउनु परेको छ । नियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख ९३ हजार तथा अनियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख पुगेको छ तर गत महिना दैनिक मजदुरहरूको सङ्ख्या भने एक लाख ४७ हजारले घटेको छ । कामदारहरू भाडामा लिने स्व-रोजगार गर्नेहरूको सङ्ख्याया अपरिवर्तित रहेको छ भने कर्मचारीहरू बिना स्व-रोजगार गर्नेहरूको सङ्ख्या ९४ हजारले पछि हटेको थियो । यसै क्रममा १५ वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगार दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले बढेर ६३ प्रतिशत पुगेको छ भने १५ देखि ६४ वर्षका लागि ओइसीडी-विधि भर्ना दर शून्य दशमलव छ प्रतिशतले बढेर ६९ दशमलव छ प्रतिशत पुगेको छ । अप्रिलमा बेरोजगारीहरूको सङ्ख्या आठ लाख ८५ हजार पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ हजारले बढी हो । बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशतले बढेर तीन प्रतिशत पुगेको छ । विस्तारित बेरोजगारी दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले घटेर आठ दशमलव आठ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २९ वर्ष उमेर समूहका लागि एक दशमलव चार प्रतिशतले घटेर १६ दशमलव एक प्रतिशत भएको छ । आधिकारिक बेरोजगारी दरले ती व्यक्तिहरूलाई मापन गर्दछ जो तुरुन्तै कामका लागि उपलब्ध छन् तर सक्रिय रूपमा जागिर खोज्ने प्रयासका बावजुद विगत चार हप्तादेखि जागिर पाउन असफल भएका छन् । श्रम न्यून उपयोग सूचक भनिने विस्तारित बेरोजगारी दरदलाई जागिर खोज्नबाट निरुत्साहित हुनेहरू, पूर्ण-समय काम गर्ने इच्छा विरुद्ध अंशकालीन काम गर्ने र कलेज स्नातकपछि जागिर प्राप्त गर्न तयारी गर्नेहरूलाई आधिकारिक बेरोजगारी दरमा मापन गरिन्छ । नोकरी खोज्ने कुनै इच्छा नभएको आर्थिक रूपमा निष्क्रिय जनङ्ख्या अप्रिलमा एक वर्ष अघिको तुलनामा एकलाख ७४ हजारले घटेर एक करोड ५९ लाख ६१ हजार भएको छ । गत महिना निरुत्साहित रोजगारी खोज्नेहरूको सङ्ख्या ४५ हजारदेखि तीन लाख ६९ हजारसम्म बढेको छ । रासस
महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबारका लागि सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैंक हो । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा प्रदान गर्न सक्षम भएको हो । सम्झौता पश्चात् अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरुले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैंकमा खोलिएको कुनैपनि यूपीआई ह्रयान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ । यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैंकको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । यो अन्तर्देशीय भुक्तानी शुरु भए पश्चात् विशेष गरी विद्यार्थीहरु, तीर्थयात्रीहरु, पर्यटकहरु तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरुलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ । सो सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।