विकासन्युज

काठमाडौं उपत्यकामा पोलियोविरुद्ध खोप अभियान सञ्चालन

काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् । अभियान १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए ।

बेरोजगारी हटाउन साढे २ लाख वटा फलफूलका बिरुवा निःशुल्क वितरण

खोटाङ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो । जिल्लाका दश स्थानीय तहका स्थानीय बासिन्दालाई विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए । उनले भने, “बिरुवा हुर्काउने र गोडमेल गर्ने तथा त्यसबाट लाभ लिने जिम्मा उपभोक्ताको हो । यो जिल्लावासीका लागि आयआर्जनको माध्यम बन्ने अपेक्षा गरेका छौँ ।” डिभिजन वन कार्यालयले जडीबुटी विकास कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम, बिरुवा उत्पादन तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, अर्गेली विस्तार कार्यक्रम, विद्यालय वातावरण सुधारलगायत कार्यक्रम सञ्चालन गरेको थियो । जडीबुटी विकास कार्यक्रमका लागि १८ लाख रुपैयाँ, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीन लाख रुपैयाँ, विद्यालय वातावरण सुधारका लागि पाँच लाख रुपैयाँ, अर्गेली विस्तार कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, कृषि वन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, कबुलियती वन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि पाँच लाख रुपैयाँ तथा खयरका बिरुवा उत्पादनका लागि चार लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सामुदायिक तथा कबुलियती वन तथा स्थानीय बासिन्दाका लागि वितरण गर्न यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरिएको वन कार्यालयका शाखा अधिकृत दीपेन्द्र मेहताले बताए । अब ३० हजार बिरुवा वितरण गर्न बाँकी छ । वन कार्यालयले धुपी, ज्याकाराण्डा, कल्फी, तेजपत्ता, सल्ला, अमला, इपिल–इपिल, किम्बु, नेभारालगायत बिरुवा उत्पादन गरेको छ । विद्यालय वातावरण सुधारका लागि १० विद्यालयलाई पाँच सय बिरुवा वितरण गरिएको छ । वन कार्यालयका अनुसार खयरका बिरुवा उत्पादन कार्यक्रमअन्तर्गत ४० हजार बिरुवा उत्पादन गरेर हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक तथा कबुलियती वनलाई वितरण गरिएको छ । जडीबुटीजन्य वनस्पतीमा पर्ने खयरका बिरुवा पहिलोपटक परीक्षणका लागि उत्पादन गरिएकोे छ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमका लागि ३५ हजार छ सय ३० बिरुवा वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत फलफूल तथा जडीबुटीका बिरुवा वितरण गरिएको छ । अर्गेली व्यवस्थापन कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ७२ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कृषि वन कार्यक्रमअन्तर्गत जन्तेढुङ्गाको चिसापानीमा दाँते ओखर, चिराइतो, टिमुर, बन्दाकोभीको बीउ वितरण एक हजार आठ सय चार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत दुई हजार चार सय बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । जडीबुटी व्यवस्थापन कार्यक्रमअन्तर्गत केपिलासगढी गाउँपालिका–१ फेदीमा लोठसल्ला, तेजपत्ता र टिमुरको बिरुवा तथा चिराइताको बीउ वितरण गरिएको छ । फेदीस्थित स्थानीय बासिन्दाको निजी जग्गामा रोप्न तीन हजार एक सय तथा सामुदायिक वनमा रोप्न छ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कबुलियती वनतर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा ३१ हजार २१ वटा बिरुवा वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन् । स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लागेका उनले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक १५ देखि १८ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको बताए । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन् । उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन् । व्यवसायका लागि हालसम्म एक करोड रुपैयाँ हाराहारीमा लगानी गरेको बताए । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उनले सीप पनि सिकाउँदै आएका छन् । राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनले बताए । पहुँचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उनको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको दुखेसो छ । आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उनले बताए । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनले बताए । यसलाई विस्तार गर्ने उनको लक्ष्य छ । हाल उनले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताए । उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले सुनाए । खेती विस्तारका लागि उनले २० रोपनी जग्गा भाडामा लिएका छन् । व्यवसायी श्रेष्ठले छ जनालाई रोजगारी पनि दिएका छन् । ‘कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने । रासस

यामाहा एरोक्स १५५ ले सम्पन्न गर्‍यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

काठमाडौं । अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौं देखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले केवल ११ दिनमा ५ हजार किलोमिटरभन्दा बढी यात्रा गरेका थिए । एमएडब्लू राइदकी सीएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भनिन्, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशिस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौँ। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले ओझाको सफल अभियानले स्कुटरको क्षमतालाई हाइलाइट गर्दछ । सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमतालाई देखाउँदछ।’ यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाई छ । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको कम्पनीले बताएको हो ।

मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण

काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै यस्तो सहयोग गरेको हो । यस डिजाइन गरिएको प्लेस्केपले सिकाइसँग खेल मिलाउदै, बालबालिकाहरुलाई जीवन्त र उत्साहजनक वातावरण हुने कम्पनीको विश्वास छ । यसले सबै बालबालिकाहरू बीच रचनात्मकता, शारीरिक गतिविधि, र बौद्धिक विकासलाई बढावा दिने उद्देश्यका साथ क्लाइम्बिंग स्ट्रकचर , संवेदी खेल क्षेत्रहरू, र शैक्षिक खेलहरू जस्ता विभिन्न अन्तरक्रियात्मक तत्वहरू समावेश गर्दछ । यो पहल मेटलाइफको समावेशी सामाजिक उत्तरदायित्व योजनाको एक हिस्सा हो जसले नेपालमा शिक्षा र सामुदायिक कल्याणलाई समर्थन गरेको छ । यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केप विकास गर्नको लागि ग्रामीण नेपालका पिछडिएका समुदायको समग्र उत्थानका लागि काम गर्ने संस्था, कर्मयोग फाउन्डेशनलाई रु ७००,००० को सहयोग उपलब्ध गराएको छ । यस प्लेस्केपले विद्यार्थीहरूको विशेष आवश्यकताहरू र क्षेत्रको सांस्कृतिक सन्दर्भसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्न स्थानीय वास्तुकारहरू, शिक्षकहरू र समुदायका सदस्यहरूलाई संयुक्त प्रयासमा समावेश गर्न कम्पनीले सहयोग गरेको छ ।

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

नेरूडे मिर्मिरेमा कर्मचारी आन्दोलनले उग्ररूप लिँदै, बिहानै केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्तका कर्मचारीको आन्दोलनले उग्ररूप लिएको छ । लघुवित्तको सञ्चालक समिति र उच्च व्यवस्थापकले कर्मचारीहरूको आन्दोलनलाई बेवास्ता गर्दा थप उग्ररूप लिएको हो । कर्मचारीहरूले शाखा कार्यालय बन्द गरेर सुरूवात गरेको आन्दोनल यतिबेला केन्द्रीय कार्यालय बनेपा काभ्रे पुगेको छ । मिर्मिरे लघुवित्त कर्मचारी संगठनको ऐक्यबद्धतासहित कर्मचारीहरूले नेरूडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा बुधबार बिहानै तालाबन्दी गरेका हुन् । साथै देशभरिका शाखा कार्यालयमा पनि तालाबन्दी यथावत राखेका छन् । फिल्ड कर्मचारीहरूले आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेको आज साउन ९ गते तेस्रो दिन हो । उनीहरूको आन्दोलनमा मिर्मिरे लघुवित्त कर्मचारी संगठनले समेत ऐक्यबद्धता जनाएको छ । संगठनका अध्यक्ष रोशन बुढाथोकीले कर्मचारीहरूको मागलाई बेवास्ता गरेको भन्दै अबको आन्दोलनको अग्रपंक्तीमा कर्मचारी संगठन रहेको बताएका छन् । केन्द्र व्यवस्थापक पदमा कार्यरत कर्मचारीहरूले साउन ६ गते केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको थियो । केन्द्रीय कार्यालयले उक्त पत्रको सुनुवाई नगरेपछि साउन ७ गतेदेखि देशभरिका कार्यालयहरू बन्द राखेका छन् । मनोबल खस्किने गरी पद घटुवा गरेपछि लघुवित्तमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पुर्याएर बलियो बनाएपनि आफूहरूको योगदान र भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको आरोप छ । साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको उनीहरूले बताएका छन् । केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् । आन्दोलित कर्मचारीहरूले लघुवित्तका सञ्चालक समिति अध्यक्ष सन्तोष फुयालको राजीनामा समेत माग गरेका छन् ।

आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १.५ सेयर (१ः१.५) को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गर्नेछ । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकको धादिङ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।