विकासन्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाजमा आगलागी भएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोलीले नियन्त्रणको प्रयासमा गरिरहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासको घटनापछि गोप्य सेवाका निर्देशकले दिइन् राजीनामा

काठमाडौं । पेन्सिल्भेनियामा भएको चुनावी र्यालीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालै भएको हत्याको प्रयासलाई रोक्न एजेन्सी असफल भएकोमा व्यापक आक्रोशपछि गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले मंगलबार राजीनामा दिएकी हुन् । चीटलको राजीनामा एक दिनपछि आएको थियो । निरीक्षण र उत्तरदायित्व सम्बन्धी सदन समितिले गरेको सुनुवाईमा चीटलले यो दशकहरूमा गोप्य सेवामा सबैभन्दा महत्वपूर्ण परिचालन असफल भएको स्वीकार गरिन् ।

५ हजार घुस प्रकरण : पूर्वमन्त्री वीरेन्द्र महतोलाई कारबाही माग गर्दै राज्य व्यवस्था समितिमा उजुरी

काठमाडौं । संसदमै ५ हजार घुस दिएर छोराको समकक्षता पत्र लिएको बताएका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई बिचौलियामार्फत् ५ हजार रुपैयाँ घुस दिएको बताएका सांसद महतोविरुद्ध बुधबार नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सांसद रहवर अन्सारीले कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै समितिमा उजुरी दिएका हुन् । ‘भ्रष्टाचार निवारण ऐन २०७९ को दफा ३ को उपदफा ३ मा रिसवत लिने र दिनेलाई सजायको व्यवस्था छ । रिसवत दिने कामलाई रोक्नुको सट्टा त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुनबमोजिम कारबाही गरियोस्,’ अन्सारीले दिएकाे निवेदनमा उल्लेख छ । गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट पूर्ववनमन्त्री समेत रहेका महतोले छोराको समकक्षता लिन आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए ।

मौद्रिक नीतिमार्फत् एएमसीको व्यवस्था गरिँदै, गभर्नर निर्माण क्षेत्रप्रति उदार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको खराब कर्जा (एनपीएल) प्रति नियामक नेपाल राष्ट्र बैंक चिन्तित बनेको छ । पछिल्लो समय राम्रो बैंकहरूको पनि एनपीएल तीन प्रतिशतभन्दा बढी पुग्दा राष्ट्र बैंक चिन्तित बनेको हो । अहिले बैंकहरुको खराब कर्जा औसत करिब ४ प्रतिशत छ । यो अनुपात विगतका वर्षहरूको तुलनामा उच्च हो । अहिले अधिकांश वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ । बढ्दै गइरहेको खराब कर्जाले बैंकको कर्जा क्षमतासँगै कर्जाको गुणस्तरमा पनि प्रश्न उठिरहेको छ । बैंकहरूलाई अहिले व्यवसाय गर्नेभन्दा पनि ऋण असुलीको विषय टाउको दुखाइ बनिरहेको छ । बैंकर र नियामक नेपाल राष्ट्र बैंकले अहिले धितोका रुपमा रहेको गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनको विषयमा विकल्प खोजिरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकले बढ्दै गइरहेको गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि कम्पनी नै स्थापना गर्ने गरी तयारी गरिरहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकका एक अधिकारीले राष्ट्र बैंकले आगामी शुक्रबार सार्वजनिक हुने मौद्रिक नीतिमार्फत् सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) स्थापनाका लागि नीतिगत व्यवस्था गर्ने तयारी गरिरहेको बताए । ‘अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढिरहेको छ, खराब कर्जाबापतको ठूलो रकम प्रोभिजनिङ गर्न पनि बैंकहरुलाई समस्या भइरहेको छ, त्यसले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता ह्रास हुनुका साथै व्यवसाय विस्तारमै असर गरिरहेको छ, बैंकहरुमा गैर–बैंकिङ सम्पत्ति बढेको बढ्यै छ, त्यसैले पनि यस पटक सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषयलाई मौद्रिक नीतिमा प्राथमिकताका साथ राखिएको छ,’ स्रोतले भन्यो । उसो त विगतका वर्षहरुमा पनि एएमसीको विषयमा मौद्रिक नीतिमा केही उल्लेख हुँदै आएको थियो । तर, उक्त व्यवस्था कार्यान्वयन हुन सकेको थिएन । अब कार्यान्वयन नै गर्ने किसिमले काम भइरहेको स्रोतको दाबी छ । अहिले बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता भएपनि कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकले मौदिक नीति मार्फत् कर्जा प्रवाह हुन सक्ने केही नीतिगत व्यवस्था गर्न लागेको पनि स्रोतको भनाइ छ । राष्ट्र बैंकले नीतिगत दरहरु केही चलाउन सक्ने सम्भावना छ । यस्तै, अहिले निर्माण क्षेत्र सुस्त गतिमा छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा समस्या छ । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष व्यवस्था गर्न लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ । राष्ट्र बैंकले निर्माण क्षेत्रमा जाने ऋणलाई केही सहज र लचिलो बनाउन लागेको स्रोतको दाबी छ । उसो त राष्ट्र बैंकले निर्माण व्यवसायीको समस्या समाधानका लागि अर्थमन्त्रालय समक्ष पनि केही सुझावहरु पेस गरिसकेको छ । राष्ट्र बैंकबाट हुन सक्ने केही नीतिगत व्यवस्था गरेर निर्माण क्षेत्रलाई चलायमान बनाउने प्रयत्न भइरहेको स्रोतको भनाइ छ । अहिले मुख्य समस्या भनेको वित्तीय सहकारी संस्था र लघुवित्तमा पनि छ । ठूला सहकारीको नियमन राष्ट्र बैंकले नियमन गर्नु पर्ने नीतिगत व्यवस्था नै भइसकेको छ । त्यस कारण यस पटक राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नै ठूला वित्तीय सहकारीको नियमनको विषयमा मौद्रिक नीतिमार्फत् कुनै व्यवस्था गर्न सक्नेछ । सरकारले सहकारी क्षेत्रको नियमनका लागि प्राधिकरण निर्माण गर्ने तयारी गरिरहेको भएपनि राष्ट्र बैंकले पनि केही निश्चित सहकारीको नियमन गर्ने विषय मौद्रिक नीतिमार्फत् घोषणा गर्नेछ भने दोस्रोत तहको नियामकको विषयमा मौद्रिक नीतिमै उल्लेख गर्ने तयारी पनि छ । यस्तै, लघुवित्त क्षेत्रलाई बलियो बनाउन थप नीगित व्यवस्था गर्ने तयारी राष्ट्र बैंकको छ । स्रोतका अनुसार लघुवित्तमा तोकिएको १५ प्रतिशतको ब्यादरको सीमामा पुनरावलोकन गर्न सक्ने किसिमले राष्ट्र बैंकले तयारी थालेको छ । मौद्रिक नीति लेखन समितिले यो विषयमा पनि गम्भीर छलफल गरेको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास भएपनि यस पटक भने दोस्रो सातासम्म सरेको छ । आगामी शुक्रबार जसरी पनि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक दुगडको राजीनामा स्वीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको सञ्चालक समितिको २६औं बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत गरेकाे हो । कम्पनीको संस्थापक समूहअन्तर्गत सञ्चालक पदमा रहेका दुगडले व्यक्तिगत व्यस्तताका कारण देखाएर असार ३१ गते राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ । संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गरेका थिए । प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।

विचौलियाहरूको पहलमा नयाँ गठबन्धन बन्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेपछि सरकार ढालेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक न्याय, देशभित्र र बाहिर रहेका नेपाली युवाहरुको पक्षमा काम गर्दा सरकार ढालेको बताए । युवालाई सामाजिक सुरक्षामा आवद्ध गर्ने र उनीहरुका हक हितको पक्षमा केही महत्वपूर्ण निर्णय लिएसँगै सरकार ढालिएको जानकारी दिए । यस्तै, उनले विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइएको जिकिर गर्दै विचौलियकै पक्षमा सरकारले काम गर्ने बताए । पछिल्ला दुई गिरफ्तारीपछि सरकार परिवर्तनको चलखेल भएको बताए । प्रतिगमनको खतराबिरुद्ध पार्टीलाई एकतावद्ध गर्ने र जनतासँग जोडिएर जरुरी पर्दा आन्दोलनको तयारी गर्ने कुरामा आफूहरुको मुख्य लक्ष्य रहेको जानकारी दिए । ‘हामी सरकार छोड्दा पनि तपाईंहरुले देख्नुभयो, आफ्ना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी वैचारिक, राजनितिक र सरकारबाट गर्नसक्ने कुराहरु गर्दागर्दा विजेताको रुपमा बाहिर आयौँ,  उनीहरु रक्षात्मक र हामी आक्रामक ढंगले आफ्ना कुरा राख्ने स्थिति बनेको छ’, उनले भने । अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारको कामबाट आम जनतामा निराशा नरहेको जिकिर गरे । उनले आफू विजयी भएर बेदाग निस्किएको भन्दै ओम्नी, गिरिबन्धु, नक्कली भूटानी शरणार्थी कुनैपनि भ्रष्टाचारका प्रकरणमा आफूहरु नमुसिएको बताए । पार्टीलाई अझ उचाईमा लैजाने, जनतामा जाने कुरामा संकल्प गर्नुपर्ने बताए । जनताले संविधानबाट प्राप्त गरेको उपलब्धि उल्ट्याउने खतरा रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीप्रति लक्षित गर्र्दै संविधान मिच्नेको नेतृत्वमा गठबन्धन बनेको बताए । प्रतिगामी कदमको खतरा अझै रहेको बताए । उनले सरकारमा जाने सोचमा आफूहरु नरहेको भन्दै अब जनतामा जाने जिकिर गरे ।

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । कम्पनीले देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठूला कम्पनीहरू केही न केही समस्यामा रहेकाले प्रतिकुल परिस्थितिमा सहयोग हुने गरी आर्थिक वर्ष २०८१/८२ का लागि नौलो किसिमको सेवा लिएर आएको बताएको छ । कम्पनीले विज्ञप्तिमार्फत मुलुकमा ठूलो संख्यामा कम्पनीहरू सञ्चालनमा रहेता पनि कम्पनी ऐनको व्यवस्थाहरूको बारेमा अधिकांश सञ्चालकलाई जानकारी नै नहुने गरेको बताएको छ । आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तीय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तव्यको जानकारी नहुँदा यी सबै काम गर्न पनि समय र खर्च अत्यधिक लागिरहेको कम्पनीले उल्लेख गरेको छ । मानिसलाई कुन सेवा कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन र स्टार्ट अप र नयाँ व्यवसाय गर्नेहरू त झनै पिडित छन् भन्दै यस प्रकारका समस्याहरू समाधानका लागि एकद्वार प्रणालीबाट न्यूनतम शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरी एकद्वार प्रणाली सेवा ल्याएको विज्ञप्तिमा उल्लेख छ । यस्तै अब कम्पनी व्यवस्थापन गर्न, लेखा प्रणाली र परीक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक तथा फाइनान्सबाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन पनि भौंतारिरहनु नपर्ने कम्पनीको भनाइ छ । कम्पनीले अन्य कम्पनीहरूलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउने पनि बताएको छ । यो सेवाबाट विशेषगरी साना र मझौला कम्पनीरू लाभान्वित हुने भन्दै समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा व्यवसाय वृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास कम्पनीले राखेको छ । नेपालमा अहिले ३ लाख २४ हजार १८६ प्राइभेट लिमिटेड र २ हजार ५३ वटा लिमिटेड कम्पनीहरू दर्ता छन् ।