नेपाली सेनाको दुईवटा हेलिकोप्टर रसुवामा, स्वास्थ्य टोली अस्पतालमा परिचालित
काठमाडौं । नेपाली सेनाले रसुवाको बाढी पीडितलाई उद्धार गर्न दुई वटा हेलिकोप्टर पठाएको छ । रसुवा जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम एआइ- १७ त्यसतर्फ गइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार सेनाको टोली धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएका छन् । गजुरीस्थित नम्बर ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ। बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेना अनुरोध गरेको छ । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ ।
रसुवा बाढीपछि उद्धारका लागि यस्तो छ सरकारको तयारी
काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उद्धार तथा राहतका लागि तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा उद्धार र राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको छ । सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई पनि सक्रिय बनाएको छ। साथै, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ । सम्भावित उद्धार तथा राहत कार्यका लागि देशभरका हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्नसमेत भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
रसुवाको नदी किनारमा रहेका बजार बाढीले बगायो
काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवाको नदी तटीय ठूलो क्षेत्रमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अशोक थापाले ठूलो विनाशकारी बाढी आएको र कल्पना गर्न नसक्ने क्षति भएको बताए । नदी किनारामा रहेका सबै बस्ती र बजारमा पुरै क्षति पुर्याएको उनको भनाइ छ । उनले जनधनको ठूलो क्षति भएको अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरू बगाएको थापाले बताएका छन् । आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा तिब्बत क्षेत्रमा आकस्मिक बाढी आएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।
उद्धारमा दुई हेलिकप्टर, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै
काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार (आज) बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ । बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाढीका कारण सडकमार्गसमेत जोखिमपूर्ण बनेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेंसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन आग्रह पनि गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल उद्धार, खोज तथा राहत कार्य अघि बढाउन निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरेका हुन् । जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाले पनि आफ्ना जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाएको छ । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ । आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा खोजीमा प्रयोग गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन् ।
रसुवा बाढीपछि उद्धारका लागि सेना, एपीएफ र प्रहरी परिचालन : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत र विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आधिकारिक उद्धार सूचनाको प्रतीक्षा गर्न आग्रह गरेका छन् । बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको उल्लेख गरेका छन् । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति पठाउने प्रक्रिया सुरु भइसकेको उनले बताएका छन् । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय रूपमा समन्वयमा जुटेको छ । मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस लगायतका निकायसँग समन्वय गर्दै आवश्यक उद्धार र राहतका काम अघि बढाइएको छ । अतिरिक्त एम्बुलेन्स र स्वास्थ्यकर्मी पनि प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको उनले उल्लेख गरेका छन् । बालेनले रसुवा र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिएका छन् । जोखिममा रहेका बासिन्दालाई एसएमएस र फोनमार्फत सतर्कता सूचना पठाउने काम पनि भइरहेको उनले बताएका छन् । सम्भावित उद्धारका लागि सबै सरकारी हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको र निजी हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन भनिएको बालेनले उल्लेख गरेका छन् । उनले केहीबेरमै आवश्यक निर्णयका लागि उच्चस्तरीय बैठक बस्ने जानकारी दिँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट आउने उद्धार अद्यावधिकको प्रतीक्षा गर्न आग्रह गरेका छन् । बालेनले राहत तथा उद्धारसम्बन्धी थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी पनि दिएका छन् ।
रसुवा र नुवाकोटका जोखिम क्षेत्रमा बस्नेलाई सतर्क रहन आग्रह
काठमाडौं । भीषण बाढीका कारण रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा गम्भीर क्षति पुगेपछि सरकारले उद्धार, राहत र विपद् व्यवस्थापनका सबै निकायलाई उच्च सतर्कतामा राखेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकिएको जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला संस्थालाई उद्धार र राहत तयारी अवस्थामा रहन तथा प्रभावित क्षेत्रमा तत्काल आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ । मन्त्री तिमिल्सिनाले विशेषगरी रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन् । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय र आधिकारिक निकायबाट जारी हुने सूचना तथा चेतावनीको पालना गर्न सबैलाई आग्रह गरेका छन् । मन्त्री तिमिल्सिनाले बाढीको अवस्था अझै विकसित हुन सक्ने भन्दै अफवाहमा विश्वास नगरी आधिकारिक सूचनालाई मात्रै आधार बनाउन र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् ।
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छ : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताएकी छिन् । कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन आवश्यक रहेको बताएकी हुन् । ‘कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह गर्दा कृषि क्षेत्रको वास्तविक आवश्यकता र परियोजनाको मूल्यांकन गर्न सहज हुने भएकाले कृषि कर्जा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्छ ।’ उनले कृषि फार्म दर्ता, कर्जा प्राप्ति तथा सहुलियतपूर्ण कर्जाको प्रक्रियामा वास्तविक किसानले सहज रूपमा लाभ लिन नसकेको गुनासो आउने गरेको भन्दै आगामी नीतिमा यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । मन्त्री चौधरीले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जा दिने मात्रै नभई किसानले उत्पादन गरेको वस्तुको बजार, सम्भावित उत्पादन र त्यसबाट प्राप्त हुने प्रतिफलसमेत हेर्नुपर्ने बताइन् । उत्पादनपछि बजार व्यवस्थापन र मूल्य शृंखलालाई समेत जोडेर कृषि कर्जा प्रवाह गर्ने प्रणाली आवश्यक रहेको उनको भनाइ थियो । उनले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, मूल्य अभिवृद्धि, जलवायु परिवर्तनका प्रभाव तथा परियोजना निर्माणसम्बन्धी ज्ञानको कमीलाई सम्बोधन गर्न बहु आयामिक रूपमा काम गर्नुपर्ने बताइन् । मन्त्री चौधरीले साना किसानलाई कर्जा प्राप्तिमा देखिएका कागजी तथा धितोसम्बन्धी समस्यालाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै कृषि कर्जालाई वास्तविक किसानसम्म पुर्याउन बैंकिङ तथा वित्तीय साक्षरता ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने धारणा राखिन् । त्यस्तै, वन पैदावारमा आधारित उद्योगलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाको नीतिगत सहजीकरण आवश्यक रहेको उनले बताइन् । नेपाली वन पैदावारलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन वन पैदावारमा आधारित उद्योगको विकास र लगानीमैत्री नीति आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री चौधरीले यस विषयमा नेपाल बैंकर्स एसोसिएसनलगायत बैंक तथा वित्तीय संस्थासँग थप छलफल गरी नीतिगत सहजता कायम गर्नुपर्ने बताइन् । छलफलमा कृषि विकास बैंक, वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवालाले कृषि कर्जा प्रवाहमा देखिएका समस्या, धितो मूल्यांकन, बीमा, परियोजना डिजाइन, तथ्यांकको अवस्था, साना किसानको पहुँच तथा बजार र मूल्य शृङ्खला व्यवस्थापनका विषयमा धारणा राखेका थिए।
क्षतिका बाबजुद भाटभटेनीको आम्दानी २७.४७ अर्ब, बैंकमा ऋण १७ अर्ब
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा १९.५५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँको तुलनामा ६ अर्ब ६८ करोड रुपैयाँ कम हो । गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका २७ मध्ये ११ वटा स्टोरमा गम्भीर क्षति पुगेको थियो । बिक्री केन्द्रका पूर्वाधार तथा मौज्दातमा ठूलो क्षति भएपछि केही समय सञ्चालन अवरुद्ध हुँदा कम्पनीको आम्दानीमा प्रत्यक्ष असर परेको हो । आन्दोलनका क्रममा क्षतिग्रस्त ११ बिक्री स्टोरमध्ये ६ वटा पुनः सञ्चालनमा आइसकेका छन् । पुनः सञ्चालनमा आएका बिक्री केन्द्रको मासिक आम्दानी घटनाअघिको अवस्थासँग धेरै हदसम्म समान रहेको जनाएको छ । बाँकी बिक्री केन्द्रहरू पनि सन् २०२६ भित्र क्रमशः सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । आन्दोलनका क्रममा भाटभटेनीले करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको अनुमान छ । यसमध्ये करिब ६ अर्ब रुपैयाँको मौज्दात र ३ अर्ब रुपैयाँको भवन तथा अन्य सम्पत्तिमा क्षति भएको थियो । बीमा रकम प्राप्त हुने तथा ऋणको भुक्तानी तालिका पुनर्संरचना गरिएकाले उक्त घटनाको प्रभाव कम्पनीको दीर्घकालीन वित्तीय अवस्थामा ठूलो नपर्ने जनाएको छ । विशेषगरी मौज्दातमा भएको क्षतिको ठूलो हिस्सा बीमा रकमबाट पूर्ति हुने अपेक्षा गरिएको छ । बीमाबाट नसमेटिएको बाँकी क्षति कम्पनीले आफ्नै वित्तीय स्रोतबाट व्यवस्थापन गर्न सक्ने र त्यसबाट दीर्घकालीन वित्तीय सूचकमा उल्लेख्य गिरावट नआउने कम्पनीको विश्वास छ । यद्यपि, क्षतिग्रस्त बिक्री केन्द्र बन्द हुँदा व्यवसायमा आएको अवरोध र पुनर्निर्माणका लागि आवश्यक थप रकमका कारण कम्पनीको निकट अवधिको तरलतामा दबाब परेको छ । जुलाई २०२६ सम्म मौज्दात क्षतितर्फ दाबी गरिएको रकमको करिब ३८ प्रतिशत र सम्पत्ति क्षतितर्फ करिब ६ प्रतिशत रकम मात्र अग्रिमका रूपमा प्राप्त भएको छ । ठूलो हिस्सा बीमा दाबी अझै प्राप्त हुन बाँकी छ । पुनर्निर्माण तथा पुनःस्थापनाका लागि कम्पनीले सम्पत्ति क्षतिबापत प्राप्त हुने बीमा रकमलाई आधार बनाएर ऋण लिएको छ । साथै, अल्पकालीन ऋणको प्रयोग पनि बढाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब १४ करोड ४९ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब १० करोड १७ लाख रुपैयाँ अल्पकालीन गरी १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ । आगामी दिनमा अपेक्षित बीमा रकम समयमै प्राप्त गर्न सक्ने कम्पनीको क्षमता वित्तीय तथा तरलता अवस्थामा सुधार ल्याउन महत्वपूर्ण हुने भएकाले यो विषय कम्पनीको ऋण मूल्यांकनका लागि मुख्य निगरानीयोग्य पक्ष रहनेछ । इक्रा नेपालले बीमा दाबीबाट प्राप्त हुने रकम करिब एक वर्षभित्र टुंगो लाग्ने अपेक्षा गरेको छ । तर, बीमा रकम प्राप्त हुने अनुमान वा बीमाबाट नसमेटिने क्षतिको परिमाणमा ठूलो फरक परेमा त्यसले कम्पनीको ऋण मूल्यांकनमा असर पार्न सक्नेछ । भाटभटेनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा समग्रमा बढ्दो क्रममा रहे पनि गत वर्ष आन्दोलनको प्रभावले उल्लेख्य गिरावट आएको हो । कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब ७७ करोड ९० लाख रुपैयाँ, आव २०७३/७४ मा १५ अर्ब २७ करोड ८० लाख, आव २०७४/७५ मा १७ अर्ब ९९ करोड ६० लाख, आव २०७५/७६ मा १९ अर्ब ३६ करोड २० लाख र आव २०७६/७७ मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ९३ करोड, आव २०७८/७९ मा २६ अर्ब ८८ करोड ६० लाख, आव २०७९/८० मा २९ अर्ब ७९ करोड ४० लाख, आव २०८०/८१ मा ३० अर्ब ६२ करोड र आव २०८१/८२ मा ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९२ मा निजी कम्पनीका रूपमा स्थापना भएको भाटभटेनीले सन् १९८४ मा काठमाडौंको नक्सालस्थित भाटभटेनीमा सानो खुद्रा पसलबाट व्यवसाय सुरु गरेको थियो । त्यसपछि कम्पनीले काठमाडौं उपत्यकासहित नेपालका प्रमुख शहरहरूमा सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर विस्तार गर्दै आएको छ । कम्पनी पारिवारिक स्वामित्वमा रहेको छ । कम्पनीमा मिनबहादुर गुरुङको करिब ६० प्रतिशत र उनकी श्रीमती सावित्री घले गुरुङको करिब ४० प्रतिशत स्वामित्व रहेको छ । लामो समयदेखिको व्यावसायिक अनुभव र देशका प्रमुख शहरी क्षेत्रमा रहेको बलियो उपस्थितिका कारण भाटभटेनी नेपालको संगठित खुद्रा व्यापार क्षेत्रमा स्थापित नामका रूपमा रहेको छ । कम्पनीका बिक्री केन्द्रमा खाद्यान्न, घरायसी सामग्री, विद्युतीय उपकरण, कपडा तथा दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामग्री बिक्री हुँदै आएका छन् । तर, कम्पनीले बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ । विशेषगरी किराना तथा दैनिक उपभोग्य वस्तुको क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेका साना खुद्रा पसल तथा मिनिमार्टबाट प्रतिस्पर्धा बढेको छ । किराना क्षेत्रबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ५० प्रतिशत हिस्सा आउने गरेको जनाएको छ । मिनिमार्टहरूले नयाँ बिक्री केन्द्र थप्दै लगेका छन् भने असंगठित खुद्रा क्षेत्रका व्यवसाय तथा स्थानीय पसल पनि प्रतिस्पर्धामा छन् । यससँगै अनलाइनमार्फत वस्तु खरिद गर्ने प्रवृत्ति बढ्दै जानुले दीर्घकालमा कम्पनीको व्यवसायमा थप चुनौती सिर्जना गर्न सक्ने कम्पनीको भनाइ छ । प्रमुख शहरी बजारमा भने भाटभटेनीको बलियो उपस्थिति छ । गत वर्ष काठमाडौं, पोखरा र चितवनबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा आएको थियो । यद्यपि, अर्धशहरी तथा नयाँ विकसित भइरहेका महानगरीय र उपमहानगरीय क्षेत्रमा प्रमुख शहरी बजारमा हासिल गरेको सफलता दोहोर्याउन सक्ने कम्पनीको क्षमता अझै परीक्षणकै क्रममा रहेको छ । बढ्दो शहरीकरण, स्थानीय अर्थतन्त्रको विस्तार तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण यी क्षेत्रमा उपभोग खर्च बढ्दै जानुले भने कम्पनीका लागि केही हदसम्म सकारात्मक वातावरण सिर्जना गरेको छ । उपभोक्ताको खर्च गर्ने क्षमता र आधुनिक खुद्रा व्यापारप्रतिको आकर्षण बढ्दै गएमा भाटभटेनीका लागि आगामी दिनमा बजार विस्तारको थप अवसर सिर्जना हुन सक्ने देखिन्छ ।