विकासन्युज

सकसपूर्ण बीमा दाबी भुक्तानी, कम्पनीहरूले दुःख दिँदा नियामक धाउने बढे

काठमाडौं । बीमा दाबी भुक्तानी नपाएर नेपाल बीमा प्राधिकरणमा उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बीमा कम्पनीहरू जवाफदेही नहुँदा र आम जनताले बीमाका नियम तथा सर्तहरू नबुझ्दा प्राधिकरणमा उजुरीको चाङ लागेको हो । बीमा भनेको परम विश्वासको अवधारणमा चल्ने विषय हो । अर्थात बीमित र बीमकबीच परम विश्वास हुन्छ भन्ने अवधारणा हो । यो अवधारणा विश्वका देशहरूमा सायदै सत्य सावित होला । तर, नेपालको सन्दर्भमा भने बीमा परम अविश्वासको अवधारणा अन्तर्गत सञ्चालन भएको हो कि भन्ने जस्तो परिदृश्य बनिरहेको छ । भलै बीमा धोकाधडी भने विश्वका जुनै पनि देशमा नहुने होइन । तर, दाबी भुक्तानीको सन्दर्भमा भने विदेशी कम्पनीहरू जवाफदेही नै हुने बीमाका जानकारहरू बताउँछन् । नेपालका कम्पनीहरूले समयमा दाबी भुक्तानी नदिँदा बीमितहरू प्राधिकरणको शरणमा पुग्ने गरेको बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । ‘केही कम्पनीहरूले कुनै विषय देखाएर दाबी भुक्तानीमा झुलाउने, ढिला गर्ने र सकभर दिन नपरे हुन्थ्यो भन्ने सोचले गर्दा प्राधिकरणको शरणमा बीमितहरू पुगेका हुन्,’ उनी भन्छन् । उसो त उनले यसरी प्राधिकरणमा उजुरी बढ्नुमा बीमा कम्पनीहरूको मात्र दोष भने नरहेको बताउँछन् । उनका अनुसार बीमितहरूमा पनि बीमा गर्दाको बीमालेख र त्यसको सर्तहरू नबुझेर पनि दाबी भुक्तानी दिलाइदिन गुहार गर्दै प्राधिकरण पुग्छन् । यसैगरी केही बीमितहरूले फ्रड गरेर, केहीले बुझेर पनि प्राधिकरणमा जादाँ केही प्राप्त हुन्छ कि भन्ने सोचेर पनि उजुरी दिने गरेको विज्ञ शर्मा बताउँछन् । प्रचुर मात्रामा आम जनतालाई बीमासम्बन्धी शिक्षा दिएर, बीमा बारे सबैलाई सचेत गराएर र कम्पनीहरू पनि जवाफदेही भएर अघि बढ्दा यसरी उजुरी दिनेको संख्या घट्ने उनको भनाइ छ । कम्पनीले अत्यावश्यक कागजातका आधारमा केही भुक्तानी तत्कालै दिनुपर्ने उनको धारणा रहेको छ । बीमा क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी रुपमा नियमन तथा कमजोरी गर्ने कम्पनीलाई कारवाही नगर्दा पनि कम्पनीहरुको मनोमानी बढेको बीमाका जानकारहरु बताउँछन् । बीमकहरू भने बीमा कम्पनीहरूको कुनै कैफियत नरहेको दाबी गर्छन् । बीमा कम्पनीहरूको छाता संस्था नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री दाबी भुक्तानीको शन्दर्भमा बीमा कम्पनीहरूमा कुनै समस्या नभएको दाबी गर्छन् । सगरमाथा लुम्बिनी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्रीले बीमितहरूले बीमाको नियम तथा सर्तहरू नबुझेर प्राधिकरण धाउने गरेको बताए । उनले बीमा फ्रडका कारण पनि प्राधिकरणमा उजुरी बढेको हुन सक्ने अनुमान प्रस्तुत गरे । प्राधिकरणमा उजुरीको चाङ अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आव २०८०/०८१ मा उजुरीको संख्या ५७.४१ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आवमा १५५ वटा उजुरी परेका थिए भने गत आवमा २४४ वटा उजुरी परेका छन् । आव २०७५/०७६ मा १०० वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा उजुरीको संख्या २६ प्रतिशतले बढेर १२६ वटा उजुरी परेको थियो । त्यसैगरी ०७७/०७८ मा १३७, ०७८/०९७ र ०७९/०८० मा समान १५५ वटाका दरले उजुरी परेको थियो । आव २०७५/०७६ मा ८५ वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा ९१, आव ०७७/०७८ मा ९३, आव ०७८/०९७ मा १५२, आव ०७९/०८० मा समान १४९ र आव २०८०/०८१ मा १५० वटा उजुरी फर्छ्यौट गरेको छ । अझै १८७ वटा उजुरी फच्छ्र्यौट गर्न बाँकी रहेको प्राधिकणले जनाएको छ । फर्छ्यौट नभएका उजुरीहरू क्रमशः आउँदा वर्षहरूमा सर्दै जान्छ । र, फैसला पनि आउँदा वर्षहरुमा नै हुने गर्दछ । कर्मचारी अभावका कारण प्राधिकरणले समयमा उजुरीहरूलाई फर्छ्यौट गर्न नसकेको बताएको छ । प्राधिकरणको उजुरी शाखामा अहिले एक उप-निर्देशक र २ जना सहायक निर्देशक गरी जम्मा ३ जनाको दरबन्दी छ । प्राधिकरणमा विगत ५ वर्षदेखिका केही उजुरीहरु फर्छ्यौट हुन बाँकी नै छ । प्राधिकरणले मानिसहरुमा जनचेतनाको कमीका कारण उजुरीको संख्या बढ्ने गरेको बताएको छ । प्राधिकरणकी सहायक गुनासो अधिकारी रन्जिता केसीले बीमितहरुले बीमाको सर्तहरु नबुझी पोलिसि खरिद गर्ने लहडले उजुरी बढ्को बताइन् । ‘बीमा गर्दा सर्तहरु हुन्छन् । मानिसहरु बीमा गरेपछि पैसा पाइन्छ भन्ने बुझ्छन् । त्यसको सर्तहरुलाई ध्यान दिँइदैनन् । यसकारणले पनि उजुरी बढ्ने गरेको छ,’ उनले भनिन् । प्राधिकरणले अहिले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । उक्त कार्यलय विस्तारसँगै जनतालाई कम्पनीविरुद्ध असन्तुष्टि भएमा उजुरी दिन सकिन्छ भरेर प्राधिकरणले सुसूचित गराएको उनले उल्लेख गरिन् । यसरी जनताहरू थप सचेत भएर पनि उजुरीको संख्या बढेको उनको भनाइ छ ।

राजस्व संकलनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो अध्यादेश

काठमाडौं । राजस्व संकलनका लागि भन्दै सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बुधबार राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश, २०८१ पेस गरेका थिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको हो । अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भएको छ । चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा गत साउन १ गतेदेखि बजेट शून्यताको अवस्था आएको थियो । हाल आय संकलनसम्बन्धी अध्यादेश ल्याइए पनि केही दिनभित्र अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार छ ।

६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले ६ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

फिस्टेल स्कुल र होक्काइडो युनिभर्सिटीका विद्यार्थीबीच सिकाइ अनुभव आदानप्रदान

पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीहरूका बीचमा सिकाइ अनुभव आदानप्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधबार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । फिस्टेल स्कुलका तर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीकी प्रमुख किमुजोले फिस्टेल स्कुलले आईबीपीवाईपी पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् । यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउने कुरामा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ, बढी लिए कारबाही हुने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सचेत गराएको छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले सचेत गराइएकाे जनाएकाे छ । काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ । व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन् । यस्तै, जारको पानीमा ५० देखि ६० रुपैँया असुल्ने गर्छन् । पानी उत्पादक कम्पनीहरूले यी मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई मूल्यमा समानता कायम राख्न सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुनअनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

हेलिकप्टर दुर्घटना : समितिको बैठकमा पाइलटको दोष रहेको चर्चा, ‘हेलिकप्टर थोत्रो हो कि सिस्टम थोत्रो ?’

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटको दोष रहेको चर्चा भएको छ । घटनाबारे छलफल गर्न बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस घटनामा पाइलटको दोष रहेको बताएका हुन् । सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनकाे दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे । उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’ उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए । उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’ यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले मौसम खराबका कारण काठमाडौं फर्किन खोज्दा हेलिकप्टर बादलभित्र छिरेको र सोही बेला दुर्घटना भएको हुन सक्ने उनुमान बैठकमा प्रस्तुत गरेका छन् । उनले हेलिकप्टर देब्रेतर्फ मोडिन खोज्दा खसेको हुन सक्ने धारणा राखे । ‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने । उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ । त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ । बैठकमा मौसम खराब भएको समयमा उडान अनुमति किन दिइयो भन्ने प्रश्न उठेको छ । तर, महानिर्देशक अधिकारीले त्यतिबेला मौसम सफा रहेको प्रतिक्रिया दिएका छन् । सांसद प्रभु साहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताउँदै यसलाई सुधार गर्नुपर्ने बताए । ‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ, उनले प्रश्न गर्दै भने, ‘यो दुर्घटना हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो ।’ उनले आफै हेलिकोप्टर नउड्ने भन्दै नियमनकर्ताले जिम्मेवारी लिनुपर्ने बताए ।

भिजुअल फ्लाइट रुटअनुसार नचल्दा हेलिकप्टर दुर्घटना भयो : महानिर्देशक अधिकारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने पनि बताए । सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे । उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’ उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए । उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’ बुधबार सो हेलिकप्टर दुर्घटना हुँदा ४ जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।