विकासन्युज

गुगल प्ले स्टोरमा पुनः फर्कियो इसेवा एप

काठमाडौं । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुनः उपलब्ध भएको छ । कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउका लागि नयाँ नीति जारी गरेको छ । उक्त नीतिअनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ। इसेवा अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समयअगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो । इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो । गत २८ वैशाख  २०८१ देखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो । गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ । नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थायी समयको लागि अनुपलब्ध गराएको थियो । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसकेको छ । कुनै पनि एपको विवरण परिवर्तन हुँदा गुगल अन्तर्गत पूरा गर्नुपर्ने प्रक्रियाहरू सम्पन्न गर्दा अस्थायी रूपमा आउन सक्ने यो एक सामान्य प्रक्रिया मात्र हो । यसै अन्तर्गत इसेवा पनि गुगल र डुन्सको कार्य प्रक्रिया भइरहदा गुगल प्ले स्टोरमा अनुपलब्ध रहेको थियो । कम्पनीले यो कुनै सुरक्षा कमजोरी वा सुरक्षासम्बन्धी समस्याले नभएको स्पष्ट पारेको छ ।

सामान्य अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयरमा सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंककाे वृद्धि भएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ६. ७० अंकले बढेर २,७६६ को विन्दुमा अडिएकाे छ । बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरिमा ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब २० करोडको सेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको सेयर कारोबार हुँदा निफ्राले ९२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार गर्याे । बिहीबार सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, कुथेली बुकरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाए । यस दिन सबैभन्दा धेरै गुमाउनेमा एनआरएनका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही एक लाख, अफिसियललाई ५० हजार

काठमाडौं महानगरपालिकाले महिला भलिबल राष्ट्रिय टिमलाई सम्मान गरेको छ । महानगरले ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई नगदसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरूसँग भने, ‘तपाईंहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो, खेलमा कुनै कमजोरी थिएन, खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो, यसकारण, तपाईंहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’ उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रूपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिस्ट छन् । ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ, यो विषय छुटेको महसुस गराएको छ, यसमा हामी काम गर्नेछौँ,’ सम्मानका क्रममा प्रमुख शाहले भने ।

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबीच बैंकिङ कारोबार सम्झौता

काठमाडौं ।नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन २२ गते प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे । उक्त सम्झौताबमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियत सहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

टीआरसी विधेयक कानुन समितिबाट पारित

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो । विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसद्‌को अर्को बैठकमा पेस गर्ने गरि पत्राचार गर्ने बताइन् । त्यस्तै, बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले मानवअधिकार उलंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरूबीच भएको सहमति महत्त्वपूर्ण रहेको बताए ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले ल्याण्डमार्क होटल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले होटल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

सेयर बजार अर्थतन्त्रको हिस्सा हो, अर्थतन्त्र हाँकेको होइन : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि अर्थतन्त्र भने नहाँकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले सेयर बजारले देशको अर्थतन्त्र नहाँकेको बताएका हुन् । सेयर बजारले देशको अर्थतन्त्र नै हाँकेको हो भन्ने भाष्य सिर्जना गरिएको उनको भनाइ छ । अहिले बनेको सरकारका कारण लगानीकर्तामा उत्साह छाएको र बजार बढेको बजारलाई स्थायी बनाईराख्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि हाँकेको होइन । बजारमा चलखेल भइरहेको छ, त्यसलाई नियामक निकाय र सञ्चालकहरूले गम्भीरताका साथ लिनुपर्छ, बजारभित्र म्यानुपुलेसन नहुने सुनिश्चितता भए मात्र बजार प्रभावकारी रूपमा अघि बढ्छ,’ उनले भने । केही कम्पनीको सेयर मूल्य बढ्दा त्यो स्वभाविक नरहेको उनको भनाइ छ । सम्बन्धित कम्पनीको अध्ययन गरेर होसियारीपूर्वक लगानी गर्न उनले लगानीकर्ताहरूलाई उनले सुझाए । सेबोनले स्वच्छ अभ्यास भएनभएको बारे निरन्तर निगरानी गर्नुपर्ने र लगानीकर्ताको पुँजी फस्नबाट जोगाउनुपर्ने उनको धारणा छ । ‘कतिपय लगानीकर्ताले विरोध गरे, इन्साइडर ट्रेडिङ भएको छ कि छैन, म्यानु्पुलेट भएको छ छैन निगरानी गर्नुपर्छ, आम लगानीकर्ताको लगानी नडुबोस् भन्ने आशय हो,’ उनले भने । साथै, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया के कति कारणले रोकिइको हो भने डा.महतले प्रश्न गरेका छन् ।

बिम्सटेक चेम्बर गठन हुँदै, उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

काठमाडौं । बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरे । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाइ तत्काल कार्यान्वयन गर्न आह्वान गरे । बिम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरूको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ । बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रमअनुसार हुनेछ ।