विकासन्युज

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही एक लाख, अफिसियललाई ५० हजार

काठमाडौं महानगरपालिकाले महिला भलिबल राष्ट्रिय टिमलाई सम्मान गरेको छ । महानगरले ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीलाई नगदसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीहरूसँग भने, ‘तपाईंहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो, खेलमा कुनै कमजोरी थिएन, खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो, यसकारण, तपाईंहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’ उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रूपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान प्राप्त गर्ने खेलाडीहरूमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् । यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिस्ट छन् । ‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ, यो विषय छुटेको महसुस गराएको छ, यसमा हामी काम गर्नेछौँ,’ सम्मानका क्रममा प्रमुख शाहले भने ।

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबीच बैंकिङ कारोबार सम्झौता

काठमाडौं ।नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन २२ गते प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे । उक्त सम्झौताबमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियत सहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

टीआरसी विधेयक कानुन समितिबाट पारित

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो । विधेयकमा सन्दर्भमा देखिएका विवादहरुलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति गरेको थियो । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसद्‌को अर्को बैठकमा पेस गर्ने गरि पत्राचार गर्ने बताइन् । त्यस्तै, बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले मानवअधिकार उलंघनमा पीडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगायतका विभिन्न सवालमा दलहरूबीच भएको सहमति महत्त्वपूर्ण रहेको बताए ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ-सेल्स तथा बिजनेस विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले ल्याण्डमार्क होटल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले होटल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

सेयर बजार अर्थतन्त्रको हिस्सा हो, अर्थतन्त्र हाँकेको होइन : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि अर्थतन्त्र भने नहाँकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले सेयर बजारले देशको अर्थतन्त्र नहाँकेको बताएका हुन् । सेयर बजारले देशको अर्थतन्त्र नै हाँकेको हो भन्ने भाष्य सिर्जना गरिएको उनको भनाइ छ । अहिले बनेको सरकारका कारण लगानीकर्तामा उत्साह छाएको र बजार बढेको बजारलाई स्थायी बनाईराख्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजार अर्थतन्त्रको हिस्सा भएपनि हाँकेको होइन । बजारमा चलखेल भइरहेको छ, त्यसलाई नियामक निकाय र सञ्चालकहरूले गम्भीरताका साथ लिनुपर्छ, बजारभित्र म्यानुपुलेसन नहुने सुनिश्चितता भए मात्र बजार प्रभावकारी रूपमा अघि बढ्छ,’ उनले भने । केही कम्पनीको सेयर मूल्य बढ्दा त्यो स्वभाविक नरहेको उनको भनाइ छ । सम्बन्धित कम्पनीको अध्ययन गरेर होसियारीपूर्वक लगानी गर्न उनले लगानीकर्ताहरूलाई उनले सुझाए । सेबोनले स्वच्छ अभ्यास भएनभएको बारे निरन्तर निगरानी गर्नुपर्ने र लगानीकर्ताको पुँजी फस्नबाट जोगाउनुपर्ने उनको धारणा छ । ‘कतिपय लगानीकर्ताले विरोध गरे, इन्साइडर ट्रेडिङ भएको छ कि छैन, म्यानु्पुलेट भएको छ छैन निगरानी गर्नुपर्छ, आम लगानीकर्ताको लगानी नडुबोस् भन्ने आशय हो,’ उनले भने । साथै, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया के कति कारणले रोकिइको हो भने डा.महतले प्रश्न गरेका छन् ।

बिम्सटेक चेम्बर गठन हुँदै, उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

काठमाडौं । बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरे । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाइ तत्काल कार्यान्वयन गर्न आह्वान गरे । बिम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरूको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ । बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रमअनुसार हुनेछ ।

अर्थसमितिमा गभर्नरदेखि सेयर बजारको चर्चा, ‘बजार एकाएक कसले उचाल्यो ?’

काठमाडौं । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा सेयर बजारबारे छलफल भएको छ । बिहीबार बसेको बैठकमा सांसदहरुले सेयर बजारको विषयमा आफ्नो धारणा राखेका छन् । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले कम्पनीको वित्तीय स्थिति हेरेर लगानी गर्नु पर्ने बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ’ लगानीकर्ता फस्नु हुँदैन,’ उनले भने । यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको बताएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको धारणा राखे । ‘पछिल्लो समय गभर्नर साबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेसको पालामा र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कडा मौद्रिक नीति ल्याएरै कसेकै हो । तर, अहिले उहाँ आफू निकट सरकार छ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो,’ उनले भने । उनले सेयर बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनले धारणा राखे । उनले सेयरकर्जाको सीमा पहिले नै हटाउनु पर्ने भएपनि अहिले हटाएर एमालेको सरकारलाई सहयोग गरेको बताए । यस्तै, बैठकमा सांसद सूर्यबहादुर थापाले पछिल्लो समय बजारमा देखिएको ठूलो आरोह अवरोहको विषयमा चर्चा गरे । उनले कसैको अभिव्यक्ति सेयर बजार घट्न र बढ्न नहुने धारणा पनि राखे । उनले पुँजी बजारको कमजोरी सुधार गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे । यस्तै, बैठकमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले चन्द्रागिरि हिल्स कम्पनीको बुक भ्यालु कम भएको अवस्थामा पनि यसको शेयरमूल्य प्रतिकित्ता १ हजार २०० रुपैयाँसम्म कसरी पुग्यो भन्दै प्रश्न गरे । उनले कमजोर कम्पनीको मूल्य पनि कसरी आकासिन्छ भन्ने प्रश्न गरे । सांसद नारायणी शर्माले सेयर बजारमा लगानीकर्ताहरुलाई कसरी जोगाउने भन्ने विषयमा सरकार चिन्तित बन्नुपर्ने धारणा राखिन् । उनले कहिले सेयर अप्रतयातिस बढ्ने र कहिले अप्रत्यासित घट्नेभित्रको कारण पत्ता लगाउनु पर्ने बताइन् । उनले हालसम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्नु विडम्वना रहेको तर्क राखिन् । त्यस्तै सासंद छिरिङ लामाले पनि सेयर बजार एकाएक बढ्ने र एकाएक घट्ने कसरी हुन्छ भन्ने जिज्ञासा राखिन् । सांसदहरुले सेयर बजारमा देखिएका इन्साइडर ट्रेडिङदेखि अन्य समस्याहरु सुधार गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

धौलागिरि आइसफल पदमार्गका ताल तलैया ओझेलमा

बेनी । म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् । विसं २०६८ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको यस पदमार्गको प्रवर्द्धन र पूर्वाधार निर्माण अभियानले पूर्णता नपाउँदा पदमार्गका मनमोहक तालहरु ओझेलमा परेका हुन् । पदमार्गका प्रमुख आकर्षणको रूपमा रहेको उच्च हिमाली क्षेत्रका ताल तलैया सुविधायुक्त पदमार्गलगायतका पर्यटन पूर्वाधारको अभावमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताए । ‘हिमालको फेदीदेखि पहाडका टाकुराहरुमा मनमोहक ताल छन्, तर आधार शिविर हुँदै यी तालमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन’, पुनले भने । धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल छ । धौलागिरिको फेदीमा रहेको यो तालले पर्यटक लोभ्याउने गरेको छ । यस तालको पानीको रङ्ग निलो छ । जमिनमाथि रहेको यो तालमा पानीको स्रोत नदेखिए पनि ताल कहिल्यै नसुक्ने विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले जानकारी दिए । धौलागिरि आइसफल पदमार्गअन्तर्गत कालीबराह ताल अर्को आकर्षण मानिन्छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकांश समय हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकी फूलले रमणीय देखिन्छ । आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ । कालीबराहमा जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने गर्छ । यहाँ भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहाँ ताल परिसरमा बराह थानसमेत छ । कालीबराह नजिकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल समुद्री सतहदेखि चार हजार सात मिटर उचाइमा छ । हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ । यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह तालसँगै लाटीबराह, सेतीबराह र मनिबराह तालसमेत पदमार्गमा पर्ने स्थानीय कृष्ण पाईजाले जानकारी दिए । यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरूको नामाकरण गरिएको छ । स्थानीयले ताल तलैयामा भारा पूजा गर्ने चलन छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत अहिले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरि हिल भ्यू प्वाइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ । यसबीचमा रहेको कोखेभिर र धौलागिरि भ्यू प्वाइन्टबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी छ। आधार शिविरबाट पहेँलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले बताए । भिरमा पदमार्ग नहुँदा रघुगङ्गा नदीलाई दुई ठाउँ वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ । यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू प्वाइन्ट हिललगायतका ठाउँमा झोलुङ्गे पुलको अभाव छ। रघुगङ्गा गाउँपालिकाले एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको छ । डिपिआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुललगायतका पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । ‘आइसफल पदमार्गमा गत वर्षसम्म सङ्घीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसलाई पूर्णता दिन हामीले गुरुयोजना बनाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा पहल थालेका छौँ,’ अध्यक्ष भण्डारीले भने । धौलागिरि हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको दृष्यसँगै ग्लेसियर, रघुगङ्गा नदीको मुहान, सुन छहरा, गुफा, ओढार र अग्ला डाँडाकाँडाको मनोरम दृष्यले यस पदमार्गमा आउने पर्यटकलाई लोभ्याउने गरेको छ । रासस