ओलम्पिकलाई कोका-कोलासँगको सम्बन्ध तोड्न सुझाव
काठमाडौं । ओलम्पिक आयोजकलाई कोका–कोलासँगको सम्बन्ध तोड्नु पर्ने दुई जना स्वास्थ्य विशेषज्ञले बताएका छन् । पेरिस खेलमा प्रशंसकहरूले प्रयोग गर्ने प्लास्टिकको बोतलको मात्रालाई लिएर पर्यावरणीय कार्यकर्ताहरूले आलोचना गरेपछि स्वास्थ्य विशेषज्ञहरूले यस्तो बताएका हुन् । उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोका–कोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोट्र्स वास’ गर्न अनुमति दिएको बताएका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोका–कोलासँगको साझेदारीमा भने गर्व गरेको छ । कम्पनीले भने चिनीरहित पेयपदार्थ पनि उपलब्ध गराएको बताएको छ । फ्रान्सको राजधानीमा हुने प्रतियोगितामा कोका–कोलाको सर्वव्यापी फिजी पेयहरूको विज्ञापन समावेश छ । कोका–कोलाले सन् १९२८ देखि ओलम्पिकलाई प्रायोजन गर्दै आएको छ । तर, विश्वव्यापी स्वास्थ्य समूह भाइटल स्ट्राटिजिजका ट्रिस कोटर र सान्ड्रा मुलिनका अनुसार यी चिनीयुक्त पेय पदार्थहरूले ‘थोरै वा कुनै पोषण मूल्य प्रदान गर्दैनन्’ र त्यस्ता अस्वस्थकर उत्पादनहरूलाई प्रवर्द्धन गर्न खेलमा कुनै स्थान छैन । चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोगसहित विश्वभरका मानिसहरूलाई असर गर्ने गम्भीर स्वास्थ्य समस्याहरूको एक मुख्य चालक भएको दुवै जनाले बिएमजे ग्लोबल हेल्थ जर्नलमा टिप्पणीमा लेखेका छन् । कोका–कोलाका उत्पादनहरूले विश्वव्यापी प्लास्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ठूलो मात्रामा पानीको प्रयोगमा पनि योगदान पुर्याएको उनीहरूको तर्क छ । ‘कोका–कोलासँगको सम्बन्धलाई निरन्तरता दिएर ओलम्पिकले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीलाई तीव्र पार्ने जोखिम छ,’ लेखकहरूले भनेका छन्, ‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले खेलाडी, दर्शक र पृथ्वीको हितमा कोका–कोलासँग सम्बन्ध तोड्ने समय आएको छ ।’
लगातार दुर्घटनापछि तीन कम्पनीको उडानमा रोक, चपेटामा अन्नपूर्ण र मुस्ताङ हेलिकप्टर
काठमाडौं । हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै ती वटा हवाई कम्पनीको उडानमा रोक लगाएको छ । प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै सौर्य एयरलाइन्स, मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरलाई उडानमा रोक लगाएको हो । १५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले यी तीन कम्पनीलाई उडानमा रोक लगाएको जानकारी दिएको छ । प्राधिकरणले उडानमा रोक लगाउँदै उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको जानकारी दिएको छ । प्राधिकरणले सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम हुने कम्पनीलाई उडानमा रोक लगाएको बताएको छ । दुई साताअघि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । अहिले प्राधिकरणले सो एयरलाई उडानमा प्रतिबन्ध लगाएको हो । बुधबार पनि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । १५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले अन्नपूर्ण र मुस्ताङ हेलिकप्टरलाई पनि उडानमा रोक लगाएको छ ।
प्राधिकरणले बक्यौता रहेका ६१ वटै उद्योगको टीओडी मिटरको विवरण लेखा समितिमा बुझायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटै उद्योगको सबै तथ्यांक र विवरण संसदको लेखा समितिमा बुझाएको छ । बिहीबार प्राधिकरणले सिंहदरबारमा रहेको लेखा समितिको सचिवालयमा तथ्यांक र विवरण बुझाएको हो । ५० हजारभन्दा बढी पेजकाे डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग टिओडी मिटरको डेटा विवरण समितिलाई बुझाएको प्राधिकरणले जनाएको छ । उद्योगीहरूले विद्युत प्राधिकरणले प्रमाणविना नै बक्यौता तोकेको आरोप लगाएपछि लेखा समितिले टीओडी मिटरसहितका विवरण र तथ्यांक बुझाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार प्राधिकरणले लेखा समितिलाई बिहीबार विवरण पठाएको हो । प्राधिकरणले बुझाएको तथ्यांकमा ६१ वटा उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रंक र डेडिकेटेड लाइनको सबै विवरण भएको बताइएको छ । मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन प्राधिकरणले उद्योगीहरूलाई पत्र काटेपछि विवाद बढ्दै आएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज
काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ । मन्त्रिपरिषद्का निर्णय जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने’ निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उक्त निर्देशिका खारेज भएसँगै हाललाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पद नै खारेजीमा परेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० जेठमा राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरी तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई नियुक्त गरेको थियो । ३ महिनापछि अवकाश पाउन लागेका बेला वैरागीले मुख्यसचिवबाट राजीनामा दिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाएका थिए । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि बैरागीले राजीनामा दिइसकेका छन् । राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी संघीय ऐन आउन नै बाँकी छ । पुरानो ऐनमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहने व्यवस्था छैन ।
बंगलादेशमा बैंकबाट एक लाखभन्दा बढी झिक्न नपाइने
काठमाडौं । सुरक्षा समस्याका कारण बिहीबार बंगलादेश बैंकको खाताबाट एक लाखभन्दा बढी नगद झिक्न नपाइने केन्द्रीय बैंकले जनाएको छ । बंगलादेश बैंकका प्रवक्ता मजबाउल हकले हालैको अवस्थामा विभिन्न बैंकमा पैसा लैजानका लागि सुरक्षा उपायको अभावका कारण बैंकहरूमा तरलताको सङ्कट देखिएको बीबीसीलाई बताए । त्यसैले अस्थायी अवस्थालाई सम्बोधन गर्न यो निर्णय गरिएको हो । उनले आइतबारसम्म सबै सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरे । उनले बीबीसी बंगलालाई भने, ‘हामीले नगद रेमिटेन्स बोक्न सकेका छैनौं किनभने त्यहाँ पुलिस छैन । धेरै बैंक शाखाहरूमा पर्याप्त नगद छैन, धेरै एटीएममा नगद छैन ।’ ‘यस अवस्थामा ग्राहकले चेक मार्फत एक लाखसम्म झिक्न सक्नेछन् । हामीले थप ग्राहकहरूलाई सेवा दिन सकून् भनेर यो सीमा तोकिएको हो ।’ बुधवार राति बैंकका प्रबन्ध निर्देशक वा प्रबन्ध निर्देशकलाई आकस्मिक सन्देश पठाएर निकासीको सीमा तोकिएको हो । तर, ग्राहकले नगद झिक्न नसक्ने भए पनि उनीहरूले जुनसुकै रकम नगद स्थानान्तरण गर्न र डिजिटल कारोबार गर्न सक्छन् ।
समृद्धि फाइनान्सको औरही शाखाद्वारा वृक्षारोपण
काठमाडौं । समृद्धि फाइनान्सको औरही शाखाले वृक्षारोपण गरेको छ । कम्पनीले ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कुल औरही परिसरमा विभिन्न जातका फल र फूल वृक्षारोपण गरेका हो । साउन महिनाको पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम अन्य शाखा कार्यालयले पनि आयोजना गर्ने कार्यक्रम तय भएको कम्पनीले बताएको छ । कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसका साथै कम्पनीले मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू पनि निः शुल्क प्रदान गरिरहेको छ ।
नेपाली आकाश सुरक्षित छैन : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए । उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए । यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने संकेत गरेको उनको भनाइ छ । हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरे । ‘अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो’, उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।’ सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले जानकारी दिए ।
बीमा कम्पनीमा बढे कर्मचारी र शाखा, घट्यो पहुँच
काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा बीमा कम्पनीहरूको शाखा कार्यालयको संख्या बढेको छ । कार्यलयसहित बीमा क्षेत्रमा कर्मचारी संख्या पनि बढेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार गत आवमा बीमा कम्पनी कार्यालय संख्या ६.५३ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७९/०८० को असार मसान्तसम्म बीमा कम्पनीहरूको जम्मा कार्यालय संख्या २ हजार ८०१ वटा रहेको थियो । यस्तो संख्या बढेर गत आवको असार मसान्तसम्म २ हजार ९८४ वटा पुगेको छ । शाखा कार्यालय जीवन बीमकको भन्दा निर्जीवनको धेरै बढेको छ । जीवन बीमकको कार्यालय २.४६ प्रतिशतले बढ्दा निर्जीवनको १३.७४ प्रतिशतले बढेको हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमकको कार्यालय १ हजार ७८९ वटा तथा निर्जीवनको १ हार १२ वटा थियो । गत आवको अन्त्यसम्ममा जीवन बीमकको कार्यालय संख्या १ हजार ८३३ वटा पुगेको छ भने निर्जीवन बीमकको कार्यालय संख्या १ हजार १५१ वटा पुगेको छ । बीमा कम्पनीहरूमा कति छन् कर्मचारी ? पछिल्ले एक वर्षमा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको संख्या ४.२८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बीमा कम्पनीहरूमा ११ हजार २०५ जना कर्मचारी थिए । गत आवको अन्त्यमा कर्मचारी संख्या बढेर ११ हजार ६८५ जना पुगेका छन् । जीवन बीमा कम्पनीमाभन्दा निर्जीवन कम्पनीमा नै कर्मचारीको संख्या बढेको तथ्यांकले देखाउँछ । जीवनतर्फ ३.१० र निर्जीवनतर्फ ५.५० प्रतिशतले कर्मचारीको संख्या वृद्धि भएको छ । अघिल्लो आवमा जीवन बीमा कम्पनीमा ५ हजार ६८२ जना कर्मचारी थिए । गत आवको अन्त्यमा यस्तो संख्या ५ हजार ८३३ जना पुगेका छन् । निर्जीवन बीमा कम्पनीमा अघिल्लो आवको अन्त्यमा ५ हजार ५२३ जना कर्मचारी थिए । गत आवको अन्त्यमा ५ हजार ८२७ जना रहेका छन् । बीमाको पहुँच घट्यो कम्पनीको शाखा कार्यलय र कर्मचारी बढे पनि बीमाको पहुँच भने घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो आवको अन्त्यसम्ममा ४४.३८ प्रतिशत जनसंख्यामा बीमाको पहुच पुगेको थियो । यस्तो पहुँच घटेर गत आवको अन्त्यसम्ममा आइपुग्दा ४३.२७ प्रतिशतमा ओर्लिएको छ ।