खराब कर्जा बढ्दा एनआईसी एशियाको नाफा घट्यो, लाभांश क्षमता २५.०७ प्रतिशत
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको नाफा घटेको हो । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफा घट्न पुगेको हो । गत असारसम्म लघुवित्तले ९५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म लघुवित्तको कुल सञ्चालन आम्दानी ९८ करोड ८७ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४३ करोड ६० लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लघुवित्तको लाभांश क्षमता २५.०७ प्रतिशत छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ७५ करोड रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले १ अर्ब ५४ करोड ७१ लख रुपैयाँ निक्षेप तथा १५ अर्ब १४ करोड २२ लाख रुपैयाँ सापटी लिएर र १५ अर्ब ९४ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १०.८८ रुपैयाँबाट घटेर ७.३१ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६८.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ ।
नेपाल लाइफको सेयर बेच्दै अन्जन भण्डारी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले अन्जन भण्डारीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार भण्डारीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीले संस्थापक सेयरको मूल्य भने सार्वजनिक गरेको छैन ।
खराब कर्जा घटेपछि नेशनल लघुवित्तको नाफा ५८ प्रतिशत बढ्यो
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २१ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तले ५८ प्रतिशत बढी नाफा गरेको हो । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झारेको छ । गत असारसम्म लघुवित्तले १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ६५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तले कुल सञ्चालन आम्दानी १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४७ करोड १६ लाख रुपैयाँ र वितरणयोग्य नाफा २८ करोड ११ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तले ५ अर्ब २४ करोड ५१ लख निक्षेप तथा सापटी १३ अर्ब १९ करोड ९४ लाख रुपैयाँ सापटी लिएर र २० अर्ब ६३ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९२ रुपैयाँबाट बढेर २९.२५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २४५.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ ।
कालिका लघुवित्तको नाफामा १३४ प्रतिशत उछाल, ईपीएस १६.८५ रुपैयाँ
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तले १३४.०३ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत बढेर २९ करोड ९३ लाख रुपैयाँ, सञ्चालन मुनाफा १७४ प्रतिशत बढेर ९ करोड ४५ लाख रुपैयाँ र वितरणयोग्य नाफा ३ करोड ४४ लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लघुवित्तको लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३७ करोड २३ लाख रुपैयाँ र जगेडा कोष ३१ प्रतिशत बढेर २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको असारसम्म लघुवित्तको निक्षेप तथा सापटी ६.४४ प्रतिशत बढेर ३ अर्ब ४९ करोड रुपैयाँ र कर्जा लगानी ५.१९ प्रतिशत बढेर ३ अर्ब ९० करोडको पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७१ रुपैयाँ बढेर १६.८५ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ ।
सपथ लिँदै युनुसले भने- ‘बङ्गलादेश एउटा परिवार हो, यसलाई एकजुट गर्नुपर्छ’
काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिएका छन् । उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उनको भूमिकाको सपथ गराए । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । सपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् । अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ । यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो । सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन् । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए । बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो । सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुस उनलाई अन्तरिम भूमिका निर्वाह गर्नका लािग चयन गर्दा २०२४ ओलम्पिकका लािग फ्रान्सको राजधानी पेरिसमा थिए । उनी कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्किएका हुन् । आफ्नो आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताए । ‘बङ्गलादेश एउटा परिवार हो, हामीले यसलाई एकजुट गर्नुपर्छ,’ उनले विद्यार्थी नेताहरूसँग भने, ‘यसको सम्भावना अपार छ ।’ बुधबार पेरिसमा युनुसले शान्ति र सबै पक्षपातपूर्ण हिंसा अन्त्य गर्न आह्वान गरेका थिए । यसैबीच एएफपीका अनुसार युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले सपथ लिएका छन् । उनीहरू मन्त्री नभएर सल्लाहकारको पदमा छन् । सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद हुनुहुन्छ । उहाँहरूले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । अन्यमा पूर्वविदेशसचिव तौहिद हुसेन र पूर्वमहान्यायाधिवक्ता हसन आरिफ छन् । पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा सपथ लिएका छन् । उनलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो ।
आज नागपञ्चमी मनाइँदै, नागको पूजा गर्ने घरमा लक्ष्मीको वास
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । बाल्मिकी क्याम्पसका प्राडा देवमणि भट्टराई दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पुजाअर्चना गर्ने प्रचलन रहेको बताउँछन् । ‘प्रदूषणयुक्त विषविषालु जीवलाई नागले पान गरेर चराचर जगत्लाई नै कल्याण गर्ने कुरालाई बुझेर ऋषिमुनीहरूले नागको पूजा गर्नुपर्छ भनेर पञ्चमी थिती निर्धारण गरे,’ उनले भने ।
यस्तो छ आजको मौसम
फाइल फाेटाे काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अमेरिकी डलर र युरोको मूल्यले निरन्तर रेकर्ड बनाउँदै, कति पुग्यो ?
काठमाडौं । शुक्रबार पनि अमेरिकी डलरको मूल्यले नयाँ उचाइ चुमेको छ । नेपाल राष्ट्र बैंकले आज साउन २४ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६५ रुपैयाँ र खरिददर १३४.०५ रुपैयाँ तोकेको छ । यसअघि हिजो बिहीबार डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ थियो । आज युरोपियन युरो एकको खरिददर १४६.४८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४७.१४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.९३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.८५ रुपैयाँ र बिक्रीदर ८८.२४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५२ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ तोकिएको छ । यसअघि हिजो बिहीबार युरोपियन युरो एकको खरिददर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६८ रुपैयाँ र बिक्रीदर १७१.४४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५३ रुपैयाँ र बिक्रीदर ९७.९७ रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.९६ रुपैयाँ र बिक्रीदर ३०.०९ रुपैयाँ तोकिएको छ ।