पर्यटकलाई लोभ्याउँदै नानापुर
राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे) ले पर्यटकलाई लोभ्याउने गरेको छ । नानापुर क्षेत्रमा शनिबार वा सार्वजनिक बिदाका दिन नेपालगञ्ज, कोहलपुरलगायत क्षेत्रबाट घुम्न आन्तरिक पर्यटक पुग्ने गरेका स्थानीय अगुवा मीनबहादुर थापाले बताए । ‘नेपालगञ्ज सहरबाट नजिकै पर्ने हराभरा र रमणीयस्थलले सबैलाई लोभ्याइरहेको छ,’ उनले भने, ‘पर्यटनको प्रचुर सम्भावना रहेकाले नानापुर घरबास र उद्यानलाई अझ रमणीय बनाउन स्थानीय सरकारको अग्रसरताको खाँचो छ ।’ बाबुकुवा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिने गरेका छन् । सिद्दीविनायक लायन्स उद्यानमा लायन्स स्तम्भ, सेल्फी जोन, गोलघर, कार्यक्रम कक्षलगायत संरचना निर्माण गरिएको छ । बाबुकुवा सामुदायिक वनमा सिद्दिविनायक लायन्स उद्यान सञ्चालनमा आएपछि त्यसले आन्तरिक पर्यटकको चहलपहल बढाएको नानापुर होमस्टेका अध्यक्ष डम्बर बुढाथोकीले जानकारी दिए । नानापुर क्षेत्र पुग्ने आन्तरिक पर्यटक स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने गरेका उनी बताउँछन् । ‘होमस्टेको प्रचारप्रसार गर्न नसक्दा बाह्य पर्यटक कम आउने गरेका छन्, होमस्टेको शिष्टाचार, स्थानीय परिकारका स्वाद, पारिवारिक रहनसहनमा घुम्न आउने आन्तरिक पर्यटक रमाउने गरेका छन्,, सुरुको वर्ष होमस्टे सुनसानजस्तै थियोे, विस्तारै पर्यटक आउने क्रम बढेको छ,’ उनले भने । नेपालगञ्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ । पछिल्लो पटक सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा त्यहाँ पुग्ने पर्यटक रमाउने गरेका छन् । डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झंकबहादुर थापाले वडास्तरबाट पूर्वाधार विकास गर्न बजेट नभएकाले गाउँपालिका र प्रदेश सरकारसँँग नानापुर क्षेत्रको थप विकास गर्न पहल गरिएको बताए ।
सिवाईसी लघुवित्तको सीईओमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । साउन २३ गते बसेको संस्थाको सञ्चालक समितिले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन २४ गतेदेखि लागु हुने गरी शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
स्थानीय विवाद मिलाउँदा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा स्थानीय (वडास्तरीय) विवाद र निरुपणका विषयमा अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुंग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरुपण गरिरहेको बताएकी हुन् । उनले न्याय निरुपण गर्दा अक्षरमा के-के छन् भनेर हेर्ने मात्र नभई व्यवहारिक पक्षलाई हेरेर न्याय निरुपण गरिरहेको दाबी गरिन् । महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरुपणलाई छिटो, छरितो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । एक वर्षमा केन्द्रको न्यायिक समितिबाट ७० प्रतिशतभन्दा धेरै मुद्दाको निरुपण गरेको उनको भनाइ छ । ७० प्रतिशतभन्दा बढी निरुपण गरिरहँदा प्राथमिकतामा मेलमिलापलाई राखेको उपमेयर डंगोलको भनाइ छ । उपप्रमुख डंगोलले वडादेखि केन्द्रसम्म मेलमिलापबाट समग्रमा ६१ प्रतिशत मेलमिलाप गर्न सफल भएको बताइन् । उपप्रमुख डंगोलले दिगो रूपमा विवादलाई निरुपण गर्न मेलमिलाप मात्रै एउटा विकल्प हुन सक्ने पनि बताइन् । उनले अर्को वर्ष ८० प्रतिशतभन्दा बढी मेलमिलापबाट विवाद टुंग्याउने स्थितिसम्म पुग्ने दाबी गरिन् । वडा तहमा मेलमिलाप केन्द्रका माध्यमबाट ९० प्रतिशतभन्दा बढी विवाद समाधान गरिसकेको पनि उनले बताइन् । उपप्रमुख डंगोलले न्यायिक समितिले ४३ हजारभन्दा बढी महानगरबासीलाई वडा(वडामा निःशुल्क कानुनी सहायता दिएको बताइन् । एक महिनामा ३२ सय करिब महानगरबासीले निःशुल्क कानुनी सहायता लिएको उनको भनाइ छ ।
तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा शुक्रबार पहेँलो धातुको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ४६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुब्रबारका लागि १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ६ सय ९० रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबारका लागि भने १ हजार ७ सय ३० रुपैयाँ निर्धारण भएको छ ।
नेपाल पुनर्बीमासँग प्रतिस्पर्धाको तहमा पुग्यो हिमालयन रि, कुन-कुन क्षेत्रमा छ लगानी ?
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र हिमायन रिइन्स्योरेन्सले १७ अर्ब ७७ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका हुन् । कम्पनीहरूले सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् । यी दुई कम्पनीहरूले ८१.८२ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । कम्पनीहरूले ३१ अर्ब ३६ करोड रुपैयाँ वाणिज्य, विकास, फाइनान्स कम्पनी र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका हुन् । नेपाल पुनर्बीमाले आफ्नो कुल लगानीको ८५.६८ प्रतिशत अर्थात १७ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको हो । हिमालयन रिले आफ्नो कुल लगानीको ७७.३१ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ । कम्पनीहरूले बाँकी लगानी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड डिबेन्चर र ऋणपत्रमा गरेका छन् । यसका साथै सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्र, नागरिक लागानी कोष र म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयर, अन्य संस्थापक सेयर, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयर लगायत क्षेत्रमा यी कम्पनीले लगानी गरेका छन् ।
लक्ष्मी सनराइजले घोषणा गर्यो २ वटा म्युचुअल फण्डको लाभांश
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले दुई वटा म्युचुअल फण्डको लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको साउन २४ गते बसेको सञ्चालक समिति बैठकले सनराइज फस्र्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने कम्पनी सचिव सन्दिप प्रधानले जानकारी दिए । लक्ष्मी सनराइज क्यापिट योजना व्यवस्थापक रहेका यी दुई फण्डको कोष प्रर्वद्धक लक्ष्मी सनराइज बैंक रहेको छ ।
काभ्रे यातायात कार्यालयमा कर्मचारी अभावले सेवा रोकियो
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा विस्तार रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक फाँटमा कर्मचारी अभावले सवारी जाँचपास लगायतका सेवा विस्तारमा समस्या देखिएको हो । बागमती प्रदेशस्थित श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त कार्यालयमा दरबन्दी अनुसारको प्राविधिक कर्मचारी (मेकानिकल सुपरभाइजर) नखटाउँदा प्राविधिक काम सुरु गर्न नसकिएको सूचना अधिकारी पवन बजगाईंले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट प्राविधिक कर्मचारी खटाउन नसकेका कारण सवारी दर्ता, नामसारी, प्रदूषण परीक्षण, भाडाको सवारीको जाँचपास, सवारी सर्वसहमति सरुवा सहमति र लिलामी दर्ताको काम सुरु गर्न नसकिएको हो । कार्यालयमा सेवा बिस्तार नहुँदा काठमाडौ उपत्यकाका यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटेको छैन । कार्यालयबाट तत्कालका लागि सवारीसाधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारीसाधन सेवा पञ्जिकरणको काम मात्र भइरहेको सूचना अधिकारी बजगाईंले बताए । मन्त्रालयबाट कार्यालयमा पाँचौ तथा छैटौँ तहसहितका आवश्यक प्राविधिक कर्मचारी नखट्दा सेवा विस्तार गर्न नसकेको हो । कार्यालयले हालसम्म चालक अनुमति पत्र (लाइसेन्स) नवीकरणसमेत अघि बढाउन नसकेको जनाएको छ । कार्यालयले लाइसेन्स नवीकरणको काम भने भदौको पहिलो सातादेखि सुरु गर्ने योजना बनाएको छ । स्थापना सुरुका केही दिनभन्दा हाल सेवाग्राहीको सङ्ख्या दैनिक बढिरहेको जनाइयो । यस्तै कार्यालयले असोज महिनादेखि ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ वर्गको सवारी चालक अनुमति–पत्र प्रदान गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ । गत असार १६ गतेबाट औपचारिक सेवा सुरु गरेको कार्यालयले एक महिनाको अवधिमा कार्यालयबाट ३ हजार २१ सवारीसाधनको ब्लू–बुक नवीकरण, सवारी कर, रुट परमिट जारी तथा नवीकरण, भाडाका सवारी साधन सेवा पञ्जिकरणको काम भएको कार्यालयले जनाएको छ । यस्तै, कार्यालयले एक महिनाको अवधिमा २ करोड १८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयमा ‘रुट परिमिट’का लागि दैनिक औषत पाँच सवारी, ब्लू–बुक नवीकरण तथा सवारी कर बुझाउन दैनिक सरदर एक सय र दैनिक राजस्व करिब १५ लाख रुपैयाँको हाराहारीमा संकलन हुने गरेको जनाइएको छ । उक्त कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, तथा भक्तपुरका केही क्षेत्रका सेवाग्राहीले सेवा लिन सक्नेछन् । बनेपामा कार्यालय स्थापनापछि मध्यपहाडी क्षेत्रका सेवाग्राहीलाई सहज बन्दै गएको हो । बागमती प्रदेश सरकारले साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ । नयाँ सवारी चालक अनुमतिपत्रका लागि कार्यालयले ट्रायल सेन्टर सञ्चालनका लागि नीजि क्षेत्रसँग समन्वय गर्न प्रक्रिया बढाइएको जनाइएको छ ।
‘आईएमई पे’ लाई ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण
काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले हालै सिसा ‘पीसीआई डीएसएस-४.०’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै पहिलो पीसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ । आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको ‘आईएमई पे’ ले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्ड पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आईएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुराएर नवीकरण गरेको छ । आईएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको जनाइएको छ ।