काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।
उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने पनि बताए । सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।
महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे ।
उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’
उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए ।
उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’
बुधबार सो हेलिकप्टर दुर्घटना हुँदा ४ जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।