विकासन्युज

सन नेपाल लाइफको बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढ्यो, नाफा ५७.४९ करोड रुपैयाँ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०.५६ प्रतिशत बढेर गत वर्ष २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको खुद नाफा २६.५२ प्रतिशत घटेर ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । ग्त असारसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोष १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटी ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी घटेर १४.५१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४.९४ रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३५.२३ गुणा छ ।

मर्जरपश्चात नेरुडे मिर्मिरे लघुवित्तको नाफा ४४.७० करोड रुपैयाँ, एनपीएल ६.६० प्रतिशत

काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि वित्तीय विवरण सार्वजनिक गर्दा लघुवित्तको नाफा बढेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा (एनपीएल) बढेर ६.६० प्रतिशत पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ५.०५ प्रतिशत थियो । गत असारसम्म लघुवित्तले १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ रहेको छ । लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ५ करोड २९ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ६२.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५३ गुणा रहेको छ ।

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आज साउन २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १.५ सेयर (१ः१.५) को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंकको धादिङ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

डोनाल्ड ट्रम्पलाई पछि पार्दै कमला ह्यारिस अगाडि

काठमाडौं । कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सार्वजनिक सर्वेक्षणले देखाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत एक वर्षमा प्राप्त गरेको फाइदालाई राष्ट्रपति जो बाइडेनको प्रतिस्पर्धाबाट बाहिरिने निर्णय र ह्यारिसको अभियानमा देखिएको व्यापक सहभागिताले क्षीण बनाएको देखिएको छ । न्युयोर्क टाइम्स र सिएना कलेजले गरेको सर्वेक्षणमा ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा समान ५० देखि ४६ प्रतिशतको अन्तरले ट्रम्पलाई पछाडि पारेको देखाएको छ । अमेरिकी ‘इलेक्टोरल कलेज भोटिङ’ प्रणालीअन्तर्गत मध्यपश्चिमका यी तीन राज्यलाई कुनै पनि दलको जितका लागि महत्वपूर्ण मानिएको छ । यो सर्वेक्षण नतिजा ती राज्यहरूमा यस पहिलेका सर्वेक्षणबाट देखिएको नतिजा विपरित छ । अघिल्ला सर्भेक्षणहरूले लगभग एक वर्षसम्म ट्रम्पलाई डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनसँग समान वा थोरै अग्रता गरेको देखाएका थिए । बाइडेनले गत महिना (जुलाइमा) राष्ट्रपतिको दौडबाट बाहिरिँदै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए । नोभेम्बर ५ मा हुने निर्वाचन अघिको करिब तीन महिनामा धेरै कुरा परिवर्तन हुन सक्छ । सर्वेक्षणले मतदाताहरूले अझै पनि अर्थव्यवस्था र आप्रवासनका प्रमुख मुद्दाहरूमा ट्रम्पलाई प्राथमिकता दिएको देखाएको छ । यद्यपि ह्यारिसलाई गर्भपतनको मुद्दामा कसलाई विश्वास छ भनेर सोध्दा डेमोक्र्याटहरूले ह्यारिसको उम्मेदवारीलाई स्वागत गर्ने उत्साहको वृद्धिलाई हृदयदेखि नै लिएका छन् भने ८१ वर्षीय बाइडेनले राजीनामा दिएपछि धेरैले राहतको महशुस व्यक्त गरेका छन् ।

आज यी ४ प्रदेशमा भारी वर्षा हुने

फाइल फाेटाे काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

रेकर्ड बनाएको डलरको मूल्य घट्यो, यस्तो छ आज विदेशी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २७ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.६४ रुपैयाँ र खरिददर १३४.०४ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४६.३४ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.९९ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.८४ रुपैयाँ र बिक्रीदर १७१.६१ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.११ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५४ रुपैयाँ र बिक्रीदर ९७.५१ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ तोकिएको छ ।

मापदण्ड विपरीत सञ्चालित डेरी उद्योग कारबाहीमा

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले तोकिएको मापदण्डअनुसार दुग्धजन्य पदार्थ उत्पादन नगर्ने दुई डेरी उधोगमाथि कारबाही गर्ने भएको छ । मापदण्ड विपरीत सञ्चालित जनकपुर–१४ स्थित जानकी र छिरेश्वरनाथ नगरपालिका–५ स्थित विशाल डेरी उद्योगमाथि जिल्ला अदालत जनकपुरमा मुद्दा दायर गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो । कार्यालयले अनुगमनका क्रममा दुवै उद्योगबाट उत्पादित सामग्रीको नमूना संकलन गरी जाँच गर्दा कैफियत पाएपछि कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रवीण तिवारीले जानकारी दिए । ‘माँ जानकी डेरी उद्योगबाट उत्पादित खुवा, घ्यू तथा प्रशोधित दूधको नमूना संकलन गर्दा मापदण्डअनुसार नभएको पाइएको छ । विशाल डेरी उद्योगको पूजामा प्रयोग गरिने घ्यूको जाँच गर्दा कैफियत पाइएको हो,’ उनले भने । बजारमा विशाल डेरीबाट उत्पादित घ्यू नष्ट गरिएको छ । कार्यालयले गत आवमा यहाँ ४६ वटा औद्यौगिक तथा व्यावसायिक फार्मबाट उत्पादित सामग्रीको अनुगमन, छड्के निगरानी गरी मिसावट भएका, गुणस्तरहीन तथा म्याद नाघेका वस्तु नष्ट गरेको थियो । संकलित नमूनामध्ये प्रयोगशालामा जाँच गर्दा दुई डेरी उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको कार्यालयका सूचना अधिकारी तिवारीले जानकारी दिए । कार्यालयबाट जनकपुरसहित धनुषाको विभिन्न बजार तथा चोकमा अनुगमन भएको थियो । व्यावसायिक होटल, रेष्टुरेण्ट, मासु पसल, किराना पसल, मिष्ठान भण्डार, बोर्डिङ स्कुलका क्यान्टिन, अस्पतालका क्यान्टिनको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ती व्यावसायिक फार्मबाट रु दुई लाख मूल्य बराबरको अखाद्य वस्तु नष्ट गरिएको तिवारीले बताए । गत आवमा मधेस प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७ खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा नमूना प्रतिकूल पाइएको थियो । तीमध्ये ३१ मुद्दा दायर, १६ को बयान सकिएको र अन्यको बयान लिन बाँकी रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।

गोसाइँकुण्ड स्नान गर्न पुग्न थाले भक्तजन

रसुवा । यहाँको उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् । यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन (आगामी भदौ ३ गते) भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए । रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइँकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । साइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए । भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे । गोसाइकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएकाले निर्धक्क भएर यात्रा गर्न आग्रह गरे । यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन उनले आग्रह गरे । गोसाइँकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ । घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए । कुण्डमा पुगेर बढीमा तीन र कम्तीमा एक पटक स्नान गरी, निलकण्ठ दहमा पुजाआजा गरेपछि आफ्नो मनोकाङ्क्षा भगवान्ले पूरा गर्ने धार्मिक मान्यता रहिआएको उनले बताए । काठमाडौंबाट सवारीसाधनमा धुञ्चे पुगेपछि पैदल यात्रा सुरू हुन्छ । बाटोमा ठाउँठाउँमा थर्कु तथा होटल सञ्चालनमा रहेकाले खान र बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घका अध्यक्ष निसान गजुरेलले बताए । हिमाली क्षेत्रको वातावरण शरीरमा मिलाई हिड्नका लागि काठमाडौँबाट आएको एक रात धुञ्चेमा बसेर भोलिपल्ट उकालो लाग्दा सहज हुने उनको सुझाव छ । फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, लठ्ठीको नाममा रूख बिरुवा नकाट्न, पैदल मार्गमा भेटिने जनावरलाई संरक्षण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले सम्पुर्ण यात्रीमा अनुरोध गरेको छ । यात्रीले प्रयोग गरेका निजी सवारीसाधन सुरक्षाका लागि गोसाइँकुण्ड गाउँपालिका–६ को कार्यालय धुञ्चेले सःशुल्क पार्किङको व्यवस्था गरिसकेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए । गोसाइँकुण्ड जाने पैदल मार्ग स्वच्छ पार्न सरसफाइ कार्यक्रम सुरु भएको छ । पहिलो चरणअन्तर्गत जिल्ला प्रशासन कार्यालयको पहलमा धुञ्चेबाट मिनी गोसाइकुण्डसम्म सरसफाइ सम्पन्न गरिएको बताउँदै प्रजिअ खनालले क्रमशः सरसफाइलाई निरन्तरता दिने जनाए ।