विकासन्युज

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य बुधबार स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।      नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।      आज एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।       अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     

भायानेटको नयाँ अफर : २५० एमबिपिएस वाईफाई-६ इन्टरनेट, जडान शुल्क निःशुल्क

काठमाडौं । भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि वाईफाई–६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज आकर्षक अफरसहित सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध छ । यस अफरअन्तर्गत सामान्यतया २ हजार ८२५ रुपैयाँ लाग्ने वाईफाई–६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल १ हजार रुपैयाँ डिपोजिट तिरे पुग्नेछ । छिटो, भरपर्दो र आधुनिक इन्टरनेट सेवा चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यससँगै ग्राहकहरूले भायाटिभी सेवा पनि मासिक २५० रुपैयाँ (करसहित) मा थप गर्न सक्नेछन् । भायाटिभीमा २०० भन्दा बढी च्यानल, लाइभ टिभी रोक्ने र पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा सिरिजलगायतका मनोरञ्जन सामग्री उपलब्ध छन् । वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप–बक्सको २ हजार २६० रुपैयाँ बराबरको सक्रिय शुल्क पनि छुट दिइनेछ भने सेट–टप–बक्सका लागि १ हजार रुपैयाँ मात्र डिपोजिट लाग्नेछ । ग्राहकलाई थप सुविधा दिन भायानेटले डामी एपसँग सहकार्य गरेको छ । यसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसलहरूमा विशेष छुट पाउन सकिनेछ । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनमा लागू हुनेछ । कम्पनीले उच्च गतिको इन्टरनेट, भायाटिभीको मनोरञ्जन र डामी एपको बचत सुविधालाई एकै ठाउँमा समेट्दै 'अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै' भन्ने सन्देश दिएको छ । यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् । नेपालमा उक्त प्रतियोगिताको प्रसारण अधिकार हिमालय टिभीसँग रहेको छ । कम्पनीका अनुसार ग्राहकले प्रतिटिभी ९९९ रुपैयाँ तिरेर कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् । कुपन ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएसलगायत अनलाइन भुक्तानी माध्यममार्फत ‘भायानेट’ खोजी ग्राहक आईडी राखेर खरिद गर्न सकिनेछ । साथै, भायाटिभीमा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन लिन सकिने व्यवस्था गरिएको छ । भुक्तानीपछि ग्राहकले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली खरिद गरिएको कुपन सक्रिय गर्नुपर्नेछ । कम्पनीले एक कुपन एक टिभीमा मात्र प्रयोग गर्न मिल्ने र एकपटक सक्रिय गरिसकेपछि अर्को टिभीमा सार्न नमिल्ने जनाएको छ । थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको कार्यालयमा जान सक्नेछन् ।  

१५० मा नकिनेपछि १ सयमा झारियो सेयर मूल्य, निफ्राबाट बाहिरिँदै आईएमई

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा रहेको आफ्नो सम्पूर्ण संस्थापक सेयर बिक्री गर्दै आईएमई लिमिटेड बैंकबाट बाहिरिने भएको छ । आईएमई लिमिटेडले निफ्रामा रहेको आफ्नो ०.५० प्रतिशत स्वामित्व अन्तर्गत १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको हो । उक्त सेयरको कुल मूल्य १० करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । कम्पनीले यसअघि प्रतिकित्ता १५० रुपैयाँमा सेयर बिक्री प्रयास गरे पनि खरिदकर्ता नपाएपछि मूल्य घटाएर प्रतिकित्ता १०० रुपैयाँमा पुनः बिक्रीमा राखिएको हो । बैंकका अनुसार उक्त सेयर पहिले विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि तोकिएको अवधिभित्र संस्थापकहरूले सेयर खरिद नगरेमा सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने बैंकले जनाएको छ ।

एक्सप्रेस–टीको सर्भिस सेन्टर अब बिहान ७ देखि राति १० बजेसम्म खुला

काठमाडौं । एक्सप्रेस–टी विद्युतीय ट्याक्सी प्रयोगकर्ता तथा चालकहरूका लागि खुसीको खबर छ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ । अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ । यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ । विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै लागू गरिनेछ । यसले एक्सप्रेस–टी प्रयोगकर्तालाई अझ व्यापक र सहज सेवा पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ । यात्रुका लागि आरामदायी तथा चालकका लागि किफायती विकल्पका रूपमा स्थापित हुँदै गएको ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी पछिल्लो समय तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ । उत्कृष्ट ड्राइभिङ अनुभव, कम सञ्चालन खर्च तथा बलियो बिक्रीपछिको सेवा प्रणालीका कारण यो ट्याक्सी धेरै चालक र यात्रुको रोजाइमा परेको छ । हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा सञ्चालन गरिरहेको छ । साथै बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध छन् भने अत्याधुनिक भक्तपुर शोरुमबाट बिक्री सेवा समेत प्रदान भइरहेको छ । एक्सप्रेस–टीले ग्राहकलाई थप निश्चिन्त बनाउन १ वर्षको अटो प्लस गाडी बिमा, ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ  । विस्तारित सर्भिस समयसँगै एक्सप्रेस–टीले विद्युतीय ट्याक्सी प्रयोगकर्तालाई अझ छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।   

सहकारीका १९१ भीआईपी सञ्चालकले लुकाएको सम्पत्ति खोजिँदै

काठमाडौं । समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तिबारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका १९१ जना सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको हो ।   समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’ साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरुले सम्बन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ । यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अध्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।  यी हुन् समस्याग्रस्त २३ सहकारीका सञ्चालक  

संगठन सुदृढीकरणको अभियानमा एमाले, सदस्यता विस्तारका लागि कार्यशाला हुँदै

काठमाडौं । विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राख्दै आजदेखि दुईदिने राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ । सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहान ११ बजेदेखि सुरु हुने केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । पार्टीको सांगठनिक गतिशीलता बढाउने, सदस्यता व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा आगामी राजनीतिक चुनौतीका लागि संगठनलाई तयार पार्ने उद्देश्यसहित कार्यशाला आयोजना गरिएको एमालेले कार्यालय सचिवसमेत रहेका अधिकारीले जानकारी दिए । कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ । दुई दिनसम्म चल्ने कार्यशालामा सदस्यता नवीकरण र विस्तार अभियान, संगठन सुदृढीकरणका रणनीति, प्रविधिमैत्री सदस्यता व्यवस्थापन तथा भावी कार्ययोजनाबारे गहन छलफल हुने जनाइएको छ । कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी संगठनको समग्र अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय सदस्य माधव ढुङ्गेलले सदस्यता नवीकरणको प्राविधिक पक्षबारे कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिएको छ । सहभागीलाई विभिन्न समूहमा विभाजन गरी छलफल, सुझाव सङ्कलन तथा प्रस्तुतीकरण गरिने कार्यसूची रहेको डा. अधिकारीले बताए । कार्यशालाको समापन भोलि बिहीबार महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम छ । एमालेले यस कार्यशालालाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीका रूपमा लिँदै देशव्यापी सदस्यता विस्तार र पार्टी संरचनालाई थप सशक्त बनाउने दिशामा केन्द्रित गरेको जनाएको छ ।

मनसुनजन्य स्वास्थ्य जोखिम सामना गर्न देशभर ‘र्‍यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा

काठमाडौं । मनसुन शुरु हुन तीन हप्ता मात्रै बाँकी रहँदा मौसमजन्य स्वास्थ्य समस्या हुन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका सबै स्थानीय तहहरूमा तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले यस्तो जानकारी दिएका हुन् ।  उनकाअनुसार मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकायहरूसँग समन्वय गरी मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको छ । उक्त कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उनको भनाइ छ । बढ्दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने उल्लेख गर्दै त्यसको प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहेको बताए ।  मनसुनको समयमा खानेपानीका स्रोतहरू दुषित हुनसक्ने, बाढी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुनसक्ने भएकाले स्वास्थ्य चुनौती थप जटिल बन्नसक्ने बताए । यी जोखिमलाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग सहकार्य गरी राष्ट्रिय स्तरमा मनसुन पूर्वतयारी कार्ययोजना लागू गरिसकिएको जानकारी दिए ।  मनसुनजन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । सरकारले मनसुनको समयमा रोग नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको जानकारी दिए ।  व्यक्तिगत सरसफाई, परिवार तथा समुदायको स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाइका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय तहसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालन भइरहेको समेत अधिकारीको भनाइ छ । उनले भने, ‘हामी मनसुन सक्रिय हुने अवस्थामा छौँ । पानी परिरहेको छ । तापक्रम समेत बढ्दै गएकोे अवस्था छ । आद्रता आउँदै गर्दा हाम्रा खानाहर समेत बिग्रिएर खाद्य बिषाक्तता हेन खालका जोखिमहर छन् । हामीले समग्रतामा जनस्वास्थ्यका हिसावले हेर्ने हो भने पानीको संक्रमणको कारण हुने समस्याहरु, किटजन्य संक्रमणको समस्याहरु, तापक्रमका कारणले हुने समस्याहरु आउनसक्ने भएको कारण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनसँग काम गर्ने सम्बन्धीत अरु निकायहरुसँग समन्वय गरेर राष्ट्रिय रुपमै मनसुनको पूर्वतयारी कार्ययोजना बनाएको छ । सहायक प्रवक्ता अधिकारीले नागरिकलाई उमालेर वा शुद्धीकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र सेवन गर्न तथा कुनैपनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।    

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

कास्की । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यस बीचमा रगत अभाव हुनसक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताए । 'रक्त अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छौँ । सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला । यहाँ रगतको माग बढी हुने भएकाले नियमितजस्तो कार्यक्रम हुनुपर्दछ', उनले भने । पोखरा प्रदेश राजधानीसमेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ ।