काठमाडौं । मुख सुक्ने समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन् । तर, पटक–पटक मुख सुक्ने र र्याल कम बन्ने समस्या छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्तो समस्या थाइराइडसँग पनि सम्बन्धित हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन् ।
थाइराइड हर्मोनको स्तर कम वा बढी हुँदा मुखमा र्याल उत्पादन कम हुन सक्ने बताइएको छ । यसका कारण मुखमा सुख्खापन महसुस हुने अवस्थालाई चिकित्सकीय भाषामा जेरोस्टोमिया (ड्राई माउथ) भनिन्छ ।
र्यालले मुखलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले खाना चपाउन र निल्न सहज बनाउनुका साथै खानामा रहेको स्टार्च पचाउन पनि सहयोग गर्छ । र्यालमा पाइने क्याल्सियम र फस्फेटले दाँतलाई बलियो बनाउन तथा दाँतसम्बन्धी समस्याबाट जोगाउन सहयोग गर्ने जनाइन्छ ।
थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिजम नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
थाइराइडबाट उत्पादन हुने टी–३ र टी–४ हर्मोनले र्यालग्रन्थीको कार्यमा पनि प्रभाव पार्न सक्छ । त्यसैले थाइराइड हर्मोनको स्तरमा असन्तुलन हुँदा र्यालको उत्पादन प्रभावित हुन सक्ने बताइएको छ ।
थाइराइड ग्रन्थीले शरीरलाई आवश्यक मात्रामा हर्मोन उत्पादन गर्न नसक्ने अवस्थालाई हाइपोथाइरायडिज्म भनिन्छ ।
यस्तो अवस्थामा शरीरका कोषिकामा ऊर्जा उत्पादन कम हुने र त्यसको प्रभाव र्यालग्रन्थीमा पनि पर्न सक्ने बताइएको छ । यसले र्यालको मात्रा घटाएर मुख सुक्ने समस्या निम्त्याउन सक्छ ।
हाइपोथाइरायडिज्मको सामान्य कारणमध्ये हाशिमोटो थाइरायडाइटिस पनि एक हो । यो एक प्रकारको अटोइम्युन अवस्था हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले थाइराइड ग्रन्थिमाथि नै असर गर्छ । यस्तो अवस्थामा पनि मुख सुक्ने समस्या देखिन सक्ने बताइएको छ ।
थाइराइड अत्यधिक सक्रिय हुँदा अर्थात् हाइपरथाइरायडिज्मको अवस्थामा पनि र्यालको उत्पादन घट्न सक्छ । मेटाबोलिक दर बढ्दा शरीरमा तरल पदार्थ छिटो कम हुन सक्ने भएकाले मुख सुक्ने समस्या देखिन सक्छ ।
यसका साथै हाइपरथाइरायडिज्ममा हुने तनाव र चिन्ताले सिम्प्याथेटिक नर्भस सिस्टम सक्रिय गराउन सक्छ । यसले पनि र्याल उत्पादनमा कमी ल्याउन सक्ने बताइएको छ ।
थाइराइड क्यान्सरको उपचारमा रेडियोएक्टिभ आयोडिन प्रयोग गरिने अवस्थामा र्यालग्रन्थीमा असर पर्न सक्छ । यसका कारण मुख सुक्ने तथा खानाको स्वादमा परिवर्तन हुने समस्या देखिन सक्ने बताइएको छ ।
थाइराइडसँग सम्बन्धित ड्राई माउथको समस्या कम गर्न केही उपाय अपनाउन सकिन्छ ।
धेरै नुनिलो खाना तथा ड्राइ मिटबाट बच्ने ।
तम्बाकु, मदिरा, क्याफिन तथा कार्बोनेटेड पेय पदार्थ कम गर्ने ।
पालुंगो, हरियो सागसब्जी, माछालगायत पोषक तथा आइरनयुक्त खानेकुरा समावेश गर्ने ।
नियमित रूपमा पानी पिउने ।
मुख तथा दाँतको नियमित सरसफाइ गर्ने ।
र्याल उत्पादन बढाउन सुगर–फ्री क्यान्डी प्रयोग गर्न सकिने ।
राति सुत्दा कोठामा ह्युमिडिफायर प्रयोग गर्न सकिने ।
ड्राई माउथको कारण थाइराइडसँग सम्बन्धित भएमा चिकित्सकको सल्लाहअनुसार थाइराइडको औषधि नियमित सेवन गर्नु महत्त्वपूर्ण हुन्छ ।
आवश्यकताअनुसार चिकित्सकले र्याल उत्पादन बढाउने औषधि वा सुगर–फ्री क्यान्डी प्रयोग गर्न सुझाव दिन सक्छन् ।
केही अवस्थामा र्याल उत्पादन बढाउन विद्युतीय स्टिमुलेसन वा अन्य उपचार विधि प्रयोग गर्न सकिने स्रोतमा उल्लेख छ ।
साथै दाँत तथा मुखको स्वास्थ्यमा समस्या आउन नदिन समय–समयमा दन्त परीक्षण गराउनु आवश्यक हुन्छ ।
मुख लामो समयसम्म सुकिरहने, र्याल निकै कम बन्ने वा समस्या निरन्तर बढ्दै गएमा आफै उपचार नगरी चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।