हिमालय उर्जाको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयरमा आवेदन दिन आज भदौ १२ गते अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा आजसम्म आवेदन पाइनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सेयर बराबर नयाँ १ सेयर (१ः१) को अनुपातमा अंकित मूल्य १ सय रुपैयाँका दरले ९९ लाख कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयरबाट संकलन भएको रकम बैंकहरूको ऋणको भुक्तानी गर्ने कम्पनीले बताएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि गत असार २० गते बुकक्लोज गरेको थियो । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि आस्वा प्रणाली र मेरो सेयर एपमार्फत् आवेदन दिन सक्नेछन् । यस्तै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
पुससम्म कर्जाको पुनरतालिकीकरण गर्न पाउने, ऋण तिर्ने अवधि ३ वर्ष
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरूलाई एक पटकको लागि कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा २०८१ पुस मसान्तभित्र पुनरतालिकीकरण वा पुनरसंरचना गरिसक्नु पर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार कर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष कायम थप हुने गरी पुनरसंरचना गर्न सकिनेछ । पुनरसंरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, निष्किृय वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरतालिकीकरण कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन । पुनरसंरचना गरिएका सक्रिय वर्गका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात्मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ । कर्जा, सापट तथा सुविधा रकम नतिरेको कारण कालोसूचीमा राखिएको ऋणीले कर्जा तथा सुविधाको सम्पूर्ण साँवा ब्याज भुक्तानी गरेको खण्डमा निजलाई कालोसूचीबाट हटाउन सम्बन्धित संस्थाले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नु पर्नेछ । साथै यस बैंकको निर्देशनको अधीनमा रही कर्जा पुनरतालिकीकरण र÷वा पुनरसंरचना गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नु पर्नेछ ।
शून्यमा झार्याे काउन्टर साइक्लिकल बफर, बैंकहरूलाई पूँजी कोषको दबाव हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै चालु आर्थिक वर्ष २०८१/८२ को साउन देखि बैंकहरूलाई काउन्टर साइक्लिकल बफर नलाग्ने जनाएको हो । गत आर्थिक वर्षमा बैंकहरूले ०.५ प्रतिशत बफर क्यापिटल समेत गरी ११.५ प्रतिशत कुल पुँजीकोष कायम गर्नु परेको थियो । कुल ग्राह्रास्थ उत्पादनअनुसार कर्जा प्रवाह गर्न पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार काउन्टर साइक्लिकल बफर लगाइएको थियो । अब चालु आर्थिक वर्षमा बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी गरी कुल ११ प्रतिशत पुँजीकोष कायम गरे पुग्छ । साथै २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ ।
युरोको मूल्य हालसम्मकै उच्च, बढ्यो अन्य देशका मुद्राको भाउ
काठमाडौं । बुधबार विदेशी मुद्राको भाउ बढेको छ भने युरोपियन युरोको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज भदौ १२ गते अमेरिकी डलरको खरिददर १३३.९९ रुपैयाँ र बिक्रीदर १३४.५९ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४९.६६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १५०.६६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७.९६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९०.९२ रुपैयाँ र बिक्रीदर ९१.३३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.५१ रुपैयाँ र बिक्रीदर ९९.९६ रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७१ रुपैयाँ र बिक्रीदर ३५.८७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७५ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर ३०.८२ रुपैयाँ र बिक्रीदर ३०.९६ रुपैयाँ तोकिएको छ ।
अवैध रूपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र, दुतावासले सहजीकरण गर्ने
काठमाडाैं । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा जाने प्रवृत्ति बढ्दो छ । सङ्गठित रुपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ । कैयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ । ‘यसैबीच ब्राजिल सरकारले तत्काल लागु हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।’ मानव तस्करको सञ्जाल प्रयोगगरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनु हुन दूतावासले अनुरोध गरेको छ ।
प्रधानमन्त्रीले भने : कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्नुस्
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक गर्नेजस्ता गलत कार्यलाई रोक्न निर्देशन दिएका हुन् । उनले १५ खर्बसम्म राजस्व सङ्कलन हुने अर्थतन्त्रको क्षमता भएकाले लक्ष्यअनुसार सङ्कलन हुन के-के गर्नुपर्छ, त्यसको ठोस योजना ल्याउन आग्रह गरे । छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी थिए ।
सीएफमोटोको एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी नाडा अटो शोमा
काठमाडौं । विश्वभर प्रसिद्ध मोटरसाइकल निर्माता सीएफमोटोले अत्यन्त प्रतिक्षित ४५० एमटिलाई नाडा अटो शो २०२४ मा लन्च गरेको छ । ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरूका लागि एडभेन्चर टुरिङ अनुभवलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने विश्वास कम्पनीले लिएको छ । मोटरसाइकलको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरी देङ, एओलिन बीयू– मार्केटिङ म्यानेजर एण्ड सेल्स म्यानेजर सिएफमोटो चाइना, रोहिन अग्रवाल प्रोप्राइटर ऋषि ट्रेड सेन्टर, उज्वल जोशी जनरल म्यानेजर ऋषि ट्रेड सेन्टर, नाडाले संयुक्त रूपमा गरेका हुन् । यो मोटरसाइकलको मूल्य १२ लाख ४९ हजार ९०० रहेको छ । अत्याधुनिक पावर र पर्फर्मेन्स ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ । स्लिम र आक्रामक डिजाइन ४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ। अत्याधुनिक प्रविधि र सुविधा सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् । सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको छ। बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । आरामदायी र भर्सटाइल टुरिङ एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ। १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।
नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
काठमाडाैं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भ मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर बैंकले यो योजना ल्याएको हो । यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने विश्वास बैंकले गरेको छ । ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहोललाई ध्यानमा राख्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको जनाएको छ । नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।