विकासन्युज

पहिलो महिनामै हेटौँडा उपमहानगरकाे राजस्व संकलन घट्याे

बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ४ करोड ५० लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट १ करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १ करोड १८ लाख ७५ हजार, घरबहाल करबाट ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट ५ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले ४ करोड ७५ लाख ७६ हजार रुपयाँ राजस्व संकलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले बताए । यस्तै, विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०र८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड ७ लाख ६४ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट ७ करोड ३० लाख २८ हजार, घरबहाल करबाट ६ करोड १ लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट ५ करोड २३ लाख ९ हजार, बहाल बिटोरी करबाट २ करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट ३ करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट १ करोड ६ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट ५ लाख ८६ हजार, ढुंगा गिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत ८६ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताए ।

नेपालको हात समातेर पार्टी खोलाएकी रामकुमारी उपाध्यक्षमा पराजित, यी हुन् पदाधिकारीमा निर्वाचित नेता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् । यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव ९दलित० गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयनभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए । गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । नेकपा एमालेबाट विभाजन भएर स्थापना भएको एकीकृत समाजवादी स्थापना ताका निकै चर्चित बनेकी राम कुमारी झाँक्री भने महिला उपाध्यक्षमा पराजित भएकी हुन् । नेकपा एस स्थापना हुँदा उनले माधव नेपालको हात समातेर निर्वाचन आयोग पुगेकी थिइन् ।

सुनको मूल्यमा निरन्तर रेकर्ड, प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम

काठमाडाैं । सुनको मूल्यमा पुन: रेकर्ड कायम भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएकाे छ । मंगलबार प्रतितोला सुनकाे मूल्य १ लाख ५२ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि भदौ ५ गते १ लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । मंगलबार १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।

विदेशी विद्यार्थीलाई अष्ट्रेलियामा थप कडाइ, २२ हजारले रोजगारी गुमाउँदा अर्थतन्त्र ४.१ अर्ब डलरले घट्ने

काठमाडौं । अस्ट्रेलियाले विदेशी विद्यार्थीको संख्यामा कोटा प्रणाली लागु गर्ने भएको छ । विदेशबाट अध्ययनका लागि जाने विद्यार्थीहरूमा अष्ट्रेलियाले .निश्चित संख्या तोकेर कोटा प्रणाली लागु गर्ने तयारी गरेको हो । विगतमा कुनै पनि कोटो प्रणाली नभएपनि विश्वमहामारीका रूपमा फैलिएको कोराना भाइरसपछि अष्ट्रेलियाले कोटा प्रणाली लागु गर्न लागेको हो । यसको मुख्य कारण आप्रवासन संख्या घटाउने रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । हालसम्म विदेशी विद्यार्थीलाई भिसा दिएर पढाउने देशको अग्रस्थानमा अष्ट्रेलिया भएपनि अब सन् २०२५ मा २ लाख ७० हजारलाई मात्रै पढ्नका लागि अनुमति दिने तयारी थालेको अन्तर्राष्ट्रि समाचार एजेन्सीहरूले उल्लेख गरेका हुन् । यस विषयमा अष्ट्रेलियाको सरकारले घोषणा पनि गरिसकेको छ । सरकारको घोषणाअनुसार व्यावसायिक प्रशिक्षण र तालिम दिने संस्थाहरूले विदेशी विद्यार्थी भर्ना गर्न पाउने संख्या घटाएसँगै कोटा प्रणाली लागु गरेको जानकारी दिएको हो । केहीले यो निर्णयको विरोध पनि गरेका छन् । सन् २०२४ को सुरुमा अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अस्ट्रेलियामा सात लाखभन्दा बढी विदेशी विद्यार्थी छन् । अष्ट्रेलियाका शिक्षा मन्त्री जेसन क्लेअरले स्वदेशी शिक्षालाई गुणस्तरी बनाउन यो निर्णय गर्नुपरेको धारणा राखेका छन् । उनले विदेशी सञ्चार माध्यमसँग भनेका छन्, ‘कोभिड महामारीका बेला उच्च शिक्षा नराम्ररी प्रभावित भयो, त्यतिबेला हामीले विदेशी विद्यार्थीलाई स्वदेश फिर्ता पनि गर्यौं, अहिले विदेशी विद्यार्थीको संख्या कोभिड महामारीअघिको तुलनामा १० प्रतिशतले बढी छ, यो घटाउन आवश्यक छ ।’ उनका अनुसार २०२५ मा सार्वजनिक विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्यालाई घटाएर १ लाख ४५ हजार कायम गरिनेछ भने निजी विश्वविद्यालय तथा विश्वविद्यालयबाहेकका अन्य उच्च शिक्षा प्रदायकले ३० हजार विदेशी विद्यार्थी भर्ना गर्न सक्ने छन् । व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने संस्थाहरूमा ९५ हजारको सीमा रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । सन् २०२२/२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा वैदेशिक शिक्षाको हिस्सा ३६.४ अर्ब अस्ट्रेलियन डलर अर्थात् २४.७ अर्ब अमेरिकी डलर थियो । उक्त वर्ष शिक्षा यस देशले निर्यात गरेको चौथो ठूलो वस्तु तथा सेवा बनेको थियो । सिड्नी यूनिभर्सिटीले यस वर्षको सुरुमा तयार पारेको एक प्रतिवेदनअनुसार अष्ट्रेलियाको यो निर्णयले सन् २०२५ मा अस्ट्रेलियाको अर्थतन्त्रमा ४.१ अर्ब अमेरिकी डलर जतिको घाटा हुनेछ भने २२ हजार मानिसले रोजगारी गुमाउने छन् । एजेन्सी 

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकरण भएको छ । मंगलबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनी र सीईडीबी हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार मैलुङ खोलाको २.२२ प्रतिशत बोनस वापतको ८१ हजार ७६८.२४ कित्ता सेयर सूचीकृत भएको हो । यस्तै सीईडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस वापतको ९ करोड २३ लाख ३५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको केही सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुरूले मात्रै आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

जनैपूर्णिमा मेलामा २३८ वटा भेडाको बलि

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको ८ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ । पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको ४ लाख ४९ हजार ६४५ रुपैयाँ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको २ लाख ६८ हजार ८८५ रुपैयाँ र दाताहरुले गरेको १ लाख ३५ हजार रुपैयाँ विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताए । ‘गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा ३ लाख १७ हजार ९५५ रुपैयाँ खर्च भएको थियो, खर्च कटाएर बेचेको ५ लाख ३४ हजार ५७५ रुपैयाँ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ,’ उनले भने । पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ, पाउद्वार माविलाई ७० हजार रुपैयाँ, पाउद्वार आमा समूहलाई ४५ हजार रुपैयाँ, भलिबल खेल कोषमा ३० हजार रुपैयाँ, टोलविकास समितिलाई २९ हजार ५७५ रुपैयाँ, पुख्र्यौली नृत्य समूहलाई ३० हजार रुपैयाँ, खयरभारानी युवाक्बलाई २५ हजार रुपैयाँ, गिबाङ टोललाई २५ हजार रुपैयाँ, पाउद्वार ढल निकासका लागि २५ हजार रुपैयाँ र पाउद्वार स्वास्थ्य इकाइका लागि १० हजार रुपैयाँ सहयोग गरिएको तिलिजाले जानकारी दिए । खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा २३८ वटा भेडाको पाठा र साढेको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढे बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चाँैरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याएको छ ।

कुमारीले घोषणा गर्याे १५ प्रतिशत लाभांश

काठमाडौं । कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १५ प्रतिशतका दरले ६ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले असोज ३ गते छैठौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा कुमारी बैंक टंगालमा साँझ ५ बजे बोलाइएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै स्वतन्त्र सञ्चालक सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।