ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर, कर्जामा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने १ प्रतिशत बढी ब्याज दिनेछ । यसअघि भदौमा पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ । कर्जातर्फ भने बैंकले आधारदरमा ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।
आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
गणित र ग्रहबीच फरक पर्न थाले, अब गणना पद्धति परिवर्तन गर्ने
काठमाडौं । पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ । सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । केतकी ग्रह गणितका आधारमा पञ्चाङ्ग गणना गर्ने कि भन्ने विषयमा समितिले बहस सुरु गरेको उहाँले जानकारी दिए । केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस सुरु भएको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रह गणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताए ।
एनआईसी एशिया बैंकको ब्याजदर घट्यो
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले असोजका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्यानदर तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत ब्याज प्रदान गरेको थियो । बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि भदौमा ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । कर्जाका ऋणीहरूलाई भने बैंकले आधारदर ९.२२ प्रतिशतमा झारेको छ ।
घट्यो पेट्रोल-डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोे मूल्य घटाएको छ । निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतबाट मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाएको निगमको भनाइ छ । निगमले साविकको मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमका अनुसार अब पेट्रोल पहिलो वर्गको प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गको १५८ रुपैयाँ र तेस्रो वर्गको १५९ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गको १४६.५० रुपैयाँ, दोस्रो वर्गको १४८ रुपैयाँ र तेस्रो वर्गको प्रतिलिटर १४९ रुपैयाँमा खरिद बिक्री हुनेछ ।
जनता एग्रोको स्थानीय तहसँग सहकार्य: अर्गानिक उत्पादनमा प्रोत्साहन, निर्यातमा जोड
काठमाडौं । अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले स्थानीय तहसँगको सहकार्यमा विभिन्न कार्यहरू गर्दै आएको छ । संस्थाले स्थानीय तहहरूसँग सहकार्य गरी स्थानीय उत्पादनलाई जोड दिनुका साथै अर्गानिक उत्पादनमा प्रोत्साहन गर्ने किसिमले सहकार्य गर्दै आएको हाे । करिब एक वर्षभन्दा अघिदेखि स्थानीय तहहरूसँग सहकार्य गरेर काम गर्दै आएको सञ्चालक केशव बहादुर रायमाझीले बताए । संस्थाले कृषकहरूलाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उपयुक्त हावापानीअनुसारको बीउ तथा बोटविरुवासमेत उपलब्ध गराउँदै आएको उनी बताउँछन् । ‘हामीले हरेक स्थानमा त्यहाँको हावापानी सुहाउँदो बीउ, बिरुवा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन्, ‘स्थानीय तहले हामीसँग सहकार्य गरेर उक्त बीउ तथा बिरुवा खरिद गर्नुहुन्छ र कृषकहरूलाई उपलब्ध गराउनुहुन्छ ।’ संस्थाले झापा, काभ्रे लगायतका विभिन्न स्थानमा नर्सरीसमेत सञ्चालन गर्दै आएको सञ्चालक रायमाझीले बताए । ‘नर्सरीमा हामीले कफी, लेमन ग्रास, कागती लगायतका बिरुवाहरू उत्पादन गर्छौं र कृषकहरूसम्म पुर्याउँछौं,’ उनले भने । यसरी स्थानीय तहहरूसँग सहकार्य गरी कृषकहरूले उत्पादन गरेको सामान आफूहरूले खरिदसमेत गर्ने गरेको सञ्चालक रायमाझीले बताए । ‘कृषकहरूलाई अर्गानिक उत्पादनमा प्रोत्साहन गर्ने मात्रै होइन, हामीले उहाँहरूले उत्पादन गरेको सामान खरिद पनि गर्छौं,’ उनी भन्छन्, ‘त्यति मात्रै होइन, हामीले उहाँहरूले यसरी उत्पादन गरेको सामानको समर्थन मूल्य सुरुमै तोकेर खरिद गरिरहेका छौं ।’ खरिद गरेको सामान निर्यातसमेत गर्ने गरेको सञ्चालक रायमाझी बताउँछन् । निर्यात हुने सामानहरूमा माटो र आशापुरी गरी दुई ब्राण्डबाट निर्यात भइरहेको उनले जानकारी दिए । ‘माटो र आशापुरी गरी दुई ब्राण्डबाट निर्यात हुन्छ,’ उनी भन्छन्, ‘आशापुरीबाट पूर्ण अर्गानिक सामान मात्रै निर्यात हुन्छ भने माटोबाट अर्गानिकतर्फ जाँदै गरेका तर पूर्ण रूपमा अर्गानिक भइनसकेका सामानहरू पनि यसबाट निर्यात हुन्छ ।’ माटो ब्राण्डका सामानहरू सुरुमा स्वदेशभित्रै खपत गर्ने र बाँकी रहेमा क्यानडा तथा खाडी मुलुकहरूमा निर्यातको लागि तयारी भइरहेको सञ्चालक रायमाझी बताउँछन् । त्यस्तै, उनका अनुसार आशापुरी ब्राण्ड भने पूर्णरूपमा अर्गानिक रहेकोले यूरोप, अष्ट्रेलिया, जापानमा निर्यात हुँदै आएको र खाडी मुलुकमा पनि निर्यातको तयारी भइरहेको छ । त्यति मात्रै होइन, संस्थाले कृषकहरूले उत्पादन गरेको स्थानीय उत्पादनलाई प्रशोधन गर्नको लागिसमेत सोही स्थानीय तहसँगको सहकार्यका प्रशोधन केन्द्रको स्थापना गर्ने उनले बताए । उनी भन्छन्, ‘प्रशोधन केन्द्र स्थापना गर्दा स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारीकरण गर्न पनि सहज हुने भयो । साथै युवाहरूले रोजगारी पनि पाउने भए ।’ संस्थाले सहकार्य गरेको स्थानीय तहहरूबाट सम्झौता अनुसारको उत्पादन मात्रै खरिद गर्ने गरेको सञ्चालक रायमाझी बताउँछन् । ‘लमजुङमा हामीले भर्खरै सहकार्य गरेका छौं, त्यहाँ उत्पादन हुने सिस्नाे, माैरीको महजस्ता उत्पादनलाई हामीले विशेष प्राथमिकता दिएका छौं,’ उनी भन्छन्, ‘हामीले हरेक स्थानीय तहसँग सहकार्य गर्दा स्थानीय उत्पादनलाई जोड दिँदै आएका छाैं । ‘ पछिल्लो समय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको छ । सोहीअनुसार नयाँ उद्यमीहरूको उत्पादन, स्वउद्यमशीलताको विकास तथा बिस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि प्रशोधन क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै कृषि तथा वन पैदवारसँग सम्बन्धित लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायहरूको विकास, विस्तार गर्दै औद्योगिक एवं आर्थिक क्रान्तिको आरम्भ गर्ने र देशको अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउँछन् । अधिकारीका अनुसार देशको कुल जनसंख्याको दुई तिहाई कृषि क्षेत्रमा निर्भर रहेको र कुल गार्हस्थ उत्पादनमा समेत महत्त्वपूर्ण योगदान दिँदै आएको यथार्थता, कृषिलगायत अन्य क्षेत्रमा देखिएको प्रचुर सम्भावना, आवश्यक जनशक्तिको पर्याप्तता र सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने सम्भावना देखेर समझदारी गरिएको हो । संस्थागत एवं संयुक्त दायित्वहरू पुरा गर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरी सहकार्यलाई अगाडि बढाइने रायमाझीले जानकारी दिए । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नयाँ उद्यमी तथा स्वउद्यमशीलताको विकास एवं विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्यसमेत यस संस्थाले लिएको छ । संस्थाले कुनै पनि स्थानीय तहसँग सहकार्य गर्दा उद्यमशीलता विकास तथा विस्तारका लागि उपयुक्त वातावरण सृजनामा सहयोग गर्ने, तोकिएका कृषि क्षेत्रको सम्भाव्यताको अध्ययन तथा अनुसन्धान गरी तथ्य तथ्यांकहरू संकलन गर्ने, नयाँ उद्यमीहरूको उत्पादन, विकास एवं विस्तार गर्ने, लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय स्थापना, विकास तथा बिस्तारमा सहजीकरण गर्ने, रोजगारीको अवसरहरू सृजना गर्ने जस्ता कार्यमा सहकार्य गर्ने गरेको छ । त्यस्तै, आवश्यक सीपमूलक तालिम सञ्चालन गरी विशेषतः महिला तथा युवालाई सक्षम बनाउने, व्यवसाय सञ्चालनका लागि आवश्यक जग्गा, लगानी, औद्याेगिक यन्त्र, मल, बीउविजनलगायतका आवश्यक सामाग्रीहरूको उपलब्धतामा सहजीकरण गर्ने, उत्पादन तथा बजार व्यवस्थापनमा सहयोग पुर्याउने, वार्षिक रूपमा मूल्यांकन गरी पृष्ठपोषण गर्ने, व्यवसाय प्रवर्द्धन तथा बिस्तारमा सहयोग पुऱ्याउने लगायतको कार्यमा समेत सहकार्य गर्दै आएको छ । अध्यक्ष अधिकारीका अनुसार परियोजनाले विपन्न तथा पिछडिएका वर्ग, युवा तथा महिला, वैदेशिक रोजगारबाट फर्केका जनशक्तिलाई लक्षित वर्गको रूपमा लिएको छ ।
दशैं खर्च जुट्यो, सेयरधनी मख्ख
काठमाडौं । दशैं आउन अब तीन साता बाँकी छ । बजारमा दशैंको चहलपहल बढिसकेको छ । परदेशमा रहेकाहरू स्वदेश फर्किने सुरसार गर्दैछन् । सहर पसेकाहरू गाउँ फर्किने दिन गन्दैछन् । मौसमले दशैंको झ–झल्को दिइरहेको छ । उद्योगी व्यवसायी र व्यापारीहरूले दशैंको अवसर पारेर नयाँ व्यवसाय गर्ने, व्यवसाय विस्तार गर्ने तथा विभिन्न स्कीमका योजनाहरू सार्वजनिक गरिरहेका छन् । विभिन्न कम्पनीका सेयरधनीहरू आफ्नो कम्पनीबाट लाभांश पाइने आशा गरिरहेका छन् । कम्पनीले ‘लाभांश देला र दशैंमा खर्च जुटाउँला’ भन्ने विश्वास धेरै लगानीकर्ता र सेयरधनीको छ । दशैंको माहोलमा धेरैले दिल खोलेर खर्च गर्छन्, घुम्छन् र रमाइलो गर्छन् । त्यसैले पनि लगानी गरेको ठाउँबाट प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक हो । यो दशैंमा पनि एक दर्जन पब्लिक कम्पनीका सेयरधनी मख्ख छन् । कम्पनीले लाभांश घोषणा गरेपछि धेरै सेयरधनीहरू खुसी भएका छन् । लगानीकर्ता माधव खनाल आफूले लगानी गरेको कम्पनीबाट दशैं अगाडि नै लाभांश वितरण गर्दा खुसी व्यक्त गर्छन् । उनी आफूले लगानी गरेका अन्य कम्पनीबाट पनि छिट्टै प्रतिफल दिनेमा आशावादी छन् । ‘गत वर्षको भन्दा यसपटकको दशैं खर्च बढी जुटेको छ, मैले लगानी गरेका केही कम्पनीले दशैं अगाडि नै लााभांश दिने भए,’ उनले खुसी हुँदै भने, ‘तर सबै कम्पनीले दशैं अगाडि नै लाभांश दिएको भए अझै खुसी हुन्थें ।’ धेरैले दशैंमा घर बनाउने तथा गाडी खरिद गर्ने काम गर्छन् । त्यसैले पनि लगानीकर्ता तथा सेयरधनीले दशैं अगाडि नै लाभांशको अपेक्षा गर्छन् । अन्य लगानीकर्ताहरू पनि दशैंसम्म लाभांश पाउन सके सन्तुष्ट बन्न सकिने धारणा राख्छन् । उसो त लाभांश घोषणा गरेपछि पनि वितरणसम्म लामो प्रक्रिया गर्नुपर्ने हुन्छ । सबै कम्पनीले असोजमा साधारणसभा सम्पन्न गर्न सक्दैनन् । सञ्चालक समितिले लाभांश घोषणा गरेदेखि नियामकले स्वीकृत गर्दासम्म धेरै लामो समय लाग्छ । त्यसपछि साधारणसभा बोलाउनु पर्ने हुन्छ । हालसम्म एक दर्जन सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् । वाणिज्य बैंकहरूमा एभरेष्ट बैंकले दशैं अगाडि नै सेयरधनीलाई लाभांश बाँड्ने भएको हो । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले ३०औं वार्षिक साधारणसभा असोज २० गते बिहान ११ आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा डाकेको छ । बोनस सेयर सूचीकृत हुन समय लाग्ने भएपनि नगद लाभांश भने दोस्रो दिन नै सेयरधनीको खातामा जम्मा गर्ने बैंकले जनाएको छ । बैंकको लाभांश प्राप्त गर्न असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ सेयरधनी बन्नुपर्नेछ । किनभने साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस्तै, कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी १८औं वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिने जनाएको छ । साधारणसभा आह्वान हालसम्म नगरेपनि यस बैंकका सेयरधनी भने मख्ख बनेका छन् । यस्तै, ओरियण्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा २७औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश आगामी २४औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभा असोज १६ गते बिहान ११ बजे नयाँ बानेश्वर, काठमाडाैंमा बस्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज २ गते बुक क्लोज तोकेको छ । त्यसैले असोज १ गतेसम्म कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन् । यस्तै, माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १३औं वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन् । कम्पनीको साधारणसभा १४ गते नयाँबजार, काठमाडौंमा बिहान १० बजे बस्नेछ । भदौ ३० गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्नेछन् । अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २१औं वार्षिक साधारणसभाले पारित गरेपछि कम्पनीका सेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन् । तर, कम्पनीले साधारणसभा भने हालसम्म बोलाएको छैन । सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (करसहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश आगामी १०औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । तर, कम्पनीले साधारणसभा भने हालसम्म आह्वान गरेको छैन । सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ९३ करोड १७ लाख रुपैयाँको ११ प्रतिशतका दरले १० करोड २४ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २१ गते बिहान १० काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ । असोज ७ गतेसम्म सेयरधनी बने उक्त बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले हालसम्म साधारणसभा भने डाकेको छैन । नेपाल ल्यूव आयलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न असोज १८ गते बिहान साढे ११ बजे ललितपुरमा ३३औं वार्षिक साधारणसभा बोलाएको छ । असोज २ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । म्युचुअल फण्ड २१ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्नेछन् । ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ का इकाईधनीहरूलाई ५ प्रतिशत, एनआइएमबि एस क्यापिटलले एनआईविएल ग्रोथ फण्डका इकाईधनीलाई नाफाबाट करसहित ६.३५ प्रतिशत र सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूलाई ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशतका दरले ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यस्तै, आरबीबी मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई ३.८१ प्रतिशतका दरले ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८.७४ प्रतिशतका दरले ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सानिमा क्यापिटलले गत वर्षको नाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत प्रतिफल अर्थात् नगद लाभांश वितरण गर्ने भएको छ । कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । लक्ष्मी सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । यस्तै, लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया सेलेक्ट-३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट इकाईधनीहरूलाई इकाई पुँजी ६२ करोड ४३ लाख १२ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले ३ करोड १२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै, नबिल ब्यालेन्स्ड फण्ड २ इकाईधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रतिफल प्रयोजनार्थ असोज ११ गते एकदिनका लागि बुक क्लोज तोक्ने निर्णय गरेको छ ।
प्रभु बैंकले गण्डकी प्रदेशमा खोल्यो शैक्षिक केन्द्र, विद्यार्थीहरूले कर्जा पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न गर्न चाहनेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहजरूपमा उपलब्ध गराउने उद्देश्यले एजुकेशन हव खाेलेकाे हाे। विद्यार्थीहरूको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भूमिकालाई मध्यनजर गर्दै प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्त विभाग स्थापना गरेकाे हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरू विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ । सीमित वित्तीय स्रोत-साधनका कारण उच्च शिक्षा प्रदान गर्नबाट वञ्चित रहेको समसामयिक परिप्रेक्ष्यलाई मध्यनजर गरी छिटो छरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने हेतुले एजुकेशन हव खाेलिएकाे हाे । शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैंकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ । बैंकको गण्डकी प्रदेशअन्तर्गत ५५ वटा शाखा कार्यालय सञ्चालनमा छन् । प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।