टिएमएसमा समस्या आउँदा सेयर बजार प्रभावित
काठमाडौं । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम-नट्स) मा पहुँच पुर्याउनका लागि ब्रोकरहरूले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डिएनए) लगइन हुन नसक्दा समस्या देखिएको हो । यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखियो भन्ने अझै खुलेको छैन । साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरूको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे । ‘बिहान डिएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ । त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौं । यस विषयमा थप जानकारी लिइरहेका छौं,’ पराजुलीले भने। ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिँदा आज बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए । के-कस्तो प्राविधिक समस्याका कारण टिएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरूलाई डिएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ । ब्रोकर कम्पनीलाई डिएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली (नेटवर्क) मा समस्या देखिएका कारण केहीबेर डिएनए लगइन हुन नसकेको बताए । ‘बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जसकारण कनेक्सनमा समस्या देखिएको हो । अहिले समस्या समाधान भइसकेको छ,’ उनले भने । अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरूको टिएमएस प्रभावित भएको आचार्यको भनाइ छ । आजको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभई सामान्य प्राविधिक समस्याका रूपमा बुझ्न आचार्यले आग्रह गरे । धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरुको लापरबाही मात्र नभइ नियामकको पनि गम्भीर त्रुटी देखिएको जानकार बताउँछन् । नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरूले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आवद्ध हुनेगरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ । तर धितोपत्र कम्पनीहरूले भने तेस्रो पक्षको कम्पनीका रूपमा वाइकोमार्फत सेवा लिइरहेका छन् । त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण (स्टोरेज) क्षमता, सुरक्षा व्यवस्थापन (फायरवाल), नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन । नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनैपनि जानकारी नआएको बताउनुभयो । नेप्सेले धितोपत्र दलालहरुलाई आफै डाटा सेन्टर राख्न, प्रावधिक जनशक्ति राख्न भनेपनि धितोपत्र दलालहरुले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन् ।
मर्मतसम्भारको अभावमा वायु ऊर्जा आयोजना अलपत्र, एक करोडभन्दा बढीको लगानी
फाइल तस्बिर । कुश्मा । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा कराेडाैं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । केन्द्र विसं २०६० मा स्थापना भएको थियाे । टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ । फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौं घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताए । त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उनले बताए । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए । संयुक्तराष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक ‘रिपोर्ट’अनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताए । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताए । रासस
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश
संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्दै समितिका सभापति सूर्यबहादुर थापा । काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन, २०८१ पेश गरेका हुन् । विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सोको छानबिन गर्नका लागि भन्दै प्रतिनिधिसभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानविन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताए । उनले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए। प्रतिवेदनसभामा पेश भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए । उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’ याे पनि पढ्नूहाेस्: सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ अर्ब ऋण देखियो : सभापति थापा याे पनि: सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी
ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई मन्त्री पौडेलको आह्वान
बुटबल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ७१औं साधारणसभाको साेमबार बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताए । उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी–व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गरे । मुलुकका दुई ठूला पार्टी नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको समीकरण र सहयात्राले निरन्तरता पाउनेसमेत उनको भनाइ थियो । ‘वर्तमान समीकरण र सहयात्रा बाँकी कार्यकाल वा पूरा अवधिसम्म जान्छ, राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान केन्द्रित रहेको छ,’ उपप्रधानमन्त्री पौडेलले भने । सरकार जनताका समस्या समाधान गरेर अघि बढ्ने बताउँदै आशातीत भएर लगानी गर्न उद्योगीलाई आग्रह गर्दै उनले सरकारले व्यावसायिक समस्या समाधान गर्न नीतिगत स्थिरता कायम हुनेगरी काम गरिरहेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे। अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएको प्रतिकूलतालाई अनुकूल बनाउन प्रयत्नशील रहेको बताए । उनले विकास र समृद्धिका लागि राष्ट्रिय र स्थानीय अभिभारा पूरा राष्ट्रिय रूपमा निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रयत्नरत रहेको स्पष्ट पारे । ‘निजी क्षेत्रसँग संवाद र आशा बढेको छ । निराशा र प्रतिकूलताको ओरालो यात्रा रोकिएको छ,’ उनले भने, ‘निराश हुने हैन, आशावादी र समस्या समाधान हुन्छन् भनेर अघि बढ्ने हो । सरकारले सोहीअनुसारका काम गरिरहेको छ ।’ अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनेगरी काम गरिरहेको जानकारी दिए । उनले राजनीतिक अस्थिरताकै कारण बुटवलको मोतिपुर औद्योगिक क्षेत्रले सही रूपमा आकार ग्रहण गर्न नसकेको उल्लेख गरे । ‘औद्योगिक क्षेत्रको काम रोकिएको नभएर केही विलम्ब मात्र भएको हो । अब समस्या नभएका जग्गाका प्लट बनाएर निजी क्षेत्रलाई वितरण गर्ने गरी काम अघि बढाउने सरकारले आवश्यक काम गरिरहेको छ । निर्माणाधीन बुटवल–नारायणगढ र बुटवल–चनौटा सडक विस्तार, तिनाउमा सिग्नेचर ब्रिज, सिद्धबाबा सुरुङ मार्गको निर्माण सम्पन्न र गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनपछि रुपन्देही देशकै आर्थिक केन्द्र बन्ने विश्वास लिएका छौं,’ अर्थमन्त्री पौडेलको भनाइ थियो । यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले पनि रुपन्देहीको विकासमा टेवा पुर्याउने उनले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न नसकेको बताए । उनले वर्तमान सरकार गठनपछि निजी क्षेत्रका समस्या सुन्ने र आवश्यक छलफल गरेर समस्या समाधनका लागि पहल गर्नु सकारात्मक भए पनि लगानी गर्दा कानुनी अप्ठ्यारा र झन्झट फुकाउन सरकारलाई आग्रह पनि गरे । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर उपमहानगर अघि बढेको बताए । उनले उपमहानगरले लगाउने कर निजी क्षेत्रसँगको छलफलबाट निर्णय गर्ने गरिएको समेत जानकारी गराए ।
सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ करोड ऋण देखियो : सभापति थापा
काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिका अध्यक्ष सूर्य थापाले सहकारीबाट गोरखा मिडियामा ८५ करोड ऋण प्रवाह भएको देखिएको बताएका छन् । सोमबार संसदमा समितिले तयार पारेको प्रतिवेदन तयार पार्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी क्षेत्रमा सबै ‘फेक’ रहेको धारणा राखेका छन् । ‘ उनले भने, ‘सहकारीमा विवाह फेक, सम्बन्ध विच्छेद फेक अंशवण्डा, साधारणसभा, प्रतिवेदन, सेयरसदस्य, ऋणी, बैंक खाता, आश्वासन फेक र बचन सबै फेक देखियो । सहकारीहरू सहकारीको सिद्धान्त र मूल्य मान्यताअनुसार चलेका छैनन् ।’ सांसद थापाले छानबिनको क्रममा सरकारलाई निर्देशन दिएपनि विदेशमा फरार रहेका २९ जनाको बयान लिन नसकिएको गुनासो गरे । उनले तीन महिनाको अवधिमा कुल ६६ वटा बैठक गरेर ४५१ व्यक्तिसँग बयान तथा छलफल गरेको बताएका छन् । उनले सहकारीको बचत ठगीको आरोप लागेका १४ वटा सहकारीका ४७ वटा आरोपितसँग बयान लिएको जानकारी गराएका छन् । उनले बचत तथा ऋणसँग सम्बन्धित सहकारीमा बढी समस्या देखिएको बताए । यस्तै, उनले बैंक तथा वित्तीय संस्थाले ऋण रकमै धितो लिलाम गरेको देखिएको पनि बताएका छन् । उनले छानबिनमा आएका सहकारीको कुल सम्पत्ति ८२ अर्ब, दायित्व ८७ अर्ब र ऋण ५३ अर्ब बराबर रहेको जानकारी दिए । उनले समितिले सहकारीको नियामनमा १४ वटा सुझाव, बचत सुरक्षणसम्बन्धि ६ वटा सुझाव सार्वजनिक रूपमा प्रश्न उठेका सहकारी सम्बन्धि ८ वटा सुझाव उल्लेख गरेको पनि जानकारी दिए । याे पनि पढ्नूहाेस् : सहकारी छानबिन समितिको प्रतिवेदन पारित, ४० सहकारीको ८६ अर्ब ठगी
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम गर्दिनँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार प्रतिनिधिसभा बैठकमा संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने विषयमा जानकारी गराउँदै । तस्बिरः रत्न/रासस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा आफूूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा साेमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने उल्लेख गरे । उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने बताए । ‘विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्या जे छन् र हाम्रो प्रयासमा अपुुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसङ्घमा राखिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल असल छिमेकीसम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छाैं । छैन कसैसँग शत्रुुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोंच हुनेछ ।’ प्रधानमन्त्री ओलीले आफूहरुले देश र जनताको लागि राजनीति गर्ने, आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युुचर समिट’ मा सम्बोधन गरी मानवजाति र धर्तीको सुरक्षा, हिमाल र समुुद्रको ‘इको–सिस्टम’बारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने अवगत गराउँदै हिमाल पग्लिएर समुद्रको सतह वृद्धि भएको बताए । उनले अमेरिकामा रहँदा न्यूर्याेकस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हवार्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट गरे ।
वृद्धवृद्धाको संख्या बढ्दै जापानमा, घट्दै श्रम शक्ति
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् । विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ । इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् । दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ । जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ । जापानको सरकारी तथ्यांकअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ । आइतबारको तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् । जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन । रासस
असोज २ गते सार्वजनिक बिदा
विराटनगर । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको निर्णय अनुसार सो समुदायको चाड करम पूजाको अवसरमा कोशी प्रदेशभर बिदा दिने निर्णय भएकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले जानकारी दिए ।