विकासन्युज

नेशनल लाईफले अभिकर्तालाई गर्यो सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य भएका १५० जना भन्दा बढि अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले मधेश प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउँदै यसमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता समेत व्यक्त गरे । साथै, सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार मधेश प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको जानकारी गराए । सम्मानित बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

साउनमा बढी नाफा गर्ने टप बैंक बन्यो ग्लोबल आइएमई, नबिललाई पछ्याउँदै कृषि विकास

काठमाडौं । वाणिज्य बैंकहरूले साउनमा ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिनामा बैंकहरूले सो नाफा गरेका हुन् । तथ्यांकअनुसार सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले गरेको छ । ग्लोबलले साउनमा ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, नाफा बढी गर्ने बैंकको दोस्रो स्थानामा नबिल बैंक रहेको छ । नबिलले साउनमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक नाफा बढी गर्ने बैंकको तेस्रो नम्बरमा छ । कृषि विकास बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख, एनआइसी एसियाले २६ करोड ६० लाख, नेपाल बैंकले २२ करोड ३० लाख र माछापुच्छ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।

लघु कम्पनीलाई पनि मोटर तेस्रो पक्षको पुल प्रणालीमा समावेश गर्ने तयारी

काठमाडौं । मोटर बीमाको तेस्रो पक्षको पुल प्रणालीमा लघु बीमा कम्पनीलाई पनि समावेश गर्ने तयारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघु बीमा कम्पनीलाई पनि तेस्रो पक्षको पुल प्रणालीमा समावेश गर्ने तयारी भएको जानकारी दिए । हाल मोटर बीमाअन्तर्गतको तेस्रो पक्ष बीमामा पुल प्रणाली लागू छ । जहाँ ठूला निर्जीवन बीमा कम्पनीमात्र प्रणालीमा समावेश छन् । हाल नेपालमा ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । उनीहरूले ५० लाख रुपैयाँ सम्मको बीमा गर्न पाउँछन् । तेस्रो पक्ष बीमा भने उनीहरूले पनि ठूला निर्जीवन कम्पनी सरह नै गर्न पाउछन् । तर, उनीहरू अहिले पुल प्रणालीमा समावेश छैनन् । उनीहरूलाई पनि सोही पुलमा समावेश गर्ने गरी छलफल भइरहेको अध्यक्ष सिलवालले बताएका छन् । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघ, प्राघिकरण र लघु निर्जीव बीमा कम्पनीबीच यसबारेमा छलफल भइरहेको उनले बताए । मोटर तेस्रो पक्षको पुलको मोडालिटी पनि केही परिवर्तन गर्ने तयारी भएको उनले उल्लेख गरे ।

सामाजिक सञ्जालबाट मानव बेचबिखन बढ्दै, शिक्षित महिला पनि जोखिममा

राँझा । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्याउने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला बताउँछन् । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिला मात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । ग्रामीण क्षेत्रका अधिकांश महिलाले ‘फेसबुक’भन्दा ‘इमो’ बढी चलाउने गरेका छन् । ‘फेसबुक र ‘म्यासेन्जर’भन्दा इमोमार्फत कुराकानी गर्न सहज हुन्छ, जोखिममा रहेर उद्धार गरिएका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन्’, कोइरालाले भने, ‘दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।’ मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोलगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ । छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बहानामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला अहिले मोबाइल फोन, फेसबुक मानव बेचबिखन तथा ओसारपसारको गतिलो माध्यमका रुपमा प्रयोग भएको बताउँछन् । सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमोमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्नेजस्ता जोखिमहरु देखापर्न थालेका छन् । बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ । ‘कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरुलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो मुलुक लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे । अहिले त्यसको स्वरुपमा परिवर्तन आएको छ, शैली फेरिएको छ, जोखिम बढेको छ’, कोइरालाले भने, ‘मानव बेचबिखन पहिलेको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । मानव बेचबिखन हुने सङ्ख्या मात्रै नभई शैली पनि बढ्न थालेका छन् ।’ केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिलाहरु पनि बेचबिखनको जोखिममा पर्न थालेको कोइरालाको भनाइ छ । मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग तीव्र रुपमा बढिरहेको छ । विशेषगरी किशोरावस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन् । सामाजिक सञ्जालबाट सम्बन्ध विस्तार पछिल्लो समय धेरै प्रयोगमा आएको सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सम्बन्ध विस्तार गरी महिलाहरु बेचविखनको जोखिममा पर्ने गरेका छन् । टिकटकको माध्यमबाट चिनजान र कुराकानी भई घरबाट हिँडेका घटनामा जोखिम बढी पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले बताए । माइती नेपालले यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका किशोरीलाई उद्धारसमेत गरेपछि टिकटक पनि बेचबिखनको माध्यम बनेको खुलेको हो । गत आर्थिक वर्षमा मात्रै २० भन्दा बढी महिला सामाजिक सञ्जालमै चिनजानको भरमा भारत जान लागेका महिलालाई सीमा नाकाबाट फर्काइएको माइती नेपाल नेपालगञ्जले जनाएको छ । ‘सामाजिक सञ्जालमा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेका छन् । अझ अहिले बेचबिखनमा टिकटकको प्रयोग चुनौतीपूर्ण देखिन थालेको छ’, बेचबिखनमा आएको परिवर्तित शैलीबारे संयोजक कोइरालाले भने, ‘सामाजिक सञ्जालको दायरा फैलिएको छ । फेसबुक, ह्वाट्स एपपछि अहिले मानव बेचबिखनमा टिकटकको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले अशिक्षित र गाउँका महिला मात्रै होइन शिक्षित र सहरिया महिलाहरु पनि जोखिममा छन् ।’ राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेको पाइएको उनको भनाइ छ । माइती नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा भारत जान लागेका ५२६ महिलालाई नेपालगञ्जस्थिच नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकाबाट उद्धार गरेको छ । पश्चिम नेपालका पहाडी जिल्लाबाट मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धार गरी आवधिक गृहमा परामर्श गरी घर फिर्ता पठाइएको संस्थाका संयोजक कोइरालाले बताए । उद्धार गरिएकामध्ये ५११ जनालाई माइती नेपालले वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्नसक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराएको छ । हराएको भनी माइती नेपालमा ५८७ जनाको खोजतलासको निवेदन परेकामा २९५ जना फेला परेको बताइएको छ । नयाँ शैलीले बढ्दो जोखिम  मानव बेचबिखन तथा ओसारपसारमा प्रयोग भएको नयाँशैलीले रोकथाम अभियान चुनौतीपूर्ण बन्दै गएको मानव बेचबिखनविरुद्ध काम गरिरहेका संघसंस्थाका प्रतिनिधिको भनाइ छ । मानव दलालहरुले अपनाउने फरक–फरक शैलीले जोखिम बढ्दै गएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी बताउँछन् । ‘वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुगेका कारण श्रम शोषण, यौनशोषण हुने काममा लगाउने गरेका धेरै घटनाहरु छन्’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथीसँग कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु देखापर्न थालेको छन् ।’ उनका अनुसार विगतमा अशिक्षित र गाउँका महिलाहरु बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र सहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरु बढेका छन् । आफू जोखिममा पर्दैछु भन्ने थाहा भए पनि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरुलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको छ । ग्रामीण नाका प्रयोग गर्दै मानव दलाल  बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध संस्थाहरुको निगरानी बढेपछि दलालले ग्रामीण क्षेत्रका नाका प्रयोग गर्ने गरेको पाइएको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखनविरुद्ध संघसंस्था र सुरक्षा निकायको सक्रियता बढेपछि मानव दलालले नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा रहेका ग्रामीण नाका प्रयोग गर्न थालेको मानव बेचबिखनविरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधिले जनाएका छन् । मानव बेचबिखनविरुद्ध बाँकेमा क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहले मात्रै ग्रामीण नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका महिलालाई उद्धार गरेको छ । जानकी गाउँपालिकाको शिवपुरी नाका, डडुवाको खडैंचा नाका, नरैनापुरको सुइया नाका र कोहलपुर बसपार्कबाट समेत उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए । ‘हरेक दिनजसो मानव तस्करले समय परिस्थितिअनुसार प्रविधिको प्रयोगदेखि विभिन्न उपाय अपनाउने गरेको पाइएको छ’, सुवेदीले भने । पछिल्लो पटक जमुना नाकामा संघसंस्थाको निगरानी बढेपछि ग्रामीण नाका प्रयोग गर्न थालेको पाइएको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा विभिन्न माइती नेपाल, साथी संस्थालगायतका विभिन्न आठ संस्थाले मानव बेचबिखनविरुद्ध परामर्श केन्द्र सञ्चालन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रमा रहेका नाकामा मानव बेचबिखनविरुद्धको अभियान र रोकथामका गतिविधि न्यून छन् । ‘सबैभन्दा बढी मानवबेचबिखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ वर्षको रहेको तथ्यले देखाएको छ’, शान्ति पुनःस्थापना गृह, बाँकेकी संयोजक सुवेदीले भने, ‘नयाँ नयाँ ढंगले मानव बेचबिखनको प्रयास हुने गरेको छ ।’ नक्कली प्रेम, झुटो विवाह र रोजगारीको प्रलोभनमा महिलाहरुलाई दलालले फसाउने गरेको पाइएको उनको अनुभव छ । बाँकेमा मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने पाइएको सुवेदीले बताए । मानव बेचबिखनका घटना बढ्दो  मानव बेचबिखनका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । बढ्दो विलासिताप्रतिको आकर्षण, सञ्चार प्रविधिको दुरुपयोग र असुरक्षित बसाइँसराइका कारण मध्यम वर्गका व्यक्ति बेचबिखनमा पर्ने गरेको पाइएको छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिला जानाजान जोखिम मोल्न तयार हुने गरेको शक्ति समूहकी क्षेत्रीय अधिकृत निर्मला पौडेलले बताए । उनले मानव बेचबिखनविरुद्ध कुनै एक व्यक्ति वा एक संस्थाले मात्र प्रयास गरेर नहुने भएकाले समाज, प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । मानव बेचबिखनविरुद्धको जिल्लास्तरीय समितिका संयोजक एवम् बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई रोक्न समाजमा जनचेतना बढाउनाका साथै रोजगारका अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिंँदै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नुपर्ने बताए । रासस

सहकारी ठगी प्रकरणमा रवि भन्छन्- संलग्नता नभएको पुष्टि भइसक्यो

काठमाडौं । संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको छ । सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकाल्दै चार जनालाई कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ प्रतिवेदनमा कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुने उल्लेख छ । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकम जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले भने आफू संलग्न नरहेको पुष्टि भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले सहकारी रकम अपचलन भएका सबैलाई न्याय दिने बताउँदै आफू सरकारमा हुँदा सोही प्रयास गरेको पनि बताए । याे पनि पढ्नूहाेस् : सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश सहकारीमा सबै ‘फेक’, गोरखा मिडियामा सहकारीको ८५ करोड ऋण देखियो : सभापति थापा

नेपालको भूपरिवेष्ठित र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर चुनौती : भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले न्यून उत्पादकत्व र कमजोर प्रतिस्पर्धाको समस्या समाधान गर्न नेपालले विदेशी लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र व्यापार बिस्तारमा ध्यान दिन जरुरी रहेको बताएका छन् । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा काउन्सिल)को सोमबार काठमाडौंमा सातौं सम्मेलनको उद्घाटन समारोहमा उनले व्यापार सहजीकरणमा वृद्धि गरी नेपाली वस्तुको बजार पहुँचमा सुधार हुने अपेक्षा गरे । ‘नेपालको भूपरिवेष्ठित स्थिति र आर्थिक स्थितिले अन्तर्राष्ट्रिय व्यापारमा केही गम्भीर चुनौती निम्त्याएको छ,’ उनले भने । दुवै देशका व्यापारिक समुदायबीच प्राविधिक सहयोग, क्षमता निर्माण र सहयोग बढाउन महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो । ‘यी क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाको सहयोग अमूल्य हुनेछ, किनकि हामी हाम्रो व्यापार सम्बन्ध बढाउन र पारस्परिक ‘ड्राइभ’ गर्न प्रयास गर्दछौं,’ उनले भने । बैठकलाई सफल तुल्याउन अमेरिका सरकार र काठमाडौंस्थित अमेरिकी राजदूतावासको अटुट सहयोग र प्रतिबद्धताप्रति उनले कृतज्ञता व्यक्त गरे । ‘नेपालको व्यापार र लगानीसम्बन्धी यस महत्त्वपूर्ण संवादका लागि हामी एकसाथ आउँदा सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट बाहिरिने र हाम्रो प्राथमिकता प्राप्त बजार पहुँचका लागि सम्भावित प्रभावबारे विचार गर्नु जरुरी छ । हामी हाम्रो व्यापारको गतिलाई कायम राख्नका लागि बजार पहुँचको विस्तार र वैकल्पिक उपायको विस्तारका लागि अमेरिकी समर्थन चाहन्छौं,’ मन्त्री भण्डारीले भने । उनले सम्मेलन दुई देशबीच जारी संवाद र सहकार्यमा महत्त्वपूर्ण हुने बताए । सो कार्यक्रममा अमेरिकी व्यापार प्रतिनिधिमण्डलका सदस्यले दुई देशबीचको व्यापार सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।

जाम्बियाले नेपालमा खानी उत्खनन गर्न प्राविधिक भित्र्याउने

काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरू र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रूपमा लगानी गर्ने प्रस्ताव राखेका थिए । यसैगरी, उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए । साथै आफूहरूको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न  तयार रहेको बताएका थिए । नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यावसायीक समझदारीपत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्तावसमेत राखेका थिए । जाम्बियाको लगानीकर्ताहरू नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोहीअनुरूप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफूले सहजकर्ताको रूपमा काम गरिदिन प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । जाम्बियाको नेपालको लागि गैरआवासीय राजदूत प्याट्सको ४ दिन भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रशस्त गरेको नेपालको लागि जाम्बियाको वाणिज्य दूत देशबन्धु बस्नेत (अजित)ले बताए । ‘नेपालको ४ दिने भ्रमणमा आउनु भएका राजदूत प्याट्ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योग मन्त्रीसँग पनि लगानीको विषयमा छलफल गर्नुभयो,’ बस्नेतले भने, ‘साथै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको थियो ।’ साथै नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टै नै एक समझदारीपत्रमा हस्ताक्षर हुनेसमेत उनले जानकारी दिए । नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्ले नेपाल र जाम्बियाको भौगोलिक बनावटसमेत एउटै रहेको र नेपालमा खानी उत्खनन र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै जाम्बियाको वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन हुने गरेको छ । उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठूलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए ।

नेप्सेकाे ओरालाे यात्रा राेकिएन, घट्यो ५७ अङ्क, कारोबार पनि खस्कियो

काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ५९, विकास बैंक दुई दशमलव ७२, होटल तथा पर्यटन दुई दशमलव ४८, जलविद्युत् दुई दशमलव २८, लगानी दुई दशमलव ५३ र जीवन बीमा एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७१, लघुवित्त दुई दशमलव ४३, म्युचुअल फन्ड एक दशमलव १७, निर्जीवन बीमा एक दशमलव ९१, व्यापार दुई दशमलव ७६ र अन्य समूह दुई दशमलव ३३ प्रतिशतले घटेको छ । आजको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रु ३१ करोड ११ लाख ४९ हजार सात सय ३६ बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी सनराइज बैंक प्रमोटर शेयर पाँच लाख ७७ हजार तीन सय ८९ कित्ता खरिदबिक्री भएको छ। याे पनि पढ्नूहाेस् : टिएमएसमा समस्या आउँदा सेयर बजार प्रभावित