विकासन्युज

असोजमा हिमालयन बैंकको ब्याजदर स्थिर, आधार दर ८.८६ प्रतिशत

काठमाडौं । हिमालयन बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा प्रदान गरेको ब्याज नै असोजमा निक्षेपकर्तालाई दिनेछ । तर, साधारण बचत खातामा भने ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले सोही ब्याजदर प्रदान गरेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि ४.८५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर ८.८६ प्रतिशत रहेको छ । बैंकले ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । यस्तै, हायर पर्चेज, सुविधा लोन, शैक्षिक कर्जा १०.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

न्यादी हाइड्रोको १ करोड २७ लाख कित्ता सेयरको लकइन सकिँदै

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको लकइन अवधि कात्तिक ४ गते सकिने भएको छ । कम्पनीको संस्थापक, संस्थाका कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको सेयर लकइन अवधि कात्तिक ४ गते सकिने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक सेयरधनीका कर्मचारीको नाममा रहेको ३ लाख कित्ता, कम्पनीका कर्मचारीको नाममा रहेको ४५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको स्वामित्वमा रहेको १५ लाख कित्तन गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको अवधि सकिन लागेको हो । सार्वजनिक निष्काशन गरि सेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, योजना प्रभावित स्थानीय र कम्पनीका कर्मचारीले सेयर बिक्री गर्न नपाइने गरी लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले सेयर बिक्री गर्न सक्नेछन् ।

नबिलले घोषणा गर्याे नगद लाभांश

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

आज विश्वकर्मा पूजा मनाउँदै, वास्तु दिवस पनि आजै

काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेलले बताए । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ । वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने प्रचलन रहेको वास्तुशास्त्री पोखरेलले जानकारी दिए । ‘पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनःजागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ,’ उनले भने । यस अवसरमा आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहने जनाइएको छ ।

मनकामना केबलकार आजदेखि डिजिटल प्रविधिमा सञ्चालन

काठमाडौं । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरेको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्य भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

भक्तपुरमा ख्वप विश्वविद्यालयलाई ट्रष्टको १०८ रोपनी जग्गा माग

काठमाडौं । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयका लागि नेपाल ट्रष्टका नाममा रहेको उक्त जग्गा विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकालाई उपलब्ध गराउन माग गरेको हो । मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टका नाममा रहेका जग्गाको खोजीकार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेका जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार सरकार अगाडि बढेको उल्लेख गरे । उनले नेपाल ट्रष्टको स्वामित्व कायम हुनेगरी उक्त जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहे पनि ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने भन्नेबारेमा अध्ययन गरेर मात्रै निर्णय गरिने बताए । ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक भाडामा दिने विषयमा आवश्यक छलफल गरिने प्रतिनिधिसभाका सांसदसमेत रहेका सुवालले जानकारी दिए । उनले सल्लाघारीस्थित उक्त जग्गामा देशविदेशका विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि ख्वप विश्वविद्यालय सञ्चालनको अवधारणालाई अगाडि ल्याइएको बताए । नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेज अफ लमा कूल ४१ हजार सात सय ९८ जना विद्यार्थी भर्ना भई अध्ययन गरिसकेका जानकारी दिए । नेपाल ट्रष्टको नामका सम्पत्ति विद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडागरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै उनले उक्त जग्गा भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन आग्रह गरे ।

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । अनन्त चतुर्दशी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणबस जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमाका दिन इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

१७औँ दसैँ गीत ल्याउँदै विष्णु खत्री

काठमाडौं । दसैँगीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँगीत ल्याउने तयारी गरेका छन् । बडादसैँको अवसर पारेर उनको नयाँ गीत ‘रित्तो भकारी…’ सार्वजनिक हुन लागेको हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत ल्याउँदै आएका छन् । नको पहिलो दसैँगीत ‘सुनको जलप…’ हो । उक्त गीत तत्कालीन समयमा चर्चित बनेको थियो । पछिल्लो समय खत्रीले गीत सार्वजनिक गरेपछि दसैँको माहोल आउने श्रोता÷दर्शकको प्रतिक्रिया छ । ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ भन्ने प्रतिक्रिया आउने गरेको उनले बताए । ‘यसपालिको गीतले देशको वर्तमान अवस्था र नेपालीको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ, गीतको चलदृश्य छायाङ्कनको काम भइरहेको छ, चाँडै मेरो युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी छ,’ उनले भने । १७ वर्षको अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विष्य, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख, बेदना समेटिएका पाइन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झझल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन् । ‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ, दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ,’ खत्रीले भने । २ दशकदेखि लोकसङ्गीतमा सक्रिय खत्रीका बडादसैँ, तिहार, तीजजस्ता पर्वका अवसरमा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमार्फत उठान गरिरहेका छन् । गत वर्षको बडादसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । यसअघि उनका ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । पहिलो दसैँगीत ‘सुनको जलप…’ मा खत्रीलाई गायिका विमाकुमारी दुराले साथ दिएकि थिइन् । पछिल्ला गीतमा उनले विभिन्न गायिकासँग सहकार्य गर्दै आएका छन् । प्रायः सबै गीतमा शब्द र सङ्गीत गायक खत्रीकै हुन्छ । खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका छन् ।