नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्ष बनाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यहरूको कार्यकाल अब ३ वर्ष कायम गरिने भएको छ ।प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक'माथि भएको दफावार छलफलका क्रममा उक्त पदावधि ३ वर्ष बनाउने सहमति जुटेको हो । संसदीय अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार हाल गभर्नर र सञ्चालकहरूको कार्यकाल ५ वर्षको रहँदै आएकोमा नयाँ बन्ने ऐनमा त्यसलाई घटाएर ३ वर्षमा सीमित गर्ने निर्णय गरिएको छ । यसैगरी, डेपुटी गभर्नर र सञ्चालकहरूको प्रारम्भिक पदावधि ३ वर्षको हुनेछ भने उनीहरूको कार्यसम्पादन मूल्यांकन सन्तोषजनक देखिएमा नेपाल सरकारले २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकमा राख्ने सहमति भएको छ । यस ऐन संशोधन विधेयकमाथिको दफावार छलफललाई समितिले निरन्तरता दिने भएको छ ।
फेरिएको एनआईसी एशियाको रणनीति: पहिलो फोकस रिकोभरी, बिजनेस सेकेन्डरी
काठमाडौं । कुनै समय तीव्र शाखा विस्तार, ठूलो नेटवर्क र आक्रामक कर्जा विस्तारका कारण चर्चामा रहेको एनआईसी एशिया बैंक अहिले ठीक उल्टो दिशामा अघि बढिरहेको छ । बैंकको प्राथमिकता अब सञ्जाल विस्तार होइन, रिकोभरी बनेको छ । त्यसपछि मात्रै बिजनेस ग्रोथ । बैंकका अनुसार अहिलेको रणनीति स्पष्ट छ- ‘पहिलो फोकस रिकोभरी हो, बिजनेस सेकेन्डरी ।’ खराब कर्जाले नाफा र पुँजीमा दबाब बढाएपछि बैंकले व्यवसाय विस्तारको शैली नै परिवर्तन गरेको हो । जोखिम देखिएको एसएमई क्षेत्रमा कर्जा विस्तारलाई नियन्त्रण गर्दै कर्पोरेट र रिटेलमा छनोट गरेर लगानी गर्ने नीति लिएको छ । सँगसँगै शाखा, एटीएम, कर्मचारी र अन्य सञ्चालन खर्च कटौती गरेर लागत संरचना घटाउने योजना एनआईसी एशिया बैंकले बनाएको छ । यसको प्रभाव बैंकको नेटवर्कमा देखिन थालेको छ । ४४ वटा शाखा बन्द भइसकेका छन् भने थप तीन शाखा घटाउने सूचना जारी गरिएको छ । यी शाखा बन्द भएपछि बैंकको शाखा संख्या ३१३ को हाराहारीमा रहनेछ । आगामी दिनमा थप १ सयभन्दा बढी शाखा घटाएर करिब २ सयको हाराहारीमा सीमित गर्ने योजना बैंकको छ । साथै एनआईसी एशियाले शाखासँगै एटीएम नेटवर्कमा पनि कैंची चलाइरहेको छ । कुनै समय ६ सयभन्दा बढी एटीएम रहेको बैंकमा अहिले ५९२ वटा छन् । आगामी दिनमा करिब २ सय एटीएम थप घटाउने योजना बैंकले बनाएको छ । विशेषगरी कारोबार कम हुने, आम्दानीभन्दा भाडा तथा सञ्चालन खर्च मात्रै बढी हुने एटीएम बन्द गर्ने नीति बैंकले लिएको छ । एक्सटेन्सन काउन्टरको संख्या पनि घटाएर १०२ तथा ब्रान्चलेस बैंकिङ सेवा २६ वटामा सीमित गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार शाखा, एटीएम र अन्य सञ्चालन खर्च कटौतीबाट मात्रै करिब पौने १ अर्ब रुपैयाँ बचत भइसकेको छ । अब थप शाखा, एटीएम तथा आन्तरिक सञ्चालन खर्च घटाउँदा त्यही हाराहारीमा थप बचत गर्ने लक्ष्य छ । कुनै समय करिब ४ हजार कर्मचारी रहेको बैंकमा अहिले करिब २९ सय कर्मचारी छन् । जसकारण गत आर्थिक वर्ष २०८२/८३ मा बैंकको कर्मचारीको तलब खर्च ८.०९ प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ घटेर ३ अर्ब ५२ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । जबकि अघिल्लो वर्ष बैंकले कर्मचारीको तलबमा ३ अर्ब ८३ करोड ३ लाख रुपैयाँ खर्च गरेको थियो । साथै अघिल्लो वर्ष १ अर्ब ८० करोड रुपैयाँ अन्य सञ्चालन खर्च गरेको बैंकले गत वर्ष घटाएर १ अर्ब ४२ करोड रुपैयाँमा सीमित राखेको छ । सेलेक्टिभ ग्रोथ एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) जयेन्द्र रावलका अनुसार बैंकले अहिले कर्जा विस्तार गरिरहेको भए पनि त्यसलाई सेलेक्टिभ बनाएको छ । ‘रिकोभरी हाम्रो नम्बर वानमा छ । त्यसपछि कर्पोरेट र रिटेलमा सेलेक्टिभ ग्रोथ गरेर जाने योजना छ,’ उनले भने । पछिल्लो पाँच-सात महिनायता बैंकले कर्पोरेट क्षेत्रमा पुनः कर्जा विस्तार गर्न थालेको छ । पाँच-छ वर्षदेखि कर्पोरेट क्षेत्रमा खासै लगानी नगरेको बैंकले अहिले रणनीति परिवर्तन गरेको उनको भनाइ छ । उनका अनुसार कर्पोरेटतर्फ गत वर्ष मात्रै २०-२२ अर्ब रुपैयाँको थ्रेसहोल्डमा काम भएको र हाइड्रो क्षेत्रमा २२-२५ अर्ब रुपैयाँ बराबरको कर्जा भइसकेको बैंकले जनाएको छ । थप १०-१५ अर्ब रुपैयाँ बराबरका प्रस्ताव प्रक्रियामा छन् । हाइड्रोपावरमा बैंक लिड तथा को-लिड दुवै भूमिकामा अघि बढिरहेको छ । साना हाइड्रोमा लिड बैंकका रूपमा समेत काम गरिरहेको र एक-दुई परियोजनामा को-लिडको क्लोजर भइसकेको एसीईओ रावलले बताए । कर्पोरेट क्षेत्रमा बैंकले आफ्नो पोर्टफोलियोको २५-३० प्रतिशतसम्म एक्सपोजर बनाउने रणनीति अघि सारेको उनको भनाइ छ । एसएमईमा ब्रेक एनआईसी एशियाले विगतमा एसएमई क्षेत्रमा आक्रामक कर्जा विस्तार गरेको थियो । तर अहिले यही क्षेत्रमा खराब कर्जा (एनपीएल) को दबाब बढी देखिएपछि बैंकले त्यस क्षेत्रमा नयाँ कर्जा विस्तारलाई नियन्त्रण गरेको छ । एसएमईबाट पछि हटेर बैंकले रिटेलतर्फ ध्यान बढाएको एसीईओ रावलले बताए । विशेषगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको ट्युसन शुल्क तथा नेपालमै एमबीबीएसजस्ता महँगा विषय अध्ययनका लागि आवश्यक पर्ने कर्जालाई रिटेल व्यवसाय विस्तारको सम्भावित क्षेत्रका रूपमा लिएको उनले बताए । ‘गोल्ड लोन, एजुकेशन लोन र अटो लोनलाई बैंकले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘ग्रोथ गर्ने तर सेलेक्टिभ र कन्ट्रोल हुँदै जाने हो । अर्थात् बैंकको अबको लक्ष्य कर्जा बढाउनु मात्रै होइन, कुन क्षेत्रमा कर्जा बढाउने र कुन क्षेत्रमा जोखिम नलिने भन्ने निर्णय महत्वपूर्ण हुनेछ ।’ रिकोभरीमा डेडिकेटेड टिम बैंकको अहिलेको सबैभन्दा ठूलो चुनौती खराब कर्जा हो । गत असारसम्म बैंकको खराब कर्जा ८.७४ प्रतिशतबाट बढेर ९.२६ प्रतिशत पुगेको छ । त्यसैले बैंकले रिकोभरीका लागि छुट्टै संरचना बनाएको एसीईओ रावलले बताए । ‘करिब डेढदेखि दुई सय कर्मचारीलाई रिकोभरीमा परिचालन गरिएको छ । निश्चित शाखाहरूमा समेत डेडिकेटेड रिकोभरी संरचना बनाइएको छ,’ उनले भने, ‘व्यवस्थापनसँगै सञ्चालक समितिको ध्यानसमेत रिकोभरीमै केन्द्रित छ ।’ रावलका अनुसार रिकोभरीका लागि अपनाइएका अभ्यास राष्ट्र बैंकको नीति तथा निर्देशनअनुसार अघि बढिरहेका छन् । विशेष सम्पत्ति व्यवस्थापन कम्पनी बनेमा खराब सम्पत्ति व्यवस्थापन र रिकोभरीमा थप सहजता आउने बैंकको अपेक्षा छ । किनकि खराब कर्जा उठाउन बैंकको ठूलो समय, जनशक्ति र ऊर्जा खर्च भइरहेको छ । विशेष सम्पत्ति व्यवस्थापनसम्बन्धी संरचनाले त्यसलाई अलग व्यवस्थापन गर्न सके बैंकले आफ्नो मुख्य व्यवसायमा बढी ध्यान दिन सक्ने उनले बताए । यस्तो छ बैंकको वित्तीय अवस्था गत आर्थिक वर्ष २०८२/८३ मा बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा भने बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँभन्दा बढी घाटामा थियो । अर्थात् बैंक घाटाबाट नाफामा फर्किएको छ । तर नाफाको आकार निकै सानो छ र खराब कर्जाको दबाब अझै उच्च छ । जसकारण गत वर्ष बैंकले २ अर्ब ९१ करोड रुपैयाँ प्रोभिजनिङमा राख्नु परेको छ । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी २२.५६ प्रतिशतले घटेर ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १३ करोड ५ लाख रुपैयाँभन्दा बढी थियो । खुद शुल्क तथा कमिसन आम्दानी भने बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ । कुल सञ्चालन आम्दानी ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ र सञ्चालन नाफा ९७ करोड ९१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको बैंक सञ्चालन नाफामा फर्किनु सकारात्मक संकेत हो । तर वितरणयोग्य नाफा अझै १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ । यसले बैंक नाफामा फर्किए पनि विगतको क्षतिको असरबाट पूर्ण रूपमा बाहिरिन बाँकी रहेको देखाउँछ । गत असारसम्म बैंकको निक्षेप ७.७१ प्रतिशतले बढेर ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकसँग ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख रुपैयाँ निक्षेप थियो । तर कर्जा लगानी भने घटेको छ । अघिल्लो वर्ष २ खर्ब १८ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको कर्जा लगानी गत असारसम्म १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँमा झरेको छ । यसले बैंक अहिले कर्जा विस्तारभन्दा ब्यालेन्स सिट सुद्धीकरणको अभियानमा रहेको देखिन्छ । एनआईसी एशियाको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ भने जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ छ । तर कोर क्यापिटलअन्तर्गत टायर–वान क्यापिटल एडिक्वेसी रेसियो ६.८७ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा आएको छ । समग्र क्यापिटल एडिक्वेसी रेसियो भने ११.१० प्रतिशत रहेको छ । अघिल्लो वर्ष २५.९६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष १.२२ रुपैयाँ धनात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ रहेको छ । डिजिटल कारोबारमा जोड एनआईसी एशियाले लागत घटाउने अर्को ठूलो माध्यमका रूपमा डिजिटल बैंकिङलाई अघि सारेको छ । बैंकका अनुसार ९० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट भइरहेको छ । दैनिक ३–४ अर्ब रुपैयाँ बराबरको कारोबार ग्राहक बैंकमा नआई डिजिटल माध्यमबाटै गरिरहेका छन् । ‘हिजो १० वटा शाखा चाहिनेमा अहिले दुईवटा शाखा भए पुग्छ । घर वा कार्यालयमै बसेर कर्जाको प्रक्रिया अघि बढाउन सकिने व्यवस्था, डिजिटल कारोबार र नयाँ प्रविधिको प्रयोगलाई बैंकले आगामी दिनमा अझ विस्तार गर्ने योजना बनाएको छ,’ एसीईओ रावलले भने ।
१० प्रतिशत बोनस सेयरपछि मन्दु हाइड्रोपावरको मूल्य समायोजन
काठमाडौं । मन्दु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ। कम्पनीले घोषणा गरेको १० प्रतिशत बोनस सेयरलाई समायोजन गरी नेप्सेले कम्पनीको सेयर मूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम गरेको हो । बोनस सेयर वितरणपछि मूल्य समायोजन गरिएको हो। अब समायोजित मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार हुनेछ ।
बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापाले लिए शपथ
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (आज) प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आजै नियुक्त भएका थापा बागमतीका सातौं मुख्यमन्त्री हुन् । एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । यसअघि एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपश्चात प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । एमालेबाट मुख्यमन्त्रीसहित तीन, नेकपाबाट दुई र राप्रपाबाट तीन जना मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
नाबालिकाको चरित्र हत्या गर्ने आरोपमा १९ वर्षीय युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग सम्बन्धित विषयमा आपत्तिजनक सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरिएको हो । प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त गतिविधिमा संलग्न रहेको खुलेपछि नुवाकोटको शिवपुरी गाँउपालिका–७ बस्ने १९ वर्षीय सुदीप कटवाललाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले कटवाललाई भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ । साइबर ब्युरोका अनुसार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
बेनिभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा मिस नेपाल अर्थ २०२२ डा. सरीशा श्रेष्ठ
काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनिभिस आइसक्रिमले मिस नेपाल अर्थ-२०२२ डा. सरीशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । फिसटेल डेरी प्रालि अन्तर्गत सञ्चालित बेनिभिस आइसक्रिम र डा. श्रेष्ठबीच ब्रान्ड एम्बेसडरसिपसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो । सम्झौतामा डा. श्रेष्ठ र बेनिभिस आइसक्रिम, फिसटेल डेरी प्रालिका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरे । मेडिकल डाक्टर, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता डा. श्रेष्ठले नेपालमा आफ्नो छुट्टै पहिचान बनाएकी छन् । व्यावसायिक दक्षता, सञ्चार क्षमता, आत्मविश्वास तथा युवा पुस्तामाझको लोकप्रियताका कारण उनलाई बेनिभिसको ब्रान्ड एम्बेसडरका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ । डा. श्रेष्ठले मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा उनले एसिया तथा ओसियाना क्षेत्रका लागि बेस्ट इको-भिडियो अवार्डसमेत प्राप्त गरेकी थिइन् । वातावरणीय सचेतना र सञ्चारसँग जोडिएको उक्त उपलब्धिले उनको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाएको छ । पेजेन्ट यात्रासँगै डा. श्रेष्ठले मेडिकल क्षेत्रमा आफ्नो पेशागत पहिचान कायम राख्दै टेलिभिजन प्रस्तोताका रूपमा पनि काम गरेकी छन् । उनको बहुआयामिक व्यावसायिक यात्राले विभिन्न वर्गका दर्शक तथा उपभोक्तासँग जोडिन सक्ने क्षमता प्रस्तुत गरेको कम्पनीको भनाइ छ । बेनिभिस आइसक्रिमका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले डा. श्रेष्ठलाई बेनिभिस परिवारमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । उनले डा. श्रेष्ठका उपलब्धि, पेशागत पृष्ठभूमि, व्यक्तित्व र सकारात्मक सार्वजनिक छवि बेनिभिसले प्रतिनिधित्व गर्न चाहेका मूल्यसँग मेल खाने बताए । बेनिभिसले आगामी दिनमा डा. श्रेष्ठसँग अर्थपूर्ण तथा आकर्षक ब्रान्ड अभियान सञ्चालन गर्ने अपेक्षा राखेको छ । डा. सरीशा श्रेष्ठले बेनिभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली ब्रान्डसँग सहकार्य गर्न उत्साहित रहेको बताइन् । स्वाद, गुणस्तर र खुसीका क्षण सिर्जना गर्ने ब्रान्डको उद्देश्यसँग जोडिन पाउँदा आफू उत्साहित भएको उनले बताइन् । सम्झौताअनुसार डा. श्रेष्ठ बेनिभिसका विभिन्न ब्रान्ड अभियान, फोटोसुट, डिजिटल सामग्री, प्रचारात्मक गतिविधि, उपभोक्ता संलग्नता कार्यक्रम तथा अन्य ब्रान्ड सञ्चार गतिविधिमा सहभागी हुनेछिन् । कम्पनीका अनुसार यो सहकार्यले बेनिभिसको युवा र ताजगीपूर्ण ब्रान्ड पहिचानलाई डा. श्रेष्ठको पेशागत उत्कृष्टता, अन्तर्राष्ट्रिय अनुभव तथा युवा पुस्तामाझको प्रभावसँग जोड्नेछ । यस सहकार्यबाट उपभोक्तासँगको सम्बन्ध थप मजबुत बनाउँदै नयाँ, आकर्षक र स्मरणीय ब्रान्ड अनुभव सिर्जना गर्ने बेनिभिसको लक्ष्य छ । डा. श्रेष्ठ र बेनिभिसबीचको औपचारिक सम्झौताले दुवै पक्षबीचको नयाँ सहकार्यको सुरुवात गरेको छ । बेनिभिस आइसक्रिम फिसटेल डेरी प्रालिको ब्रान्ड हो । कम्पनीले गुणस्तरीय आइसक्रिम उत्पादन तथा उपभोक्ताका लागि स्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । नवीन उत्पादन, सिर्जनात्मक मार्केटिङ अभियान, उपभोक्ता सक्रियता तथा आकर्षक ब्रान्ड अनुभवमार्फत बेनिभिसले नेपालमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै आएको छ ।
राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले लिए शपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणसँगै उनले पदबहालीसमेत गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावललाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । कार्यकारी निर्देशकमा पदोन्नतिपछि रावलले बैंकको सुपरीवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।
‘हामी उत्पादनसँगै ग्राहकको भरोसा पनि बेचिरहेका छौं’
भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को १८औं नाडा अटो शोको आयोजना हुँदैछ । अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । नाडाका अनुसार २ सय वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा गाडीसँगै रोबोट र विभिन्न कम्पोनेन्टहरू पनि रहनेछन् । यसै सन्दर्भमा अटाे क्षेत्रको ठूलो घराना एमएडब्लु वृद्धि ग्रुपले आउँदै गरेको नाडा अटो शोमा कुन कुन ब्राण्डहरू प्रदर्शनीमा राख्दैछ ? अवलोकनकर्ताले यसपटक एमएडब्लु वृद्धिका स्टलहरूमा नयाँ अनुभव र फरक के पाउनेछन् ? एमएडब्लु वृद्धिको उपस्थिति कस्तो रहनेछ ? यिनै समग्र विषयमा एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । नाडा अटो शोमा तपाईंको तयारी के-कस्तो छ ? हामी धेरै उत्साहित छौं । वास्तवमा भन्नुपर्दा नाडा अटो शो हाम्रो लागि सधैं विशेष रहँदै आएको छ । गत वर्ष पनि हामीले यसमा सहभागिता जनाएका थियौं र ग्राहकहरूबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका थियौं । यो वर्ष पनि हामीले नाडा अटो शोमा निकै उत्साहजनक र भव्य उपस्थितिको अपेक्षा गरेका छौं । हाम्रो तयारी निकै व्यापक छ । यसपटक हामीले डोङफेङका लागि एउटा ठूलो र आकर्षक स्टल राखेका छौं । त्यहाँ हामीले भर्खरै सार्वजनिक गरिएको नामी बक्स र भिगो ई-टु मात्र प्रदर्शन गर्ने छैनौं । डोङफेङले अहिलेसम्म उत्पादन गरेका उत्कृष्ट गाडीहरूमध्येको एक एम-हिरोलाई पनि विशेष आकर्षणको रूपमा राख्दै छौं । एम–हिरो धेरैले प्रतीक्षा गरिरहेको गाडी हो । यसको उपस्थितिले नाडा अटो शोमा छुट्टै रौनक थप्नेछ भन्ने हाम्रो विश्वास छ । १८औं नाडा अटो शो अघिल्ला संस्करणहरूभन्दा यसपटक कसरी फरक हुनेछ ? अवलोकनकर्ताहरूले एमएडब्लु वृद्धिका स्टलहरूमा कस्तो नयाँपनको अनुभव गर्न पाउनेछन् ? पक्कै पनि यसपटकको नाडा अटो शोमा नयाँपन धेरै हुनेछ । यो संस्करणमा नयाँ उत्पादनहरूको बाहुल्यता रहनेछ । जसमा कुनै शङ्का छैन । हाम्रा जति पनि ब्रान्डका स्टलहरू हुनेछन्, ती हरेकमा ग्राहकले कम्तीमा एउटा यस्तो नयाँ गाडी देख्न पाउनुहुनेछ, जुन उहाँहरूले पहिले कहिल्यै देख्नुभएको छैन । हामीले केवल गाडीहरू प्रदर्शन गर्नेमात्र होइन, एउटा अन्तरक्रियात्मक वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं । जहाँ हाम्रा दक्ष प्रतिनिधिहरूले ग्राहकलाई प्रत्येक गाडीको प्रविधि, सुविधा र उपयोगिताबारे निकै गहिराइमा गएर बुझाउनुहुनेछ । हामी चाहन्छौं कि अवलोकनकर्ताहरूले त्यहाँ पुग्दा एउटा नयाँ प्रविधिको संसारमा पुगेको अनुभव गरून् । यसपटकको अटो शोमा कुन-कुन ब्रान्ड र मोडलहरूलाई विशेष प्राथमिकतामा राखिएको छ ? हामीसँग ब्रान्डहरूको ठूलो पोर्टफोलियो छ । नाडा अटो शोमा हामीले नामीलाई त मुख्य प्राथमिकतामा राखेका छौं । यसका साथै दिपल, स्कोडा, यामाहा र फोटोनजस्ता ब्रान्डहरूलाई पनि उत्तिकै महत्त्वका साथ प्रदर्शन गर्नेछौं । नामीले ईभी सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । दिपालले प्रिमियम र आधुनिक प्रविधिको प्रतिनिधित्व गर्छ । स्कोडा र यामाहाले आफ्नो गुणस्तर र विरासतलाई निरन्तरता दिइरहेका छन् । फोटोनका पनि नयाँ र उपयोगी सवारीहरू ग्राहकले देख्न पाउनुहुनेछ । यसरी हेर्दा हामीले सबै प्रकारका ग्राहकहरूको चाहनालाई सम्बोधन गर्ने गरी तयारी गरेका छौं । गत वर्ष तपाईंहरूले चाङ्गनको उड्ने कार ल्याउनुभएको थियो, जसमा मानिसहरूको निकै भिड लागेको थियो । यसपटक त्यस्तै कुनै आश्चर्यजनक वस्तु वा गाडी ल्याउने सोच छ कि ? पक्कै पनि गत वर्षको अटो शोमा उड्ने कारले धेरैको ध्यान तानेको थियो । त्यो एउटा प्रविधिको नमूना थियो । तर यो वर्ष हामीले उड्ने कारभन्दा पनि गुड्ने कारहरूमा बढी केन्द्रित भएका छौं । हामीले नेपाली सडकका लागि उपयुक्त धेरै नयाँ र आकर्षक मोडलहरू ल्याएका छौं । मलाई विश्वास छ, यसपटकका हाम्रा नयाँ मोडलहरू देखेर पनि ग्राहकहरू र अवलोकनकर्ताहरू उत्तिकै प्रभावित हुनुहुनेछ । नाडा अटो शोमै सार्वजनिक वा लन्च हुने नयाँ मोडलहरू कुन-कुन हुन् ? धेरै कुराहरू त नाडा शोमै देख्नुहुनेछ । तर केही झलकहरू म दिन्छु । हाम्रो एम–हिरो त छँदैछ । भिगो इ–टु को संस्करण पनि आइसकेको छ । सबैभन्दा नयाँ कुरा दिपलको नयाँ गाडी दिपल नेभो क्यू जिरो फाइभ आउँदै छ । यो प्रतिस्पर्धात्मक सेग्मेन्टमा र निकै आकर्षक मूल्यमा उपलब्ध हुनेछ । यो गाडी विशेष गरी कार्यकारी व्यक्तिहरूले रुचाउने खालको अत्यन्तै आरामदायी र प्रविधिमैत्री हुनेछ । यस्तै, स्कोडामा हामीले कुशाक र काइलाक गरी दुईवटा नयाँ गाडीहरू राख्दैछौं । मोटरसाइकलतर्फ यामाहाको नयाँ बाइक एक्सएसआर १५५ पनि हामीले ल्याउँदै छौं । त्यसैले यसपटकको प्रदर्शनी उत्पादनहरूको हिसाबले निकै सुसज्जित हुनेछ । बुधबारबाट सार्वजनिक भएको नामीको भिगो ई-टुको पर्फर्मेन्स र नेपाली भूगोलमा यसको सान्दर्भिकता कस्तो छ ? कतिपयले अझै पनि इभीले पहाडी बाटो धान्दैन कि भन्ने आशङ्का गर्छन् नि ? यो निकै सान्दर्भिक प्रश्न हो । नामी भिगो ई-टु को पर्फर्मेन्स उत्कृष्ट छ । म के स्पष्ट पार्न चाहन्छु भने हाम्रा गाडीहरूले नेपालका सबैभन्दा कठिन मानिने भूगोलहरू मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता ठाउँहरूको यात्रा सफलतापूर्वक गरिसकेका छन् । यी गाडीहरूले ती कठिन सडकहरूमा आफूलाई प्रमाणित गरिसकेका छन् । मैले एउटा अर्को महत्त्वपूर्ण तथ्याङ्क पनि सेयर गर्न चाहन्छु । हाम्रा नामी गाडीहरूमध्ये केही त यस्ता छन्, जसले दुई वर्षको छोटो अवधिमा ७० हजार किलोमिटरभन्दा बढी दूरी पार गरिसकेका छन् । एउटा गाडीका लागि योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ? यो आफैमा एउटा प्रोभन भेइकल र भरपर्दो एसयूभी हो । नेपाली सडक र वातावरणका लागि यो पूर्ण रूपमा उपयुक्त छ । हाल नेपाली सडकमा नामीका ईभीहरू कति संख्यामा गुडिरहेका छन् ? हालसम्म नेपाली सडकमा नामीका २ हजारभन्दा बढी विद्युतीय सवारीहरू गुडिरहेका छन् । यो संख्याले देखाउँछ कि नेपाली ग्राहकहरूले नामी ब्रान्डमाथि कति ठूलो विश्वास देखाउनुभएको छ । अहिले नेपाली बजारमा पेट्रोलियम (आईसीई) इन्जिन भएका गाडीभन्दा ईभीको क्रेज धेरै देखिन्छ । यसलाई एमएडब्लु वृद्धिले कसरी हेरिरहेको छ ? हामी यसलाई एउटा ठूलो अवसरको रूपमा हेरिरहेका छौं । विश्वव्यापी रूपमै र नेपालमा पनि वातावरणमैत्री र किफायती सवारीको माग बढ्दो छ । हामीले यो अवसरलाई सदुपयोग गर्दै ग्राहकहरूलाई कसरी उत्कृष्ट प्रविधि र सेवा दिन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गरेका छौं । तर, हामीले केवल गाडी बेच्ने कुरामा मात्र ध्यान दिएका छैनौं । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवा हो । गाडी किनेपछि ग्राहकलाई कुनै पनि समस्या नहोस् र उहाँहरूले ढुक्क भएर चलाउन सक्नुहोस् भन्नका लागि हामीले आफ्नो सर्भिस नेटवर्कलाई पनि निकै बलियो बनाएका छौं । हामी उत्पादनसँगै भरोसा पनि बेचिरहेका छौं । के नेपाली सडकमा एमएडब्लु वृद्धिले ईभीको नेतृत्व गर्न सक्ला ? नेपाली अटो बजारमा अहिले ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभीतर्फ बढेको छ । सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको सबैभन्दा ठूलो अटो समूहमध्ये एक बन्न सफल भएको छ । जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा सिफ्ट भयो । अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदै छ । एमएडब्लुले नेपालको ईभी ट्रान्स्फर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौं । देशभर चार्जिङ स्टेसन कति छन्, थप्ने योजना के छ ? देशभर हामीसँग हाल २ सयभन्दा बढी चार्जिङ स्टेसनहरू रहेका छन् । यसमा हामीले राम्रो लगानी गरिरहेका छौं । यो वर्षमात्रै १०० वटा थप्ने योजना बनाइरहेका छौं । मलाई लाग्छ, यसमा कसैलाई कसुर नराखिकन सेवा दिइरहेका छौं ।