लिबर्टी माइक्रोले अभिकर्तासम्बन्धी तालिम दिँदै, कसरी हुने सहभागी ?
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आवद्ध हुन इच्छुक व्यक्तिहरूका लागि देशैभरि तालिमहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीले हालै वीरगञ्ज, लमजुङ, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगञ्ज, विराटनगर, लमही, दाङलगायत देशका विभिन्न ठाउँहरूमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरू सम्पन्न गरिसकेके छ । आगामी तालिमा सहभागी हुन चाहनेले अनलाइनबाट नै फर्म भर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार https://docs.google.com/forms/d/e/1FAIpQLSeTmtqbVAKvgwkFSJQdcpFPAUlANUBj8f2XvFTi-yMfIiFxpQ/viewform मा गएर अनलाईन फर्म भर्न सकिने छ ।
शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा ध्यान केन्द्रित गरौं : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्न आइतबारबाट सुरु भएकाे अन्तरक्रिया आज पनि जारी छ । मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भयाे । कार्यक्रममा मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीरताका साथ ध्यान केन्द्रित गर्न आग्रह गरिन् । उनले अन्तरक्रियाबाट प्राप्त महत्त्वपूर्ण विषयलाई समेटेर विश्वविद्यालय शिक्षाको नीति निर्माण गरिने बताइन् । उनले विद्यमान शिक्षाको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिइन् । मन्त्री भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षाको प्रभावकारी संचालन र व्यवस्थापन, सम्बन्धनजस्ता योजनाहरू समेट्न अनुरोध गरिन् । उनले नेपालका विश्वविद्यालयहरूले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई आकर्षित गर्ने विशेष योजना बनाउन पनि आग्रह गरिन् । असोज १० गतेसम्म जारी रहने यस अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउने, विद्यार्थी र प्राध्यापकका गुनासा सुनुवाइ र सम्बोधन, पाठ्यक्रम निर्माण र परिमार्जन, छात्रवृत्ति, प्राध्यापक कर्मचारीको सेवा सुविधा, र जग्गा व्यवस्थापनजस्ता विषयमा छलफल भइरहेको छ । अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डिनहरू, मन्त्रालयका सचिव र कर्मचारीको सहभागिता रहेको छ । यसअघि आइतबार सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग पनि अन्तरक्रिया सम्पन्न भएको थियो ।
धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति सुरु, स्थानीय भए खुसी
म्याग्दी । धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्शांकन) भएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताए । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ । यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् । म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारको लागत साझेदारीमा एक अर्ब रुपैयाँ बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए । हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप छ करोड ५० लाख रुपैयाँ विनियोजन भएको जुग्जालीले बताए । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो । रासस
जुम्लाका आठ स्थानीय तहमध्ये पाँच साक्षर घोषणा
नेपाली खसभाषाको उद्गमस्थल जुम्लाको कनकासुन्दरी गाउँपालिका । तस्बिर : विजय रावत/रासस जुम्ला । हिमाली जिल्ला जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर रहेका छन् । गाउँपालिकाबाट शिक्षा शाखा प्रमुख शङ्कर धितालले भने, ‘जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा सङ्कलन गरिएको तथ्याङ्कले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ ।’ हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख धितालको भनाइ छ । हिमाको कूल १२ हजार आठ सय जनसङ्ख्यामध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९६ दशमलव पाँच प्रतिशत नागरिक साक्षर छन् । शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्याङ्क सङ्कलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ । चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागार्इंले कूल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिए । गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने तीन सय ८० जना मात्रै भेटिएका थिए । उक्त व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखाले जनाएको छ । पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका छन् । साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये छ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासीका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । यहाँको कनकासुन्दरीभित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द भण्डारीले बताए । तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह धमाधम साक्षर घोषणा भइरहेका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ६० हजार नजिक
काठमाडौं । आज सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । तोलाको ४ सय रुपैयाँले बढेर आज छापावाला सुनको भाउ १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजावी सुनको मूल्य पनि ४ सयले नै बढेर आज १ लाख ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
लाग्दैन दशैं, ल्याउँदैनन् स्कीम
काठमाडौं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । मानिसमा दशैंको माहोल जमिसकेको छ । विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किनेहरूको भीड लाग्न थालिसकेको छ । चाडपर्वलाई थप रौनक दिनका लागि विभिन्न कम्पनीहरूले दशैंका लागि छुट तथा क्यासब्याकका स्कीमहरू सार्वजनिक गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले ब्याज छुट तथा सस्तो ब्याजमा कर्जा दिने स्कीम ल्याइरहेका छन् । अटो मोबाइल्स कम्पनीले सवारी साधनहरू भारी छुट र क्यासब्याकको योजना सार्वजनिक गरिरहेका छन् । व्यापारीहरूले विभिन्न सामानको खरिदबिक्रीमा ‘बाई वान गेट वान फ्री’ लगायतका स्कीम ल्याएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि इन्टरनेटको सब्स्क्रीसनमा भारी छुट तथा अन्य सामानहरू पाउन सकिने योजनाहरू सार्वजनिक गरेका छन् । शिक्षा क्षेत्रले त दशैं भर्नाको समयमा सतप्रतिशतसम्म पनि छुट दिने गरेको छ । पर्यटन व्यवसायीहरू त यो विशेष समय हो । विभिन्न किसिमका टुर प्याकेजहरू ल्याएर सेवाग्राहीलाई आकर्षित गर्ने समय हो यो । विभिन्न कम्पनीले व्यापार व्यवसाय बढाउनका लागि दशैंमा यस्ता किसिमका योजना सार्वजनिक गर्छन् । यी स्कीमहरू व्यापार बढाउनका लागि मात्रै होइन, प्रडक्ट र कम्पनीको ब्राण्डिङको लागि मात्रै होइन नेपालीहरूको महान पर्व विजया दशमीको सबैमा ‘भाइब्स क्रियट’ गर्ने, व्यवसायी र सेवाग्राहीबीचको सम्बन्धलाई थप मजबुद र स्थायी बनाउनेरुपमा पनि बुझ्न सकिन्छ । विभिन्न कम्पनीहरुले यसरी स्कीम तथा योजनाहरू ल्याइरहँदा स्वाथ्य क्षेत्र भने यस्ता स्कीमबारे बेखबर छ । जहाँ स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्ध थप मजबुद हुनुपर्ने हो । व्यवसायभन्दा पनि बिरामीलाई के कसरी खुसी पार्न सकिन्छ, कसरी उसको दुखेको घाउमा मल्हम लगाउन सकिन्छ र कसरी स्वास्थ्यकर्मी र बिरामीबीचको सम्बन्धलाई थप स्थायी र मजबुद बनाउने हो त्यसतर्फ बढी प्राथमिकता दिनुपर्नेमा स्वास्थ्य क्षेत्र यस्ता स्कीमको विषयमा अनविज्ञ छ । स्वास्थ्य सबैभन्दा संवेदनशील क्षेत्र हो । सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरेको छ । निःशुल्क स्वास्थ्य सेवा अन्तर्गत विभिन्न वडामा रहेका स्वास्थ्य सेवामार्फत् ९८ प्रकारका औषधी निःशुल्क दिइरहेको छ । स्वास्थ्य क्षेत्रलाई थप मजबुत बनाउन नेपालमा निजी अस्पतालहरू धमाधम खुलिरहेका छन् । अब स्वास्थ्य क्षेत्र सेवा मात्रै होइन व्यावसायिक प्रतिस्पर्धा गर्ने थलो पनि बनिसकेको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको सेवा दिने ठूल्ठूला अस्पताल छन् । उपत्यकामा सेवा दिइरहेका ठूला र महँगा अस्पतालले पनि यो वर्षको चाडबाडमा बिरामी लक्षित कुनै छुट स्कीमका योजना ल्याएका छैनन् । हरेक क्षेत्रले चाडपर्वको रौनक सिर्जना गरिरहँदा स्वाथ्य क्षेत्र भने मौन छ । काठमाडौंको चावहिलमा रहेको ओम अस्पताल नेपालको नाम चलेको ठूला अस्पतालमध्येको एक हो । यो अस्पतालले दैनिक सयौं नागरिकलाई सेवा दिँदै आएको छ । स्त्री तथा प्रसूति रोगको उपचारमा ख्याति कमाएको यो अस्पतालले नेपालमा पहिलो पटक टेस्ट ट्युब बच्चा सफल रूपमा जन्माएपछि झन चर्चित बनेको छ । तर, यो अस्पतालले दशैंको अवसरमा सेवाग्राहीका लागि भने कुनै छुटका स्कीम ल्याएको छैन । अस्पतालका सूचना अधिकारी विनोद अधिकारीले चाडपर्वकेन्द्रित कुनै योजना अस्पतालले नल्याएको जानकारी गराए । अन्य व्यवसायले जस्तो चाडपर्वकेन्द्रित छुट दिने काम अस्पतालको नभएको उनको बुझाइ छ । कोरोना र भूकम्प लगायत अन्य ठूला महामारीमा पनि छुट दिन सकिएको छैन, दिन सके त राम्रै हुन्थ्यो । तर, दिने योजना अस्पतालको छैन,’ उनी भन्छन्, ‘अन्य सेवा र स्वास्थ सेवा फरक हुन् ।’ सबैभन्दा महँगो अस्पतालमा पर्ने अर्को अस्पताल हो ग्रान्डी अस्पताल । काठमाडौंको धापासीमा रहेको यो अस्पतालले पनि चाडपर्वलक्षित कुनै स्कीम ल्याएको छैन । अन्य बेला छुटका स्कीमहरू ल्याइरहेको ग्राण्डी अस्पतालले पर्वलक्षित कुनै स्कीम नल्याएको जानकारी दिएको छ । दशैंमा अस्पताल आउनेहरूको संख्या पनि कम हुने भएकाले कुनै योजना नल्याएको ग्राण्डी अस्पतालका मार्केटिङ हेड भास्कर कुमार दासले बताए । उनले सेप्टम्बर २९ मा मनाइने मुटु दिवसको अवसरमा भने मुटुरोगको उपचारमा छुटको व्यवस्था दिने जानकारी दिए । यो अस्पतालले तीज, नारी दिवस, भ्यालेनटाइन्डे लगायत विभिन्न दिवसको अवसरमा उपचारमा छुट दिँदै आएको छ । ‘हामी अस्पतालमा मात्र होइन, विभिन्न ठाउँमा गएर क्याम्पियन पनि चलाइरहेका हुन्छौं, हेल्थ प्याकेजहरू ल्याइरहेको छौं, ’ मार्केटिङ हेड दास भन्छन्, ‘यो बेला नागरिकहरू गाउँतिर जाने भएकाले बिरामी पनि कम हुने अन्दाज गर्दै केही योजना ल्याएका छैनौं ।’ ललितपुरको नक्खुमा अन्तर्राष्ट्रिय मापदण्डसहितको सेवा दिरहेको मेडिसिटी अस्पतालले चाडपर्वको अवसरमा कुनै छुटको योजना ल्याएको छैन । अस्पतालले सेप्टम्बर २९ तारिखमा मनाइने ‘हार्ट डे’को अवसरमा भने सेप्टेम्बर महिनाभर उपचारमा छुट दिरहेको जनाएको छ । मुटुरोगीलाई उपचारमा छुटको व्यवस्था दिइरहेको अस्पतालका मिडिया संयोजक सरीता श्रेष्ठले बताइन् । उनले बेलाबेला अस्पतालले उपचारमा छुट दिँदै आएपनि दशैंतिहार लक्षित कुनै स्कीमहरू नल्याएको बताइन् । अहिले अस्पतालले मुटुको समस्या भएकाहरूलाई भने जाँचदेखि उपचारमा छुट दिरहेको छ । काठमाडौंको धुम्बारहीमा रहेको ह्याम्स अस्पतालले पनि चाडपर्वलक्षित कुनै छुटका स्कीमहरू ल्याएको छैन । अस्पतालको मार्केटिङ फाँटका जीवन कर्मचार्यले अहिलेसम्म कुनै योजना ल्याउने तयारी असतालले नगरेको बताए । ‘अहिलेसम्म हामीलाई जानकारी आएको छैन, भोलि पर्सी के हुन्छ थाहा छैन,’ उनी भन्छन्,‘ दिवसको अवसर पारेर बेला–बेला स्कीम त ल्याएकै हुन्छौं । तर, दशैंतिहारको लागि के छ अहिलेसम्म केही निर्णय भएको छैन । ’ ‘छुट दिनु राम्रो हो’ कुनै पनि अस्पतालले दशैंलक्षित स्कीमहरू नल्याए पनि ल्याउन सके राम्रो हुने बताएका छन् । मेडिसिटी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणा स्वास्थ्य क्षेत्रमा पनि छुटको अवसर हुनु राम्रो हुने बताउँदै यस्तो हुन नसकेको बताउँछन् । ‘स्वास्थ्य सेवा सबैको पहुँचमा ल्याउनु राम्रो हो । तर, यसमा दिन सके राम्रै हो । कुनैले दिन्छन् कुनैले दिदैनन्,’ उनी भन्छन, ‘गर्न सक्यो भने त यस्तो सेवाले धेरैको जीवनलाई सहज हुन्थ्यो । तर, नेपालमा हेर्न हो भने अस्पताललाई अन्य व्यवसायसँग दाज्न मिल्ने अवस्था छैन । ’ ‘एउटै डालोमा राख्न मिल्दैन’ निजी अस्पतालको छाता संस्था अफिनका अध्यक्ष डा. पदम खड्का अन्य व्यवसाय र स्वास्थ्य व्यवसायलाई एउटै डालोमा राखेर दाँज्न नमिल्ने बताउँछन् । उनी अन्य व्यवसायीले मूल्य बढाएर छुट दिने गरेको बताउँदै अस्पतालमा यस्तो गर्न नमिलेर छुटका स्कीमहरू ल्याउन नसकेको हुनसक्ने बताउँछन् । ‘यसमा मेरो व्यक्तिगत धारणा फरक छ,’ उनले भने, ‘ म यसमा दुइटा कुरा देख्छु । अन्य व्यवसायीहरू अघिपछि १ सय रुपैयाँ पर्ने सामानलाई दशैंमा २ सय तीन सय भने अफर दिन्छन् । तर, अस्पतालमा यस्तो गर्न मिल्दैन । अर्को दशैंमा असाधारण खानपिनले बिरामी झन बढ्ने भएकाले बिरामी धेरै आउँछन्, यस्तोमा के छुट दिनु भन्ने अस्पतालको सोच पनि हुन सक्छ ।’ अध्यक्ष खड्का निजी अस्पताललाई दशैंमा सरकारीजस्तो नहुँदा पनि समस्या हने गरेको बताउँछन् । ‘यो बेला निजी अस्पताललाई कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ,’ उनी भन्छन्, ‘सरकारी कर्मचारीले बिदा पनि पाउने, थप बोनस पनि पाउने व्यवस्था छ तर निजी अस्पतालमा बिरामीको चाप पनि बढ्ने र कर्मचारीले पनि बिदा नपाउने भएकाले यस्तो गरेको हुन सक्छ ।’
सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै
दमौली । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिए । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ । विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाएका थिए । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिए । उनले भने, ‘बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।’ असहाय बालबालिकालाई पढाउँदै व्यास व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ । कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ । उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ । उनले भने, ‘यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।’ न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ । बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रुपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा थप गरिने योजना बनाइएको छ । रासस
चाडपर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको संख्या बढ्दै
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार रुपैयाँ र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ रुपैयाँ भेटी संकलन भएको हो । समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ । दशैँ र तिहारपर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गर्छ । पाथीभरा मन्दिर नेपालकै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । समुद्री सतहदेखि करिब तीन हजार सात सय ९४ मिटरको उचाइमा अवस्थित छ । यो मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने भएकाले नेपालका विभिन्न स्थानबाट मात्र होइन, भारतबाट समेत पाथीभरा दर्शन गर्न हजारौँ श्रद्धालु आउने गर्छन् । पाथीभरा देवीलाई शक्तिस्वरूपा देवीका रूपमा पुजिन्छ र यो मन्दिरमा विशेषगरी महिलाहरू सन्तान प्राप्तिका लागि, रोगव्याधी निको पार्न तथा इच्छित मन्नत पूरा गर्नका लागि पूजा गर्ने परम्परा छ । यस मन्दिरमा आउने भक्तजनले देवीलाई बलि दिनेसमेत प्रचलन छ । दशैँ र तिहार पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप बढ्न थालेको छ । दशैँमा विशेषगरी दुर्गा पूजा गर्ने र देवीको आशीर्वाद प्राप्त गर्ने विश्वास राखिन्छ । पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्य पनि यसको अर्को विशेषता हो । मन्दिर क्षेत्रबाट देखिने हिमशृङ्खला, वरपरका जंगल र हरियालीले धार्मिक यात्राका साथसाथै पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ । समितिका अनुसार यस वर्षको दशैँ र तिहारको समयमा अझ बढी भक्तजन आउने अपेक्षा गरिएको छ, यसका लागि आवश्यक तयारीसमेत भइरहेका छन् । तीर्थयात्रीहरूको सुविधाका लागि मन्दिर क्षेत्रमा खानेपानी, आवास र अन्य सेवा–सुविधाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । रासस