लिंग पहिचान गरेर गर्भपतन गर्नेको संख्या बढ्दै, सरकारले दिएन चासो
वीरगञ्ज । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनूमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून रहेको बताइन् । पर्सामा आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका मध्ये ३१ जनाले मात्रै औषधिमार्फत सुरक्षित गर्भपतन गराएका छन् । त्यसैगरी सोही उमेर समूहका १२ हप्तासम्मको गर्भ रहेका ९१ जनाले ‘सर्जिकल’मार्फत गर्भपतन गराएका छन् । आव २०८०/८१ मा २० वर्षमाथिका र १२ हप्तामाथिकोे मेडिकल औषधिमार्फत पाँच सय ३१ जनाले गर्भपतन सेवा लिएका छन् भने नौ सय ७३ जनाले सर्जिकलमार्फत सुरक्षित गर्भपतन गराएका छन् । नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा मञ्जु रोयले पर्सामा सुरक्षित गर्भपतनसँग सम्बन्धित जानकारी नपाएर सेवाग्राही निकै न्यून मात्रामा मात्रै अस्पतालमा गर्भपतन सेवा लिन आउने बताइन् । ‘बाहिर असुरक्षित ढङ्गले गर्भपतनको औषधि सेवन गरेपछि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि मात्रै अस्पताल आउने परिपाटी विकास हुँदै आइरहेको छ’, उनले भनिन्, ‘निश्चिित अवधिसम्मको गर्भपतन गर्नु जोखिमयुक्त कार्य होइन । तर सूचीकृत र अनुमति नपाएका संस्थामा गएर गर्भपतन गर्दा भने स्वास्थ्य नै ठूलो जोखिममा पर्ने गर्छ ।’ प्रसूति रोग विशेषज्ञ डा रोयले पर्सा जिल्लामा भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गर्ने गलत परम्पराको विकास भइरहेको गुनासो गरिन् । ‘कानुनतः गर्भमा भएका भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन’, उनले भनिन्, ‘अनुमतिप्राप्त नभएका दक्ष जनशक्तिले यस्तो खालको गलत अभ्यास गरिरहेका छन् । यो निकै ठूलो निन्दनीय कार्य हो ।’ सामान्यतया गर्भमा रहेको १४ हप्तापछि गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्न सकिने गर्छ । दश हप्तासम्मको गर्भपतन अनुमतिप्राप्त स्वास्थ्य संस्थाबाट औषधिको माध्यमबाट गर्न सकिन्छ भने १२ हप्तासम्मको गर्भपतन दक्ष स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत गर्नुपर्ने हुन्छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सीमावर्ती जिल्ला भएकाले पनि गर्भपतनका औषधि खुलमखुला बिक्री वितरण हुँदा नियन्त्रण गर्न अप्ठेरो भएको बताए । ‘महानगरले गर्भपतनसँग सम्बन्धित जनचेतनाको कार्यक्रम पर्याप्त रूपमा गर्न नसकेको स्वीकार्दै सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भइसकेको छ’, उनले भने, ‘गर्भपतन सम्बन्धित जनचेतना एक निकायले अर्कोलाई दोषारोपण गरेर नभई एकापसमा हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउँछिन् । ‘सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ’, उनले भनिन्, ‘कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो ।’ वीरगञ्ज महानगरभित्र सुरक्षित गर्भपतन गराउने निकायमा नारायणी अस्पताल, सुनौलो परिवार नेपाल, मेरिस्टोप्स, ओम हस्पिटल र बगही प्रथामिक स्वास्थ्य केन्द्र रहेको छ । वीरगञ्ज महानगरमा आव २०८०/८१ मा २० वर्षमुनिका १२ हप्तासम्मको गर्भ रहेका २३ जनाले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । सोही अवधिमा २० वर्षमुनिका १२ हप्तासम्मका गर्भ रहेका ९१ जनाले सर्जिकलमार्फत गर्भपतन सेवा लिएका थिए । आव २०८०/८१ मा वीरगञ्ज महानगरमा २० वर्षभन्दा माथिका उमेर समूहका दुई सय ४५ जनाले १२ हप्तामाथिका गर्भवतीले मेडिकल औषधिमार्फत सुरक्षित गर्भपतन सेवा छन् । त्यस्तै २० वर्षभन्दा माथिका नौ सय ७३ जनाले १२ हप्ताभन्दा धेरै समयको गर्भ सर्जिकलमार्फत सुरक्षित गर्भपतन सेवा लिएका थिए । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका नर्सिङ अधिकृत आरती ठाकुरले गर्भपतनलाई अस्थायी परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्न नहुने बताइन् । उनले भनिन्, ‘सुरक्षित गर्भपतन सेवा अस्थायी परिवार नियोजनको माध्यम होइन ।’ सेवा छ, जानकारी छैन विसं २०५९ मा सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिइएको थियो भने २०७३ देखि सबै सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गरिएको थियो । सरकारले आधारभूत स्वास्थ्य सेवाका रूपमा सुरक्षित गर्भपतन सेवालाई लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ४३ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिने गरेका छन् । अर्थात् असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ५७ प्रतिशत छ । असुरक्षित गर्भपतनले महिलाको समग्र स्वास्थ्यमा गम्भीर असर पुग्ने बताइएको छ । अर्कोतर्फ सुरक्षित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने सेवाग्राहीलाई जानकारी नै छैन । सुनौलो परिवार नेपालका कार्यकारी निर्देशक डा केपी उपाध्याय सेवाग्राहीलाई सुरक्षित गर्भपतन सेवा निःशुल्क छ भन्ने जानकारी नहुँदा असुरक्षित गर्भपतनको सङ्ख्या वृद्धि भएको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘अझै अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम रोकिएको छैन । अनधिकृत औषधिले महिलाको ज्यान नै खतरामा पर्छ, यसतर्फ सरकार थप गम्भीर बन्नुपर्छ ।’ सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकारसम्बन्धी ऐन २०७५ अनुसार गर्भवतीको अवस्थाअनुसार १२ देखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ । गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्म जस्तो प्रकारको गर्भ पनि पतन गराउन सकिन्छ । गर्भपतन नगराएमा गर्भवतीको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भलार्ई गर्भवतीको मञ्जुरीले २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ । यसैगरी, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको रायबमोजिम गर्भवतीले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । गर्भवतीको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाइफकाइ, झुक्याइ वा प्रलोभन देखाई, लिंग पहिचान गरी लिङ्गका आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था ऐनमा छ । यसैबीच ‘सुरक्षित गर्भपतनका लागी अधिकार, पहुँच र ऐक्यवद्धता’ भन्ने नाराका साथ यही असोज १० मा दशौँ सुरक्षित गर्भपतन सेवा जनचेतना मूलक कार्यक्रम आयोजना गरि मनाइँदैछ । रासस
सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एशियाली ट्राभल अवार्ड
काठमाडौं । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२४ प्राप्त गरेका छन् । सिद्धार्थअन्तर्गत काठमाडौंको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटल र रिसोर्टको रुपमा साटा अवार्ड पाएको हो । यस्तै चितवनको चुम्लिङटारमा पृथ्वीराजमार्गसँगै त्रिशूली नदि किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटलररिसोर्टका रुपमा अवार्ड पाएको हो । हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताए । साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिंदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल (हान)को सहकार्यमा नेपालमा सम्पन्न भएको हो । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो । सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरु सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई होटल सिद्धार्थ वैभवअन्तर्गतको ब्राण्डमा पर्दछन् ।
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताए । ‘दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ’, उनले भने, ‘फुर्सदको समयमा जङ्गलको लोक्ता सङ्कलन गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।’ यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनः सञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो । उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताए । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उनले बताए । जङ्गलमा गाईबस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् । बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताए । “एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उनले भने, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।” समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ । सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकताअनुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् । समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ । म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ । सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ । रासस
दशैं अगाडि लाभांश खान आज एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने
काठमाडौं । दशैं अगाडि लाभांश खान इच्छा भएका लगानीकर्ताले एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २० गते बिहान ११ आम्रपालि ब्याङ्क्वेट घाटभटेनी काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्नेछ । साथै बैंकको सभाले सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि गर्नेछ । बैंकका अनुसार सञ्चालकलाई नेपाल, भारत र अन्य देशको भ्रमण गर्दा दैनिक भत्ता विगत ९ वर्षदेखि पुनरावलोकन भएको छैन । त्यसैले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्ने बैंकले जनाएको छ ।
शिवमले घोषणा गर्याे लाभांश, २.५० प्रतिशतका दरले नगद लाभांश दिने
काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज ३० गते अनामनगर काठमाडौंमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
तितो करेला ६५ रुपैयाँ, कुन तरकारीको मूल्य कति ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । आज भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ४७ रुपैयाँ तोकिएको छ । आलु प्रतिकेजी ६२.६७ रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ११३.६७ रुपैयाँ, मुडे आलुको ६९ रुपैयाँ तोकेको छ । प्याज सुकेको (भारतीय) ११२.३३ रुपैयाँ, गाजर(लोकल) १२५ रुपैयाँ, गाजर (तराई) (केजी) ११० रुपैयाँ, बन्दा (लोकल) ५५ रुपैयाँ, बन्दा (तराई) ४५ रुपैयाँ, काउली स्थानिय ९५ रुपैयाँ, मूला रातो ३० रुपैयाँ, मूला सेतो (लोकल) २२.३३ रुपैयाँ, सेतो मूला (हाइब्रीड) २७.६७ रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३२.६७ रुपैयाँ, बोडी (तने ६५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, घिउ सिमी (लोकल) ७५ रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ, तितो करेला ६५ रुपैयाँ तोकिएको छ । [pdf id=511796]
सानिमाले सिधैं पठायो इकाईधनीको बैंक खातामा लाभांश
काठमाडौं । सानिमा क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको हो । क्यापिटलले असोज ७ गतेदेखि इकाईधनीहरूको हितग्राही खातामा अद्यावधिक बैंक खातामा लाभांश आईपीएस मार्फत् जम्मा गर्ने जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ । कम्पनीले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सानिमा इक्विटी फण्डले १५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।
सिद्धार्थ बैंकले सार्वजनिक गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने १०१ जनाको नाम
काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले सोमबार एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । क्रेडिट कार्ड प्रयोग गरी ऋण लिएर समयमा उक्त ऋण चुक्ता नगरेपछि ३५ दिनको समय दिएर बैंकले १०१ जना ऋणीको नाम सार्वजनिक गरेको जनाएको छ । बैंकले पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकाल्न बाध्य भएको बैंकले जनाएको छ । सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।