प्राइम कलेजले नेपालमै पहिलो पटक सीपीए तयारी कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । काठमाडौंको प्राइम कलेजले अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) तयारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कलेजले नेपालमा पहिलो पटक यो कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । यसका लागि कलेजले भारतको केपीएमजीसँग साझेदारी गरेको छ । सीपीए कार्यक्रमले अडिटिङ तथा लेखा क्षेत्रमा भविष्य बनाउन खोज्ने वा काम गर्न चाहनेहरूलाई सक्षम बनाउने लक्ष्य राखेको छ । नेपालमै बसेर अमेरिकी सीपीए पढ्न चाहने विद्यार्थीहरूका लागि यो कार्यक्रमले सहजता प्रदान गर्ने कलेजले जनाएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. विभास बासुकलाले यो कार्यक्रम नयाँ र अहिलेको आवश्यकता भएकाले नेपालमै अध्ययन गर्न चाहनेहरूका लागि सुनौलो अवसर भएको बताए । ‘यो धेरै लामो कोर्स होइन, त्यति खर्चिलो पनि छैन, याे १२ देखि १८ महिनामा कोर्स नै पूरा हुन्छ,’ उनले भने, ‘यो लेखा र वित्तमा करिअर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प हो । यो पढिसकेपछि विद्यार्थीले बेरोजगार रहनुपर्दैन ।’ कार्यक्रममा बोल्दै कलेजका प्रमुख शैक्षिक सल्लाहकार नारायणप्रसाद शर्माले कलेजले शिक्षामा नयाँ कार्य सुरु गरेको जानकारी दिए । उनले नेपालमा सीपीए टेस्ट तयारी कार्यक्रम सञ्चालन गरेर प्राइम कलेजले विद्यार्थीहरूलाई एक अद्वितीय अवसर प्रदान गर्न लागेको बताए । कार्यक्रममा बोल्दै नबिल बैकका अध्यक्ष उपेन्द्र पौडेलले प्राइम कलेज र केपीएमजीको साझेदारीले नेपालमा शिक्षाको स्तर बढाउने बताए । नेपालमा यस्ता दक्ष जनशक्तिको आवश्यक्ता रहेको बताउँदै उनले नेपाली विद्यार्थीहरूलाई विदेश जानै नपरी स्वदेशमा नै पेशागत योग्यता सुधार्ने एक परिवर्तनकारी अवसर प्रदान गरेको भन्दै तारिफसमेत गरेका थिए । सीपीए प्रमाणपत्र प्राप्त गरेपछि विद्यार्थीहरू स्थानीय र अन्तर्राष्ट्रिय बजारका मागहरू पूरा गर्न तयार हुनेछन्, जसले उनीहरूको करिअरमा ठूलो सफलता प्राप्त गर्न मद्दत गर्ने कलेजले अपेक्षा गरेको छ । केपीएमजीसँगको यो साझेदारी प्राइम कलेजको शैक्षिक यात्रामा एक महत्त्वपूर्ण कोसेढुंगा हो, जसले नेपालमा विद्यार्थीहरूलाई विश्वस्तरीय सीपीए परीक्षा तयारीको पहुँच प्रदान गर्ने जनाइएकाे छ ।। के हो केपीएमजी ? केपीएमजी भारत, केपीएमजीको विश्वव्यापी नेटवर्कको एक हिस्सा हो । यसले विभिन्न उद्योगहरूमा अडिट, कर र परामर्श सेवाहरू प्रदान गर्दै आइरहेकाे छ । सन १९९३ मा स्थापना भएदेखि केपीएमजी भारतले यस क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइ सकेको छ । केपीएमजी भारतको शिक्षा सेवाले विद्यार्थीहरूलाई विश्वव्यापी वित्तीय परिदृश्यमा सफल हुन आवश्यक सीप र ज्ञानले सुसज्जित गर्दै आइरहेकाे छ । नेपालमा अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रमको सुरसवात केपीएमजीको क्षेत्रीय शैक्षिक विकासमा देखाएको प्रतिबद्धताको प्रमाण पनि हो ।
पहिलो स्याउ मेला असाेज १७ गतेदेखि सुरु, यस्ता छन् परिकार (तस्बिरहरू)
काठमाडौं । काठमाडौंमा स्याउ मेलाको आयोजना गरिने भएकाे छ । मंगलबार ठमेलको होटल मनाङमा गरिएकाे पत्रकार सम्मेलनमा असाेज १७ गतेदेखि स्याउ मेलाकाे आयाेजना हुने जानकारी दिइयाे । होटल मनाङकाे सहकार्यमा किसान भेन्चरले स्याउ मेलाकाे आयाेजना गर्न लागेकाे हाे । आयोजकका अनुसार याे नेपालको पहिलो स्याउ मेला हो । मेला तीन दिन चल्नेछ । नेपाल किसान भेन्चरकी अपरेसन मेनेजर मेलीना राईले नेपाली स्याउलाई प्रवर्द्धन गर्न मेलाकाे आयाेजना गरेको बताइन् । उनले भनिन्, ‘कतिपय हामी नेपाली जनतालाई नै थाहा छैन- नेपालमा कस्तो स्याउ फल्छ भनेर । नेपालमै राम्रो स्याउ फल्दाफल्दै पनि विदेशबाट आयात भइरहेको छ । नेपाली स्याउकाे प्रवर्द्धन गर्न स्याउ मेलाकाे आयाेजना गरेका हाैं । ‘ स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभाेक्ता, आपूर्तिकर्ता र उद्याेग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनू यस मेलाकाे मुख्य उद्देश्य रहेकाे राईले जानकारी दिइन् । मेलामा स्याउ उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकले भाेग्नुपरेका चुनाैतीहरू पनि उजागर गरिने उनले बताइन् । स्याउ मेलाकाे मुख्य नारा ‘याे दशैं स्याउसँग मनाऊँ’, खुसी बाँडाैं, स्वस्थ खानेकुरा खाऔं’ रहेकाे छ । मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकाेटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनीमा राखी बिक्री गरिने आयाेजकले जनाएकाे छ । मेलामा एप्पल क्रीस्पी, एप्पल पाई, एप्पल ब्रेड, पियोर एप्पल जुस र एप्पल खम्बुच्चा लगायतका परिकारहरू पनि प्रस्तुत गरिनेछ । गत असारमा किसान भेन्चरले प्रथम आँप मेलाकाे आयाेजना गरेकाे थियाे । यी हुन् स्याउ मेलामा प्रस्तुत गरिने परिकारहरू:
शनिबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले असाेज १० गतेदेखि टिकट बुकिङ खुला गर्नका लागि प्रस्ताव गरे पनि १२ गतेका लागि सहमति भएकाे हाे । शनिबार सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो । छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्ने, अग्रिम टिकट बुकिङ तत्काल खुलाउने र छठपछि भाडा समायोजन गर्ने सहमति भएको थियो ।
मेगाटेक ग्रुपले गर्यो लेनोभोका नयाँ उत्पादन सार्वजनिक
काठमाडौं । नेपालमा लेनाेभाेको नयाँ उत्पादन सार्वजनिक भएकाे छ । सन् २०११ देखि आईटी वितरण क्षेत्रमा सक्रिय मेगाटेक ग्रुपले मंगलबार पहिलो काेपाइलट प्लस एआईपीसी याेगा स्लिम ७ एक्स, नयाँ याेगा र लिजिनको श्रृंखला सार्वजनिक गरेकाे हाे । कार्यक्रमको मुख्य आकर्षण याेगा स्लिम ७ एक्स थियो जसले उत्कृष्ट ब्याट्री दक्षता र प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएकाे छ । मेगाटेक ग्रुपका सुरेश लोहानीले मेगाटेक ग्रुप आइटी वितरण क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि विश्वासिलो नाम रहेकाे बताए । उक्त कार्यक्रममा लेनाेभाेका लागि नेपालमा उत्कृष्ट व्यापार विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने शीर्ष १० साझेदारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएकाे थियो । लेनाेभाेले एआई समर्थित, एआई-तयार र एआई-अप्टिमाइज्ड उपकरणहरू, इन्फ्रास्ट्रक्चर (सर्भर, स्टोरेज, एज कम्प्युटिङ), सफ्टवेयर र विभिन्न सेवामार्फत १८० देशका बजारमा सेवा दिँदै आएकाे छ ।
नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो
काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् । हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।
पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुने
गण्डकी । पर्यटनको राजधानी पोखरामा बुधबार संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । संघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू मंगलबार साँझसम्म पोखरा आइपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए । संघीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
दशैंमा बसको टिकट काट्न लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा
काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णय भएपछि यसै सातादेखि अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्समा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको आगामी बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताए । दशैं आउन धेरै दिन बाँकी नभएकाले केही दिनमा नै टिकट बुकिङ सुरु हुने उनको भनाइ छ । विगतका वर्षमा पनि दशैंको समयमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको हो । बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको बताएका खनालले यस वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको जानकारी दिए । ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउनेछैन ।’ बससेवाले आफ्नो प्लेटफर्ममार्फत् टिकट काट्ने यात्रुमध्ये हरेक दिन केही यात्रुलाई आकर्षक अफर दिने तयारी गरिरहेको र यस सम्बन्धमा छिट्टै औपचारिक घोषणा गरिने बससेवाले जनाएको छ । बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याइसकेको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जानका लागि सो लाउन्जबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । उल्लेखित समिति तथा कम्पनीहरूका हजारौं संख्याका बसका लाखौं टिकट अनलाइनमार्फत खरिद गर्न सकिने बससेवाले जनाएको छ ।
दीपालको ब्रान्ड एम्बेस्डरमा पूर्वकप्तान पारश खड्का
काठमाडौं । विद्युतीय गाडी दीपालकाे ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हाे । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दीपाल इभीको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएकाे हाे । खड्काले दीपाल परिवारमा जाेडिन पाउँदा खुसी लागेकाे बताए । साथै उनले आफू अहिले पनि दीपाल गाडी नै चढिरहेको बताए । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’ त्यसैगरी, पारसलाई दीपाल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए । केही महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ ।