सामलिङ्ग पावरको ४२ लाख ८४ हजार कित्ता सेयरको लकइन सकिँदै
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक १५ गते समाप्त हुने जनाएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ४२ लाख ८४ हजार ६ सय कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको ५ लाख र कम्पनीका कर्मचारीहरूको १४ हजार ६ सय कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।
पाकिस्तानले भन्यो- बाढीपहिरोले समस्या भोगिरहेको नेपाललाई सघाउँछौं
काठमाडाैं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्बद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।
बाढीपहिरो पीडितलाई एनआरएनएले एक करोड रुपैयाँ सहयोग गर्ने
काठमाडाैं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ । अध्यक्ष डा. केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ । बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ । बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् । सङ्घका महासचिव गौरीराज जोशीले सङ्घको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिए। उक्त साधारणसभा आगामी कात्तिकको ११ र १२ मा काठमाडौँमा आयोजना हुँदैछ ।
प्याज र गाजरको मूल्य आकासिँदै, पार्सलेको मूल्य २ हजार २६६ रुपैयाँ पुग्यो
काठमाडौं । बाढी पहिरोले सडक सञ्जाल टुटेपछि तरकारीको मूल्यमा परेको प्रभाव आजपनि कायमै रहेको छ । उपत्यकाबाहिरबाट काठमाडौं प्रवेश गर्नै सडकमा पहिरो गएपछि सवारी साधन प्रवेश गर्न पाएका छैनन् । जसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा परेको छ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीका अनुसार भारतीय गोलभेडा प्रतिकेजी ११० रुपैयाँ, लोकल सानो गोलभेडा ६५ रुपैयाँ र टनेलको सानोे गोलभेडा प्रतिकेजी ८३.७५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, भारतीय रातो आलु ६१ रुपैयाँ, मुडे आलुको ७४ रुपैयाँ रहेको छ । भारतीय सुकेको प्याजको मूल्य बढेर १३० रुपैयाँ पुगेको छ । जबकी हिजो ११८.३३ रुपैयाँमा कारोबरा भइरहेको थियो । यस्तै गाजरको मूल्य पनि उच्च पुगेको छ । लोकल गाजर २२६.६७ रुपैयाँ, तराईको गाजर १९० रुपैयाँ, लोकल बन्दा १०५ रुपैयाँ, तराईको बन्दा ८५ रुपैयाँ पुगेको छ । हिजो लोकल गाजर १९० रुपैयाँ, तराईको गाजर १६० रुपैयाँ, लोकल बन्दा ८५ रुपैयाँ, तराईको बन्दा ७० रुपैयाँ थियो स्थानिय काउली १३० रुपैयाँ, रातो मूला २७.६७ रुपैयाँ र सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ तोकिएको छ । यस्तै भन्टा ९५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ र तितो करेला आज ११० रुपैयाँ रहेको छ । लौका ९५ रुपैयाँ, घिरौला ११० रुपैयाँ, रायो साग ९५ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, तोरीको साग ७५ रुपैयाँ, प्याज हरियो १९० रुपैयाँ रुपैयाँ छ । यस्तै कन्य च्याउको १८० रुपैयाँ, डल्ले च्याउको च्याउ ४२६.६७ रुपैयाँ, ब्रोकाउली १७६.६७ रुपैयाँ, चुकुन्दर ९५ रुपैयाा, रातो बन्दा १७६.६७ रुपैयाँ, जिरीको साग ९५ रुपैयाँ, सेलरी ७५० रुपैयाँ, पार्सले २ हजार २६६.६७ रुपैयाँ, पुदीना ७५० रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, अदुवा १९० रुपैयाँ, खु्र्सानी सुकेको ४२६.६७ रुपैयाँ, खु्र्सानी हरियो १७६.६७ रुपैयाँ, खुर्सानी हरियो (बुलेट) १९० रुपैयाँ तोकेको छ ।[pdf id=513630]
स्वच्छ ऊर्जाका लागि २० खर्ब डलर विनियोजन
काठमाडौं । विश्वभरका सरकारहरूले सन् २०२० देखि स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ । प्रतिवेदनको पहिलो संस्करण स्टेट अफ इनर्जी पोलिसी २०२४ ले यो सन् २००७÷०८ को आर्थिक सङ्कटपछि प्रतिबद्ध रकमको करिब तीन गुणा रहेको बताएको छ । प्रतिवेदनले विनियोजन गरिएको प्रत्यक्ष सरकारी खर्चको करिब ८० प्रतिशत चीन, युरोपेली सङ्घ (इयु) र संयुक्त राज्य अमेरिकामा रहेको बताएको छ । प्रतिवेदनअनुसार नीतिनिर्माताहरूले हालैका वर्षहरूमा विभिन्न सङ्कटका कारण ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गरेकाले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि सरकारी समर्थन र प्रोत्साहनहरू नयाँ उचाइमा पुगेका छन् । स्वच्छ ऊर्जाका लागि घरेलु उत्पादन प्रोत्साहनहरू सार्वजनिक लगानीको एक क्षेत्र हो । यो पर्याप्त रूपमा बढ्दै गइरहेको छ । यसले दशकको सुरुदेखि कूल सरकारी खर्चको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । यसमा कम उत्सर्जन सवारी साधनहरू, हाइड्रोजन र ब्याट्रीहरूले सबैभन्दा विनियोजन प्राप्त गरेका छन् । उपभोक्ता स्तरमा प्रतिवेदनले विश्वव्यापी ऊर्जा सङ्कटको उच्च विन्दुम अल्पकालीन सरकारी सहयोगको लागत ९ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको पत्ता लगाएको छ । ‘स्वच्छ ऊर्जाका लागि नीति र लगानी समर्थनको अभूतपूर्व स्तर यी प्रविधिहरूले उत्सर्जन घटाउने मात्र नभई ऊर्जा सुरक्षालाई पनि सुनिश्चित गर्न सहयोग पु¥याउँछ भन्ने मान्यता हो,’ आइइएको दिगोपना, प्रविधि र दृष्टिकोण निर्देशक लौरा कोज्जीले भने । प्रतिवेदनको पहिलो संस्करणले विगत १२ महिनामा भएका सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरूलाई प्रकाश पार्दै देश र क्षेत्रअनुसार ऊर्जा नीतिहरूको सबैभन्दा व्यापक र नवीनतम विश्वव्यापी चित्र प्रदान गर्दछ ।
पाकिस्तानले संस्थानहरू निजीकरण गर्ने, निजीकरण नभए बन्द गर्ने
काठमाडौं । आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्थाहरू निजीकरण गर्न प्राथमिकता दिने भएको छ । एआरवाई न्यूजले स्रोतहरूलाई उल्लेख गर्दै पाकिस्तानका सार्वजनिक संस्थान निजीकरण विफल भएको अवस्थामा बन्द गर्ने रजनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएको हुन् । मन्त्रालयले पाकिस्तान स्टोन डेभलपमेन्ट कम्पनी, पाकिस्तान अटोमोबाइल कर्पोरेशन र पाकिस्तान इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायत निजीकरणका लागि धेरै संस्थाहरू पहिचान गरेको छ । निजीकरणका लागि निर्धारित अन्य संस्थाहरूमा खादी शिल्प विकास कम्पनी, कृषि खाद्य प्रशोधन कम्पनी, छाला शिल्प विकास कम्पनी र मोराफिक उद्योगहरू रहेका छन् । सरकारले दक्षिणी पञ्जाब एम्ब्रोइडरी उद्योग, गुजरनवाला बिजनेस सेन्टर, पाकिस्तान केमिकल एन्ड एनर्जी सेक्टर स्किल्स डेभलपमेन्ट कम्पनी र स्पिन यार्न रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीलाई पनि निजीकरण गर्ने योजना बनाएको छ । डनको रिपोर्टअनुसार अगस्ट ३० मा निजीकरण आयोगका सचिव उस्मान अख्तर बाजवाले निजीकरणसम्बन्धी सिनेटको स्थायी समितिलाई ऋणमा डुबेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स .पिआइए) को निजीकरण प्रक्रिया अक्टोबर १ सम्ममा पूरा हुने जानकारी दिए । मन्त्रिपरिषद्ले पाकिस्तान मिनरल डेभलपमेन्ट कर्पोरेशन र सैन्डक मेटल्स लिमिटेड (एसएमएल) लाई निजीकरण गर्न स्वीकृति दिएको छ । निजीकरण प्रक्रियाअन्तर्गत पेट्रोलियम डिभिजनको विभाग इएनएआर पेट्रोटेक सर्भिसेज प्रालि विघटन हुनेछ । यद्यपि सरकारले पेट्रोलियम डिभिजनअन्तर्गत पाकिस्तान स्टेट आयल (पिएसओ), पाक–अरब रिफाइनरी लिमिटेड र सुई ग्यास कम्पनीहरू लगायत अन्य विभागहरूको भाग्यको बारेमा निर्णय गर्न बाँकी छ ।
सिङ्गापुर डलरको भाउ १०४.७७ रुपैयाँ हुँदा हङ्कङको १७.२७ रुपैयाँ, कुन देशको कति ?
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.६३ रुपैयाँ र बिक्रीदर १३४.२३ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.१८ रुपैयाँ र बिक्रीदर १४९.८५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७८.७२ रुपैयाँ र बिक्रीदर १७९.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.९८ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.२४ रुपैयाँ र बिक्रीदर ९२.६५ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.८७ रुपैयाँ र बिक्रीदर ९९.३२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.३० रुपैयाँ र बिक्रीदर १०४.७७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१३ रुपैयाँ र बिक्रीदर ४.१५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४० रुपैयाँ र बिक्रीदर ३२.५४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२४ रुपैयाँ र बिक्रीदर १३.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर २०.०१ रुपैयाँ र बिक्रीदर २०.१० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.१९ रुपैयाँ र बिक्रीदर १७.२७ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.११ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.४६ रुपैयाँ र बिक्रीदर ३५६.०५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
एनएमबि बैंकको पौने २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । इच्छुकले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । यदि ३५ दिनभित्र संस्थापकले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।