चौतर्फी दबाबपछि हवाइ भाडा घट्यो, अब तीन दिनसम्म मूल्य वृद्धि नहुने
काठमाडौं । विपत्तिको समयमा यात्रुलाई महङ्गो हवाई भाडा लिएको भनी नागरिकस्तरबाट चर्को आलोचना भएपछि एयरलाइन्सहरुले आगामी तीन दिन हवाई टिकटका लागि तोकिएको अधिकतम मूल्य नलिने भएका छन् । वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले आगामी तीन दिनका लागि सरकारले तोकेको अधिकतम भाडा नलिने निर्णय गरेको हो । सोमबार, मङ्गलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय भएको सङ्घका अध्यक्ष मनोज कार्कीले बताए । ‘तीन दिनलाई एयरलाइन्सहरुले ‘अफर फेयर’ अधिकतम माथिल्लो भाडादर हटाइदिएका छौँ, सस्तो दरमा मात्रै टिकट बिक्री भएको छ,’ उनले भने । सरकारकोतर्फबाट पनि इन्धनमा सहुलियत तथा विमानस्थल शुल्क, जहाज पार्किङ शुल्कमा छुट गर्न आग्रह गरिएको र त्यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने अध्यक्ष कार्कीले बताए । सामाजिक सञ्जालमा हवाई भाडा महङ्गो भएको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नै बिपत्तिको समयमा यात्रुहरुसँग पहिलाभन्दा सहुलियत मुल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । अध्यक्ष कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज होस भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे । हवाई यात्रुको चाप बढेपछि हवाई कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छोडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध टन् । यस्तो अवस्थामा हवाई भाडा बढाएको भन्दै नागरिकस्तरबाट आलोचना भएको छ । सस्तो हवाई भाडा उपलब्ध गराउन क्यानको निर्देशन हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विपद्को अवस्थामा बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको छ । ‘कम्तिमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तोमा उपलब्ध गराउन निर्देशन दिइएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । उनले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए । ‘एयरलाइन्सले लिएको भाडा गैरकानुनी हैन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोही अनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ, अहिलेको विपत्तिमा यात्रुलाई राहत हुनेगरी हवाई भाडा लिन एयरलाइन्सलाई आग्रह गरेका छौँ,’ उनले भने । हाल काठमाडौँ आउने मुख्य सडक मार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।
विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकले सञ्चालन गर्याे निःशुल्क स्वास्थ्य जाँच शिविर
काठमाडौं । एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते बैंकले बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छट । एनएमबि बैंकले वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने भएकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताएको छ । कार्यक्रमा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वस्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्न जानकारी गराएका थिए । साथै मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्वबारे स्वास्थ्यकर्मी जानकारी गराए । दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यांकर’ पत्रिकाले एसियाकै सर्वोत्कृष्ट ‘बैंक अफदिइयर एसिया’ को उपाधीबा २०१७, २०१८, २०२० र २०२१ मा बैंकले प्राप्त गरेको थियो । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।
एक वर्षपछि एनएलजी र एलआईसीलाई हकप्रद निष्काशनको अनुमति, प्रक्रिया पुगेका अन्यले पनि पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाल ले हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएका छन् । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्स र एलआईसी नेपाललाई अनुमति दिएको नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले जानकारी दिए । धितोपत्र बोर्डले एनएलजीलाई ६६ प्रतिशत र एलआईसी नेपाललाई ८८.४५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको अध्यक्ष बरालले बताए । बोर्डबाट अनुमति पाएसँगै एनएलजीले ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । गत फागुनमा सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड पुँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकप्रद सेयरको बाटो रोजेको हो । यस्तै एलआईसी नेपालले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । एलआईसी नेपालले गत वर्षको असोज २९ गते र एनएलजी इन्स्योरेन्सले कात्तिक २ गते हकप्रद सेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो । तर, अध्यक्ष नभएको बाहानामा धितोपत्र बोर्डले अनुमति दिन आनाकानी गरेको थियो । पछिल्लो समय भने सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएसँगै अनुमति दिने कार्यमा सेबोन सक्रिय भएको हो । प्रक्रिया पुर्याएर आएका कम्पनीलाई अनुमति दिइरहेको अध्यक्ष बराल बताउँछन् । आफू ऐन अन्तर्गत नै अध्यक्ष भएर आएकाले अनुमति दिएको उनको भनाइ छ ।
बाढीले क्षति पुर्याएका जलविद्युतको मूल्यमा गिरावट
काठमाडौं । बाढी पहिरोको असर पुँजी बजारमा परेको छ । अविरल बर्षाका कारण बाढी पहिरोबाट पुँजी बजारमा सूचीकृत कम्पनीमा क्षति पुर्याएपछि सेयर मूल्यमा गिरावट आएको हो । आइतबार जलविद्युत समूह २.३६. प्रतिशत अर्थात् ६१.४९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार जलविद्यत समूहका रहेका अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार २० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । जसमध्ये १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको इप्पानले जनाएको छ । विकासन्युृजलाई प्राप्त तथ्याङ्क अनुसार बाढीले क्षति पुर्याएका जलविद्युत कम्पनीहरूमध्ये ९ वटा हाइड्रोपावर पुँजी बजारमा सूचीकृत छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । मान्डू हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजनामा लगानी गरेको छ । सो आयोजनामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएपछि त्यसको प्रत्यक्ष असर सेयर मूल्यमा परेको हो । नेप्सेका अनुसार मान्डु हाइड्रोको सेयर मूल्य ४.४६ प्रतिशत घटेको हो । विहिबार प्रतिकित्ता ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य आइतबार ५५४ रुपैयाँमा झरेको छ । यस्तै माउन्टेन हाइड्रो नेपालको लगानी रहेको तल्लो हेवाखोला जलविद्युतमा करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । लगानी गरेको आयोजनामा क्षति पुर्याएपनि कम्पनीको सेयर मूल्य घटेको छ । माउन्टेनको सेयर मूल्य ७.२१ प्रतिशत घटेर २४३.१० रुपैयाँमा झरेको छ । बिहीबार यस कम्पनीको २६२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । बाढीले सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुर्याएर बन्द भएको छ । यस कम्पनीमा साहस ऊर्जाको लगानी छ । सोलु दुधकोशीमा लगानी रहेको यस कम्पनीको सेयर मूल्य ४.८४ प्रतिशत घटेर ४५६ रुपैयाँमा झरेको छ । बिहीबार प्रतिकित्ता ४९७.१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ३.३० प्रतिशत घटेर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार कम्पनीको ५४५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको लगानी माइखोला जलविद्युत आयोजनामा छ । यस आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ । सगरमाथाकै लगानी रहेको माइखोला क्यासकेड जलविद्युतमा पनि करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आइतबार माइखोलाको सेयर मूल्य ४.३९ प्रतिशत घटेर ४५७ रुपैयाँमा झरेको छ । बिहीबार ४७८ रुपैयाँमा कारोबार भएको थियो । यस्तै २ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको माया खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.७५ प्रतिशत घटेको छ । बिहिबार ३४१ रुपैयाँ रहेको यस कम्पनीको सेयर मूल्य घटेर ३२५ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । पाँचथर पावरको लगानी रहेको १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेको छ । यसअघिको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउन लागेको थियो । तर, सञ्चालनमा आउन नपाउँदै पुनः क्षतिग्रस्त भएको हो । आइतबारको कारोबारमा पाँचथर पावरको सेयर मूल्य ८.२७ प्रतिशत अर्थात् २२ रुपैयाँ घटेर २४४ रुपैयाँमा कायम रहेको नेप्सेले जनाएको छ । बिहीबार यस कम्पनीको २६६ रुपैयाँमा कारोबार भएको थियो । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । विद्युत् उत्पादन बन्द गरिएको छ । कम्पनीको सेयर मूल्य ३.४१ प्रतिशत अर्थात् ७ रुपैयाँ घटेर १९८ रुपैयाँमा झरेको छ । यसअघि बिहीबार कम्पनीको सेयर मूल्य २०५ रुपैयाँमा कारोबार भएको थियो । तर, बाढीले क्षति पुर्याएको खानीखोला जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको देखिन्छ । कम्पनीको सेयर मूल्य ०.५१ प्रतिशत बढेर २५८ रुपैयाँमा उक्लिएको छ । बिहीबार २५६.७० रुपैयाँमा कारोबार भएको थियो ।
बाढीले काबेली करिडोर प्रसारण लाइनका चारवटा टावरमा क्षति, १८५ मेगावाट विद्युत उत्पादन बन्द
काठमाडौं । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको थियो । काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ । चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए । प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।
मोबाइलबाटै काट्न सकिन्छ काठमाडौंबाट ४३३ गन्तव्यको टिकट
काठमाडौं । दसैँका लागि काठमाडौं उपत्यकाबाट देशका विभिन्न गन्तव्यमा जानका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । शनिबार टिकट खुलेसँगै भारी वर्षाका बाबजुद पनि यात्रुहरू बसपार्क र उपत्यकाका अन्यत्र रहेका टिकट काउन्टरमा लाइन लागेर टिकट काटिरहेका छन् । प्रविधिमा जानकार रहेका केहीले भने अनलाइनबाटै टिकट काटिरहेको भए पनि यसबारे जानकारी अभावका कारण झरी र जोखिमको पर्वाह नगरी धेरै मानिस टिकट काउन्टरसम्म धाइरहेका छन् । यसैबीच, अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ । विगत केही दिनदेखिको निरन्तर भारी वर्षाका कारण उपत्यकाका धेरै सडक क्षतिग्रस्त भएको र पूर्ण रूपमा मर्मत भई आवागमन सहज नभइसकेको अवस्थामा टिकट काउन्टरमा लाइन लागेर समय खर्च गर्नुको सट्टा घरैबाट आफैँसँग भएको मोबाइलबाट टिकट काट्न सकिने व्यवस्था बससेवाले गरेको हो । बससेवाले शनिबारदेखि नै देशभरका विभिन्न ४३३ गन्तव्यका लागि टिकट बुकिङ खुलाएको छ । प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने कम्पनीले जनाएको छ । यति मात्रै होइन, देशका जुनसुकै स्थानबाट पनि काठमाडौंबाट छुट्ने गाडीको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सीलगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ । यसका साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ । लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ । सरकार तथा यातायात व्यवसायीले यस पटक अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए । ‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । आवश्यकताका आधारमा टिकट उपलब्ध छ ।’ खनालका अनुसार बससेवामार्फत काठमाडौंबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ । ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ । नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् । सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई धेरै सहज हुने विश्वास कम्पनीले लिएको छ ।
प्रभु बैंकका कर्मचारी र ग्राहकले कलेज अफ मेडिकल साइन्सेसमा छुट पाउने
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वाड नं- १० स्थित कलेज अफ मेडिकल साइन्सेस (सिओएमएस) शिक्षण संस्था र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सिओएमएसका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार सिओएमएसमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले उपचार गर्दा औषधी, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् । प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले छुट पाउन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ । प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालय, २८६ एटीएमका साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आइरहेकाे छ ।
मेहनत र संघर्षले दिलाएको कार्कीको सफलता, ७५ जनाभन्दा बढीलाई दिए रोजगारी
सुन्दरबजार । कामको खोजीमा वैदेशिक रोजगारमा जान तम्सिएका जो कोहीलाई सहजै भन्ने गरिन्छ, आफ्नै देशमा केही गरे के हुँदैन ? विदेश नै जानुपर्छ र ? विदेशमा गर्ने श्रम नेपालमै गर्ने हो भने यहाँ पनि केही गर्न सकिन्छ नी । यो त बेरोजगारी समस्या नभोगेकाले वा राजनीति गर्ने र समाजसेवीहरुले भन्ने र दिने उपदेश मात्र हो । देशमा केही गर्न खोज्दाखोज्दै पनि केही सीप नलागेपछि हार खाएर गाउँका थुप्रै ऊर्जाशील युवा अहिले विदेशमा आफ्नो श्रम बेचिरहेका छन् । विदेशिएका जति सबैले भनेजस्तो गर्न त सकेका छैनन् तर पनि केहीले भने राम्रो प्रगति गरेका छन् । आफूले भोगेको जस्तै समस्या अरुलाई नहोस् भन्नका लागि विदेशमा नेपालीलाई सहज हुनेगरी व्यावसायिक काम पनि गरेका छन् । उद्यम गर्ने आफ्नो सोचलाई विदेशमा पुगेर कतिपय युवाहरूले साकारसमेत पारेका छन् । आफ्नै देशमा केही गर्छु भन्दाभन्दै यहाँको प्रशासनिक झन्झट र बेथितिका कारण थाकेर आजित भई विदेशिनेहरूको भीडका एक व्यक्ति छन् गुमानसिंह कार्की । लमजुङको सुन्दरबजार नगरपालिका–८, घोक्रेश्वाँराका कार्कीले पोर्चुगल पुगेर गरेको संघर्ष र मेहनतले अहिले ७५ जनाभन्दा बढीलाई रोजगार दिएको छ । उनले पोर्चुगलबाट सुरु गरेको व्यवसाय अहिले भारत हुँदै काठमाडौंसम्म विस्तार भएको छ । आफ्नो व्यवसायबाट यति धेरै व्यक्तिलाई रोजगार दिन पाएकामा नै उनी खुसी छन् । ‘नेपालमा नै केही गर्छु भन्ने सोच नआएको पनि होइन’, उनी भन्छन्, ‘गणित र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नेक्रममै केही व्यवसाय गर्ने सोचमा थिएँ । तर भनेजस्तो नभएपछि विदेश जाने सोच बनाएँ ।’ उनले आईए पास गरेपछि केही समय बोर्डिङ स्कूलमा शिक्षण कार्य गरे पनि त्यसले आफैँलाई पालिन मुस्किल देखेपछि २०५८ सालमा वैदेशिक रोजगारमा दुबही गए । विदेशमा रहँदा पनि उनलाई स्वदेशमै आएर केही गर्छु भन्ने हुटहुटीले छाडेन । त्यही अठोटले उनलाई स्वदेश फर्कायो र दोभान इन्टरनेशनल नामक पेस्टिसाइडको कारोबार गर्ने कम्पनी स्थापना गर्ने तयारीमा जुटे । चीनबाट औषधि ल्याएर नेपालमा लेवलिङ गरी बिक्री गर्ने योजनाका साथ काम गर्न हरिहर भवनस्थित पेस्टिसाइड रजिस्ट्रेसन विभागमा जाँदा सात लाख रुपैयाँ घुस मागिएपछि हार खाएर त्यहीँ कागजपत्र च्यातेर फर्किए । यत्तिकैमा उनी निराश बनेनन् । युरोप जान पाए पैसा त कमाउन सकिन्थ्यो भन्ने सोच उनको मनमा पलायो । यसैअनुरुप सन् २०१३ को डिसेम्बरमा पर्यटक भिसा लिएर पोर्चुगल छिरेका उनी त्यहीँ कागजपत्र मिलाएर काम गर्न थाले । शुरुआती दिनमा ठूलो संघर्ष गर्नुपरेको कार्की बताउँछन् । संघर्षले मानिसको जीवनमा सफलता ल्याउँछ भन्ने तथ्य उनको जीवनमा पनि लागू हुन्छ । उनलाई पनि लाग्ने गर्छ, ‘विदेशमा गरिएको जस्तै श्रम नेपालमा गर्ने हो भने यहीँको जीवन सरल र सहज छ । आफ्नै परिवेश राम्रो छ । यहीँंको संस्कृति सुन्दर छ ।’ सुरुका दुई वर्षसम्म उनले पोर्चुगलमा सुन्तला र ऐँसेलु टिप्ने काम गरे । ‘काम गर्दागर्दै त्यहाँको सबै रहनसहन बुझेँ, परिवेश थाहा हुँदै गयो, मानिसले कस्तो दुःख पाएका छन् भन्ने पनि देखियो’, उनी भन्छन्, ‘यसले मलाई पनि मेहनत गर्ने आँट जाग्यो । दुःखलाई अवसरका रुपमा लिन थालेँ ।’ सुन्तला र ऐँसेलु टिप्ने काम छोडेर ‘युरोफिम्स’ नामक कम्पनीमा काम गर्न थाले । त्यहाँ थुप्रै नेपालीहरु काम गर्दथे । उनी पढेलेखेको हुनाले कम्पनीले मानव संशाधनको क्षेत्रको जिम्मेवारी दियो । कम्पनीमा राम्रै आम्दानी पनि थियो । तैपनि सधैँभरि अरुको काम गरेर मात्र आफ्नो प्रगति नहुने र क्षमतावान व्यक्तिले आफ्नै काम गर्नुपर्छ भन्ने कुरा राम्रैसँग बुझेका गुमानसिंहले सन् २०१७ को अन्त्यतिर थ्री स्टार कन्सल्टेन्सी नामक कम्पनी खोले । यस कम्पनीले पोर्चुगलभित्र रहेका दक्षिण एसियाका व्यक्तिहरूको डकुमेन्टेसनसम्बन्धी काम गर्दथ्यो । यसै कम्पनीमा काम गर्दा उनले दक्षिण एशियाका कामदारहरूले पाइरहेको दुःखलाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो । उनीहरूमध्ये धेरैले त्यहाँको भाषा, संस्कृति र कागजात मिलाउन नसक्दा लामो समयसम्म युरोप बस्ने सपना तुहाइरहेका थिए । लामो समय बस्दा पनि कागजपत्र मिलाउन नसकेर दुःख पाएका दक्षिण एशियाका कामदारहरू देखेर उनीहरूको कार्यमा सघाउने योजना बनाए । सोहीअनुरुप ‘ओला अमिगी कल्चर एण्ड ल्याङ्ग्वेज एशोसिएसन’ नामक कम्पनी स्थापना गरी पोर्चुगलको संस्कृति र भाषा सिकाउन थाले । उनको व्यावसायिक योजना यतिकैमा टुङ्गिएन । सन् २०१८ मा पोर्चुगलको ‘लिजवनमा थ्री स्टार एकाउन्टिङ’ नामक कम्पनी खोली व्यवसायसँग सम्बन्धित लेखापरीक्षणलगायत काम गर्नु थाले । उनको यो कम्पनी अहिले विस्तार भएर विशाल कम्पनी बनिसकेको छ । पोर्चुगलमा यसका दुईवटा शाखा छन् भने भारत र काठमाडौंमा पनि शाखा रहेका छन् । कम्पनीमा हाल २५ जना पूर्णकालीन र ५० भन्दाबढीले आंशिक रुपमा रोजगारी पाएका छन् । उनका अनुसार रोजगार पाउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली नै छन् । व्यवसायलाई अहिले श्रीमती र छोराहरूले पनि सघाउन थालेपछि अब उनलाई व्यवसायको खासै चिन्ता छैन । चिन्ता छ त केबल आफ्नो जन्मभूमि र आफ्नै देशको । त्यसैले त कार्की अहिले पैत्रृक थलोमा आएर फरक किसिमको सोचका साथ काम गरिरहेका छन् । विदेसिनेहरु उतै बस्छन् भन्ने आम बुझाइलाई चिर्दै उनले गाउँमा एउटा आवासीय भवन निर्माण गरेका छन् । लमजुङको भोटेवडारबाट बेंसीसहर जाने बाटोबाट करिब दुई सय मिटर माथि एक करोड ५० लाख रुपैयाँको लगानीमा उनले बनाएको पर्यटकीय आवाससहितको भवनमा पारिवारिक शैलीमा आफैँ पकाएर खान, नाचगान, भजनकीर्तन गर्न सकिन्छ । माछापोखरी, पार्क अन्य आवश्यक सुविधासहित निर्माण गरिने उक्त स्थान पुरै पर्यटकीय परिवेशको हुने उनी बताउँछन् । कार्की विभिन्न सामाजिक संस्थाहरुमा संलग्न समाजसेवामा उत्तिकै व्यस्त देखिन्छन् । रासस