३२.३४ प्रतिशत बढ्यो श्री डिस्टिलरीको आम्दानी, यी हुन् १५ जना सेयरधनी
काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ३१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३४ प्रतिशत अर्थात् ७ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १८ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ८ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । श्री डिस्टिलरी लिमिटेड सन् १९८६ अप्रिल ६ मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो । नवलपुरको अरुणखोलामा रहेको कम्पनी सन् २०२२ जुलाई ११ मा पब्लिक कम्पनीमा परिणत भएको हो । सन् २०२१ मा व्यवस्थापन परिवर्तन भएपछि कम्पनीले सञ्चालन क्षमता सुदृढ गर्दै बजार उपस्थिति विस्तारमा ध्यान केन्द्रित गर्दै आएको जनाएको छ । कम्पनीसँग मदिरा तथा स्पिरिट उत्पादनका लागि आवश्यक इजाजतपत्र रहेको छ । कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक ९ लाख केस रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीले ७० युपी, ५० युपी र ४० युपी श्रेणीअन्तर्गत विभिन्न प्रकारका मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीका प्रमुख उत्पादनमा जोश प्योर एन्ड स्मुथ ह्विस्की, सगुन एप्पल ह्विस्की, सगुन गोल्ड ह्विस्की, सगुन ग्रिन एप्पल ह्विस्की र ओएसिस अल्ट्रा प्रिमियम भोड्का रहेका छन् । यसका अतिरिक्त कम्पनीसँग वार्षिक ८ हजार किलोलीटरसम्म स्पिरिट उत्पादन गर्ने अनुमति पनि रहेको छ । व्यवस्थापन परिवर्तनपछि कम्पनीले सुरुमा ७० युपी श्रेणीका उत्पादनमा रणनीतिक ध्यान केन्द्रित गरेको थियो । त्यसपछि उत्पादन विविधीकरण गर्दै सन् २०२६ जनवरीमा प्रिमियम ४० युपी भोड्का ब्रान्ड ओएसिस बजारमा ल्याएको हो । नयाँ उत्पादनको बजार विस्तारसँगै कम्पनीको आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । गत वर्षको तेस्रो त्रैमासिकमा बजारमा आएको ओएसिस ब्रान्डले कुल बिक्रीमा करिब २० प्रतिशत योगदान गरेको कम्पनीले जनाएको छ । ओएसिसले उल्लेख्य बजार पकड भने आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बनाउन थालेको हो । उत्पादन मिश्रणमा आएको सुधार तथा औसत बिक्री मूल्यमा भएको वृद्धिले समेत कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पारेको छ । गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिन १०.३८ प्रतिशत पुगेको छ । त्यस्तै, खुद नाफा मार्जिन अघिल्लो आर्थिक वर्षको ०.३६ प्रतिशतबाट बढेर ३.७३ प्रतिशत पुगेको छ । आम्दानी तथा नाफामा भएको सुधारसँगै कम्पनीको सञ्चालनबाट सिर्जित कुल नगद सञ्चिति पनि बढेर करिब २ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीका माउन्ट एभरेस्ट र गोर्खाली रम ट्रेडमार्कले पनि बजारमा बलियो पहिचान बनाएका छन् । यी ब्रान्ड नेपाली बजारमा परिचित रहेकाले थप बजार प्रवर्द्धनमा ठूलो खर्च गर्नुपर्ने आवश्यकता तुलनात्मक रूपमा कम रहेको कम्पनीको भनाइ छ । स्पिरिट उत्पादन अनुमतिले पनि कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएको छ । नेपालमा दर्ता भएका १२५ वटा मदिरा उत्पादकमध्ये केवल ८ वटासँग मात्र स्पिरिट उत्पादनको यस्तो अनुमति रहेको कम्पनीले जनाएको छ । तरलता व्यवस्थापनतर्फ कम्पनीको मौज्दात अवधि भने सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ९९ दिन रहेको मौज्दात अवधि गत आर्थिक वर्षमा घटेर ८९ दिनमा आएको छ । बिक्रीमा भएको सुधारले मौज्दात व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको देखिन्छ । यद्यपि, समग्र सञ्चालन चक्र भने अघिल्लो आर्थिक वर्षको १२३ दिनबाट बढेर गत आर्थिक वर्षमा १३२ दिन पुगेको छ । कम्पनीको अध्यक्षमा ज्ञानेन्द्र खनाल र व्यवस्थापकीय नेतृत्वमा प्रबन्ध सञ्चालक काशी प्रसाद श्रेष्ठ रहेका छन् । कम्पनीको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ । सेयरधनीतर्फ ज्ञानेन्द्र खनालको १०.३९ प्रतिशत, नेक्स्ट होल्डिङ्ग्स प्रालिको ९.९२ प्रतिशत, अंगिस घिमिरेको ९.७५ प्रतिशत, धनेन्द्र कार्कीको ६.९३ प्रतिशत, उषा ज्ञवालीको ३.९७ प्रतिशत, कृष्णप्रसाद श्रेष्ठको ३.६१ प्रतिशत, प्रतिभा घिमिरेको २.८० प्रतिशत र सुक्मित बन्जाडेको २.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, सन्तोषराज नेपालको २.०८ प्रतिशत, अशोक सिटौलाको १.९८ प्रतिशत, अनिमेश हलवाईको १.५८ प्रतिशत, सुदर्शन सिटौलाको १.४९ प्रतिशत, लक्ष्मीप्रसाद प्रसाईंको १.३९ प्रतिशत, टीकाप्रसाद उप्रेतीको १.१९ प्रतिशत र यमकुमार श्रेष्ठको १.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
सुन तोलामा ३ हजार २०० रुपैयाँ महँगियो, चाँदी घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम सोमबार पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । एक दिनमै सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढेको हो । यता, चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
फोहोरको थुप्रो बस्तीमाथि खस्दा गिनीमा ३० जनाको मृत्यु
काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको थुप्रो ढल्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटना स्थानीय समयअनुसार राति करिब २ बजे सहरको डार–एस–सलाम क्षेत्रमा भएको हो । गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको ठूलो थुप्रो अचानक ढलेको थियो । त्यसको भग्नावशेषमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ । सरकारले उद्धार तथा राहतका लागि सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गरेको छ । स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै एक महिलाले घटनामा आफ्ना पाँच सन्तानको मृत्यु भएको बताएकी छन् । अधिकारीहरूले भग्नावशेषमुनि अझै मानिसहरू पुरिएको हुन सक्ने आशंका गरेका छन् । त्यसैले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । घटनास्थल पुगेका गिनीका प्रधानमन्त्री अमादु ओउरी बाहले घटनाको अवस्थाबारे जानकारी लिएका छन् । यसअघि स्थानीय नेता लान्सिने सिलाले समाचार संस्था एएफपीलाई घटनामा ठूलो संख्यामा मानिस हताहत भएको हुन सक्ने बताएका थिए । उनका अनुसार हालसम्म १८ जनाको शव निकालेर शवगृहमा पठाइसकिएको छ ।
सानिमा ग्रोथ फण्डले ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने भएको हो । सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको योजना हो । यसको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म योजनाको खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ५४ पैसा रहेको छ । लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते एक दिन योजना व्यवस्थापकको दर्ता किताब बन्द हुने भएको छ। त्यसअघि कायम इकाईधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको हो । बैठकले प्रभु सेलेक्ट फण्डका लागि १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि १२ प्रतिशत समान नगद लाभांश (कर सहित) घोषणा गरेको हो । प्रभु बैंक लिमिटेड प्रवर्द्धक रहेको प्रभु म्युचुअल फन्डअन्तर्गत यी दुवै योजना प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको छ । लाभांश वितरणसम्बन्धी थप प्रक्रिया, बुक क्लोज मिति र भुक्तानीको समय तालिका सम्बन्धित नियामक निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
सनराइज फोकस्ड इक्विटी फन्डका लगानीकर्ताले ४.५ प्रतिशत नगद लाभांश पाउने
काठमाडौं । एलएस क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको सनराइज फोकस्ड इक्विटी फन्ड का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको १५८औँ बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । सूचनाअनुसार लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एलएस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई उक्त नगद लाभांश वितरण गरिनेछ । लाभांश वितरणसम्बन्धी थप प्रक्रिया तथा बुक क्लोज मिति लगायतका विवरण सम्बन्धित निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
आजदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै आइजिआई प्रुडेन्सियल
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि (भदौ ८–११ गते) सम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो । तालिममा सहभागि हुनका लागि नेपाली नागरिकतासहित शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिने कम्पनीले जनाएको छ । त्यस्तै तालिममा सहभागी इच्छुक अभिकर्ताले न्यूनतम प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीका अनुसार तालिम अनलाइनमार्फत विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ । अभिकर्ता परीक्षा भने भदौ ११ गते दिनको २ बजे संचालन हुनेछ ।
विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री थापा, बहुमत जुटाउन सकस
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठन गरेका थिए । तर सरकार गठनका बेला रहेको राजनीतिक समीकरण अहिले फेरिएको छ । राप्रपाले समर्थन फिर्ता लिँदै आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान नगर्न ह्विप जारी गरेपछि मुख्यमन्त्री थापालाई बहुमत जुटाउन चुनौती थपिएको हो । मुख्यमन्त्री नियुक्त हुँदा थापालाई ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो । तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिसकेको छ भने अन्य तीन सांसदलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको छ । यससँगै मुख्यमन्त्रीको पक्षमा रहेको प्रारम्भिक समर्थन घटेको छ । हाल मुख्यमन्त्री थापाको पक्षमा नेकपा एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका २६ गरी ५१ सांसद मात्र देखिन्छन् । राप्रपाका १२ सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने अवस्था बनेपछि थापालाई आवश्यक बहुमत जुटाउन कठिन देखिएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । प्रस्तावमाथि दलका सांसदहरूले धारणा राखेपछि मतदान हुने कार्यसूची रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्ना ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५३ मत आवश्यक पर्छ । तर प्रदेशसभा सभामुखविहीन रहेकाले मतदानको अंकगणित थप जटिल बनेको छ । संविधानको धारा १८६ अनुसार प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख अप्सरा चापागाईंले मत दिन नपाउने अवस्था छ । त्यसैले प्रदेशसभामा कायम १०४ सदस्य भए पनि मुख्यमन्त्रीको पक्षमा आवश्यक मत जुटाउने चुनौती थपिएको हो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टीका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । सरकार गठनका क्रममा मुख्यमन्त्री थापालाई राप्रपासहितका दलको समर्थन रहेको थियो । तर अहिले राप्रपा विपक्षमा पुगेपछि थापाको सरकार अल्पमतमा पर्ने जोखिम बढेको छ । राप्रपाले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्विप जारी गरेकाले उसका १२ मत मुख्यमन्त्रीको पक्षमा जाने सम्भावना छैन ।