विकासन्युज

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । बढुवा सिफारिस भएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन् ।

सूर्यज्योति थ्री-२० धन बहार जीवन बीमाका प्रडक्ट एम्बेस्डरमा विश्वराज रेग्मी

  काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सूर्यज्योति थ्री-२० धन बहार जीवन बीमाका प्रडक्ट एम्बेस्डरमा विश्वराज रेग्मी चयन भएका छन् । रेग्मी पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर हुन् । उनलाई सूर्यज्याेति थ्री-२० धन बहार जीवन बीमा योजनाअन्तर्गत एक वर्षको अवधिका लागि एम्बेस्डरको रूपमा चयन गरिएको हो । कम्पनीले दिएको न्यूनतम मापदण्ड पूरा गर्दै सर्वाधिक प्रिमियम संकलन गरेर आफूलाई अब्बल साबित गरेपछि रेग्मी एम्बेस्डर बनेका हुन् । बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही र महाराजगन्ज शाखाकी सृजना पन्तलाई क्रमशः ‘चौरासी पूजा जीवन बीमा योजना’, ‘सजिलो भुक्तानी जीवन बीमा योजना’ र ‘सावधिक जीवन बीमा योजना’ का लागि प्रोडक्ट एम्बेस्डरको रूपमा एक वर्षका लागि चयन भैसकेका छन् । देशव्यापी रूपमा गरिएको कन्टेस्टमा तोकिएको बीमा योजनाअन्तर्गत न्यूनतम मापदण्ड पुरा गरी सर्वाधिक प्रिमियम संकलन गर्न सफल अभिकर्तालाई कम्पनीले प्रडक्ट एम्बेस्डरका रूपमा छनोट गरेकाे छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले यस प्रकारका उत्प्रेरणामूलक कार्यक्रमबाट अभिकर्ताहरूको क्षमता अभिवृद्धि हुने र व्यावसायिक लक्ष्य हासिल गर्न थप हौसला र ऊर्जा प्राप्त हुने बताए ।

नेपाललाई विश्वकै ‘आइटी हब’ को रुपमा विकास गर्ने योजना छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताएका छन् । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पुर्याइएको जानकारी दिए । सञ्चारमन्त्री गुरुङले भने, ‘मोबाइल सेवालाई ९७.२ प्रतिशत जनतामा पुर्याइएको छ, अप्टिकल फाइबर १६ हजार किलोमिटर, फिक्स्ड ब्रोडब्याण्ड सेवा ४४.३६ प्रतिशत र फोरजी (एलटिई) प्रयोग ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ ।’ राजनीति स्थायित्व र तीव्र आर्थिक विकास हासिल गर्ने उद्देश्यका साथ देशका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित वर्तमान सरकार गठन भएको सय दिन पुगेको छ । सोही सन्दर्भमा नेपाल सरकार र सञ्चार मन्त्रालयले हासिल गरेका उपलब्धिबारे सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः तपाइँले सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिन पुगेको छ, यस अवधिमा सम्पादन भएका कार्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यो सरकार गठन भएको सय दिन पुग्दैछ । शुरुमा त मलाई मन्त्रालय बुझ्नै केही समय लाग्यो । मन्त्रालयअन्र्तगत छ वटा क्षेत्रमध्ये सञ्चार र सूचना प्रविधि मुख्य रहेको छ । सञ्चार क्षेत्रलाई व्यवस्थित गराउन काम सुरु भएको छ भने सूचना प्रविधिका समस्या पहिचान गर्ने काम भएको छ । सरकार गठनसँगै प्रधानमन्त्रीले हामी २१ जना मन्त्रीलाई कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी दिनुभएको छ । मन्त्रिपरिषद्को कार्यविभाजन अन्तर्गत वर्ष दिनलाई पहिलो सय दिन, दोस्रो सय दिन र बाँकी एक सय ६५ दिनमा यो यो काम गर भनेर लक्ष्यसहित जिम्मेवारी दिइएको छ । पहिलो सय दिनमा मैले सम्हालेको मन्त्रालयलाई दिएको १५ वटा जिम्मेवारी थियो । सञ्चार मन्त्रालयले सय दिनमा तोकिएका १५ वटै काम सम्पन्न गरेको छ । यस अवधिमा ‘फाइवर टु द होम’ कार्यक्रम अन्तर्गत हुम्लाको सिमिकोटमा फाइबर जडान सम्पन्न भएको छ । अर्को २० वटा सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीओआइएमएस) स्थापनाका लागि तालिम दिने काम पनि समयमै हामीले सम्पन्न गरेका छौँ । अर्को पाँच वटा सरकारी निकायमा वेवसाइट सिस्टम, मोबाइल एप्लिकेसनलगायतको सेक्युरिटी अडिट गर्नुपर्ने जिम्मेवारी पनि पूरा भएको छ । ‘फोर जी एफटिए’ मोबाइलको पहुँच दुई प्रतिशत थप बढाएर ६ लाख जनतामा पुर्याउन सफल भएका छौँ । त्यस्तै, मोबाइल सेवालाई ९७.२ प्रतिशत जनतामा पुर्याउने भनिएकामा त्यो काम सम्पन्न भएको छ । ‘फिक्स्ड ब्रोडब्याण्ड’ सेवा १.३६ प्रतिशतले वृद्धि भई ४४.३६ प्रतिशतमा विस्तार भएको छ । अप्टिकल फाइबर (२४ कोर माथिको) थप एक हजार किमी पुर्याउने भनिएकामा हाल १६ हजार आठ सय ७२ किमी पुगेको छ । त्यस्तै, फोरजी (एलटिई) प्रयोगकर्ता दुई प्रतितशत थप गरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ । यसैगरी राष्ट्रिय समाचार समिति (रासस)लाई २४ सै घण्टा समाचार सेवामा विस्तार गरिएको छ भने नेवारी र मैथिली भाषामा समावेशी समाचार सेवा सुरु भएको छ । गोरखापत्रमा राना–थारु भाषामा समावेशी कार्यक्रम प्रकाशन गरी हाल ४४ वटा भाषा समावेशी कार्यक्रम प्रकाशनको व्यवस्था मिलाइएको छ भने गोर्खापत्रकै थप आठ वर्षको डिजिटल रुपान्तरण गरिएको छ । रेडियो नेपालमा १४ हजार ३३ वटा पुराना अडियो टेपको डिजिल रुपान्तरण भएको छ भने दनुवार भाषा थप गरी २५ भाषामा समावेशी कार्यक्रम प्रशारण थालनी गरिएको छ । नेपाल टेलिभिजनबाट असोज ३० गतेदेखि नेपाल भाषा थप गरी सात वटा मातृभाषामा समाचार उत्पादन तथा प्रशारण भएको छ । जनतालाई सुशासन दिने सरकारको लक्ष्य हासिल गर्ने सन्दर्भमा मन्त्रालय र मातहतका निकायहरुमा के कस्ता समस्या देख्नुभयो र तिनको समाधानका उपाय के हुनसक्छ ? सुशासनको पहिलो आधार भनेको नीति हो । नीतिमा परिमार्जन हुनुपर्ने देखेको छु । यहाँ निकै पुराना नीतिमा काम हुँदै आएको छ । पहिलो कुरा नीति स्पष्ट हुनपर्यो । हाम्रा धेरै ठाउँमा नीति बनेका छैनन् र भएका नीति पनि पुराना छन् । ऐन कानुनहरु अध्यावधिक हुँदै जानुपर्छ । यहाँ पुराना कानुन धेरै छन् । सूचना प्रविधि ऐन, प्रेस काउन्सिल ऐन, दूरसञ्चार ऐनलगायतमा केही संशोधनबाहेक अरु सबै पुराना नीति र ऐन रहेका छन् । अब हामी ऐन परिवर्तन गरेर सुशासनतर्फ लैजाने अभियानमा छाैँ । यसको सुरुआत भर्खरै सार्वाजनिक सेवा प्रशारण ऐन पारित गरिएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गर्दै सुशासन र गर्न बनेको यो ऐन राजपत्रमा प्रकाशित भइसकेको छ । अब हामी यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ । मुलुकको सुशासन, शान्ति सुरक्षा, हत्या हिंसा नियन्त्रण आजको सबैभन्दा ज्वलन्त प्रश्नहरु हुन् । यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन मस्यौदा गरेर मन्त्रिपरिषद्मा पठाएका छौँ । छिट्टै विधेयक पास गरेर समाज र राज्यलाई सुशासनतर्फ लैजाने प्रयास गर्छौं । प्रेस काउन्सिल विधेयकलाई सुदृढ गर्नु पर्नेछ । यस सम्बन्धी बन्न लागेको मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभामा आएको छ । हामी पत्रकारिता जगतलाई स्वतन्त्र र मर्यादित बनाउने प्रतिबद्ध छौँ । त्यसका लागि आमसञ्चार विधेयक तयार गरेका छौँ । दूरसञ्चार संशोधन गर्ने, चलचित्रसम्बन्धी ऐन अद्यावधिक गर्दैछौँ । यो पटक मन्त्रिपरिषद्मा मन्त्रालयसँग सम्बन्धित कम्तिमा ९/१० वटा विधेयक पुग्छ । संसदबाट सार्वजनिक प्रसारण सेवा ऐन जारी भइसकेको छ, यसको कार्यान्वयनलाई कसरी हेर्नु भएको छ ? संसदबाट पास भएको सार्वजनिक सेवा प्रशारण (पिएसबी) ऐन अब कार्यान्वनको चरणमा जाँदैछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसक्यो । अब यो कार्यान्वयनमा आउने चरणमा छ । त्यसको आधारमा अब हामीले नियमावली बनाउँछौँ । त्यसको कार्यकारी निर्देशक छनोट गर्न नियमावलीले रोक्दैन । हामी अब प्रमुख नियुक्ति गर्ने प्रक्रियामा जान्छौँ । एकीकृत रुपले सञ्चालक समिति बनाएर नेपाल टेलिभिजन र रेडियो नेपाललाई व्यवस्थित रुपमा लैजान्छौँ । अलिकति व्यावसायिक बनाउने र राज्यको तर्फबाट जनतालाई सेवा प्रदान गर्न बनेका यी संस्थालाई समयसापेक्ष प्रतिस्पर्धा योग्य बनाउनतर्फ लानेछौँ । सामाजिक सञ्जाललाई व्यवस्थित गराउन मन्त्रालयले कसरी काम गरिरहेको छ ? हरेक कुराको सीमा हुन्छ, लोकतन्त्रको पनि सीमा हुन्छ । हाम्रो संविधानको पनि आफ्नै सीमा छ । हरेक मान्छेले खोजिरहेको हक र स्वतन्त्रताको समेत निश्चित दायरा हुन्छ । नागरिक हक उपभोग गर्दा सबैले राज्यको संविधान, ऐन कानुन पनि मान्नुपर्ने हुन्छ । अहिले सामाजिक सञ्जाल अराजक बनेको भनिदैछ । जसले जे भने पनि भयो, जति गाली गरे पनि भयो, जे लेखे पनि भयो भन्ने छ । यो त लोकतन्त्र होइन । लोकतन्त्रको विकल्प, गणतन्त्रको विकल्प उत्तम खालको लोकतन्त्र वा गणतन्त्र नै हो । यसको विकल्प अराजकता हुन सक्दैन । आज सामाजिक सञ्जालमा जे खालको अराजकता उत्पन्न भएको छ, त्यसलाई नियमन गर्नुपर्छ । प्रयोगकर्ता, सञ्चालक र दर्ता पद्धतिलाई व्यवस्थित गर्नुपर्छ । अराजकको अन्त्य सामाजिक नियमनभित्र पर्छ । सबैले विधि र कानुन मान्नुपर्छ । सूचनाको हक सबैको अधिकार हो । स्वतन्त्रता भनेको अराजकता होइन । आलोचना स्वस्थ्य, मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताका साथ सरकार अघि बढ्छ । आजको युग सूचना प्रविधिको हो, मुलुकले यसको अधिकतम् उपयोग गरी लाभ लिन सक्ने देख्नुहुन्छ ? मैले यदाकदा सुनेको डिजिटल अर्थतन्त्रले हाम्रो कुल ग्रहास्थ उत्पादनको तीन प्रतिशत पुर्याउनु पर्छ भन्नेछ । सामान्यतया कुल ग्रहास्थ्य उत्पादनको स्रोत ६० खर्ब हाराहारीमा छ । त्यसको तीन प्रतिशत भनेको करिब दुई खर्ब जतिको योगदान प्रविधि क्षेत्रले दिनुपर्छ । प्रविधि उत्पादनमा के दिन्छौँ ? उद्योग, कृषि, व्यापारलगायत हरेक क्षेत्रमा प्रविधिको भूमिका के हुन्छ ? पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा के हुन्छ ? यो बुझ्न जरुरी छ । हामीले स्मार्ट सिटी बनाउने भन्छौँ । यो भनेको प्रविधिमैत्री सहर हुनु हो । शिक्षामा प्रविधि साक्षरताको विषय पनि समेटिनु पर्दछ । प्रविधिको सामान्य ज्ञान हुनुपर्छ । डिजिटल नेपालको फ्रेमवर्कमा आठ वटा सेक्टर भनेका रहेछौँ । तर, हामीले १० भन्दा बढी हुनुपर्छ भन्ने सोचेका छौँ । सरकारले डिजिटल नेपाल बनाउन पहिलो कार्य अन्तर्गत सात सय ५३ वटै स्थानीय तहमा सम्पूर्ण रुपमा डिजिटलाइजेसन गर्ने योजना बनाएको छ । त्यसैगरी सातै प्रदेशलाई डिजिटलाइजेसन गर्ने योजना छ । नेपाल सरकारका सबै मन्त्रालयहरु र मन्त्रालय मातहतका निकाय, आयोग र विभिन्न संस्था पनि डिजिटलमा लैजाने योजना छ । यति मात्र गर्न सकियो भने हामीले धेरै काम गरेको भन्ने हुन्छ । जनताको तत्काल सूचनाको अधिकारलाई सुनिश्चित गर्न सहयोग पुगोस् भनी सरकार गठन भएको सय दिनकै अवधिमा राससले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा २४ घण्टे सेवा सुरु गरेको छ, भविष्यमा यसको उपादेयतालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? पहिलो कुरा त रासस नेपालका सबै सञ्चारमाध्यमले समाचार प्राप्त गर्ने केन्द्र हो । यहाँबाट उत्पादन भएका समाचार सबै मिडियालाई वितरण हुन्छ । रासस आफैँ पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारको ‘इपिसेन्टर’ हो नेपालको सन्दर्भमा । त्यसैले पहिला त यो संस्था आफैँमा अझै गतिशील हुनुपर्छ । रासस आफैँमा विश्वसनीय हुनुपर्छ । सबै मिडियालाई समाचार दिन सक्ने हैसियत राख्ने राससप्रति अरु मिडियाको आकर्षण बढ्दै गएको छ । सरकारको उद्देश्य पनि सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु हो । आगामी दिनमा समयानुसार आफ्ना सेवामा सुधारसँगै कर्मचारीको व्यवस्थापन, प्रविधिमैत्री बनाउनेलगायतका विषयमा ध्यान दिनुपर्छ । विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकाससँगै कागजरहित कार्यसम्पादन युगमा राससलाई डिजिटलाइजेसन गर्ने मुख्य विषय हो । राससलाई प्रविधिमैत्री बनाउनुपर्छ । जनशक्तिको उत्तम र उचित व्यवस्थापन गर्नुपर्छ । सोही अनुरुप जनशक्तिको क्षमता विकास गर्नुपर्ने हुन्छ । खाली कामको घण्टा मात्रै बढाएर मात्र नभई थोरै जनशक्तिले धेरै काम गर्न सक्नेतर्फ केन्द्रित हुनुपर्छ । रासस २४ घण्टा नै सञ्चालन हुँदा हालै आएको बाढी, पहिरोको विपद्पछि उद्धार, राहतसम्बन्धी सूचना, स्थलगत रिपोर्टिङदेखि विभिन्न विज्ञहरुका विचारहरु सम्प्रेषण गरी सहहनीय कार्य भएको छ । राससको स्टुडियोलाई पनि व्यवस्थित गरी व्यावसायिक रुपमा उपयोगमा ल्याउन सकिन्छ । सङ्घीय मन्त्रालयको साथै प्रदेश सरकार र स्थानीय तहले गरेका कामको राससले नियमित समाचार बनाउनुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय र राष्ट्र निर्माणका जिम्मेवार प्रमुखलाई बोलाएर राससमार्फत धारणा सम्प्रेषण गराउन सकिन्छ । मन्त्रालयहरुले गरेका कामको बारेमा जनताले थाहा पाउनुपर्छ । राससले अब काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ । क्षमता पनि सुधार गर्नुपर्छ । राससका नीति, रणनीति र ऐन पनि संशोधन गर्नु पर्नेछ । यी सबै गर्दा रासस सबैको विश्वासको केन्द्र बन्न सक्छ । त्यसमा मन्त्रालय निरन्तर सहयोग र समर्थन रहन्छ । संविधानको भावना र समावेशी चरित्रअनुसार राससले पनि अवधि, मैथिली र नेपाल भाषामा समाचार सुरु गरेको छ, यो विषयलाई कसरी हेर्नुभएको छ ? सरकारी संस्थानले काम नगरेको भन्ने गुनासो आइरहेका बेला रासस, रेडियो नेपाल वा गोरखापत्र संस्थानलगायतका संस्थाले अहिलेको समावेशी लोकतन्त्रको भावनालाई पछ्याउन खोजेको देखिन्छ, यो आफैँमा खुसीको कुरा हो । राससमा पहिला नेपाली र अङ्ग्रेजी मात्रै समाचार सम्प्रेषण हुन्थ्यो । अहिले राससले पाँच वटा भाषामा समाचार सेवा प्रदान गर्न सक्षम भएको छ । राससका समाचार विभिन्न मिडियाले प्रकाशन/प्रसारण गर्दैगर्दा विभिन्न जाति समुदायले हाम्रो भाषामा पनि राससले समाचार दिएको छ है भन्ने आत्मियता महशुस गर्न पाएका छन् । यसले रासस सबैको साझा संस्थाको रुपमा विकास हुन्छ । यसबाट सम्बन्धित भाषाभाषीका समुदायले लोकतन्त्र आएको महसुस गरिरहेका हुन्छन् । त्यति मात्र होइन, यसले हाम्रो व्यवस्थालाई पनि बलियो बनाउँछ । हामीले विविधतापूर्ण समाजमा समावेशीताको अभ्यास गर्नैपर्छ । शान्त, समृद्ध, सुसभ्य, समाजको निर्माण गर्ने हो भने विविधतायुक्त समाजलाई समावेशी बनाउनुपर्छ । राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ । प्रतिनिधित्व हुनुपर्छ । संसारमा अभ्यास भएका प्रजातन्त्रका बीचमा हाम्रो लोकतन्त्र समावेशी, उन्नत, बृहत र पूर्ण खालको छ । आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो । हामी त्यसको अभ्यासमा छौँ । त्यसको अभ्यास राससले गरेको छ । यो विषयलाई नेपाल सरकारले पनि गर्वको महशुस गर्नुपर्छ । राससले विभिन्न भाषामा समाचार दिँदैगर्दा भूइँ मान्छे, जो छन् उनीहरुले अपनत्व महसुस गरेका छन् । यो कामलाई अझै व्यवस्थित गरेर लैजानुपर्छ । संविधानको रक्षा, जनजीविकामा सुधार ल्याउने उद्देश्यसहित प्रमुख दुई राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन भएको पनि सय दिन पूरा भएको छ । तपाइँ सरकारको प्रवक्ता पनि हुनुहुन्छ, सरकारको गतिलाई कसरी हेर्नु भएको छ ? वर्तमान सरकार गठन भएको सय दिनसम्म आइपुग्दा राम्रा र युगिन महत्वका कामहरु भएका छ । यो सरकार गठन भएपछि लामो समयदेखि थन्किएको टिआरसी विधेयक पास भयो । बृहत शान्ति सम्झौताको अपुरो एउटा महत्वपूर्ण काम सरकारले गरेको छ । यो विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण पाटो हो भन्ने लाग्छ । वर्तमान सरकार गठनपछि लामो समयदेखि दुग्ध किसानले पाउन नसकेको रकम प्राप्त गरेका छन् । सहकारी समस्या समाधानको बाटोमा छ । सहकारीसम्बन्धी ऐन कानुन बनाउने कार्य पनि छिट्टै पारित हुँदैछ । त्यसैगरी सरकारले बाढी, पहिरो, डुबानमा परेका जनतालाई तत्कालै उद्धार र राहातको व्यवस्था गरेको छ । बाढी, पहिरो र डुबानबाट प्रभावित सडकबाटो मर्मतपछि सञ्चालनमा आएको छ । बाढी, पहिरोबाट खानेपानी, विजुली र टेलिफोनमा आएको समस्या पनि समाधान भएको छ । बाढी, पहिरोबाट रु १७ अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ । सरकारले भत्किएका संरचनाहरुको पुनःनिर्माण र पुनःस्थापना कार्य सुरु गरिसकेको र पीडितलाई केन्द्रमा राखेर निर्णयहरु गरेको छ । अझै पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । नेपालको कुनाकुनामा इन्टरनेट पुर्याउने हाम्रो योजना छ । नेपाललाई विश्वकै ‘आइटी हब’ को रुपमा विकास गर्ने योजना छ । त्यो गर्न सम्भव पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्र सङ्घीय महासभामा आफ्नो धारणा स्पष्टसँग राख्नु भएको छ । विदेश सम्बन्धलाई अझ फराकिलो बनाउने काम भएको छ । मुख्यतः देशभित्र नै राजनीतिक स्थिायित्वका लागि प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको हुँदा जनतामा ठूलो आशा र विश्वास जागृत भएको छ । यसलाई पूरा गर्न सरकार प्रतिवद्ध छ । देशको अर्थतन्त्रमा अहिले पनि समस्या छ, तर विस्तारै लयमा फर्किदै छ । सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा कामहरु गरेको छ । यसको ठोस परिणाम विस्तारै जनताले प्रत्यक्ष अनुभूत गर्ने नै छन् । रासस

सुनको मूल्यमा फेरि अर्को रेकर्ड, तोलाको एक लाख ६५ हजार ६ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि अर्काे रेकर्ड राखेकाे छ । आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघिल्ला दिनहरूमा यसकाे मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो । असोज २३ गतेयता सुनको मूल्य दैनिक बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसैगरी, चाँदीको मूल्यमा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कार्तिक ४ गते बसेको लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ । लघुवित्तको हाल १० करोड ७६ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।  

पाडीबाछी हुर्काउन ६० लाख ४० हजार रुपैयाँ अनुदान वितरण

तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन ६० लाख ४० हजार रुपैयाँ अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन १० हजार रुपैयाँका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये छनोटमा परेका तीन सय २७ किसानले अनुदान पाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएपछि कार्यक्रम प्रभावकारी बन्दै गएको केन्द्र प्रमुख डा राजेशकुमार चौधरीले जानकारी दिए । पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष छ सय चारवटा पाडी–बाछीका लागि बजेट विनियोजन गरिएको थियो । गत वर्षको तुलनामा यस आवमा तीन सयवटा पाडीबाछी हुर्काउनका लागि बजेट विनियोजन भएको छ, चौधरीले भने, “बजेट घटेर आएका कारण यस वर्ष पाडीबाछी हुर्काउने सङ्ख्यामा कमी आएको छ ।” पाडी–बाछी हुर्काउन अनुदान पाउन यस वर्ष आवेदन खोलिसकेको र किसानबाट आवेदन आउने क्रम जारी छ । यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन भएको सो केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै बन्दीपुरमा दुई सय २१, व्यास नगरपालिकामा दुई सय आठ, आँबुखैरेनीमा ८४, भानुमा ४५, म्याग्देमा २५, देवघाटमा १२, शुक्लागण्डकीमा आठ र ऋषिङमा एकवटा छनोटमा परेको थियो । आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइएको उनले बताए । एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडीबाछीका लागि अनुदान पाउनेछन् । अनुदान पाउन पाडीबाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड रहेको केन्द्रले जनाएको छ । बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडीबाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिइएको केन्द्रका प्रमुख चौधरीले बताए । रासस

साढे ९ करोडको सेयर स्वामित्व रहेका चार ठूला सेयरधनी कामना सेवाबाट बाहिरिए, तीन लगानीकर्ताको आगमन

काठमाडौं । कामना सेवा विकास बैंकबाट चार ठूला संस्थापक बाहिरिएका छन् भने नयाँ तीन ठूला लगानीकर्ता थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म हाथवे इन्भेष्टमेन्ट नेपालसहित गणेशबहादुर श्रेष्ठ, ओमकार गौचन र राजेन्द्रनिधि कोइराला बैंकबाट बाहिरिएका हुन् । आव २०७९/८० को असारसम्म बैंकमा हाथवे इन्भेष्टमेन्टको ०.९४ प्रतिशत अर्थात् ३ लाख ९ हजार ८९३ कित्ता, गणेश बहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् २ लाख ३९ हजार ३४३ कित्ता, ओमकार गौचनको ०.७२ प्रतिशत अर्थात् २ लाख ३५ हजार ८३६ कित्ता र राजेन्द्रनिधि कोइरालाको ०.५४ प्रतिशत अर्थात् १ लाख ७५ हजार ८५७ कित्ता सेयर स्वामित्व थियो । तर, गत वर्ष भने यी ठूला संस्थापक बैंकबाट बाहिरिएका हुन् । बैंकका अनुसार इन्टेग्रा सोर्सेस प्रालि, माया होल्ड प्रालि र लिला गौचन बैंकको नयाँ संस्थापक सेयरधनीका रूपमा थपिएका छन् । इन्टेग्रा सोर्सेस प्रा.लिको १.५५ प्रतिशत अर्थात् ५ लाख ९ हजार ८९२ कित्ता, माया होल्ड प्रालीको ०.७२ प्रतिशत अर्थात् २ लाख ३६ हजार ४२० कित्ता र लिला गौचनको ०.७० प्रतिशत अर्थात् २ लाख २८ हजार ८३५ कित्ता सेयर खरिद गरी ठूला सेयरधनीको सूचीमा समावेश भएका हुन् । यस्तै, विभिन्न आधा दर्जन संस्थापक सेयरधनीले आफ्नो स्वामित्व घटाएका छन् । संस्थापक कमलराज उदय, देवानसिंह थापा, मदन खनाल, रामप्रसाद पोखरेल, चक्रपाणि बास्तोला, भरतराज कोइराला र दीपक खरेलले आफ्नो स्वामित्व घटाएका हुन् । अघिल्लो वर्ष १.०२ प्रतिशत अर्थात् ३ लाख ३६ हजार ५ कित्ता सेयर स्वामित्वसहित कमलराज उदय बैंकको छैठौं ठूला सेयरधनी थिए । तर, गत वर्ष ०.७१ प्रतिशत अर्थात् २ लाख ३३ हजार ९४३ कित्तासहित १६औं नम्बरमा झरेका हुन् । यस्तै, देवानसिंह थापाको ०.७३ प्रतिशत अर्थात् २ लाख ४० हजार ८०६ कित्ता, मदन खनालको १.०७ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ९७ कित्ता, राम प्रसाद पोखरेलको ०.९५ प्रतिशत अर्थात् ३ लाख १० हजार १४८ कित्ता, चक्रपाणी बास्तोलाको ०.८२ प्रतिशत अर्थात् २ लाख ७० हजार १९३ कित्ता, भरतराज कोइरालाको ०.५९ प्रतिशत अर्थात् १ लाख ९३ हजार ५५७ कित्ता सेयर स्वामित्व छ । बैंकमा गत असारसम्म २४ ठूला सेयरधनी रहेका छन् । बैंकको सबैभन्दा ठूलो सेयरधनी भने तुलसा पाण्डे रहेकी छन् । बैंकमा पाण्डेको २.४३ प्रतिशत अर्थात् ७ लाख ९८ हजार ४०६ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, सीता आचार्यको १.७६ प्रतिशत अर्थात् ५ लाख ७६ हजार ८५७ कित्ता, श्रीराम पाण्डेको १.३९ प्रतिशत अर्थात् ४ लाख ५४ हजार ५३८ कित्ता, सीताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ८४ कित्ता, मदन खनालको १.०७ प्रतिशत अर्थात् ३ लाख ५२ हजार ९७ कित्ता, रविबहादुर थापाको ०.९३ प्रतिशत अर्थात् ३ लाख ५ हजार ४५८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, भीमप्रसाद तुलाचनको ०.८२ प्रतिशत अर्थात् २ लाख ६७ हजार ८९७ कित्ता, बाबुराम पन्तको ०.७९ प्रतिशत अर्थात् २ लाख ५८ हजार ८४ कित्ता, भीमराज अधिकारीको ०.७६ प्रतिशत अर्थात् २ लाख ४९ हजार ५७५ कित्ता, प्रकाश क्षेत्रीको ०.७४ प्रतिशत अर्थात् २ लाख ४४ हजार ३७५ कित्ता, राजकुमार आमात्यको ०.६६ प्रतिशत अर्थात् २ लाख १५ हजार ७७७ कित्ता सेयर स्वामित्व रहेको छ । गौमाता इन्भेष्टमेण्ट कम्पनीको ०.५६ प्रतिशत अर्थात् १ लाख ८३ हजार ९९ कित्ता, क्यालिवर इन्भेष्टमेन्ट कम्पनीको ०.५२ प्रतिशत अर्थात् १ लाख ७१ हजार २१४ कित्ता, भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत अर्थात् १ लाख ६७ हजार ६१२ कित्ता सेयर स्वामित्व रहेको छ ।

अँध्याराेमा बस्न बाध्य छन् बाँकेको खयरभट्टीका स्थानीय

नेपालगञ्ज (बाँके) । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युतकाे सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेलिरहेको स्थानीय प्रकाश नेपालीले जानकारी दिए । उनले पछिल्लोपटक केही घरमा धारा जडान भए पनि खानेपानीको समस्या समाधान नभएको उल्लेख गर्दै विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैंका लागि अन्त्य हुने विश्वास व्यक्त गरे । उनले काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम पूरा नभएको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणलाई पनि ताकेता गर्न आग्रह गरे । उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा गाडिएको छ भने केही अझै बाँकी छ । त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा विद्युतीकरणका लागि पोल गाड्ने काम सम्पन्न भएको र केही बाँकी रहेको जानकारी दिँदै तार तान्ने काम हुन नसकेको बताए । उनले भने, ‘अहिले तत्कालका लागि काम स्थगन भएको छ, तिहारपछि काम सम्पन्न हुन्छ ।’ सो क्षेत्रमा १३ किलोमिटरमा विद्युत् लाइन जोड्नुपर्ने अवस्था रहेको बताइएको छ । तीन करोड ५० लाख रुपैयाँ हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो ।