विकासन्युज

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको हो । ताल निर्माणका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ खर्च गरिसकेको अधिकृत भुसालले बताए । तालको वरिपरि फुटपाथ, उद्यान, वरिपरि विभिन्न पर्यटकीय संरचना र प्राकृतिक सौन्दर्यता बनाइने उनले जानकारी दिए । पालिकाभित्रका पर्यटकीय सम्भावनाका स्थललाई पहिचान गरी गाउँपालिकाले पर्यटन विकासका नीति अगाडि बढाएको पालिका अध्यक्ष टेकनारायण उपाध्ययले बताए । तालमा माछापालनसमेत गरिने छ । लामो समयदेखि घोलाका रूपमा रहेकाले यसको खासै महत्व थिएन तर अब ताल बनेपछि पर्यटन विकास हुने उनले जानकारी दिए । ताल निर्माणपछि पालिकाको आम्दानी स्रोत हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा घोलाभित्र रहेका झाडी तथा फोहरलाई सफा गरिएको छ । गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न स्थलको पहिचान गर्ने काम गरिरहेको छ । पर्यटन विकासमार्फत आम्दानीका स्रोत व्यवस्थापन गर्ने गाउँपालिकाको उद्देश्य छ । रासस

विश्व बजारमा तहल्का पिट्दै भारतीय गाडी, सबैभन्दा बढी निर्यात गर्ने गाडी बन्यो मारुती सुजुकी

काठमाडौं । चालु आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासमा भारतबाट सवारीसाधन निर्यात वार्षिक आधारमा १४ प्रतिशतले बढेको छ । मुख्यतया यात्रुवाहक सवारी र दुई पाङ्ग्रे सवारीसाधनको कन्साइमेन्ट बढेकाले कुल निर्यात बढेको सवारी उत्पादकहरूको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) को तथ्यांकले देखाएको छ । सियामको तथ्यांकअनुसार भारतको सवारीसाधन निर्यात अघिल्लो वर्षको यही अवधिमा २२ लाख ११ हजार ४ सय ५७ युनिटको तुलनामा अप्रिल–सेप्टेम्बरमा १४ प्रतिशतले बढेर २५ लाख २८ हजार २ सय ४८ इकाइ पुगेको छ । सियामका अध्यक्ष शैलेश चन्द्रले भने, ‘ल्याटिन अमेरिका र अफ्रिकाजस्ता बजार जहाँ कुनै न कुनै कारणले सुस्तता थियो, अहिले स्थितिमा सुधार आएको छ । जसका कारण निर्यातको आँकडा बढेको छ ।’ विभिन्न अफ्रिकी देश र अन्य क्षेत्रहरूले मुद्राको अवमूल्यनका कारण चुनौतीहरूको सामना गर्नुपरेको थियो । यी देशहरूले अत्यावश्यक वस्तु आयातमा ध्यान केन्द्रित गरेकाले यसले उनीहरूको सवारी आयातलाई असर गरेको छ। विभिन्न विदेशी बजारमा मौद्रिक संकटका कारण  गत आव २०२३/२४ मा सवारीसाधन निर्यात ५.५ प्रतिशतले घटेको थियो । गत आव कुल निर्यात ४५ ललाख ४ सय ९२ इकाइ थियो भने २०२२/२३ मा ४७ लाख ६१ हजार २ सय ९९ इकाइ थियो । चालु आव पहिलो त्रैमासमा कुल यात्रुवाहक सवारी निर्यात वार्षिक रूपमा १२ प्रतिशतले बढेर ३ लाख ७६ हजार ६ सय ७९ इकाइ पुग्यो भने आव २०२३/२४ को सोही अवधिमा यो संख्या ३ लाख ३६ हजार ७ सय ५४ इकाइ रहेको छ । देशको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकी १ लाख ४७ हजार ६३ इकाइ निर्यात गरी शीर्ष स्थानमा छ । कम्पनीको निकासी १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा मारुतीले १ लाख ३१ हजार ५ सय ४६ सवारीसाधन निर्यात गरेको थियो । त्यसैगरी, हुन्डाई मोटर इन्डियाले चालु आव पहिलो ६ महिनामा ८४ हजार ९ सय सवारीसाधन निर्यात गरेको छ, जुन अघिल्लो २०२३/२४ को अप्रिल-सेप्टेम्बर अवधिमा ८६ हजार १ सय ५ इकाइ थियो । यो एक प्रतिशतले घटेको हो । चालु आव अप्रिल-सेप्टेम्बर अवधिमा दुई पाङ्ग्रे सवारीसाधन निकासी गत वर्षको सोही अवधिमा १६ लाख ८५ हजार ९ सय ७ इकाइको तुलनामा अघिल्लो आव सोही अवधिमा १६ प्रतिशतले बढेर १९ लाख ५९ हजार १ सय ४५ इकाइ पुगेको थियो । समीक्षा अवधिमा स्कुटर निकासी १९ प्रतिशतले बढेर ३ लाख १४ हजार ५ सय ३३ इकाइ पुगेको छ भने मोटरसाइकल निकासी १६ प्रतिशतले बढेर १६ लाख ४१ हजार ८ सय ४ इकाइ पुगेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा व्यावसायिक सवारीसाधनको निर्यात वार्षिक १२ प्रतिशतले बढेर ३५ हजार ७ सय ३१ युनिट पुगेको छ । यद्यपि, यस अवधिमा तीन पाङ्ग्रे सवारीसाधनको निर्यात आर्थिक वर्ष २०२३/२४ को सोही अवधिमा १ लाख ५५ हजार १ सय ५४ इकाइको तुलनामा एक प्रतिशतले घटेर १ लाख ५३ हजार १ सय ९९ इकाइमा पुगेको छ । एजेन्सी

ब्यूटीसिएन व्यवसायबाट मासिक ४० हजार कमाई गर्दै पुनम जैसी

कञ्चनपुर । ब्यूटीसिएन (शृङ्गार) व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन । तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उनको मासिक कमाई ४० हजार रुपैयाँ जति हुने गरेको छ । मासिक रूपमा आउने कमाइले उनको घर खर्च सहज रूपमा चल्न थालेको छ । घरभाडा, बालबालिकाको विद्यालय खर्च, लुगाफाटो, खाद्यान्न, नुनतेल, तरकारीको जोहो व्यवसायको कमाइले धान्दै आएको उनले बताइन् । अन्तरजातीय प्रेम विवाह गरेकी जैसीले सुरुका तीन वर्ष निकै कष्ट सहनुपर्यो । ‘महेन्द्रनगर बजारको सिद्धनाथ मन्दिरमा लाग्ने तीनमहिने मेलामा तीन वर्षसम्म बालबालिकाका खेलौना, शृङ्गारका सामान, जुत्ता चप्पललगायत सामग्री बेचेर ७०–८० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो’, उनले भनिन्, ‘अठार जनाको संयुक्त परिवारमा बस्नुपर्दा त्यो कमाइले खर्च पुग्दैन्थ्यो ।’ तीन महिना मन्दिर छेउ बसेर सामान बिक्री गर्ने जैसीले बाँकी समय मजदुरी गरेर जीविका चलाउँदै आएकी थिइन् । ‘ ब्यूटिसीएन तालिममा सहभागी हुने मौका पाए’, उनले भनिन्, ‘निकै मेहनत गरेर एक लेभलसम्मको परीक्षा उत्तीर्ण गरेँ, आफ्नै व्यवसाय सञ्चालन गर्ने धोको थियो ।’ सीप सिकेर निपूण भए पनि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको अभाव थियो । मन्दिरमा सामान बिक्री गरेको र मजदुरी गरेर खाइनखाइ राखेको ३० हजार रुपैयाँ रकम उनीसँग थियो । ‘घर नजिकैको सहकारीमा गएर व्यवसाय गर्ने इच्छा जाहेर गरेँ, पुँजी अभाव रहेका कुरा सुनाएँ’, उनले भनिन्, ‘सहकारीबाट ४० हजार रुपैयाँ कर्जाका रूपमा रकम पाएँ, आफूसँग रहेको र सहकारीको गरी ७० हजार रुपैयाँ रकमबाट व्यवसाय सुरु गरेँ ।’ ग्राहकको मागअनुसार सेवा दिन थालेपछि व्यवसाय अगाडि बढ्दै आएको उनले उल्लेख गरिन् । हाल पसलमा छ लाख रुपैयाँ बढीको ब्यूटिसीएन र शृङ्गारसम्बन्धीको सामान रहेको छ । पसलबाट कमाएको १४ लाख रुपैयाँ र श्रीमान्ले कमाएको १२ गरी २६ लाख रुपैयाँमा जैसीले महेन्द्रनगर बजार छेउमा एक कठ्ठा जग्गा घरेडी जोड्न भ्याएकी छन् । भाडाका घरमा बस्दै आएकी जैसीले यसै वर्ष आफ्नै घर निर्माण गर्ने सोच अघि सारेका छन् । ग्राहकको मन जित्न सके व्यवसायलाई अगाडि बढाउन सकिने उदाहरण उनले पेस गरेकी छन् । जैसीका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई उनले निजी अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदै आएकी छन् । स्वरोजगार भएपछि जीवन सहज रूपमा चल्न थालेकामा उनी सन्तुष्टि व्यक्त गर्छिन् । रासस

नेपालले अमेरिकालाई बेच्यो साढे ३८ लाखको छुर्पी

गलकोट । पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक आठ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० रुपैयाँको छुर्पी अमेरिका निर्यात गरेको हो । दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । ‘दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने । दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आवद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाख रुपैयाँको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ । हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १६ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए । कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।

चिया निर्यात ३६ प्रतिशतले बढ्यो, अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट

भद्रपुर । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ । कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो । कार्यालयको तथ्यांकअनुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश: २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौं सडक खुल्यो

बागमती । हेटौँडा–काठमाडौंलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

हरियो सागको मूल्य बढ्यो, यी तरकारीको मूल्य घट्यो

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्यसहित अधिकांश तरकारीको मूल्य बढाएको छ । समितिले हिजो प्रतिकेजी १३५ रुपैयाँ रहेको गोलभेडा ५ रुपैयाँ बढेर १४० रुपैयाँ तोकेको छ । रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा ५० रुपैयाँ तोकिएको छ । हिजो पनि यी तरकारीको सोही मूल्य तोकिएको थियो । यस्तै काउली ५ रुपैयाँ घटेर १२० रुपैयाँ तोकिएको छ भने मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ छ । तर, हिजोे ९० रुपैयाँ रहेको तने बोडीको मूल्य आज बढेर १४५ रुपैयाँ तोकेको छ । यस्तै मटरकोशा १८६ रुपैयाँबाट घटेर आज १७० रुपैयाँ, घिउ सिमी (राजमा) १९० रुपैयाँबाट घटर १४५ रुपैयाँ, भटमासकोशा ९० रुपैयाँबाट घटेर ७५ रुपैयाँ तोृकिएको छ । यस्तै तितो करेला ५५ रुपैयाँबाट घटेर ५१ रुपैयाँ, लौका ४५ रुपैयाँ, परवर ६५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ तोकेको समितिले जनाएको छ । हिजो ७० रुपैयाँ रहेको घिरौला घटेर ५५ रुपैयाँ, फर्सी ९५ रुपैयाँ, सलगम ९५ रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, सखरखण्ड ९५ रुपैयाँ, बरेला ६५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस २७ रुपैयाँ तोकिएको छ । यस्तै, हिजो ७५ रुपैयाँ रहेको रायो साग बढेर ९० रुपैयाँ, पालूगो साग बढेर ९० रुपैयाँ, चमसूरको साग १२६.६७ रुपैयाँबाट बढेर २२६.६७ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ । प्याज हरियो १२६.६७ रुपैयाँबाट बढेर १७६ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली ५ रुपैयाँ बढेर १४५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ, रातो बन्दा १२६.६७ रुपैयाँ, जिरीको साग १७६.६७ रुपैयाँबाट बढेर २२६.६७ रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९०० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=518022]

मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल

काठमाडौं । उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे दुई वर्षको आक्रमणलाई लिएर मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल भएको देखाउन पुटिनले यो शिखर सम्मेलनलाई रूसमा आयोजना गर्न लागेको अमेरिकालगायतका उसका पश्चिमा सहयोगीको बुझाई रहेको छ । युक्रेन युद्ध भएपछि रूसमा हुन लागेको यो सबैभन्दा ठूलो शिखर सम्मेलन हुनेछ । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, चिनियाँ नेता सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भा र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान अक्टोबर २२ देखि २४ सम्म कजान शहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । रूसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरेको बताएको छ । मस्कोले ब्राजील, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका मुख्य सदस्यराष्ट्रहरूको संक्षिप्त नाम ब्रिक्स समूहलाई आफ्नो विदेश नीतिको आधारस्तम्भ बनाएको छ । सम्मेलनको कार्यसूचीका मुख्य मुद्दाहरूमा पुटिनको क्षमतालाई टक्कर दिन ब्रिक्सको नेतृत्वमा भुक्तानी प्रणालीको विचार, सन् २०२२ मा रूसी बैंकहरूबाट काटिएको अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क साथै मध्य पूर्वमा बढ्दो द्वन्द्व पनि गरिएको छ । क्रेमलिनले यस भेलालाई कूटनीतिक विजयको रूपमा व्याख्या गरेको छ जसले पश्चिमी ‘आधिपत्य’ लाई चुनौती दिन सक्षम गठबन्धन निर्माण गर्न मद्दत गर्नेछ। संयुक्त राज्य अमेरिकाले ब्रिक्स ‘भूराजनीतिक प्रतिद्वन्द्वी’ बन्न सक्ने विचारलाई अस्वीकार गरेको छ तर युक्रेन द्वन्द्व चर्किंदै जाँदा मस्कोले आफ्नो कूटनीतिक शक्ति प्रदर्शन गरेकोमा चिन्ता व्यक्त गरेको छ। मस्कोले यस वर्ष पूर्वी युक्रेनको युद्धभूमिमा निरन्तर प्रगति गरिरहेको छ भने चीन, इरान र उत्तर कोरियासँग आफ्नो सम्बन्ध लाई मजबुत बनाएको छ । मस्कोस्थित राजनीतिक विश्लेषक कोन्स्टान्टिन कालाचेभले एएफपीसँग भने, ‘कजानमा ब्रिक्सलाई भेला गरेर क्रेमलिनले ‘रुस एक्लो नभएको मात्र होइन, उसका साझेदार र सहयोगीहरू पनि छन् भन्ने देखाउने उद्देश्य राखेको छ।’ सन् २०२३ मा युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पुटिनलाई ‘खोजीको सूचीमा’ राखेको घोषणा गरेको थियो । ‘यस पटक क्रेमलिनले बहुध्रुवीय विश्व एक वास्तविकता हो भन्ने प्रमाणित गर्दै ‘पश्चिमी दबाबको विकल्प’ देखाउन चाहेको छे,’ मस्कोले पश्चिमबाट अन्य क्षेत्रहरूमा शक्ति स्थानान्तरण गर्ने प्रयासको उल्लेख गर्दै कलाचेवले भने । मस्कोले युक्रेनका चार वटा क्षेत्र कब्जा गरेको छ र त्यसलाई आफ्नो भएको दाबी गरे पनि पश्चिमा मुलुकले युक्रेनमा सेना पठाउन रूसलाई उक्साएको पुटिनले आरोप लगाउँदै आएका छन् । क्रेमलिनले भनेको छ, ‘रूसले विश्वव्यापी मामिला संयुक्त राज्य अमेरिका वा कुनै एक राज्यद्वारा निर्धारित नियमहरूमा नभई अन्तर्राष्ट्रिय कानूनद्वारा निर्देशित होस् भन्ने चाहेको छ।’