विकासन्युज

सरकार परिवर्तनको हल्ला सेयर बजारमा, ‘छिट्टै उच्च बिन्दुमा पुग्छ’

काठमाडाैं । दशैंपछि लगातार बढेको सेयर बजार पछिल्लो दुई दिनदेखि फेरि घट्न थालेको छ । पछिल्लो दुई दिनमा सेयर बजार परिसूचक नेप्से १०५.४३ अंकले घटेको छ । हिजो आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ३९.९२ बिन्दुमा रोकिएको छ । आज १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस दिन २२१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २३ वटा कम्पनीको मूल्य वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले वृद्धि हुँदा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ अंकले वृद्धि भएको छ । न्यादी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । हिमालय रिको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । किन घट्यो ? सेयर बजारका जानकारहरूले राजनैतिक हलचलका कारणले सेयर बजार घटेको बताउँछन् । सेयर लगानीकर्ता राधा पोखरेलले पछिल्लो समय सरकार ढल्छ भन्ने समाचारहरू आएकाले त्यसको असर सेयर बजारमा देखिएको बताउँछिन् । उनले भनिन्,  ‘रवि लामिछाने पक्राउ परेपछि सरकार ढल्छ भन्ने हल्लाहरू आएका छन् । यस्ता हल्ला रवि पक्रिनुपूर्व पनि आएका थिए । यिनै कुराले सेयर बजार घटेको हुनसक्छ ।’ इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार पनि सरकार परिवर्तन हुने कुराले बजार घटेको बताउँछन् । उनले भने, ‘दुई तिहाइको सरकार ढल्ने समाचारहरू आएका छन् । यसले लगानीकर्ताको मनोबल खस्किएको हुनसक्छ । त्यसले गर्दा सेयर बजार घटेको हो ।’ तर, उनले अहिले सरकार परिवर्तन भएपनि बजारलाई असर नगर्ने बताए । उनका अनुसार अहिले बैंकको ब्याजदर न्यून रहेको छ । बैंकले तरलता पनि प्रशस्तै छ । चाहिए जति ऋण बैंकले दिने अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो बेला भनेको सेयर बजार उकालो लग्ने बेला हो ।’ रौनियारले यथार्थलाई नबुझेर विभिन्न हल्लाको पछि नलाग्न पनि लगानीकर्तालाई अनुरोध गरेका छन् । उनले एक-दुई दिन बजार ओरालो लागे पनि खासै चिन्ता लिनु पर्न अवस्था नहरेको बताए । उनका अनुसार केही दिनमै बजारले आफ्नो लय पक्रिने छ । उनले बजार उकालो लागेर बजारले नयाँ रेकर्ड राख्ने दाबीसमेत गरे । उनले भने, ‘बजारले एक-दुई दिनमै उकालो यात्रा तय गर्छ । पहिलाको उच्चतम बिन्दुको रेकर्ड पार गरेर अघि बढ्छ ।’

खानेपानी मन्त्रालयको कार्यप्रगतिः उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याउन सफल

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेका सय दिनमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री यादवले सोमबार यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताए । यस वर्षको ‘मनसुन’ सुरु भएपछि बन्द भएको मेलम्ची खानेपानी आयोजना सञ्चालनका क्रममा आवश्यक मर्मतसम्भारसहित विरोधमा उत्रेका स्थानीय जनतासँग निरन्तर छलफल र समन्वय गरी मेलम्चीको पानी काठमाडौं ल्याएको उनले स्पष्ट गरेका छन् । मेलम्चीवासीसहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रुपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले बताए । गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा पथान्तरण तथा वितरण कार्य सुरु भइसकेकाले अब काठमाडौंवासीले खानेपानीको समस्या झेल्नुनपर्ने मन्त्रालयले बताएको छ । यसैगरी, काठमाडौंको कोर क्षेत्रअन्तर्गत न्युरोड–ठमेल क्षेत्रमा बिच्छ्याइएको थप ३० किमी पाइपलाइनमा परीक्षणका रुपमा पठाएको पानी वितरण प्रणालीमा समस्या नदेखिएपछि नयाँ पाइप सञ्जालबाट आपूर्ति व्यवस्था मिलाएको तथा ठमेलसहित आसपासका क्षेत्रमा ३४ दशमलव ८९ किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको मन्त्रालयले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा अहिलेसम्म एक हजार सात सय किमी पाइप विस्तार गरेको, सो आयोजनामार्फत दैनिक १७ हजार लिटर पानी आपूर्ति हुने गरेको तथा हाल उपत्यकामा ४७ हजार लिटर पानीको माग देखिएको स्पष्ट गरेको छ । खानेपानी मन्त्रालयले गत असोज १० गतेदेखिको बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा बिग्रेभत्केका ढलहरुको मर्मतसम्भारसहित व्यवस्थापन गरेको उल्लेख गरेको छ । यसैगरी, कीर्तिपुरमा ६० लाख र महाँकालचौरमा ८० लाख लिटर क्षमताको पानीपोखरी निर्माण कार्य गत असोजमा पूरा गरी त्यस क्षेत्रका जनतालाई पानी सुनिश्चित गर्ने काम भएको मन्त्रालयले जनाएको छ । योसँगै कीर्तिपुरमा ६ हजार र महाँकालचौरमा आठ हजार घनमिटर क्षमताको पानीपोखरी तयार भएको छ । बाढीपहिरोका कारण पानी आपूर्ति व्यवस्था बन्द भएको ललितपुर जिल्लामा खानेपानीको प्रबन्ध गर्ने क्रममा सम्बद्ध क्षेत्रका सङ्घीय तथा प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरू समेतको सहयोगमा ललितपुरवासीलाई खानेपानीको व्यवस्था गरेको मन्त्रालयले स्पष्ट गरेको छ । त्यस्तै, तीन करोड ७० लाख लिटर क्षमताको धोबीघाट फोहोरपानी प्रशोधन केन्द्रलाई हालैको बाढीले नोक्सान पुर्याएपछि  प्रशोधन कार्य रोकिएको सन्दर्भमा बीमा कम्पनीबाट क्षतिग्रस्त उपकरणको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थासहित मर्मतसम्भार तथा सञ्चालनको कामलाई दु्रतगतिमा अघि बढाउन दिएको निर्देशनअनुसार काम भइरहेको छ । यसैगरी, बाढीका कारण काठमाडौँ उपत्यकामा बिग्रएका काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) का पानी प्रशोधन केन्द्रका उपकरणहरु तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भई अहिले काम सुरु भइरहेको मन्त्रालयले जनाएको छ । ललितपुर जिल्लाको नल्लु, वासुकी, र देवकीस्थित खानेपानी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचनामा पुर्याएको क्षतिको विवरण लिई अवरुद्ध भएको खानेपानी आपूर्ति यथासक्य छिटो सञ्चालन गर्न निर्देशन दिएबमोजिम सम्बद्ध निकायमार्फत द्रुतगतिमा काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकास्थित मन्त्रालयसम्बद्ध एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको परियोजनामा पुर्याएको क्षतिको जानकारी लिई मर्मतसम्भारका लागि निर्देशन दिनुभएअनुसार तदारुकताका साथ काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयको पहलमा गत महिना भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा  चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई संयुक्त रूपमा सर्वेक्षेणको कामसमेत सुरु भएकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको व्यवस्था हुने भएको छ । सय दिनको यस अवधिमा जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण कार्य सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

बैंकमा ऋणी खोसाखोस, विकास बैंकमा ६२१ जनाको खाता डिएक्टिभ

काठमाडौं । दुई महिनाको अवधिमा १६ हजार ऋणी थपिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा १५ हजार ९२९ ऋणी थपिएका हुन् । यससँगै बैंक तथा वित्तीय संस्थाहरूमा ऋणीहरूको संख्या १९ लाखभन्दा बढी पुगेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलतासँगै बैंकहरू नयाँ ऋणीको खोजीमा छन् । निक्षेपकर्तासँगै बैंकहरूले कर्जाका ऋणीको संरक्षणमा पनि अथक मिहिनेत गर्छन् । जसकारण यो अवधिमा १६ हजार नयाँ ऋणी थपिन पुगेका हुन् । ऋणीको संख्या बढ्नुलाई आर्थिक गतिविधि बढ्नु र अर्थतन्त्र चलायमान हुने विश्वास गरिन्छ । ऋण लिएर उद्यम गर्नुलाई सकारात्मक पक्षका रूपमा लिइन्छ । यस अवधिमा वाणिज्य बैंकहरूमा १६ हजार १६१ नयाँ ऋणी थपिएका छन् । नयाँ ऋणी थपिएसँगै वाणिज्य बैंकमा कर्जातर्फ ग्राहकहरूको संख्या १५ लाख ८३ हजार ६६९ ऋणी पुगेकाे छ । जबकि गत असारसम्म वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८ ऋणी थिए । यस्तै, फाइनान्स कम्पनीहरूले पनि दुई महिनाको अवधिमा ३८९ नयाँ ऋणी थपेका छन् । भदौसम्म फाइनान्स कम्पनीमा ४३ हजार ५२४ ऋणका ग्राहक रहेका छन् । दुई महिनाअघि अर्थात् गत असारमा ४३ हजार १३५ ऋणी थिए । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले ऋणीको संख्या थप्दा विकास बैंकमा भने ऋणीहरू घटेका छन् । विकास बैंकहरूले दुई महिनामा ६२१ ऋणी गुमाउनु परेको छ । अर्थात् असारको तुलनामा भदौमा विकास बैंकका ६२१ ऋणी बाहिरिएर २ लाख हजार ६ ऋणीमात्रै छन् । जबकि गत असारसम्म २ लाख ८२ हजार ६२७ ऋणी थिए । बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज हुन्छ, त्यति नै असहज कर्जाका ऋणी खोज्न हुने गरेको बताउँछन् । कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकरहरूले धेरै संघर्ष गर्नुपर्ने हुन्छ । लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उमेश रेग्मी यस अवधिमा कर्जा असुली राम्रो भएकाले ऋणीको संख्या घट्न पुगेको बताउँछन् । साथै वाणिज्य बैंकहरूले समेत विकास बैंकका ऋणीलाई तानेका कारण संख्या कम देखिएको उनको भनाइ छ । ‘विकास बैंकका ऋणीहरूको संख्या घटेकाले कर्जा प्रवाह पनि घटेको छ, नयाँ कर्जाको माग छैन, कोही ऋणीले कर्जा चुक्ता गरेर बसेका छन्, कोही ऋणी बाहिरिएका छन्, कोही ऋणीलाई वाणिज्य बैंकहरूले तानेका छन्,’ उनले भने, ‘माहोल बनेन, व्यवसाय सुधार भएन भन्नुहुन्छ, उहाँहरू जग्गा जमीन बेच्दै कर्जा चुक्ता गरेर बस्नु भएको छ, समग्रमा कर्जाको माग छैन, पर्ख र हेरको अवस्थामा छन् ।’ साथै विकास बैंकका ऋणीहरू ठूला हुने भएकाले वाणिज्य बैंकमा पनि पहुँच राख्ने भएकाले बाहिरिएको उनले बताए । साथै वाणिज्य बैंकमा ब्याजदर सस्तो भएकाले पनि विकास बैंकका ऋणी निस्किएको हुन सक्ने डीसीईओ रेग्मीको भनाइ छ । ‘विकास बैंकका ऋणीहरू वाणिज्य बैंकमा जाने ल्याकत राख्छन्, पहुँच पुर्‍याउँछन् किनभने उहाँहरूको कर्जाको आकार पनि ठूलो नै हुन्छ, त्यसैले विकास बैंकका ऋणीहरू वाणिज्य बैंकतिर गएका हुन सक्छन्,’ उनले भने, ‘साना ऋणीहरू सम्पत्ति बेचेर कर्जा चुक्ता गरेर बस्नु भएको छ, जसले खराब कर्जा पनि उठेको छ, एनपीएमा परेका केही कर्जालाई बैंक आफैले सेटल गराएका छन् ।’ राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल वाणिज्य बैंकमा ऋणीको संख्या बढेको भएपनि कर्जाको आकार भने नढबेको बताउँछन् ।  पछिल्लो समय वाणिज्य बैंकहरू आक्रामक रूपमा कर्जा विस्तारमा लागेको भएपनि त्यसको नतिजा आउन नसकेको उनकाे भनाइ छ । ‘कर्जा खासै वृद्धि भएको छैन, किनभने कर्जाको आकार त्यति धेरै बढेको देखिँदैन, बजारमा माग छैन,’ उनले भने, ‘सुन कर्जामा स-साना रकमका ऋणी हुन्छन्, त्यसैले ऋणीको संख्या बढेको छ भने सुन कर्जा बढी गएको हुन सक्छ ।’ विकास बैंकबाट ऋणी तानेको आरोप लगाएपनि ग्राहकले सहुलियत हेर्ने वाणिज्य बैंकका कार्यरत अधिकारीहरू बताउँछन् ।

सामाखुसी यातायातले सात करोड लगानीमा १५ वटा बस ल्यायो सञ्चालनमा

काठमाडौं । सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौं उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले सोमबारदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए । ‘काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,’ उनले भने । काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो । अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए । सो यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।

‘पठाओ कार रेन्टल’ सुरु, अब ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने

काठमाडौं । नेपालको राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरु गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुनेछन् । हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कनसमेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टाअघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दूरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ‘राउण्ड ट्रिप’ वा ‘ड्रप’को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् । पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ । पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार

  पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको असोजसम्म कार्यालयले रु ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व सङ्कलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३९ अर्ब सात करोड ३९ लाख राजस्व सङ्कलन गरेको हो । यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । हाल सङ्कलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले रु ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व सङ्कलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व सङ्कलन गरेको थियो ।

बिजुली उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा बढाउने टर्कीको लक्ष्य, २०२५ सम्म ४७.८ %  पुर्‍याउने

काठमाडौं । टर्किएले सन् २०२५ सम्ममा आफ्नो बिजुली उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ४७.८ प्रतिशतमा पुर्‍याउने लक्ष्य राखेको छ । ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको २०२५ को बजेट प्रस्तावमा ऊर्जा मिश्रणमा सौर्य ऊर्जा प्लान्ट, वायु ऊर्जा प्लान्ट, जियोथर्मल पावर प्लान्ट र हाइड्रोइलेक्ट्रिक पावर प्लान्टको योगदान बढाउने योजनाको रूपरेखा छ । टर्किस बिजुली प्रशारण कर्पोरेशनको तथ्याङ्कअनुसार, टर्किएमा हाल एचपीपीबाट ३२ हजार १९५ मेगावाट, डब्ल्यूपीपीबाट १२ हजार ३६९ मेगावाट, एसपीपीबाट १८ हजार ७५६ मेगावाट र जीपीपीबाट १ हजार ६९१ मेगावाट क्षमता रहेको छ । सन् २०२३ मा ४२.७ प्रतिशत रहेको विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको अंश २०२४ को अन्त्यसम्म ४५ प्रतिशत र २०२५ मा ४७.८ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । बजेट प्रस्तावमा मुलुकले यस वर्षको अन्त्यसम्म विद्युत उत्पादनमा आन्तरिक स्रोतको हिस्सा ५८.९ प्रतिशत र २०२५ सम्ममा ५९.४ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ भने प्राकृतिक ग्यासको हिस्सा २०२४ को अन्त्यसम्ममा २०.७ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । यी उद्देश्यहरूलाई सहज बनाउन मन्त्रालयले सन् २०२५ को लागि ४५.३ अर्ब लिरा (१.३३ अर्ब अमेरिकी डलर) बजेट प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

राजविराज । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो । हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दाबढी जनता प्रभावित भएको बताए । हनुमाननगर कङ्कालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांग्रेसका प्रदेश सचिवसमेत रहेका बेचन खडकाले बताए । स्थानीय राजेन्द्र मिश्रले खानेपानी टयाङ्की निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको बताए । ‘पानी ट्याङ्की निर्माण गरी पाइपलाइन विच्छ्याउने काम अधुरै छ, नगरवासी ट्युवेलको आइरनयुक्त पानी खान बाध्य छन्’, उनले भने । आयोजना तीन करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको थियो । आयोजनाको काम अधुरै भएपछि दोस्रो पटक २०७४ सालमा बोलपत्र आह्वान गरिएको थियो । तत्कालीन समयमा शान्ति निर्माण सेवा फर्सेठले निर्माणको जिम्मा पाएको थियो । फर्सेठका सञ्चालक नारायण यादवले आफूहरुले १३ लाख रुपैयाँ भुक्तनी नपाएपछि काम रोकिएको बताए । कोशीको तटीय क्षेत्रमा पर्ने हनुमाननगर कङ्कालिनी नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिका उत्तरमा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको छ भने दक्षिणतर्फ भारतीय सिमानासम्म फैलिएको छ । रासस