विकासन्युज

एनसेल फाउन्डेसनद्वारा १९ सामाजिक परियोजनाका लागि आवेदन माग, १ करोड ९० लाख भन्दा बढी योगदान गर्दै

काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरूप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन आमन्त्रण छ । गतवर्ष १८औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरू प्रदेश स्तरमा सञ्चालनमा रहेका छन् । यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्दछ । यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिनेछन् । ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई रु १० लाख अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान १ करोड ९० लाखको हुनेछ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो । यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठुलो महत्त्व राख्दछ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ । गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरुले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न लागि योगदान पुर्‍याउने उद्देश्य राखेको छ । अनुदान अर्थात परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइट https://www.ncell.com.np/en/foundation  मा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् ।

स्वास्थ्य बीमा ५ लाख पुग्ने मन्त्री पौडेलको दाबी, यस्ता छन् १०० दिनका उपलब्धि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् । सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । ‘संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’ उनले भने, ‘आगामी दिनमा पूर्ण सुधार महसुस हुुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई महसुस गराएरै छाड्छौं ।’ मन्त्री पौडेलले पत्रकार सम्मेलनमा क्यान्सर सेवालाई सातै प्रदेशमा पुर्याउने निर्णयदेखि मुटु रोग उपचार थप २ प्रदेशमा शुरु भैसककेको र सातै प्रदेशमा पुर्याउने निर्णय भएको सार्वजनिक गरे । नसक्नेका लागि नागरिकको जलन उपचार निःशुल्क बनाउने निर्णयदेखि स्वास्थ्य स्वयंसेविकाको यातायात निःशुल्क बनाउने निर्णय भएको कुरालाई मन्त्री पौडेलले प्रगतिका रुपमा सार्वजनिक गरे । उनले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा ४ सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णयलाई ऐतिहासिक भने । लामो समयसम्म समायोजन हुन नसकेका चिकित्सकहरुको दरबन्दी समस्या समाधान हुने गरी गरिएको निर्णयलाई पनि मन्त्री पौडेलले महत्वका साथ प्रस्तुत गरे । धेरै निर्णय दीर्घकालिन असर पार्ने खालका भएको र कतिपय निर्णयको असर देखिन थालिसकेको मन्त्री पौडेलले बताए । देशमा हालसम्म स्नायु उपचार गर्ने केन्द्र नभएकामा स्थापना गर्ने गरी प्रक्रिया अघि बढिसकेको मन्त्री पौडेलले बताए । ‘बीमा ५ लाख पुग्छ पुग्छ, प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ’ मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्य पहुँच पुग्ने गरी स्वास्थ्य बीमा सुधार आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै यसलाई सुधार गरेर लैजाने दिशामा प्रगति भैरहेको दावी गरे । आफूहरुले एउटा अवधारणा बनाएकामा पूरा मन्त्रालयले दिएको भन्दै मन्त्री पौडेलले आभार व्यक्त गरे । मन्त्री पौडेलले प्रधानमन्त्रीसमेत यसलाई सुधार गरेर दायरा ५ लाख पुर्याउने कुरामा सकारात्मक भएको बताए । प्रधानमन्त्रीज्यूले यसलाई लागू गर्न सकारात्मक सन्देश दिनुभएको छ, उनले भने, स्वास्थ्य बीमाको विषयमा दायरा बढ्छ बढ्छ । पाँच लाख पुग्छ पुग्छ । ‘औषधीको मूल्य घट्ने गरी समायोजन हुन्छ’ मन्त्री पौडेलले नतिजा आइ नसके पनि आम नागरिकले धेरै प्रयोग गर्ने औषधीको मूल्य समायोजनका लागि प्रक्रिया थालिएको बताए । ’औषधीको मूल्य समायोजन हुन्छ हुन्छ । मूल्य समायोजन हुन्छ भनेको कुनैमा पनि बढ्दैन, उनले भने, सबैमा मूल्य घट्छ । ‘मन्त्री हुनु अघि नागरिक थिएँ, आफूले भोगेको पीडा सम्झेर सुधारमा लागिरहेछु’ मन्त्री पौडेलले आफू विगतमा पनि सरकारी अस्पतालमा उपचार गर्ने गरेको भन्दै परिवारको उपचारका क्रममा देखेका समस्या सम्झेर सुधार अघि बढाइरहेको बताए । ‘मन्त्री हुनु अघि नागरिक थिएँ । सरकारी अस्पतालमै मेरो र परिवारको उपचार गराइरहेको छु,’ उनले भने, ‘मैले जे(समस्या) देखें त्यो सुधार गर्नुपर्छ भनेर लागेको हुँ ।’ उनले सुधारका लागि संरचनागत पद्दती र पूर्वाधार पनि सँगै आउने भन्दै यी सबै कुरालाई ख्याल गरेरै सुधार अघि बढिरहेको बताए । [pdf id=518975]

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । अमेरिकी उद्योग वाणिज्य संघले शुक्रबार यहाँ आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे । छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

रित्तो थाल बोकेर सहकारीपीडित सडकमा, एक अर्ब ३५ करोड रुपैयाँ अपचलन

गण्डकी । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए । सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताए । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । उनका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । ‘एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित एक अर्ब १२ करोड रुपैयाँ बिगो दाबी गरिएको छ’, संयोजक श्रेष्ठले भने । प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको खुलेको उनले जानकारी दिए । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । यही कात्तिक २ गते पक्राउ परेका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो । सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् । राईसहित उनका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । रासस

यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : उपप्रधानमन्त्री पौडेल

वासिङ्गटन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताए । विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा शुक्रबार यहाँ आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताए । उनले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषमा सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरे । मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् । उनले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिएका छन् । ‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु’, सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।

विद्युत बक्यौता नतिर्ने तीन दर्जन उद्योगको लाइन काटियाे, आक्रामक बने कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बक्यौता नतिर्ने उद्योगको पुनः लाइन काटेको छ । प्राधिकरणका अनुसार बिहीबार साँझ ८ बजेबाट विभिन्न उद्योगहरूको लाइन काट्न थालिएको हो । हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको बुझिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री दीपक खड्कासँग भेटेका थिए । मन्त्रीसँगको भेटपछि उनले आधा दर्जन बढी उद्योगको लाइन काटेका हुन् । बक्यौता नतिर्ने सबै उद्योगको लाइन क्रमश: काट्दै जाने तयारी प्राधिकरणको छ । उद्योगीहरूलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न तीन महिनाको समय दिएर लाइन जोडिदिएको थियो । तीन महिनाको अवधि बिहीबार पूरा भएको छ ।