फ्रान्सद्वारा लेबनानलाई १० करोड युरो सहयोगको घोषणा
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले बिहीबार फ्रान्सले लेबनानलाई दश करोड युरो सहयोग गर्ने बताएका छन् । पेरिसले लेवनानलाई वित्तीय सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरेको सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । युद्धको सकेसम्म चाँडो अन्त्य हुनुपर्ने र लेबनानमा युद्धविराम हुनुपर्नेसमेत उनले बताए। यसै सन्दर्भमा लेबनानी सरकारका प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई एक साथ समर्थन गर्न तथा तत्काल युद्धविराम लागू गर्न आह्वान गरेका छन् । फ्रान्सले लेबनानका लागि आधा अर्ब यूरो जुटाउने लक्ष्य राखेको छ जुन संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अपिलभन्दा दश करोड बढी हो । म्याक्रोनले आर्थिक योगदानको साथै, पेरिसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरूप लेवलानलाई गुमेको भुमि फिर्ता गर्न सेनालाई सहयोग गर्ने बताएका छन् । म्याक्रोनले हमासको सन् २०२३ अक्टोबर–७ को आक्रमणको एक वर्ष पछि इजरायलले सेप्टेम्बरको अन्त्यमा दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह विरुद्ध स्थलगत आक्रमण सुरु गरेको बताउदै अन्धाधुन्ध आक्रमण रोक्नु पर्ने जनाएका छन् । जर्मनीले पनि बिहीबार मानवीय सहायता अपिलमा लेवनानलाई ९६ मिलियन युरो योगदान गर्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सहभागीहरूलाई लेबनानी सशस्त्र सेनासहित (लेबनानका) सरकारी संस्थाहरू प्रति समर्थन र बलियो बनाउन आह्वान गरे । फ्रान्सले कूटनीति, मानवीय सहायता र लेबनानको आन्तरिक रक्षा राजनीतिलगायतका मामलामा चासो व्यक्त गर्दै अमेरिकालाई स्थायी युद्धविरामका लागि वार्ता गर्न २१ दिने अस्थायी युद्धविरामको वातावरण तय गर्न दबाब दिएको छ । रासस
ल्याम्बोर्गिनीको कथा : फरारीका साहुसँग यसरी लिए फेरुसियाले अपमानको बदला
काठमाडौं । स्पोर्ट्स कार ल्याम्बाेर्गिनी सायद हरेक युवाको सपना हो । सबैले यति धेरै कमाउने सपना देख्छन् ताकि एक दिन यो कार किनेर चढ्न सकियाेस् । के तपाईंले कहिल्यै त्यो कारको सफलताको कथा सुन्नु भएकाे छ, जसलाई लिएर लाखाैं युवा पागल छन् ? यसको सफलताको कथा आफैमा अचम्मको छ । किनभने ट्रयाक्टर बनाउने किसानको छोराले ल्याम्बाेर्गिनी बनाएका थिए । जुन आफैमा एउटा सपनाभन्दा कम थिएन । फेरुसियो किसानको छोरा ल्याम्बोर्गिनी इटालियन उद्यमी फेरुसियो ल्याम्बोर्गिनीले सुरु गरेका थिए । फेरुसीका बाबुआमा दुवै खेतीपानी र अंगूरखेतीमा संलग्न थिए । तर फेरुसियोलाई खेतीमा कहिल्यै रुचि लागेन । यद्यपि उनी खेतीपातीमा प्रयोग हुने उपकरण बनाउन भने निकै मन पराउँथे । दोस्रो विश्वयुद्धको समयमा फेरुसियो राेयल एयरफाेर्समा सामेल भए र मेकानिकको रूपमा वायु सेनामा काम गरे । युद्ध समाप्त भएपछि उनले ट्र्याक्टरहरू निर्माण गर्न थाले । उनको ट्र्याक्टर कम्पनी चाँडै कृषिका लागि उपकरण निर्माणमा संलग्न विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो । रेसिङ कारको सपना फेरुसियो आफै धेरै विलासी कारको मालिक थिए । उनको ग्यारेजमा मसरती, मर्सिडिज बेन्ज र अल्फा रोमियोजस्ता कार थिए । यसपछि उनले फरारी किन्ने निर्णय गरे । जुन निर्णय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । उनको यो निर्णय ल्याम्बोर्गिनीको सफलताको सुरुवात हो । उनी एक महँगो रेसिङ कार किन्न चाहन्थे । त्यसैले उनले फरारी किनेका हुन् । फेरुसियो एक दिन आफ्नो फरारीमा घुम्न गएका बेलामा कारको क्लचमा केही समस्या भयाे । क्लचले राम्ररी काम गरिरहेको थिएन । उनी कार मर्मत गर्नुको सट्टा फरारीकाे मालिकसँग कुरा गर्न चाहन्थे । त्यसपछि उनले फरारी मालिक एन्जो फरारीलाई यो समस्याको बारेमा जानकारी दिए । फरारी मालिकले गरे अपमान जब फेरुसियोले एन्जाेलाई क्लचवाला कुरा भने तब उनी रिसाए । एन्जो फरारीले अपमानक शैलीमा फेरुसियोलाई क्लचमा समस्या नभइ कार चलाउने व्यक्तिको भएकाे बताए । यतिमात्र नभइ उनले फेरुसियोलाई फरारी चलाउनुको सट्टा ट्र्याक्टर चलाउनसमेत भने । यो कुराले फेरुसियोलाई निकै रिस उठ्यो अनि उनले एन्जोसँग यसकाे बदला लिने दृढ अठाेट गरे । त्यसबेलादेखि फेरुसियोको दिमागमा एउटै कुरा चल्न थाल्यो- जसरी हाेस् संसारको उत्कृष्ट रेसिङ कार बनाएरै छाड्छु र फरारीसँग अपमानकाे बदला लिन्छु । फरारीका पुरानो इन्जिनियरको मद्दत अपमानपश्चात फेरुसियोले नयाँ लक्जरी स्पोर्ट्स कार बनाउने काम सुरु गरे । उनले सबैभन्दा पहिले कार डिजाइन गर्न थाले । उनलाई कस्तो कार चाहिएको थियो भन्ने विषयमा राम्राे ज्ञान थियाे । त्यसैले उनले केही महिनामै रेसिङ कार तयार पारे । फेरुसियोले रेसिङ कारको पहिचान गर्न साँढेको चित्रलाई यसको प्रतीकको रूपमा प्रयोग गरे । उनको राशि वृष थियो र यस राशिको प्रतीक साँढे हो । त्यसैले ल्याम्बोर्गिनीको प्रतीक साँढे राखिएकाे हाे । फेरुसियोले आफ्नो पहिलो कार ल्याम्बाेर्गिनी ३५० जीटी बनाउनका लागि एक पुरानो फरारी इन्जिनियर र दुई युवा इन्जिनियरहरूलाई काममा राखेका थिए । ल्याम्बोर्गिनी आउने बित्तिकै चर्चित तत्कालीन प्रसिद्ध भी-१२ इन्जिन ३५० जीटीमा राखिएकाे थियाे ताकि याे हावाकाे वेगमा दाैडिन सकाेस् । पहिलो ल्याम्बोर्गिनी सन् १९६३ मा लन्च गरियाे । यसबारे सबैले थाहा पाउन सकुन् भनेर पहिलो प्रस्तुतीकरणमा कारकाे बारेमा जानकारी दिइएको थियो । सन् १९६४ को सुरुवातसँगै ल्याम्बोर्गिनी कारको बिक्री पनि सुरु भयो । ल्याम्बोर्गिनीको बिक्री सुरु हुनेबित्तिकै यसलाई किन्न मानिसहरूबीच प्रतिस्पर्धा भएको बताइएको छ । ल्याम्बाेर्गिनी यति हिट भयो कि १२० वटा कार बने । यो दुई सिटर लक्जरी स्पोर्ट्स कार थियो । मानिसहरू यसको मोडलसँग यति खुसी थिए कि ल्याम्बोर्गिनीले छोटो समयमा आफ्नो नयाँ मोडल सार्वजनिक गर्न बाध्य भयाे । नयाँ मोडलको नाम ४०० जीटी थियो र यो पनि आउने बित्तिकै सुपरहिट भयो । ल्याम्बाेर्घिनीकाे नेट वर्थ अहिले ११ बिलियन डलर पुगेकाे छ । सन् २०२३ मा ल्याम्बाेर्गिनीले १० हजारभन्दा बढी गाडी बिक्री गरी आफ्नाे नयाँ इतिहास बनाएकाे थियाे । अगिल्ला वर्षहरूभन्दा कम्पनीले १० प्रतिशत बढी गाडी बिक्री गरेकाे हाे । २५ वर्षअघि यसको वार्षिक बिक्री तथ्यांक केही सय युनिटमात्र थियो ।
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरे । जिप्रका काठमाडौंले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्नेरखेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्नरनगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका गतिविधि गरेरगराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौंले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ ।
कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी, बढ्दो विदेश पलायन रोक्न सकिने
पर्वत । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक १२ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गरेकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आएकी हुन् । दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आएकी क्षेत्रीले वार्षिक १५ हजार किलोग्राम भन्दाबढी माछा बिक्री गर्ने गरेको बताइन् । माछाका साथै उनको फार्ममा गाईभैँसीसहित, स्थानीय जातका कुखुरा, बाख्रा तथा हाँस पनि छन् । दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्दै आएको उनले बताइन् । २५ लाख रुपैयाँ लगानी गरेर सात वर्षदेखि सञ्चालनमा आएको उक्त फार्मबाट सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेकको क्षेत्रीले जानकारी दिइन् । फार्ममा उत्पादित माछा, दूध, बाख्रा तथा बोका, कुखुरा, हाँस बिक्री गर्न बजार जानु नपर्ने भन्दै मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड नजिकै फार्म भएकाले ग्राहक/व्यावसायी घरमा आएर खरिद गर्ने गरेका उनले बताइन् । ‘सुरुमा लगानी धेरै गरेँ, व्यवसाय संकटमा पर्छ कि भन्ने लागेको थियो, पछि उत्पादित सबै वस्तु सहज रुपमा घरबाटै बिक्री हुन थालेपछि लगानी र व्यवसाय थप गर्दै गएकी हुँ’, क्षेत्रीले भनिन् । कृषिबाट भएको आम्दानीले दुई छोरालाई शिक्षाका लागि अमेरिका पठाएको बताउँदै उनले श्रीमान् पनि रोजगारीको सिलसिलामा विदेश नै रहेको जानकारी दिइन् । क्षेत्रीले फार्ममा तीन जनालाई रोजगारी दिएको जानकारी दिइन् । ‘पहिलेदेखि आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने योजना थियो’, उनले भनिन्, ‘यसअघि व्यावसायिक बङ्गुरपालनसमेत गरेँ, त्यसअभि स्थानीय मदिरा उत्पादन गरेकी थिएँ । पछि कृषि क्षेत्रमा आवद्ध भएकी हुँ ।’ आम्दानीका लागि महिलालाई पुरुषको सहयोग चाहिन्छ भन्ने कुरालाई चुनौती दिँदै आफू सफल महिला उद्यमी बनेको क्षेत्रीको भनाइ छ । अधिकांश समय फार्ममा व्यस्त देखिने क्षेत्री राजनीतिमासमेत सक्रिय हुनुहुन्छ । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभाग प्रमुखसमेत रहेकी क्षेत्री, महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा पनि काम गर्दै आएकी छन् । ‘पार्टीको कार्यक्रम परेमा अन्य जिल्लामा समेत जाने गरेकी छु । कार्यक्रम नपर्दा फार्मको रेखदेखमा समय बिताउछु’, उनले भनिन् । आँट, समयको व्यवस्थापन र मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने हो भने सफल भइने क्षेत्रीको बुझाइ छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत संस्थाबाट प्राविधिक तथा अन्य तालिम र सहयोग प्राप्त गरेको उनले जानकारी दिइन् । स्वदेशमा रहेर व्यावसायिक रुपमा कृषि पेसा गर्नेहरुलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग, तालिमलगायत व्यवस्थापन गरेका युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्न सकिने क्षेत्रीले विश्वास व्यक्त गरिन् । रासस
एनवाईईएफ स्टार्टअप अवार्ड्स ४. ० को आवेदन खुला, ४ लाख जित्ने मौका
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० आयाेजनाको शुभारम्भ गरेकाे छ । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो । स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन् । प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिने आयाेजकले जनाएकाे छ । यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नेछन् । आवेदनहरू अहिले खुला रहेकाे र २०२४ नोभेम्बर १५ मा बन्द हुने जनाइएकाे छ । अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । अर्थात १ सेप्टेम्बर २०१८ भन्दापछि दर्ता भएका स्टार्टअप कम्पनीहरू मात्र अवार्डका लागि योग्य हुनेछन् । यति मात्र नभएर स्टार्टअपले प्रदान गरेको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनु पर्नेछ । आवेदन फारम भर्दा सहभागीले अङ्ग्रेजी अक्षरमा मात्र विवरण उल्लेख गर्नुपर्नेछ । यदि कुनै गलत सूचना राखेको पाइएमा तत्कालै आवेदन रद्द हुने एनवाईईएफले उल्लेख गरेको छ । यसबाहेक सहभागीले भनेको समयमा भनेको स्थानमा उपस्थित हुने प्रतिबद्धता समेत जनाउनु पर्नेछ । सहभागी स्टार्टअपहरूले केके लाभ पाउँछन् ? मार्गदर्शन: अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन नेटवर्किङ: नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका व्यावसायिक विकास सहयोग: स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग नगद पुरस्कार: उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः रु। ४,००,०००, २,००,०००, १,००,००० नगद पुरस्कार जित्ने अवसर पिचिङ अवसर: राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूको सामु व्यवसायिक विचार प्रस्तुत गर्ने मौका यो अवार्डले उद्यमशीलतालाई प्रोत्साहन गर्दै नेपालमा नयाँ स्टार्टअपहरूको विकास र वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपाली युवा उद्यमी मञ्चले नेपाल उद्योग वाणिज्य महासङ्घबाट सन् २००३ मा आधिकारिक मान्यता पाएको थियो । मञ्चले नेपाली युवाहरूमा उद्यमशीलता विकास गर्न टक शो, मेन्टरशिप, मास्टर क्लासलगायतका कार्य गर्दै आएको छ । सन् २०१६ मा मञ्चको काठमाडौं च्याप्टर स्थापना भएको थियो ।
१८ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ । कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता सेयर रु पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् । रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।
बंगलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी संगठन प्रतिबन्धित
काठमाडौं । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बंगलादेश छात्र लिग’लाई बंगलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ । सरकारले ‘आतंकवाद विरोधी ऐन, २००९’ को धारा १८ को उप–धारा ९१० मा प्रदान गरिएको शक्ति अन्तर्गत बंगलादेश अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगलाई प्रतिबन्ध लगाएको बंगलादेशको गृह मन्त्रालयले एक आधिकारिक आदेशमा जनाएको छ। यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्न नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले बंगलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामासहित पाँच बुँदा मागको घोषणा गरेको थियो। मागहरूमा अवामी लिगको विद्यार्थी संगठन बंगलादेश छात्र लिगमाथि प्रतिबन्ध लगाउने पनि समावेश थियो । ‘बंगलादेशको स्वतन्त्रतापछि विभिन्न समयमा, विशेष गरी पछिल्लो १५ वर्षको तानाशाही शासनकालमा, बंगलादेश अवामी लिगको भ्रातृ संगठन ’बङ्गलादेश छात्र लिग’ हत्या, यातना, साझा कोठामा उत्पीडन, छात्रावास, बलात्कार र यौन उत्पीडनलगायतका विभिन्न सार्वजनिक सुरक्षा सम्बन्धी गतिविधिहरूमा संलग्न रहेको छ’, बंगलादेशको गृह मन्त्रालयले जारी गरेको आदेशमा भनिएको छ । ‘यस सम्बन्धमा दस्तावेजी जानकारी देशका सबै प्रमुख मिडियामा प्रकाशित गरिएको छ र केही आतंकवादी घटनामा संगठनका नेता एवं कार्यकर्ताहरू फौजदारी अदालतमा पनि प्रमाणित भएका छन्’, बुधबार साँझ जारी गरिएको आदेशमा भनिएको छ ।
रवि लामिछानेलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले दियो अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ । अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी र लीला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई यसअघि आइतबार ६ दिन अनुसन्धानका लागि म्याद थप गरिएको थियो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि लागू हुने गरी आइतबार छ दिनको म्याद थपिएको थियो । लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको हो । पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । पोखरामा लामिछानेका समर्थकका साथै सहकारी पीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।